दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयुक्तहरुले पनि मतदान गरेका छन्।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका–१० कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका–२, टीका विद्याश्रम मावि, सानेपा मतदान केन्द्र र आयुक्त सुधीरकुमार शाहले काठमाडौँ महानगरपालिका–४ र धुमबाराही मावि, धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका हुन्।
यसैगरी आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका–८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका आयोगले जनाएको छ ।
बिहान १० बजेसम्म २५ प्रतिशत मतदान
निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदाताले मतदान गरेका छन् । देशका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन्।
प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामान मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको आयोगले जनाएको छ ।