राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।
राप्रपाले पदाधिकारीहरूलाई पनि चुनावी कमान्डर बनाएको छ।
भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई चुनावी कमान्डर बनाइएको राप्रपाले जनाएको छ।
यी नेताहरूलाई उपनिर्वाचन हुने नगरपालिका, गाउँपालिका र वडाहरूमा चुनावी कमान्डर बनाइएको हो। केही नेताहरूलाई एकभन्दा धेरै ठाउँको चुनावी कमान्डरको जिम्मेवारी पनि दिइएको राप्रपाले जनाएको छ।
प्रवक्ता मोहन श्रेष्ठले पार्टीका स्थानीय समितिहरूको समन्वयमा उम्मेदवारहरू टुंगो लगाउने काम भइरहेको बताए। कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय भइसकेको उनको भनाइ छ।
‘बाँकी रहेका ठाउँमा स्थानीय समितिसँग समन्वय गरी छिट्टै उम्मेदवार तय गर्छौं,’ उनले भने, ‘उपनिर्वाचन हुन लागेका ठाउँहरूमा विगतमा राम्रो मत आएको थिएन, यसपालि हामीले धेरै सुधार गरेका छौं, गुणात्मक रूपान्तरण हुने गरी अघि बढ्छौं।’
राप्रपाले उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने उनको भनाइ छ।