रुपन्देही क्षेत्र नं. २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोषको यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाउने भएका छन्।
गत वर्ष सांसद विकास कोषको सबै ६ करोड रुपैयाँ शिक्षा क्षेत्रमा लगाएका पौडेलले यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेका हुन्।
गत वर्ष सांसद विकास कोष मार्फत एउटा निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन भएकोमा यसवर्ष भने ४ करोड रुपैयाँ छुट्याइएको छ। सोही रकम पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका चारवटा स्वास्थ्य संस्थामा लगाउने भएका हुन्।
नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले यसवर्ष अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता देखिएपछि कोषको चार करोड रकम नै स्वास्थ्य क्षेत्रमा लगाएको बताएका छन्।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यबिधि) नियमावली २०७७ अनुसार पौडेलको संयोजकत्वमा बसेको रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो।
समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ।
छनोट गरिएका स्वास्थ्य संस्थाहरुमा तिलोत्तमा नगरपालिका वडा नं. २ को शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रमका लागि १ करोड र सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रमका लागि १ करोड रकम छुट्याइएको छ।
त्यस्तै बुटवल ९ मा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा डायग्नोसिस सेन्टर स्थापना तथा संचालनका लागि ५० लाख तथा बुटवल १२ मा रहेको शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
विगतका वर्षहरुमा सडक, सामाजिक भवन तथा क्षमता विकासका कार्यक्रमका खर्च हुँदै आएको संसद विकास कोषको बजेट आफ्ना कार्यकर्ता रिझाउन दुरुपयोग हुने गरेको आलोचना हुँदै आएको थियो।
पौडेलले झिनामसिना योजना र क्षमता विकासका कार्यक्रममा बजेट लगाउँदा दुरुपयोग हुने र त्यसको प्रतिफल समेत नदेखिने भएपछि शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगाउने गरिएको जानकारी दिए।