नेकपा (एमाले) नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।
आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले वाम गठबन्धनको सरकार बनेपछि कानूनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।
एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उनले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिए।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन र जलविद्युतको विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उनले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युतको विकासबाट गर्न सकिने आधार भएको बताए।