निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा कसको पक्षमा चुनावी परिणाम आउँछ? भन्नेमा मतदाता सामु लेखाजोखा हुन थालेको छ।
प्रतिनिधिसभाका चार र प्रदेश सभाको आठ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पार्टीगत आस्थाका साथै उम्मेदवारको जातीयताको आधारमा समेत मतदाताले मतदान गर्ने भएकाले मतपरिणामबारे उम्मेदवार नै अन्यौलतामा देखिन्छ। जिल्लामा मधेशी र पहाडीभन्दा पनि मधेशीभित्रकै जाति/समुदायका आधारमा मतदान हुने भएकोले आफ्नो जितबारे कुनै पनि उम्मेदवार ढुक्क देखिँदैनन्।
जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण यादव, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वराज्यमन्त्री सत्यनारायण भगत तथा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको गठबन्धनबाट राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरश साह लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।
यो क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार मानिएका राजपाका झाविरुद्ध पूर्वसभासद् बबन सिंहको बागी उम्मेदवारी परेपछि राजपाका लागि टाउको दुखाइको विषय बनेको छ। फोरम नेपालका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीले झाको विजय यात्रालाई कठिन बनाएको हो। उम्मेदवार झा भने सिंहको उम्मेदवारीले आफूलाई कुनै असर नपर्ने भन्दै आफ्नो जित निश्चित रहेको बताउँछन्। कांग्रेस र वाम गठबन्धनका उम्मेदवार भने सिंहको उम्मेदवारीको फाइदा उठाउने दाउमा छन् ।
त्यस्तै, क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पूर्वमन्त्री मोहम्मद आफताब आलम, वाम गठबन्धनबाट एमालेका उम्मेदवार पूर्वराज्यमन्त्री मुस्ताक आलम (राजाबाबु), राजपा–फोरम गठबन्धनबाट फोरमका किरणकुमार साहबीच प्रतिस्पर्धा हुने अनुमान छ। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार आलमलाई हराएका मुस्ताक केही दिनअघि एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन्।
यो क्षेत्रमा नातामा मामा पर्ने कांग्रेसका उम्मेदवार आलम र एमाले उम्मेदवार मुस्ताकबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा वाम गठबन्धनअगाडि रहे पनि कांग्रेस उम्मेदवार आलमले केन्द्रीय नेताको छविको फाइदा उठाउन सक्ने आँकलन गरिएको छ। रौतहटको क्षेत्र नं ३ बाट वाम गठबन्धनबाट बिनाविभागीयमन्त्री एवं माओवादी नेता प्रभु साह, काँग्रेसका पूर्वसांसद सुनिलकुमार यादव (जितेन्द्र) र राजपा गठबन्धनका ओमप्रकाश जयसवाल चुनावी मैदानमा छन्।
गत स्थानीय तहको मत परिणामका आधारमा यस क्षेत्रमा कांग्रेस, राजपा र फोरम तीन पार्टीको संयुक्त मतभन्दा वाम गठबन्धनको मत बढी रहेको फाइदा मन्त्री साहले उठाउन सक्ने अनुमान गरिएको छ । रौतहटको क्षेत्र नं ४ बाट काँग्रेसका देवप्रसाद तिमिल्सिना, वाम गठबन्धनबाट एमालेका वंशीधर मिश्र र फोरम–राजपा गठबन्धनका कन्तमुनि जयसवालबीच मुख्य प्रतिस्पर्धा छ ।
मधेशी गठबन्धन कमजोर
मधेस आन्दोलनमा सधैँ अग्रमोर्चामा रहँदै आएको रौतहटमा आन्दोलनको नेतृत्व गर्ने मधेश केन्द्रीत दल भने तुलनात्मक रुपमा निर्वाचनमा कमजोर देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दिँदासमेत बलियो देखिएका राजपा र फोरम नेपाल अहिले गठबन्धन बनाएरै चुनावी मैदानमा ओर्लिंदासमेत आशातीत बलियो बन्न सकेका छैनन् । स्थानीय तहमा कांग्रेसको आठ, फोरमको चार, माओवादी केन्द्रको तीन, राजपाको दुई र फोरम लोकतान्त्रिकको एक उम्मेदवार विजयी भएका थिए ।
क्षेत्र नं १ मा राजपाका उम्मेदवार झा बलियो मानिए पनि अन्य तीन क्षेत्रमा भने मुख्यतः वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । प्रदेशसभाका केही क्षेत्रमा भने फोरम र राजपाका उम्मेदवार बलियो देखिएका छन् । राजपाका नेता अनिल झाले प्रचार गरिएजस्तो आफूहरू जिल्लामा कमजोर नरहेको जिकिर गर्दै स्थानीय प्रशासनले आफूहरूलाई पेलेर कमजोर बनाउन प्रयास गरेको टिप्पणी गर्छन्।