नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्।
बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त पत्रमा अबका दिनमा राजनीतिक स्थायित्वको लागि सहमतिको सरकार गठनको पहल गरिएकोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ।
समर्थन फिर्तासँगै मन्त्रीहरूको राजीनामा पत्र पनि मुख्यमन्त्रीलाई बुझाएको लिला गिरीको सचिवालयले बताएको छ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार तीन महिना नबित्दै संकटमा परेको छ। माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता सामाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट ५ जना मन्त्री सहभागी थिए। समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरू पनि सबैले राजीनामा दिएका छन्।
महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका चेतनारायण आचार्यले सरकारलाई दिएको समर्थन फिर्ता र पाँचै जना मन्त्रीको राजीनामा पत्र मुख्यमन्त्री महरालाई बुझाएका हुन्। एमालेले समर्थन फिर्ता लिएपछि महरासँग अब १८ जनामात्रै सांसद रहेका छन्।
अहिले प्रदेश राजधानी भालुवाङस्थित निवासमा मुख्यमन्त्री महराले एमाले मन्त्रीहरूलाई बिदाइ भोज दिइरहेका छन्। एमालेबाट मन्त्री बनेकाहरू मुख्यमन्त्री महराले दिएको बिदाइ भोजमा सहभागी भएका छन्।
लुम्बिनीमा केन्द्रको समीकरण अनुसार कांग्रेस एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ। ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ। सरकार निर्माणका लागि ४४ जना सांसद भए पुग्छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका (विभाजित हुनुअघिको) ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना तथा एक जना स्वतन्त्र गरी ८७ सांसद छन्।