कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बिना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन्।
कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बिनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भएकी हुन्।
दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी भएकी छन्।
संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका छन्। विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।
विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताएकी छन्। विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन्।
निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ, उनले भनिन्, ‘यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ।’
स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन्।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उहाँ झिनो मतान्तरले पराजित भएकी थिइन्।
प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन्। शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छन्।