निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्न लायक रहेको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीबीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्।
मंगलबार निर्वाचन पर्यवेक्षकहरूको निर्वाचनसम्बन्धी समिक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दाबी समेत गरे।