हिमाल गौतम झापामा मेची कलेज पढ्दै थिए। उनकी दिदी काठमाडौंमा थिइन्। एक तिहारको मौका पारेर हिमाल दिदीको हातबाट टीका लगाउन काठमाडौं आएका थिए।
केही समय उनी यहीँ बसे। त्यही समयमा एक दिन छिमेकी मानस केसीले गीतका शब्द सुनाए।
तिनै शब्दका कारण आखिरमा हिमाल गौतमको पहिचान फेरियो र उनी बने हिमाल सागर।
हिमाललाई सानैदेखि गायनमा रूचि थियो। उनी स्कुल पढ्ने बेलामा उनको झापा घरमा बत्ती समेत पुगेको थिएन। टिभी हुने कुरै भएन। घरमा एउटा रेडियो थियो। त्यही रेडियोमा बजेका आफूलाई मनपर्ने गीतका शब्द उनी कापीमा सार्थे। फेरि त्यो गीत बजेपछि सुन्दै गाउन सिक्थे।
'त्यो बेला अहिलेजस्तो संगीतसँग भिज्न र सिक्न त कहाँ पाउनु। न कुनै वाद्यवादन न संगीत पाठशाला। कसैको घरमा गितार हुनु त कति ठूलो कुरा हुन्थ्यो,' हिमालले भने, 'म रेडियोमै सुनेर गीत अभ्यास गर्थेँ।'
उनी आफूले सिकेका गीत गाएर छरछिमेक, साथीहरू र घर आएका पाहुनालाई सुनाउँथे। सबैले प्रशंसा गर्थे। उनको हौसला बढ्दै गयो। स्कुलका कार्यक्रमदेखि देउसीभैलोमा गाउने मौका पाउन थाले।
यसैगरी उनको गायन यात्रा कलेजसम्म पुग्यो। कलेजका कार्यक्रम र ब्यान्डहरूमा उनको स्वर गुन्जिन्थ्यो।
यति हुँदासम्म पनि उनले गायकै बन्छु होला भन्ने सोचेका थिएनन्।
'म गीत गाउँला, एल्बम निकालुँला भनेर काठमाडौं आएको थिइनँ। दिदीसँग टीका थाप्न आएका बेला त्यो संयोग जुर्यो,' उनले भने।
मानसले उनको रूचि बुझेरै गीतका शब्द सुनाएका थिए। हिमाल त्यसलाई कम्पोज गरेर आफ्नै तालमा गाउन थाले।
गीत राम्रै भयो। उनले रेकर्ड गराउन सकिन्छ कि भन्ने सोचे। त्यस बेला आफै लगानी गरेर गीत ल्याउने अवस्था थिएन। सबै काम कम्पनीहरूले गर्ने चलन थियो। अझ एल्बम निकाल्न कम्तीमा ८ वटा गीत हुनै पर्थ्यो। नभए कम्पनीले मान्दैन थियो। हिमाल सबै तयारी गरेर लगानी गर्ने कम्पनीको खोजीमा निस्किए।
'त्यस बेला कम्पनीले नयाँ कलाकारसँग काम गरेर जोखिम लिन चाहँदैन थिए। मेरो एल्बम धेरै कम्पनीबाट अस्वीकृत भयो। कसैले नपत्याएपछि म हार खाएर धौलागिरि क्यासेट सेन्टर पुगेँ,' उनले भने।
धौलागिरिसँग कुरा मिल्यो।
अनि केही महिनाको दौडधुपपछि उनको पहिलो एल्बम 'रिलेसन' सार्वजनिक भयो।
त्यसमा उनको संगीत र स्वरमा रहेको एउटा गीत थियो —
न मैले लेखेँ, न उनले लेखिन्
खोई कसले लेख्यो, आँसुसरी जिन्दगीको मेरो कथा...
यो २०६० साल असोजको कुरा हो।
प्रेममा व्यक्त गरिएको भावना समेटिएको यो गीतले सुरूआती दिनमा खासै चर्चा पाएन।
हिमालले चित्त बुझाए।
डेढ महिनापछि भने यो गीत टिभी र रेडियोमा गुञ्जिन थाल्यो। एफएम च्यानलहरूमा धेरै स्रोताले यो गीत 'फर्माइस' गर्न थाले।
त्यसपछि गीतको चर्चा ह्वात्तै बढ्यो। अनि सांगीतिक क्षेत्रमा नयाँ गायक जबर्जस्त उदाए — हिमाल सागर।

'एल्बम ल्याउनुअघि नै मैले मेरो थर गौतम नराखेर हिमालसँग सागर जोडेको थिएँ। त्यही नामबाटै सबैमाझ चिनिएँ,' उनले भने, 'त्यस बेला ५० हजार प्रति क्यासेट बिक्री हुँदा एल्बम सुपरहिट मानिन्थ्यो। मेरो डेढ लाख प्रति बिक्री भएको थियो।'
पहिलो गीत नै सुपरहिट भएपछि उनलाई स्टेज कार्यक्रमका लागि प्रस्ताव आउन थाल्यो।
२०६१ सालमा उनी पहिलोपटक स्टेज कार्यक्रमका लागि इनरूवा पुगे। उनले 'न मैले लेखेँ' नै गाए।
'त्यहाँ धेरै पटक गाउँदा पनि दर्शकले वान्स मोर भनिरहेको अझै याद छ,' हिमालले सम्झिए।
२०६२ सालमा उनले 'मेरो माया मारेपछि, तिमी त अचेल दामी भइछौ' बोलको गीत सार्वजनिक गरे। 'फर यू' एल्बममा समावेश यो गीत पनि हिट भयो। त्यसपछि 'त्यो दिन' एल्बममा समावेश 'मेरो मनमा आगो लाउनेको' गीत पनि निकै रूचाइयो। त्यसको केही वर्षपछि विदेशका कार्यक्रममा पनि उनको माग बढ्यो।
यसको केही वर्षपछि भने हिमाल सागर सांगीतिक क्षेत्रमा केही सुस्ताएको जस्तो देखियो। उनलाई धेरैले यसबारे सोधिरहे।
'मेरा गीत आइरहेका थिए। तर कतिपय अवस्थामा गीतले भ्युज पाइरहँदा पनि याद हुँदो रहेनछ। कुनै भने भ्युज कम हुँदा पनि याद हुँदा रहेछन्। यसबीच मेरा गीतले करोड भ्युज पनि पाए। तर धेरै याद नहुँदा सुस्ताएको जस्तो लागेको मात्र हो,' उनले भने, 'म संगीत क्षेत्रमा सक्रिय नै छु।'
डेढ वर्षअघि सार्वजनिक भएको उनको 'ए हो र माया' गीत भने अत्यधिक रूचाइएको थियो। टिकटक, रिल्स, युट्युबमा सबैतिर गीत निकै छायो। यो गीतले आफूलाई थप ऊर्जा दिएको उनी बताउँछन्।
'कुनै गीतले बीचमा भएका कमीकमजोरी र खालीपनलाई मेटाउँदो रहेछ। अरू गीतले मेरो करिअरमा एउटा, दुइटा इँटा थपे भने यसले पचास, सय वटा इँटा थप्यो,' हिमालले भने।
'न मैले लेखेँ' सार्वजनिक भएको बीस वर्षपछि हिमाल अहिले भने फेरि त्यही शब्दमा फर्किएका छन्।
केही दिनअघि मात्र उनको यही सुपरहिट गीतको रि-भर्सन युट्युबमा सार्वजनिक भएको छ।
'म कन्सर्टहरूमा जाँदा धेरैले तपाईंको यो गीत साह्रै मनपरेको छ, यसको रि-भर्सन ल्याउनुभयो भने हामीलाई पुरानो सम्झना ताजा हुन्छ भन्नुहुन्थ्यो। यसबारे मैले अलि पहिल्यैदेखि सोचिरहेको थिएँ। अहिले त्यसका लागि सही समय हो भन्ने लाग्यो,' हिमालले भने।

पुरानो र नयाँ 'न मैले लेखेँ' गीत उस्तै भने छैन। हिमालले नयाँमा कोरस थपेका छन्। मेलोडी, एरेन्जमा केही परिवर्तन गरेका छन्।
'सबै पक्षबाट राम्रो काम गर्ने कोसिस गरेका छौं। माया पाउने आशा छ,' उनी भन्छन्।
उनले करिअर सुरू गर्दा र अहिले समयले कोल्टे फेरिसकेको छ। सांगीतिक क्षेत्रमा पनि धेरै परिवर्तन आएको छ। पहिलेभन्दा अहिले गीत ल्याउन धेरै सजिलो भएको अनुभव छ उनको। तर छिटो भाइरल हुने लोभले गीत दीर्घकालीन हुन्छ कि हुँदैन, इतिहासले कसरी सम्झिन्छ भन्नेमा ध्यान जान छाडेको उनलाई लाग्छ।
'गीतले राम्रो भ्युज पाए पनि केही समयमै स्रोता-दर्शकले बिर्सिसक्ने अवस्था छ। अहिले गीतको आयू पहिलेजस्तो छैन भन्ने लाग्छ,' उनले भने।
हिमालका थप सात-आठवटा गीत सार्वजनिक हुने तयारीमा छन्। स्टेज कार्यक्रमका लागि त उनको माग सदावहार नै छ। देश-विदेशमा थुप्रै कन्सर्ट गरिसकेका उनी प्रायः 'न मैले लेखेँ' बाटै गाउन सुरू गर्छन्।
अहिले कन्सर्टकै सिलसिलामा क्यानडा पुगेका उनले त्यहाँ पनि सुरूमै गाउनेछन् —
न मैले लेखेँ, न उनले लेखिन्
खोई कसले लेख्यो, आँसुसरी जिन्दगीको मेरो कथा...
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी