बसाइँसराइले रित्तिँदै गएको छिस्तीको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैंसी र पाडापाडीपालन गरेर बसेको छ रघुनाथ पौडेलको परिवार।
बागलुङ, जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ र उनका ३२ वर्षीय छोरा राजन गाईभैंसीको स्याहारसुसारमा व्यस्त थिए। बाउछोरा मिलेर चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। उनीहरू गाउँकै उदाहरणीय परिवारका रूपमा चिनिएका छन्।
गाउँमा बाँदर आतंक भएपछि अन्नबाली कम उत्पादन हुन थाल्यो। परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाएका छन्।
'चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो। घरमा दुई-चारवटा मौरीका घार र एउटा लैनो भैंसी थियो। कोरोनापछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौं,' रघुनाथले भने, 'अहिले बाउछोरा मिलेर ६ वटा मुर्रा क्रस जातका भैंसी र तीनवटा गाई पालन गरेका छौं। २६ वटा मौरीका घार छन्। मौरीका घार बढाएर ५० पुर्याउने तयारीमा छौं।'
अन्न कुटानी पिसानीका लागि उनीहरूले घरमै मिल पनि राखेका छन्।
चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका राजनलाई गाउँका अन्य युवाझैं विदेश जान मन लागेन। बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लागे। अहिले उनीहरूले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँछन्। उनीहरूले छिस्ती पाडापाडी तथा भैंसीपालन फार्म सञ्चालन गरेका छन्। फार्ममा अहिले ६ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्किँदै छन्।
'कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ। अरूको जग्गा भाडामा लिएर काम गरेको थिएँ। कोभिडका बेला घाटा लाग्यो। त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ,' राजनले भने।
फार्ममा एउटा स्थानीय जातको भैंसी पनि छ। सुख्खा मौसममा ४० लिटर दूध र घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उनले बताए।
बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर ९५ रूपैयाँमा दूध लिने गरेको उनले बताए। अहिले हुर्किँदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्नेछ। उन्नत जातको भैंसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्न सके महँगो मूल्य हालेर भैंसी र गाई किन्न नपर्ने उनले बताए।
बाँदरको आतंक बढेपछि उनीहरूले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन्। घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने उनीहरू बताउँछन्।
'मासिक एक लाखदेखि एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी दूध बिक्रीबाटै हुन्छ,' उनीहरूले भने।
पौडेल परिवारको २६ घार मौरीले पनि व्यावसायिक उत्पादन दिइरहेको छ। वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाख रूपैयाँभन्दा बढी आम्दानी महबाट हुन्छ। अर्गानिक मह भएकाले घरैबाट एक हजार पाँच सय रूपैयाँ किलोमा बिक्ने राजनले बताए।
'विदेश गए पनि दुःखै हो। बाँझो जग्गामा घाँसखेती गरेका छौं। त्यही घाँसले गाईभैंसी पालन हुन्छ। मौरीलाई हेरचाह मात्रै गरे पुग्यो,' उनले भने।
कृषि ज्ञान केन्द्र बागलुङले मौरीका घार थप्न ५० हजार रूपैयाँ अनुदान दिएको छ।
उनीहरूले दुईवटा प्लास्टिक टनेलमा टमाटर र काउली खेती पनि गरेका छन्। बाउछोराको काममा परिवारका सबै सदस्यको साथ छ। कक्षा १२ सम्म अध्ययन गरेका राजन सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउँछन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार रूपैयाँ र पाडापाडी संरक्षण गर्न ४० हजार रूपैयाँ प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दस रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजार रूपैयाँका दरले ३० हजार रूपैयाँ अनुदान दिइएको छ।
'पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ। व्यावसायिक रूपमा पशुपालनमा लागेका किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौं,' डा. सापकोटाले भने, 'अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन। अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन्।'