नेकपा (एमाले) ले मंसिर ७ गते शुक्रबार काठमाडौंमा जागरण सभा गर्ने तयारी गरेको छ।
संघ र तीन वटा (कोशी, लुम्बिनी, कर्णाली) प्रदेश तथा दुई सयभन्दा बढी स्थानीय तहहरूमा पनि सत्ताको नेतृत्व गरिरहेको एमालेले आफ्ना मुद्दा स्थापित गराउन जनप्रर्दशनको समेत साथ लिन लागेको हो।
उपत्यकाका तीन वटा जिल्ला कमिटी, चार वटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख मानिस र्यालीमा उतार्ने तयारी रहेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
गौरवशाली इतिहास, सही तथा सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यबारे बुझाउन जागरण सभा आयोजना गर्न लागेको एमालेले बताएको छ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट पार्न जागरण सभा गर्न लागेको एमालेको भनाइ छ।
यस्तै सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन पनि जागरणको जरूरत रहेको एमालेले जनाएको छ।
मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ स्थानमा उपचुनाव हुँदैछ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख, दुइटा वडा (वडा नम्बर १ र ४ को अध्यक्ष) सहित ४४ ठाउँमा उपचुनाव हुन लागेको हो। यो उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि जागरण सभा उपयोगी हुने एमालेको बुझाइ देखिन्छ। यस्तै एमालेविरूद्धको भ्रम चिर्न पनि सडक प्रदर्शन नै उपयोगी हुने एमालेको निष्कर्ष देखिन्छ।
‘यतिबेला एमाले र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ। विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आ-आफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन्,’ एमालेले विज्ञप्तिमार्फत भनेको छ।
कालान्तरमा व्यवस्थाविरुद्ध नै धावा बोल्ने दुष्प्रयत्न भइरहेको भन्दै यसै सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकोले जागरण सभा आयोजना गरिएको एमालेको भनाइ छ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको अगुवाइमा हुन लागेको सभामा विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सभाको व्यवस्थापन गर्ने एमालेले जनाएको छ।