नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ।
बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए।
एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति मुख्यमन्त्री महराले राजीनामा दिए उपयुक्त हुने चौधरीले बताए।
‘हामीले समर्थन फिर्ता लिएर छोड्नु भन्दा आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा तपाईको उचाइँ पनि बढ्छ, राजनीति अहिलेलाई मात्र होइन धेरै लामो राजनीतिक यात्रा गर्नु छ भनेर मैले सुझाव दिएँ,’ चौधरीले भने।
चौधरीले गठबन्धनको यात्रा सधैको लागि टुंगिएको भनेर नसोच्न पनि आग्रह गरेको बताए।
‘अहिलेको लागि गठबन्धनको सहयात्रा टुंगिए पनि सधैँको लागि टुंगिएको होइन भनेर पनि मुख्यमन्त्रीलाई भनेको छु,’ चौधरीले भने।
मुख्यमन्त्री महराले भने असार २४ गतेसम्मलाई समय दिन आग्रह गरेको चौधरीले भने।
‘मलाई असार २४ गतेसम्मलाई समय दिनुस्, अहिले आर्थिक वर्षको अन्त्यमा छौं, केही आर्थिक भुक्तानीहरू दिने दायित्व छ त्यो दायित्व पुरा गरेपछि राजीनामा दिनेछु,’ मुख्यमन्त्री महराको भनाई उद्दृत गर्दै चौधरीले भने।
मुख्यमन्त्री महराले समय मागेपनि आफूहरू त्यतिबेला सम्म पर्खिने अवस्थामा नरहेको चौधरीले बताए।
‘आज दिनभरीमा उहाँले राजीनामा दिनुहुन्छ भन्ने हामीलाई विश्वास छ, दिनुभएन भने आज साँझ या भोली बिहानसम्म हामीले दिएको समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरूले राजीनामा दिनुहुन्छ,’ उनले भने।
संघमा जस्तै लुम्बिनी प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरु बीच छलफल सुरू भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसकाबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएसँगै लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ। अहिले एमाले लगायतका दलहरुका समर्थनमा नेकपा माओवादी केन्द्रका जोगबहादुर महरा मुख्यमन्त्री छन्।
पछिल्लो समीकरण अनुसार लुम्बिनीमा कांग्रेस एमालेको मात्रै पनि सहजै बहुमतको सरकार गठन हुन्छ। ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ। सरकार निर्माणका लागि ४४ जना सांसद भए पुग्छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका (विभाजित हुनुअघिको) ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना तथा एक जना स्वतन्त्र गरी ८७ सांसद छन्।