नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेश सभाका दुई जना सदस्य काठमाडौंमा जारी झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
यसअघि कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थीमात्र खुलेर लागेकोमा पाल्पाकी रमा घर्ति पनि खनाल-नेपाल समूहको भेलामा सहभागी भएकी हुन्।
पाल्पाबाट समानुपातिक सदस्यमा निर्वाचित घर्तिसँग सम्पर्क हुन नसके पनि उनीसँगै लुम्बिनी प्रदेशसभाबाट सहभागी पन्थीले घर्ती सहभागी भएको पुष्टि गरे।
‘उहाँ पहिले पनि हाम्रै समूहमा खुल्नु भएको थियो, अहिले राष्ट्रिय भेला आयोजना गरेपछि भेलामा सहभागी हुन मंगलबार नै काठमाडौ आउनुभएको छ’, पन्थीले सेतोपाटीसँग भने।
लुम्बिनी प्रदेशको सरकार टिकाईरहन नेकपा एमालेका ४१ सांसदबाहेक थप ३ जना अपुग रहेकोमा दुई जना सदस्य खनाल-नेपाल समूहमा खुलेर लागेपछि मुख्यमन्त्री शंकर पोखरेललाई संकट उत्पन्न भएको छ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा सरकार सञ्चालनका लागि ४४ जना सदस्य आवश्यक पर्छ। एमालेकै दुई जना सदस्य खनाल-नेपाल समूहमा लागेपछि ओली समूहका मुख्यमन्त्रीको साथमा ३९ जना सदस्य छन्।
यद्यपि माओवादी केन्द्रले पनि अहिलेसम्म लुम्बिनी प्रदेश सरकारलाई समर्थन फिर्ता नगरेको अवस्थामा खनाल-नेपाल समूहका पन्थी र घर्ति पनि अहिलेसम्म सरकारको विपक्षमा उभिने अवस्था देखिएको छैन।
तर केन्द्रमा ओली र खनाल-नेपाल समूहमा सरकार सञ्चालनका विषयमा कुनै निर्णय भएको अवस्थामा त्यसको असर प्रदेश सरकारमा पनि देखिने निश्चित छ।
त्यस्तो अवस्थामा मुख्यमन्त्री पोखरेललाई सरकार टिकाईरहन थप पाँच जना सदस्य आवस्यक पर्छ।
प्रदेशसभामा माओवादीबाट २० जना, जनता समाजवादीबाट ६ जना र एक जना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी भने ओली समूहमा खुलेका छन्।