लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आधुनिक चिकित्सा क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भईरहे पनि वैकल्पिक चिकित्सा पद्धतीको महत्व बढ्दै गएको बताएका छन्।
कतिपय दिर्घ रोगहरुको लागि शल्यकृया र एलोप्याथी औषधि अनिवार्य भए पनि अधिकांश रोगहरु वैकल्पिक चिकित्सा पद्धतीको प्रयोगबाट निको पार्न सकिने उनले बताए।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ चालापाला स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको मड तथा फिजियोथेरापी भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायको रुपमा प्राकृतिक चिकित्सा पद्धती लाभदायक मानिएको बताएका हुन्।
उनले रूपन्देहीसँगै नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले कोरोना संक्रमितहरुको भरपर्दो उपचार गरेर पनि योग तथा प्राकृतिक उपचार पद्धतीको महत्वलाई अझै स्थापित गरिदिएको बताए। ‘कोभिडका बिरामीको उपचारमा प्राकृतिक चिकित्सालयहरुले जुन रुपले विरामीहरुको उपचार गर्नुभयो, त्यसले चिकित्सालयको महत्वलाई स्थापित गरेको छ, तपाईहरु आफ्नो सेवामा लाग्नुस् तिनै तहका सरकार तपाईहरुको साथमा छन्,’ मुख्यमन्त्री पोखरेलले भने।
उनले सैनामैना र रजहरमा सञ्चालनमा रहेका चिकित्सालयका कारण प्राकृतिक उपचारको लागि गोरखपुर जानुपर्ने बाध्यता अन्त्य भएको बताए। मुख्यमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा उपचार पद्धतिले शरीरलाई नकारात्मक असर नगर्ने बरू भविश्यमा हुनसक्ने रोगबाट समेत छुटकारा दिने भएकोले जनमानसमा यसको महत्व पुर्याउन जरूरी रहेको बताए।
मुख्यमन्त्री पोखरेलले सैनामैनामा रहेको प्राकृतिक चिकित्सालयमा अहिले जे जति पूर्वाधार छन् त्यसैका आधारमा सेवा सञ्चालन गर्न आग्रह गरे। स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग रहने भएकोले चिकित्सालयको लागि बजेटको अभाव नहुने भन्दै मुख्यमन्त्री पोखरेलले स्थापना गर्दा देखेको र नागरिकलाई देखाईएको सपना पुरा गर्नेतर्फ लाग्न आग्रह गरे। ‘सञ्चालन गर्नुपुर्व तपाईँहरूले जे सपना देख्नुभएको र देखाउनुभएको थियो त्यो सपना पुरा गर्ने तर्फ लाग्नुस्, हामी तपाईँहरूको साथमा छौं,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले सैनामैनामा अव्यवस्थित बसोबासीको समस्या जटिल रहेको उल्लेख गर्दै नगरप्रमुख चित्रबहादुर कार्कीलाई ल्याण्डपुलिङको आधारमा बस्ती विकास गर्न सुझाव दिए। ‘योजनाबद्ध विकासका लागि व्यवस्थीत बस्ती विकास हुनु जरूरी छ, नगरप्रमुखज्यूले नागरिकहरुको साझेदारीमा ल्याण्डपुलिङको आधारमा बस्ती विकास गर्नेतर्फ लाग्दा उपयुक्त होला,’ मुख्यमन्त्री पोखरेलको भनाई छ ।
कोरोना महामारीपछि संक्रमितहरुको उपचारको लागि आईसोलेसनको रुपमा प्रयोग गरिदै आएको चिकित्सालयमा हाल नियमित उपचार सेवा बन्द रहेको छ। आगामी वैशाख ८ गतेदेखि भने नियमित सेवा सञ्चालन गरिने चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत अर्थमन्त्री एवं रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेलले उपलब्ध गराएको १ करोड रुपैयाबाट चिकित्सालयको मड तथा फिजियोथेरापी भवन निर्माण गर्न लागिएको हो।
करिब ७ विगाहा क्षेत्रफलमा फैलिएको चिकित्सालयमा यसअघि नै ३६ वटा कोठा सहितका संरचना निर्माण भईसकेका छन्।
जसमा महिला र पुरूषको छुट्टा छुट्टै उपचार हुँदै आएको छ। हाल १० शैय्यामा रहेको चिकित्सालयको क्षमता विस्तार गर्दै ३ सय शैय्या पुर्याउने लक्ष्य रहेको अध्यक्ष भट्टराईले बताए ।
माटो, जल, वायु, मालिस, रिहाबिलिटेसन सहितको फिजियोथेरापी सेवा, अक्युपङ्क्चर, षटकर्म, भोजन चिकित्सा तथा परामर्श, रोग अनुसारको योग आसन तथा प्राणायम र ध्यान लगायत आकाश चिकित्साको माध्यमबाट समेत रोगको उपचारहुँदै आएको छ।