प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बीच सवालजबाफ भएको छ।
समितिको शुक्रबारको बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले कांग्रेसकै सांसद तथा राज्यमन्त्री तामाङलाई 'तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नु हुन्छ, यस विषयमा स्पष्ट पार्न पर्छ' भनेका हुन्।
बैठकमा राज्यमन्त्री तामाङ पनि उपस्थित थिए।
जबाफमा राज्यमन्त्री तामाङले आफू सांसद हुनुभन्दा केही समयअघि नै कन्स्ट्रक्सन छाडिसकेको बताए।
‘म सांसद हुनुभन्दा दुई-पाँच वर्षअघि नै कन्स्ट्रक्सन छाडेको हुँ,’ राज्यमन्त्री तामाङले भने, ‘कानुनले रोक्ने गरी बस्दिनँ, सबै छाडिसकेँ, राजनीति पनि छाड्छु।’
यसपछि नेकपा (एमाले) का सांसद रघुजी पन्तले अहिलेसम्म के भएको हो त्यसमा राज्यमन्त्री जिम्मेवार रहनुपर्ने बताएका थिए। ‘मेरो क्षेत्रमा पनि काम अपुरो छ, तपाईंको बारेमा प्रश्न उठेको हिजोका काम बीचैमा छाडेकोले हो,’ पन्तले भने, ‘विभिन्न जिल्लामा प्रश्न उठेका छन्, काम गर्नुस्।’
जबाफमा राज्यमन्त्री तामाङले आफूहरूले राज्यको नीतिनियमअनुसार करोडौं सम्पत्ति धरौटीमा राखेर काम गरिराखेको बताए।
‘राज्यले ज्वाइँ पाले जस्तो होइन, करोडको सम्पत्ति धरौटीमा छ,’ उनले भने, ‘तलमाथि गरे कानुनबमोजिम जरिवाना तिर्न तयार छु। गैरकानुनी काम गरेको रहेछु भने धरौटी पनि जफत गरे हुन्छ।’
सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री तामाङको कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखेको छ। कान्छाराम/एनबी कन्स्ट्रक्सनलाई साँढे दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।