नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ट्विटरमा सक्रिय बनेका छन्।
नेकपा एमालेका विजयी उम्मेद्वारहरूलाई उनले ट्विटरमा बधाई दिइरहेका छन्। उम्मेद्वारको फोटोसहित ओलीको ट्विटरबाट सफल कार्यकालको शुभकामना व्यक्त भैरहेको छ। उनले वाम गठबन्धनका विजयी माओवादी केन्द्रका उम्मेद्वारलाई पनि बधाई दिइरहेका छन्।
ओलीको ट्विटरबाट उम्मेद्वारको फोटो सहितको ट्विट भैरहेको छ। जसमा ओलीको हस्ताक्षर र फोटो पनि छ। के एमाले अध्यक्ष ओली आफैँले ट्विटरमा बधाई दिइरहेका हुन् त? एमालेको सामाजिक सञ्जाल ह्याण्डल गरिरहेका प्रेम गुरागाँइले ओलीको अकाउन्ट र एमालेको आधिकारिक फेसबुक पेजबाट बधाईका ग्राफिक्स युक्त फोटो ट्विट गरिरहेका छन्।
निर्वाचनको प्रचार सामग्री तयार गर्ने क्रममा नै एमालेले ग्राफिक्स डिजाइनरलाई प्रयोग गरेको थियो। 'गाफ्रिक्समा काम गर्ने साथीहरू हुनुहुन्छ', गुरागाँइले भने, 'हामी पार्टीको फेसबुक र अध्यक्षको ट्विटरबाट सेयर गरिरहेका छौँ।'
एमाले अध्यक्ष ओलीका सहयोगी राजेश बज्राचार्यले ओलीले मतपरिणाम चासोपूर्वक नियाली रहेको बताए। 'अहिले पार्टी कार्यालयमा भेटघाटमा हुनुहुन्छ', बज्राचार्यले भने, 'उहाँले चासोपूर्वक मतपरिणाम नियाली रहनु भएको छ।'
मतपरिणाम आउने क्रम जारी रहँदा एमालेले हालसम्म प्रतिनिधि सभाको ४ स्थानमा जित हात पारेको छ।