गत असार १५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवासहित नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेर तीन घन्टा छलफल गरेको समाचार सार्वजनिक भयो। त्यसले राजनीतिक वृत्तमा चर्चा पायो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने त्यसले ठूलो राजनीतिक तरंग पैदा गर्यो। जुन राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा देउवा र ओलीबीच भेटघाट भएको थियो, त्यसको गम्भीरता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नबुझ्ने कुरै थिएन।
उनले भोलिपल्ट असार १६ गते नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाए र राजनीतिक भलाकुसारी गरे।
ओलीले देउवासँगको भेटघाटको खास राजनीतिक अर्थ नभएको र भक्तपुर गएका देउवा दम्पती आफ्नो घर छिरेर दही-चिउरा खाएको जबाफ दिए।
ओलीले जे भने पनि त्यो भेट दही-चिउराका लागि मात्र थिएन भन्ने प्रचण्डले नबुझ्ने कुरा थिएन। त्यसैले उनले भोलिपल्ट पनि ओलीसँग थप राजनीतिक छलफल गर्न चाहे।
असार १७ गते फेरि प्रचण्ड र ओलीबीच बालुवाटारमा करिब ४ घन्टा वार्ता भयो। ओलीले आफ्नो साथ छाडेर कांग्रेससँग हातेमालो गर्न सक्छन् भन्ने आभास पाएका प्रचण्डले यही गठबन्धनबाट प्रधानमन्त्री बन्न ओलीलाई प्रस्ताव गरे। आफू प्रधानमन्त्री छाडेर गठबन्धन जोगाउन तयार रहेको जानकारी गराए।
प्रचण्डको यो प्रस्तावमा ओलीले खासै जबाफ फर्काएनन्। तर दुई नेताबीच 'सँगसँगै अघि बढ्ने र स्वर्ग गए नि, नर्क गए नि' सँगै जाने 'सहमति' भयो!
संसदको बाँकी अवधि यही गठबन्धन अघि बढाउँदै २०८४ को चुनावमा आफ्नो पक्षमा नतिजा ल्याउने गरी सरकारको काम-कारबाही प्रभावकारी बनाउने सहमति पनि उनीहरूले गरे।
त्यस दिन प्रचण्डले बालुवाटारमै भएको पूर्वाञ्चल विश्वविद्यालयको सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। त्यो सभा सकिउन्जेल ओलीले पर्खिएर बसे।कार्यक्रम सकिएपछि पनि उनीहरूबीच मन माझामाझ भयो। खाना बालुवाटारमै खाएर करिब १ बजे ओली त्यहाँबाट निस्किए।
ओली निस्किएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई कांग्रेस सभापति देउवासँग भेट्न उनको निवास बूढानीलकण्ठ पठाए। नारायण नातामा प्रचण्डका भाइ पर्छन्।
प्रचण्डको सन्देश बोकेर बूढानीलकण्ठ पुगेका नारायणले सभापति देउवासँग प्रस्ताव राखे — कांग्रेस, माओवादी र रास्वपा मिलेर नयाँ गठबन्धन गर्ने।
उक्त गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न प्रचण्डको तर्फबाट देउवालाई उनले प्रस्ताव गरे। देउवाले प्रस्ताव स्वीकार गरे त्यसै साँझ प्रचण्डले राजीनामा गर्ने सन्देश पनि दाहालले सुनाए।
राजनीतिक रूपमा सँगै बस्ने र 'सँगै बाँच्ने, सँगै मर्ने' कसम ओलीसँग खाएको केही घन्टाभित्रै प्रचण्डले देउवालाई समेत प्रधानमन्त्री बन्ने प्रस्ताव पठाएपछि एमाले र कांग्रेस नेताहरू झस्किए।
यति मात्र होइन, त्यही साँझ भारतीय राजदूत नवीन श्रीवास्तव बूढानीलकण्ठ पुगेर देउवालाई ओलीसँग नमिल्न सुझाए। प्रचण्डले केही समयअघिको दिल्ली भ्रमणमा फेरि कांग्रेससँग मिलेर जाने बचन दिइसकेकाले धैर्य गर्न र उनीसँग नै सहकार्य गर्न पनि भारतीय राजदूतले सुझाव दिए।
अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय हुन थालेको र प्रचण्डले फेरि आफूहरूसँग खेल्न खोजेको निष्कर्षमा पुगेका कांग्रेस र एमाले नेताहरूले त्यही रात दुई दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरे। पहिले एमाले अध्यक्ष ओली र त्यसपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति पत्रमा देउवा र ओलीले हस्ताक्षर गरे।
यो पछिल्लो राजनीतिक घटनाक्रमको विकास यसपालि पनि प्रधानमन्त्री प्रचण्डको 'उथलपुथल' गर्ने प्रयत्नको परिणाम हो। फरक यत्ति हो, यसपालि उक्त प्रयत्नको शिकार उनी आफै बने।
यसअघि गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल कांग्रेसलाई दोस्रो पटक धोका दिएर एमालेसँग साझेदारी गरेका थिए। उक्त साझेदारीपछि एमाले-माओवादी गठबन्धनलाई २०८४ को निर्वाचनसम्मै लैजान ओली कटिबद्ध नै थिए। यहाँसम्म कि, उनले सार्वजनिक रूपमै आफू प्रधानमन्त्री बन्ने खेलमा नलागेको बताउने गरेका थिए। आफू निकटहरूसँग प्रचण्डलाई नै संसदको बाँकी अवधि प्रधानमन्त्री रहन दिने बताउने गरेका थिए।
कांग्रेस-माओवादी गठबन्धन बेला देउवाले आफूसँग भेट्न पनि अस्वीकार गरेपछि रिसले चुर भएका ओलीले कतिपय कांग्रेस नेताहरूसँगको भेटमा देउवा अब यो जुनीमा प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका थिए।
चर्को घाम लागिरहेका बेला एक्कासि मौसम बदलिएर बादल मडारिएझैं नेपालको राजनीति एक्कासि त्यस बेला बदलियो, जब प्रधानमन्त्री प्रचण्ड जेठ २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर दिल्लीबाट काठमाडौं फर्किए।
दिल्लीबाट फर्किएलगत्तै प्रचण्डले देउवालाई दुई पटक बालुवाटारमै बोलाएर भेटे र आफू दुई-तीन महिनापछि फेरि कांग्रेससँग गठबन्धनमा फर्किन चाहेको बताए।
'भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले भारतीयहरूलाई एउटा परिस्थितिमा कांग्रेसलाई धोका दिएर एमालेसँग आउनुपरेको हो, तर हामी दुई-तीन महिनापछि कांग्रेससँगै मिल्ने हो, तपाईंहरूले देउवालाई सम्झाइदिनुस् भन्नुभएको रहेछ,' माओवादीका एक उच्च नेताले सेतोपाटीसँग भने, 'शेरबहादुरजीलाई बालुवाटार बोलाएर पनि उहाँले त्यही भन्नुभयो।'
प्रचण्डको यो प्रस्ताव स्वयं कांग्रेसका लागि पनि अनपेक्षित थियो।
गत फागुनमा प्रचण्डले धोका दिएर एमालेसँग हात बढाएपछि देउवाले उनीसँग मन मारिसकेका थिए। कांग्रेस पंक्तिमा पनि प्रचण्डलाई विश्वास गर्न नसकिने र भविष्यमा उनीसँग कुनै सहकार्य नगर्ने मत बलियो बनेको थियो।
त्यही भएर देउवाले प्रचण्डको प्रस्तावमा चासो देखाएनन् मात्र होइन, उनले कांग्रेससँग हात मिलाउन चाहेको सूचना र सन्देश ओलीकहाँ पुर्याइदिए।
देउवाको सन्देशले एमाले पहिले अलमलमा पर्यो। पछि उनीहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यो सन्देश 'भेरिफाइ' गरे। प्रचण्डसँग पनि एमालेलाई जानकारी नदिइकन उनले राष्ट्रिय सहमतिको सरकार बनाउन गरेको पहलबारे सोधीखोजी गरे।
प्रचण्डले चित्तबुझ्दो जबाफ दिन सकेनन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि प्रचण्डले कांग्रेससँग वैकल्पिक गठबन्धनबारे छलफल अघि बढाएपछि नै आफूहरू नयाँ गठबन्धन बनाउने निष्कर्षमा पुगेको बताउँछन्।
'प्रचण्डजीले अचानक सत्ता सहयात्री दलहरूसँग छलफल नगरिकन कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राख्नुभयो। त्यसपछि कांग्रेस र एमालेको छलफल अघि बढेको स्थिति हो,' ज्ञवालीले भने, 'हामीले प्रधानमन्त्रीलाई सोधेका पनि हौं। प्रधानमन्त्रीले त्यस्तो होइन भन्नुभयो। तर त्यसले स्वाभाविक रूपमा राजनीति तरंगित भयो। हामीले छलफल अघि बढायौं।'
लामो समयसम्म संवादहीन अवस्थामा रहेका ओली र देउवाबीच गिरीबन्धु प्रकरण चर्किएपछि संवादहीनता हटेको थियो।
गिरीबन्धुको जग्गा किनबेच निर्णयबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ वैशाख २८ गते सार्वजनिक भएपछि मिडियामा ओली नेतृत्वको सरकारले नेकपा कालमा गरेको उक्त निर्णयको विस्तृत रिपोर्टिङ र आलोचना हुन थालेको थियो। ओली सरकारले गरेको नीतिगत निर्णयलाई सर्वोच्चले रोकिदिएको थियो। सर्वोच्चले नै उक्त निर्णय उल्ट्याएपछि राज्यलाई भने हानि हुन पाएन।
सर्वोच्चको निर्णयपछि पनि राजनीतिक दलहरू खासै बोलेका थिएनन्। कांग्रेसले पनि त्यसबारे टिप्पणी गरेको थिएन। एमाले अध्यक्ष ओलीले नै कांग्रेसको पालामा कानुन नै नबनाई गिरीबन्धुका कतिपय जग्गा सट्टापट्टा गर्ने निर्णय भएको भन्दै सार्वजनिक रूपमा बोले। एमाले महासचिव शंकर पोखरेलसहित कतिपय नेताले कांग्रेसकै पालामा चलखेल गरेर गिरीबन्धुका कतिपय जग्गा सट्टापट्टाको निर्णय गरिएको बताए।
त्यसपछि कांग्रेसभित्र यसको प्रतिवाद गर्नुपर्ने आवाज उठ्यो। सभापति देउवाले नै सार्वजनिक रूपमा बोल्नुपर्छ भनेर नेताहरूले सुझाए। देउवा स्वयंले एउटा सार्वजनिक कार्यक्रममा ओलीले आफ्नो पालामा निर्णय गरेर कांग्रेसमाथि दोष थोपरेको बताए। कांग्रेसका पालामा गिरीबन्धुको जग्गा सट्टापट्टाको निर्णय भएको प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन।
सभापतिले बोलेपछि कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पनि ओली र एमाले नेताहरूको भनाइ प्रतिवाद गरे। संसदभित्र र बाहिर पनि महामन्त्रीहरू थापा र शर्मा तथा केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले गिरीबन्धुबारे बोलेका थिए।
पार्टीले यसबारे संस्थागत रूपमै निर्णय गरेर आवाज उठाउनुपर्ने कुरा कांग्रेसभित्र उठ्न थालेको थियो। त्यसैबीच ओलीले देउवालाई भेटेर आफूले बोलेको कुरा सच्याउँदै गिरीबन्धुबारे कांग्रेसले संस्थागत आलोचना नगरिदेओस् भन्ने आग्रह गरे। उनीहरूलाई भेटाउने काम व्यवसायी रामेश्वर थापाले गरेका थिए।
'एमाले अध्यक्ष ओली सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको केस आउँदासम्म पनि हलचल हुनुहुन्थेन। जब गिरीबन्धुको केस आयो, त्यसपछि ओलीले पहिलो पटक देउवालाई रिच-आउट गर्नुभयो। त्यसको संयोजन क्याप्टेन रामेश्वर थापाले गरेका थिए,' कांग्रेसका एक नेताले भने, 'सभापतिसँग उहाँको अपेक्षा यसमा पार्टीगत र दलगत निर्णय नहोस् भन्ने थियो।'
उनले थपे, 'हामीतिर (सभापति) का एक जना मान्छे पनि यो विषयमा बोलेनौं, त्यसपछि उहाँहरूको बीचमा कुराकानी सुरू भयो।'
ओली र देउवाबीच त्यतिखेर खुलेको संवादको ढोकाले पछिल्लो पटक कुरा अघि बढाउन सजिलो भयो। कांग्रेसका दोस्रो पुस्ताका केही नेताले अब यसरी हुँदैन, कांग्रेस-एमाले मिलेर स्थायित्वका लागि सरकार सञ्चालन गर्नुपर्छ भनेर देउवासँग आग्रह गरिरहेका थिए।
यसैबीच प्रचण्डले देउवालाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गरेपछि एमालेसँग राजनीतिक सहकार्यको कुरा अघि बढाउन देउवालाई सजिलो भयो। प्रचण्डले अघिल्लो पटक आफूलाई दिएको धोकासँगै उनलाई विश्वास गर्न नसकिने निष्कर्षमा देउवा पुगिसकेका थिए।
त्यसपछि ओली र देउवाबीच प्रचण्डले खेलिरहेको दोहोरो भूमिकाबारे कुराकानी अघि बढ्यो। प्रचण्डले कांग्रेससँग संवाद बढाएकोमा विश्वस्त भएपछि एमालेले पनि कांग्रेससँग विश्वासका साथ कुरा गर्न थाल्यो।
कसरी मिलेर जाने भन्नेबारे 'होमवर्क' गर्न देउवा र ओलीले दोस्रो तहका नेताहरूलाई जिम्मा दिए। कांग्रेसबाट रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट शंकर पोखरेलले काम गरिरहेका थिए।
भुटानी शरणार्थी प्रकरणमा बेचन झा असार १४ गते भारतबाट पक्राउ परेपछि त्यसले कांग्रेसको शीर्ष तहमा थप तरंग ल्यायो। नेपाल र भारतको दोहोरो नागरिकता भएको भनिएका झा दुवैतिर बस्ने गर्छन्। भारतको खुफिया एजेन्सीहरूसँग कसिलो सम्बन्ध भएका र उनीहरूका लागि पनि काम गर्ने झाको नेपालका राजनीतिज्ञहरूसँग पनि पहुँच छ। झालाई समातेर उनको पहुँच प्रयोग गर्दै बिचौलियाहरूले भुटानी शरणार्थी प्रकरणमा राजनीतिक तहबाट कतिपय निर्णय गराएको बताइएको छ।
तिनै झालाई पक्राउ गर्न पहिले सहयोग नगरेको भारतले अहिले किन र कसरी सहयोग गर्यो भन्नेबारे पनि राजनीतिक वृत्तमा चर्चा छ।
गत असार १४ गते बेचन झा पक्राउ परेको भोलिपल्ट सभापति देउवाले ओली निवासमा गएर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिले ओलीले गर्ने र पछि आफूले गर्ने प्रस्ताव गरेको नेताहरू बताउँछन्। उक्त प्रस्ताव ओलीले स्वीकार गरेपछि कांग्रेस-एमाले सहकार्यको विषय टुंगो लागेको थियो।
'कसरी अघि बढ्ने, को पहिले प्रधानमन्त्री बन्ने भन्नेबारे छलफलसम्म भएको थियो, निष्कर्षमा पुगिएको थिएन,' कांग्रेसका एक नेताले भने, 'जब हाम्रो सभापतिले असार १५ गते ओलीलाई पहिले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभयो, त्यसपछि सहमतिको ढोका खुल्यो।'
गत असार १६ गते साँझ व्यवसायी रामेश्वर थापाको निवासमा देउवा र ओलीसहित कांग्रेस नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बसेर सहमतिको ड्राफ्ट तयार पारेका थिए। त्यसले अन्तिम रूप भने पाइसकेको थिएन।
भोलिपल्ट असार १७ गते बालुवाटारमा ओली र प्रचण्डबीच चार घन्टा छलफल भयो। प्रचण्डले ओलीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरे। त्यही साँझ बसेको मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यो गठबन्धन दायाँबायाँ नहुने ब्रिफिङ गरेका थिए।
असार १७ गते साँझ भारतीय राजदूत श्रीवास्तवले देउवालाई भेटेर कांग्रेस-माओवादी गठबन्धन ब्युँताउने कुरामा प्रचण्ड प्रतिबद्ध रहेकाले केही समय पर्खिन आग्रह गरेपछि देउवाले पनि एमालेकहाँ सहमति चाँडै टुंग्याउन सन्देश पठाए।
दिउँसो राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल प्रस्ताव लिएर देउवाकहाँ पुग्नु, साँझ भारतीय राजदूत श्रीवास्तव बूढानीलकण्ठ पुग्नु, प्रचण्ड र ओलीबीच यही गठबन्धन बलियो बनाउने सहमति भएको खबर बाहिरिनुले कांग्रेस थप हतारिएको थियो।
'भारतको मुभ बढ्यो, टुंग्याउने भए तुरून्तै टुंग्याऊँ भनेर कांग्रेसबाटै खबर गयो। कति बेला केपी ओलीले बोलाउनुहुन्छ भनेर शेरबहादुर दाइ कुरेरै बस्नुभएको थियो,' देउवानिकट एक नेताले भने, 'रात रहे अग्राख पलाउँछ, त्यसैले आजै सहमतिमा हस्ताक्षर गरौं भनेर उहाँले नै खबर पठाउनुभयो।'
त्यसपछि १७ गते राति नै व्यवसायी थापाको घर चपली हाइट पुगेर देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गरे।
दुई ठूला दललाई विभाजित गरेर र उनीहरूबीच खेलेर करिब २० महिनादेखि सत्ताको नेतृत्व गरिरहन सफल प्रचण्डको सत्तायात्रा अहिलेलाई विराम लाग्ने प्रक्रियामा छ।
कांग्रेस र एमाले दुवैले उनलाई पदबाट राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
यो पनि पढ्नुस्ः