नेपाल आयल निगमले मंसिर १ गते शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। पेट्रोलमा कुनै परिवर्तन गरिएको छैन।
निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रूपैयाँ बढाएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यहाँ लिटरको १५२ रूपैयाँ पर्नेछ।
त्यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५३ रूपैयाँ पर्नेछ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल किन्दैन। आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ आइओसीबाट किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्यसूची पठाउँछ।
आइओसीबाट कात्तिक ३० गते शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२ पैसा र डिजेलमा २ रूपैयाँ ५४ पैसा बढेर आएको छ। यसैअनुसार स्थानीय बजार समायोजन गरिएको हो।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।