नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा मंगलबार कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा गरेको विमर्श सभामा बोल्दै उनले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दा मात्रै पीडितले न्याय पाउने र गिरिजाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखेका हुन्।
‘सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग, त्यो सम्बन्धी कानूनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। म कसैलाई दोष दिन चाहन्न। हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन। पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौं। हामीले पीडितलाई न्याय दिने गरी काम गर्नुपर्छ,’ उनले भने।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने कुरामा जोड दिए।
सरकार र राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाइ गर्न नहुने उनले बताए।
‘कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिबद्धता गरौं भन्न मेरा पनि आग्रह छ। संयोगले प्रमुख दलहरुले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ। शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ यसलाई हामीले किन हल्का रुपमा लिएका छौ?,’ उनले प्रश्न गर्दै भने, ‘कोइरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईहरुको काँधमा छ भन्नु एको थियो। तर त्यो अझै पूरा हुन सकेको छैन, त्यसलाई तत्काल पूरा गर्नुपर्छ।’
अध्यक्ष भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई कोइरालाको नेतृत्वमा सुरू गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरु एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए।
साथै नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताए।
शान्ति प्रक्रियाका विभिन्न आयामहरुमध्ये गणतन्त्र स्थापना गर्ने, राज्यको पुनः संरचना गर्ने, माओवादी लडाकूहरुको व्यवस्थापन काम सम्पन्न भइसकेको उनले बताए।
अब संक्रमणकालीन न्याय टुंग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित रहेको उनको भनाइ थियो।
(न्युज एजेन्सी नेपाल)