प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।
प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ। यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो। यो सङ्ख्या जिल्लामा नेकपा (एमाले)ले प्राप्त गरेको मतभन्दा बढी हो।
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा (माओवादी केन्द्र)ले २७ हजार २२०, नेपाली कांग्रेसले १६ हजार ८४७ र एमालेले १० हजार ५४५ मत प्राप्त गरेका छन्।
यसैगरी, प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ। जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५७० मत खसेकामा १५ हजार ७६६ मत बदर भएको थियो। यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो।
प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली कांग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो। प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २६० मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले १४ हजार ४१८ र एमालेले १० हजार २७१ मत प्राप्त गरेका थिए।
जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ। ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ।