नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारू व्यक्तित्व रहेको बताए।
उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे।
उनले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे।
उनले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए।
उनले भने, ‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो। त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारू व्यक्तित्व हुनुहुन्थ्यो। त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्र समेत आएको छ। मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो। त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्सनमा म हारेको हो वास्तवमा। उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो। उहाँ कहिल्यै नथाक्ने मान्छे हो।’
प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रूमपा चित्रण गरे।—न्युज एजेन्सी नेपाल