संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन्।
ढुंगा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए।
चुनावी प्रचारमा हिँडेको सो जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुंगा प्रहार गरी क्षति पुर्याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए। सो घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए।
यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गरेका छन्।