बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको निर्वासित जीवनको सय दिन पूरा भएको छ। आरक्षण विरूद्धको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि गत अगस्ट ५ (साउन २१ गते) गते हसिना देश छाडेर भागेकी थिइन्।
सुरक्षा निकायका प्रमुखहरूको सुझावमा हसिनाले त्यतिबेला प्रधानमन्त्रीबाट राजीनामा दिएर गणभवन छाडेकी थिइन्। उनलाई सेनाले स्कर्टिङ गरेर विमानस्थलसम्म पुर्याएको थियो।
बंगलादेश छाडेको केही साता हसिना चर्चाको केन्द्रमा रहिन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ उनका बारेमा लेखे। शुक्रबार उनले देश छाडेको १०३ दिन पुग्छ। अहिले उनी गुमनाम छिन्।
उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न बंगलादेशले इन्टरपोलमा पत्राचार गरिसकेको छ। त्यसकारण हसिना अहिले कहाँ छिन् भनेर धेरैलाई चासो छ।
अगस्ट ५ को बिहान विद्यार्थीहरूको आक्रोशित भिड गणभवनको नजिकै पुगिसकेका थिए। गणभवन बंगलादेशको प्रधानमन्त्री निवास हो। हसिना त्यतिबेला पनि बल प्रयोग गरेरै भिड तितरबितर पार्ने पक्षमा थिइन्। तर बल प्रयोग गरे ठूलो रक्तपात हुन सक्ने र यसले हसिनालाई थप अप्ठ्यारोमा पार्ने भनेर सुरक्षा प्रमुखहरूले ब्रिफिङ गरेका थिए।
त्यसपछि परिवारकै अन्य सदस्यहरूले अनुरोध गरेपछि भने हसिनाले गणभवन छाडेकी थिइन्।
उनी सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर साँझ ५:३६ बजे गाजियावादको हिन्डनस्थित भारतीय वायु सेनाको अड्डामा अवतरण गरेकी थिइन्।
त्यतिबेला हसिनाले केही समयका लागि मात्रै बस्ने बताएर भारत सरकारसँग अनुमति मागेकी थिइन्। भारतले छोटो समयमै निर्णय गरेर अनुमति दिनुपरेको थियो।
भारतीय सञ्चारमाध्यमहरूका रिपोर्टहरूले हसिना अहिले पनि भारतमै रहेको बताउँछ।
इन्डिया टुडेका अनुसार हसिना त्यतिबेला दुई दिनसम्म हिन्डनस्थित भारतीय वायुसेनाको अड्डामै थिइन्। हाइप्रोफाइल व्यक्तिहरूलाई लामो समयसम्म सैनिक अड्डामा राख्नु खतरा हुने भएपछि हसिनालाई दुई दिनपछि हिन्डनबाट नयाँ दिल्ली पुर्याइएको थियो।
त्यसयता उनी नयाँ दिल्लीस्थित एक सेफ हाउसमा बसिरहेको भनेर फाइनान्सियल टाइम्स (एफटी) ले उल्लेख गरेको छ। एफटीकै रिपोर्टमा हसिना कहिलेकाहीँ आफ्ना साथीहरूको साथमा राजधानीको सबैभन्दा नजिक रहेको लोधी गार्डेनमा टहलिँदै गरेको देखिने पनि उल्लेख गरेको छ।
अर्को भारतीय अखबार द प्रिन्टले अक्टोबर २४ मा प्रकाशन गरेको रिपोर्टले हसिना दिल्लीको ल्युटेन्स बंग्लो जोनमा रहेको रिपोर्ट सार्वजनिक गरेको थियो। त्यो ठाउँमा भारतीय उच्च पदस्थहरू र सांसदहरूको बसोबास रहेको कडा सुरक्षा व्यवस्था भएको क्षेत्र हो।
त्यहाँ उनी आफ्नी छोरी साइमा वाजेदको साथमा रहेको बताइएको छ। साइमा विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक हुन्।
त्यहाँ हसिनालाई चौबिसै घन्टा सुरक्षाकर्मीहरूले पहरा दिइरहने पनि प्रिन्टको रिपोर्टमा उल्लेख छ। हसिनाको सुरक्षामा चौबिसै घन्टा सादा पोसाकमा सुरक्षाकर्मी खटाइएको छ। सेफ हाउसबाट बाहिर निस्कँदा पनि हसिनामाथि ती सुरक्षाकर्मीहरूले निगरानी गरिराख्ने प्रिन्टले आफ्नो रिपोर्ट उल्लेख गरेको छ।
बंगलादेश छाडेपछि बीचबीचमा हसिना बेलायत जान लागेको र त्यसका लागि कागजी प्रक्रिया चलिरहेको समाचारहरू सार्वजनिक हुन्थे। बेलायतमा हसिनाकी भतिजी ट्युलिम सिद्धिकी बस्छिन्।
केही दिन भनेर आएकी हसिनाको भारत बसाई सय दिन नाघिसक्दा अरू देश जान्छिन् कि भारतमै बस्छिन् भन्ने अझै यकिन नभएको इन्डिया टुडेले उल्लेख गरेको छ।
हसिना लामो समय भारतको शरणमा रहेको यो दोस्रोपटक हो।
यसअघि हसिना २७ वर्षकी हुँदा सन् १९७५ मा भारतको शरणमा पुगेकी थिइन्। त्यतिबेला बंगलादेशको राष्ट्रपति रहेका हसिनाका बुवा शेख मुजिबुर रहमानसँगै परिवार र नजिकका नातेदार सबैको हत्या भएको थियो।
हसिना र २० वर्ष पनि नपुगेकी उनकी बहिनी शेख रेहाना यो हत्याकाण्डको दुई साताअघि मात्रै युरोप गएकाले जोगिएका थिए।
हसिना युरोपमै हुँदा परिवारको हत्या भएपछि उनले तत्कालीन पश्चिम जर्मनीस्थित बंगलादेशी राजदूतको निवासमा शरण लिएकी थिइन्। पछि बुबासँग राम्रो सम्बन्ध भएकी र बंगलादेशको स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका खेलेकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग राजनीतिक शरण मागेर भारतमा बसेकी थिइन्।
जियाउर रहमान राष्ट्रपति बनेपछि सन् १९८१ मा हसिनालाई देश फर्कन अनुमति दिएका थिए। त्यतिबेला ६ वर्ष निर्वासनमा दिल्ली बसेर हसिना बाचेका परिवारका अन्य सदस्यसहित बंगलादेश फर्किएकी थिइन्।
त्यसपछि आफ्ना बुबा मुजिबर रहमानले स्थापना गरेको दल अवामी लिगमा आबद्ध भएकी उनी सन् २००९ यता सत्ताको नेतृत्वमा थिइन्।
निर्वासनपछि भने उनीविरूद्ध बंगलादेशको अदालतमा हत्या र मानवअधिकारको गम्भीर उल्लंघनका आरोपमा १६ भन्दा बढी मुद्दा दर्ता भएका छन्। उनीविरूद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ भने बंगलादेशको विशेष अदालतले रेड नोटिस जारी गर्न प्रहरीमार्फत इन्टरपोललाई पत्राचार समेत गरिसकेको छ।