राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको षडयन्त्रका कारण निर्वाचनमा हार बेहोर्नु परेको ठहर गरेको छ।
पुस १९ गतेदेखि २१ गतेसम्म बसेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजन भएकोले पराजय बेहोरेको निष्कर्ष निकालेको छ।
‘राष्ट्रवादी तथा हिन्दु राष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षडयन्त्र र त्यही षड्यन्त्र अनुरुप निर्वाचनको पूर्वसन्ध्यामा गरिएको पार्टी विभाजन निर्वाचनमा पराजयको मुख्य कारण हो’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनेको छ।
लिखित रूपमा भएको सहमति अनुसार कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा सिट नदिनु तथा स्थानीय स्तरमा इमान्दारपूर्ण रूपमा सहकार्य नहुनु पनि हारको कारण रहेको राप्रपाको ठहर छ।
अधिकांश ठाउँमा राप्रपाका प्रत्यक्ष उम्मेदवार नहुनु र संविधान संशोधनबारे राप्रपाका स्पष्ट धारणा नआउनु अर्को कमजोरी रहेको राप्रपाले जनाएको छ।
निर्वाचनको परिणामले संसदमा राष्ट्रियता र हिन्दुराष्ट्र पक्षधर शक्तिको उपस्थिति कमजोर भएको राप्रपाको दाबी छ।
राप्रपाले प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभाको लागि पाँच ठाउँमा मात्रै उम्मेदवारी दिएको थियो। राप्रपाका तर्फबाट झापा–३ बाट राजेन्द्र लिङदेन मात्रै विजयी भएका छन्। समानुपातिकतर्फ तीन प्रतिशत मत पनि कटाउन नसकेकोले राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन।
निर्वाचनमा आएको निराशजनक परिणामले राप्रपा आफ्नो आदर्श र मान्यताबाट बिचलित नभएको राप्रपाले स्पष्ट पारेको छ।