नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।
एमाले अध्यक्ष ओली साढे ९ बजेतिर बालुवाटार पुगेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।
सोमबार राति नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।
राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानूनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
कांग्रेससँगको समझदारीबारे जानकारी गराउन अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। आजै एमालेले दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठक पनि केही बेरमा सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।