संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस गरेको कृष्णमान प्रधानविरूद्धको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।
सुनुवाइ समितिमा रहेका सांसदहरूले प्रधानविरूद्ध परेको यौन शोषण र दुर्व्यवहारको उजुरीकर्तासँग बिहीबार छलफल गरेका थिए। प्रधानको शुक्रबार सुनुवाइ गर्ने तयारी थियो।
तर सांसदहरूले उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो।
सुनुवाइ समितिमा प्रधानको नियुक्ति सिफारिस अनुपयुक्त भएको भन्दै प्रधानविरूद्ध ४ वटा उजुरी परेका छन्। चार वटै उजुरी यौन शोषण र दुर्व्यवहारको विषयसँग सम्बन्धित छन्।
प्रधानविरूद्ध एक पीडितले आफूलाई पाँच वर्षसम्म निरन्तर शोषण गरेको उल्लेख गर्दै आशय करणी गरेको उजुरी दिएकी छन्। त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन्। पीडितले आफूलाई प्रधानले 'हनी ट्र्याप' को केस बनाएर जेल कोच्न खोजेकोसम्म उल्लेख गरेकी छन्।
'उजुरी सुनेपछि सबै सांसदहरूले थप अध्ययन गर्नुपर्छ। भोलि नै सुनुवाइ नगरौं भन्नुभयो,' संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सेतोपाटीसँग भने, 'अब अर्को सूचना गरेर बैठक राख्ने कुरा भएको छ।
सम्बन्धित समाचार:
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानले यौन शोषण गरेको भन्दै सुनुवाइ समितिमा उजुरी