नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका प्रदेश र प्रतिनिधिसभाका सांसदहरूले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरूले भक्तपुर प्रदेश नं ३ को केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन्।
भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा प्रदेश नं ३ को राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताए।
भक्तपुरलाई प्रदेश नं ३ को अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताए।
उनले काम चलाउ सरकारले धमाधम राजनीतिक नियुक्ति गर्नु नैतिक रूपमा नमिल्ने भन्दै तत्काल सरकारले राजनीतिक नियुक्ति फिर्ता लिनुपर्नेमा जोड दिए।
भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा ‘क’ बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं. प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे। भक्तपुर शान्त सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने थापाको भनाइ छ।
त्यस्तै, भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’ बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालिम केन्द्र र सानो थिमीस्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत प्राधिकरणको तालिम केन्द्रमा ३ नं. प्रदेशको अस्थायी राजधानी तोकिने बताए।