प्रतिनिधिसभा र प्रदेशसभाका लागि यही मंसिर २१ गते हुने निर्वाचनको रुपन्देहीमा सबै तयारी पूरा भएको छ।
जिल्लामा २०८ मतदान केन्द्रका ५९८ मतदान स्थल तोकिएको छ। प्रत्येक मतदान केन्द्रमा आठ कर्मचारी र चारजना स्वयसेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोपाल अर्यालले बताए।
उनका अनुसार मतपेटिका, स्वस्तिक छाप, शिल, स्टेस्नरीलगायत सबै सामग्री केन्द्रमा पुगिसकेका छन्। मतदानका लागि कालो र सेतो गरी दुई प्रकारका मतपेटिकाको व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार आज र भोलि नयाँ मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट नै परिचयपत्र वितरणको व्यवस्था गरिएको छ। अन्य मतदाताले यसअघि स्थानीय निकाय निर्वाचनमा वितरण गरिएको परिचयपत्रका आधार मदतान गर्न सक्नेछन्।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८ , नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करीब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।
उनले जिल्लाका प्रतिनिधिसभा सदस्य पाँच र १० प्रदेशसभा सदस्यका लागि २०८ तोकिएका मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ७५ अति संवेदनशील, ४५ संवेदनशील र ८८ मतदानस्थल सामान्य रहेको र सोही अनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन गरिएको बताए। जिल्लामा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन्। जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन्।
निर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल–भारत सीमा नाका गत मध्यरातिबाट बन्द गरिएको छ। नेपाल तथा भारत दुवै देशका सीमा क्षेत्रका उच्च सरकारी अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार सीमानाका ७२ घण्टासम्मका लागि बन्द गरिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिए। उनले जिल्लामा सुरक्षाका दृष्टिले कुनै समस्या नभएकाले ढुक्कसँग मतदान गर्न आग्रह गरे।