प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेका नेपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको सोलुखुम्बुमा वाम गठबन्धनसँग पराजित भएका कांग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त भएको छ। समानुपातिकतर्फको मतगणना हुँदा नेकपा एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसलाई १५ हजार १४८ मत प्राप्त भएको छ भने एमालेले १२ हजार ६६ र नेकपा (माओवादी केन्द्र)ले सात हजार ६७३ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८५, नयाँ शक्ति पार्टी ३७६, राजपा ६१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ३५ र संघीय समाजवादी फोरम नेपालले २४८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मुरारी बस्तीले जानकारी दिए।
त्यस्तै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ काँगे्रसलाई १३ हजार ४४७, एमालेलाई १० हजार ४५८, माओवादी केन्द्रलाई आठ हजार ३१ र नयाँ शक्ति पार्टीलाई ४०६ मत प्राप्त भएको पनि उनले जानकारी दिए।
यसैबीच, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ चार हजार ६४९ र प्रदेशसभातर्फ ६ हजार ७६३ मत बदर भएको छ । कुल ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो ।