राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार परिवर्तित राजनीतिक परिस्थितिका बारेमा समीक्षा गर्न र पार्टीको धारणा बनाउन मंगलबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्दैछ।
बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। संघीय संसदमा राप्रपाका १४ जना सांसद छन्।
राप्रपा यसअघि कांग्रेसले राख्ने प्रतिपक्षी दलहरूको बैठकमा पनि पटक-पटक सहभागी भएको थियो।
कांग्रेसले मंगलबार बूढानीलकण्ठमा राखेको बैठकमा पनि अहिलेसम्म साथ दिएका विपक्षी दलहरूलाई सँगै लिएर जान संवाद अघि बढाउने निर्णय गरेको थियो।
राप्रपाले यसअघि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गएको मध्यरातमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा सहमति भएको थियो।