मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए।
महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुई जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ।
रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको हो ।
यसपटक गोलाप्रथाद्वारा मतदान र सहायक मतदान अधिकृत छनौट गरिएकाले एउटा मतदान केन्द्रमा मात्र महिला परेका भट्टराईले बताए।चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा दुईलाख चारहजार ४६ मतदाता छन्। सबै मतदान केन्द्रमा सोमबारसम्ममा कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।