स्वास्थ्यकर्मीको डायरी- १
कोरोना संक्रमणको खतरा बढेको सुदूरपश्चिमका गाउँ र स-साना बजारमा यसको रोकथामका लागि के-कस्ता प्रयास भइरहेका छन्? हामीले यही कुरा बुझ्न प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकाका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरूसँग कुरा गरेका छौं।
कोरोना संक्रमणविरूद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीले स्थानीय जनप्रतिनिधिसँग मिलेर रोकथामको भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। स्वास्थ्य सामग्री अभाव भए पनि जे छ त्यसैबाट व्यवस्थापन गरेर अघि बढेको उनीहरूको भनाइ छ।
यस विषयमा हामी थप स्वास्थ्यकर्मीसँग निरन्तर कुराकानी गर्नेछौं। यसपालि चार जनासँग गरेको कुराकानीको सम्पादित अंश:
अन्तर्राष्ट्रिय गुणस्तरको नहोला, तर नहुनुभन्दा घरेलु विधि राम्रो
- जनकबहादुर सिंह (स्वास्थ्य शाखा प्रमुख, जय पृथ्वी नगरपालिका, बझाङ)
जिल्लामा कोरोना रोकथामको अभियान चलाउने हामी पहिलो स्थानीय सरकार होला। हामीले फागुन पहिलो सातादेखि नै अभियान सुरू गरेका हौं। अहिलेसम्म पाँच जनालाई क्वारेन्टाइनमा राखेका छौं। उनीहरूको दैनिक स्वास्थ्य परीक्षण भइरहेको छ। हामीसँग दुईवटा गन थर्मोमिटर छ। नगरपालिकाले हेल्प डेस्क राखेको छ।
हामीलाई दुईवटा मात्र पिपिई प्राप्त भएको थियो। अरू पिपिई यहीँ घरेलु विधिबाट प्लास्टिक सिलाएर बनाएका छौं। मास्क र स्यानिटाइजरसमेत बनाएका छौं। हामीले बनाएका स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय गुणस्तरका छैनन् होला, तर नहुनुभन्दा यो राम्रो हो।
भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षण र उनीहरूको स्क्रिनिङ भइरहेको छ। अहिलेसम्म नगरपालिकामा शंकास्पद बिरामी भेटिएको छैन। तलकोट गाउँपालिकामा भारतबाट फर्किएका दुई जना शंकास्पद बिरामी भेटिएका थिए। उनीहरूलाई हामीले यहीँ राखेर निगरानी गर्यौं। एक जनालाई दुई दिनमै ठिक भयो। अर्को एक जनाको स्वाब परीक्षण गरेपछि नेगेटिभ देखियो।
नगरपालिकाअन्तर्गत १३ वटा स्वास्थ्य चौकी छन्। सबैमा दैनिक उपचार भइरहेको छ। हामीसँग दुईवटा एम्बुलेन्स छन्। एम्बुलेन्स चालकका लागि स्थानीय स्तरमा बनाइएका पिपिई वितरण गरिएको छ भने आवश्यक परे एम्बुलेन्स स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ।
जनप्रतिनिधिहरूले पनि सक्दो सहयोग गरिरहनुभएको छ। उहाँहरू सबै आ-आफ्ना वडामा निरन्तर खटिएको हामीले देखेका छौं। हामीसँग धेरै बिरामी उपचार गर्न सक्ने स्रोतसाधन छैन। त्यसैले हामी यो रोग लाग्नै नदिने गरी तयारी गरिरहेका छौं।
स्वास्थ्यकर्मीहरूको नेतृत्वमा स्वास्थ्य परीक्षण गर्ने, उद्योग वाणिज्य महासंघको नेतृत्वमा खाद्यान्न अभाव हुन नदिने, राजनीतिक जनप्रतिनिधि र दलहरूको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेका छौं। त्यहीअनुसार काम भइरहेको छ। गैरसरकारी संस्थाहरूको संयोजनमा व्यवस्थापकीय काममा सहयोग पुर्याउने, पत्रकार महासंघले प्रचारप्रसारमा सहयोग पुर्याउने लगायत काम हामीले डेढ महिनादेखि गर्दै आएका छौं।
नगरपालिकाका मेयर, उपमेयर तथा राजनीतिक नेतृत्वहरूसँग हाम्रो निरन्तर कुराकानी भइरहन्छ। हामीलाई उहाँहरूको साथ र सहयोग छ। गाउँ-गाउँ र घरघरमा समेत कोरोना रोकथामका लागि जनचेतना अभियान पुगेको छ। कोही व्यक्तलाई समस्या पर्यो भने कहाँ भन्ने सबै थाहा छ।
हामी शंकास्पदहरूको स्वाब निकाल्न जिल्ला अस्पतालसँग सहयोग माग्छौं। जिल्लामा सात जना एमबिबिएस गरेका चिकित्सिक छन्।
स्वाब निकाल्नुपर्यो भने जिल्ला जनस्वास्थ्यलाई भन्छौं
- पदम ओली (सिनियर अहेव, थलारा गाउपालिका, बझाङ)
यहाँ अस्पताल छैन, त्यसैले रोकथामका लागि जनचेतना फैलाउनमा मुख्य ध्यान दिएका छौं। स्वास्थ्य स्वयंसेविका र आमा समूहको सहयोगमा जनचेतना फैलाएका छौं।
गाउँपालिकाका छ ठाउँमा हेल्प डेस्क छन्। गाउँमा स्वास्थ्य स्वयंसेविका र आमा समूहमार्फत् साबुन र मास्क वितरण गरिएको छ। नौवटा वडामध्ये प्रत्येकलाई पाँचवटा क्वारेन्टाइन वार्ड बनाउन भनिएको छ। यसअनुसार गाउँभरिमा ४५ वटा क्वारेन्टाइन वार्ड बनेका छन्। थोलरा माविमा छवटा आइसोलेसन बेड बनाएका छौं।
स्थानीय तहबाटै पिपिई बनाउने काम भएको छ। धनगढीबाट पनि मगाउने भनिएको छ। यहाँको पिपिई प्लाष्टिकबाट सिलाएर बनाइएको हो। त्यस्ता पिपिई ३२ वटा छन्। जिल्लाबाट आएका १० वटा छन्। हामीसँग प्राथमिक उपचारका लागि चाहिने सबै खालका (३५ प्रकारका) औषधि छन्।
प्रत्येक वडामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू छन्। उहाँहरू तयारी अवस्थामा रहनुभएको छ। हामीले बिमा र अतिरिक्त भत्ताको कुरा समाचारमा सुन्न पाएको हो। के, कसरी हुन्छ थाहा छैन। दुई-चारवटा मात्रै केस देखियो भने व्यवस्थापन गर्न सकिन्छ कि भन्ने छ।
हामीसँग एम्बुलेन्स छैन। एउटा जीप छ। पिपिई लगाएर गाडी चालकलाई पठाउने र गाडीलाई स्यानिटाइज गर्न सकिने व्यवस्था गरेका छौं।
हामी आत्तिनु हुँदैन। सजगता भने अपनाउनैपर्छ। हामी मानसिक रूपमा तयार भयौं भने बिरामीको समेत उपचार गर्न सकिन्छ। रोग लाग्नासाथ मृत्यु हुने होइन। विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिहरूले सहयोग गर्नुभएको छ। उहाँहरूले लकडाउन पालना गराउन पनि ध्यान दिनुभएको छ। बिरामीको स्वाब निकाल्नुपर्यो भने हामीले जिल्ला जनस्वास्थ्य कार्यालयलाई भन्ने हो।
जिल्लाभरिका स्वास्थ्य संस्थाहरूको फेसबुक ग्रुप छ, त्यसैमा रिपोर्टिङ गर्छौं
- शान्ति बिक (अहेव, धमाली स्वास्थ्य चौकी, तुर्माखाद गाउँपालिका, अछाम)
स्वास्थ्य चौकीमा पाँच जना कर्मचारी छौं, तर पिपिई जम्मा चारवटा छन्। त्यसमा पनि दुइटा मात्रै पुन: प्रयोग गर्न मिल्ने खालको छ। गाउँपालिकाले २५ बेडको क्वारेन्टाइन बनाएको छ। हाम्रो वडाले पनि बनाउन सुरू गरेको छ।
स्वास्थ्य सामग्री अभाव भए पनि रोकथामका लागि सक्दो प्रयास गरेका छौं। गाउँका मानिसको निगरानी गर्न स्वास्थ्य स्वयंसेविकाहरू खटाएका छौं। सूचना संकलन गरेर हामीलाई खबर गर्न वडाले रिचार्ज कार्ड व्यवस्था गरेको छ।
स्वास्थ्य स्वयंसेविकाहरूले विदेशमा बसेर आएकाहरू कति छन् र कसरी बसिरहेका छन् भनेर हामीलाई रिपोर्टिङ गर्नुहुन्छ। मैले यो कुरा हाम्रो फेसबुक ग्रुपमा रिपोर्टिङ गर्छु। जिल्लाभरिका स्वास्थ्य संस्थाहरूको फेसबुक ग्रुपमा हरेक दिन रिपोर्टिङ गर्ने गरेका छौं।
स्वास्थ्य सामग्रीको अभाव तुर्माखादमा मात्र भएको होइन। हामीले बाध्यताबीच पनि आफूलाई बलियो बनाएर काम गर्नुपर्छ। हामीले गाउँका जनतालाई स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीका कर्मचारीको नम्बरसमेत उपलब्ध गराएका छौं।
आवश्यक पर्दा गाउँपालिकाको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ। एम्बुलेन्स चालकलाई पिपिई र एम्बुलेन्स स्यानिटाइज गर्ने औषधि प्राप्त भएको छ भन्ने सुनेको छु। कोही बिरामी जाँच गर्दा उनीहरूमा कोरोना संक्रमणको लक्षण देखिए हामी जिल्लामा रिफर गर्छौं।
न स्यानिटाइजर न पिपिई, ज्वरो नाप्न पनि सामान्य थर्मोमिटर
- निर्मला श्रेष्ठ (हेल्थ असिस्टेन्ट, बैजनाथ स्वास्थ्य चौकी, साँफेबगर नगरपालिका, अछाम)
हामीले नियमित समयमा जस्तै स्वास्थ्य चौकी खोलेका छौं। पहिलाजस्तो ब्लड प्रेसर नाप्ने लगायत काम भने हुँदैन। ज्वरो आएका बिरामी र उनीहरूको लक्षणबारे जानकारी लिन्छौं। स्वास्थ्य चौकी आएकाहरूलाई कोरोना रोकथामको जानकारी गराएर पठाउँछौं।
पहिलाजस्तो बिरामी आउन छाडेका छन्। हामीसँग स्यानिटाइजर, पिपिई लगायत स्वास्थ्य सामग्रीहरू छैनन्। सामान्य थर्मोमिटरले नै ज्वरो नाप्नुपरेको छ। पञ्जाको अभाव छैन। जनप्रतिनिधिले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउछौं भन्नुभएको छ।
हामीले रोकथामका लागि जनचेतनामै ध्यान दिएका छौं। गाउँगाउँमा साबुनपानीले हात धुने बानी बस्न थालेको छ। मानिसहरू हिँड्ने क्रम निकै घटेको छ। जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले निरन्तर निगरानी गरेका छन्।
जनतालाई हाम्रो नम्बर दिएका छौं। सामान्य समस्यामा नआत्तिनू र केही परे हामीलाई भन्नू भनेका छौं। हामीले बढीभन्दा बढी परामर्शमा ध्यान दिएका छौं।
क्वारेन्टाइनमा बस्न जरुरी परे स्कुलमै राख्न सकिने व्यवस्था मिलाएका छौं। स्थानीय जनप्रतिनिधिले आएर समस्याबारे सोध्ने गर्नुभएको छ। उहाँहरूले नआत्तिनुस् हामी छौं भन्नुहुन्छ। ठूलो समस्या पर्यो भने बयलपाटा सामुदायिक अस्पताललाई खबर गर्छौं। त्यहीँबाट एम्बुलेन्स आउने अनि स्वाब लिएर जाने व्यवस्था गरेका छौं।