नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सुझाव दिएका छन्।
प्रधानमन्त्री दाहाललाई समर्थन गरेको प्रमुख दल नेकपा (एमाले) नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहालले राजीनामा दिए उपयुक्त हुने थापाले बताए।
एमालेले सरकारलाई दिएको समर्थन बुधबार साँझ फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले प्रधानमन्त्री मार्गप्रशस्त गर्नु राम्रो हुने बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै थापाले संविधान संशोधन आवश्यक भएको बताए।
सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन कांग्रसले हरसम्भव प्रयत्न गर्ने उनले बताए।
महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको बताए।
मुलुकको विशिष्ट परिस्थितिमा कांग्रेस र एमाले सहितको राष्ट्रिय सहमतिको सरकार गठन हुन लागेको उनको भनाइ छ।
असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणबाट सरकार बनाउने र संविधान संशोधनलगायत अघि बढाउने सहमति भएको थियो।
(राससको सहयोगमा)