समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।
जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन्।
जिल्लाको ओमसतिया गाउँपालिकामा करीब ३७ हजार जनसंख्या छ। महिलाको संख्या पुरुषभन्दा बढी छ। यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो। जिल्लाका साबिक हाटी फर्साटिकर, बसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो। यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ।
गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउँछन्। छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उनी र गाउँपालिकाको टिमको थियो। त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने बित्तिकै छोरीका नाममा २० हजार रुपैयाँ बैंकमा जम्मा गराउने निर्णय गर्यो।
गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार २० रुपैयाँ वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो। अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै तीन लाख रुपैयाँ पुग्छ। सो कार्यका लागि एक करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ। सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए।
नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ। अध्यक्ष केवटले भने –‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँं।’
यस्तै, निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ। गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन्। उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थिन्।
सरकारले सुरू गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताए। गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सबैले उक्त निर्णयको स्वागत गरेका उनले बताए।
सो गाउँपालिकाको करीब ३८ हजार जनसंख्या छ। महिलाको संख्या पुरुषको भन्दा बढी छ। उक्त गाउँपालिका साबिकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो। गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्याइने बताए।
गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउँछन्। उनी भन्छन् – ‘बीस वर्षसम्म छोरीको नाममा राखिएको रकम तीन लाख रुपैयाँसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ।’ गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफैँ भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ। गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म सहयोग उपलव्ध गराउन सुरू गरेको छ।