विद्यालय शिक्षाको क्षेत्रमा समयसँगै शिक्षणशैली र अनुशासनसम्बन्धी दृष्टिकोणहरू फेरिँदै आएका छन्।
स्कुलद्वारा निर्धारित अनुशासनको नियम र विद्यार्थीको शैक्षिक सफलताबीचको तादात्य के हो भन्नेमा अभिभावकहरूमा कहिलेकाहीँ केही संशय देखिन्छ। कतिपय अभिभावकहरूसँग केही प्रश्न पनि हुन्छन्।
हालै एक अभिभावकले मलाई सोधे – मेरा छोराको कपालसँग उसको पढाइको के सम्बन्ध छ?
अर्का एक जनाले तपाईंको कक्षामा विद्यार्थीको कपालको ढाँचाको महत्त्व छ कि पढाइको भनेर पनि सोधे।
यस विषयमा उनले मलाई केही सुझावहरू पनि दिए।
यी अभिभावकहरू अनुशासनका नाममा विद्यालयले विद्यार्थीलाई कपाल छोटो पार्न दिएको दबाबमा असन्तुष्टि देखिन्थ्यो।
अभिभावकमा उत्पन्न यस्ता संशय, प्रश्न र असन्तुष्टिसँगै विद्यार्थीमा पनि स्कुलको नियम र अनुशासन सम्बन्धी धारणा फेरिँदै गएको देखिन्छ। कतिपय अवस्थामा विद्यालयले लागू गरेको अनुशासनको नियम उल्लंघन भएको पनि देखिन्छ। शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष वा परोक्ष टकराव भएका उदाहरणहरू पनि छन्।
कहिलेकाहीँ समाचारमा आएझैं कतिपय स्कुलले विद्यार्थीलाई खास किसिमको नियम र अनुशासनमा राख्न निकै कठोर नीति अपनाएको पनि देखिन्छ। कतैकतै कपाल लामो राख्ने र छोट्याए आऊ भन्दा नमान्ने छात्रको कपाल खौरिदिने वा जथाभावी कैंची चलाएर घर पठाइदिने घटना भएका उदाहरण पनि छन्।
छात्रलाई कपाल छोटो राख्न प्रेरित गर्नु उचितै भए पनि खौरिदिनु वा कैंची चलाइदिनु निकै कठोर कारबाही हो। यस्तो कठोर कारबाहीले विद्यार्थीको मनोबल कमजोर बनाउने र स्कुल जान निरूत्साहित गर्ने सम्भावना बढी हुन्छ।
कपालको ढाँचा र पहिरन नितान्त व्यक्तिगत विषय हो। अनुशासन पनि व्यक्तिगत विषय नै हो। यसको मापदण्ड सामाजिक र सांस्कृतिक मूल्यमान्यता, पेसा-व्यवसाय, संलग्न संस्थाको प्रकृति लगायतले प्रत्यक्ष वा परोक्ष रूपमा निर्धारण गर्छ। यसर्थ व्यक्तिको अनुशासन सामाजिक पक्षसँग पनि जोडिएको हुन्छ।
विद्यालय उद्देश्यमूलक संस्था हो जसले खास किसिमका नियमहरू निर्धारण गरेर पालना गराउँछ। सामान्यतया स्कुलले छात्रलाई कपाल छोटो र चिटिक्क राख्न तथा छात्रालाई कोरेर सपक्क पार्न लगाएको हुन्छ। यसो गर्नु विद्यार्थीका लागि कुनै हानिको कुरा होइन र यसमा अभिभावकको आपत्ति हुन्छ जस्तो पनि लाग्दैन।
स्कुल तहको कुनै छात्र वा छात्रा मैले मेरो इच्छाअनुसार कपाल राख्न किन नपाउने भनेर बहस गर्छ भने स्कुलले तोकेको पोसाकमा पनि प्रश्न उठ्न सक्ने भयो। सबै स्कुलमा पोसाकको खास मापदण्ड-नियम (ड्रेस कोड) निर्धारित हुन्छ नै। नेपालमा मात्र होइन, संसारभर हुन्छ।
सन्दर्भअनुसार सामाजका प्रत्येक अवयवहरूमा ड्रेस कोड हुन्छ।
विद्यार्थीको पढाइ-सिकाइ क्षमता उसको एकाग्रता, मेहनत र मस्तिष्कको कार्यक्षमतामा निर्भर हुन्छ। एकाग्रताका लागि बाह्य वातावरणको ठूलो भूमिका हुन्छ। विद्यार्थीको मनस्थिति, आनीबानी र दैनिक गतिविधिले सिकाइ प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छ।
सामान्यतया कपालको ढाँचा वा यस्तै कुनै व्यक्तिगत रूचि र पढाइ-सिकाइका बीच कुनै खास सम्बन्ध छैन। पोसाकका सन्दर्भमा पनि यस्तै निष्कर्ष हुनु अन्यथा ठहर्दैन। तैपनि स्कुलहरू किन यी विषयमा कडा नियम बनाउँछन्? पालना गर्न किन बाध्य बनाउँछन्? पालना नगर्नेलाई किन अनुशासनको कारबाही गर्छन्?
यी प्रश्नहरूमा विचार गर्न आवश्यक छ।
मानवमनोवृत्तिमा देखासिकी निकै बलियो हुन्छ। कपाल, पोसाक र शृंगारमा देखासिकीको प्रभाव झन् बढी बलियो हुन्छ। विद्यालय संस्थाले यी पक्षमा देखासिकी र म के कम भन्ने प्रतिस्पर्धाको भावना नहुने वातावरण बनाउनुपर्छ। निर्धारित पाठ्यक्रअनुसारको सिकाइ र ज्ञान आर्जनको साटो आवरणमा बढी ध्यान हुँदा स्कुलको विद्यार्थी हुनुको उद्देश्य परिपूर्तिमा नराकात्मक असर पर्छ।
अधिकांश विद्यार्थी अनुशासनको निर्धारित मापदण्ड र नियम पालना गर्छन् नै। व्यक्तिगत रूचि वा स्कुल बाहिरको देखासिकीबाट कुनै छात्र वा छात्रा अनुशासन उल्लंघनको बाटोमा हुन्छ भने ऊ एक्लैले वा साह्रै थोरैले छुट पाउने गरी स्कुलले खुकुलो गर्न मिल्ने हुँदैन। स्कुल पक्षपाती हुन मिल्दैन।
ठाउँ, समय र सन्दर्भअनुसार अनुशासन पालना गर्नुपर्छ। कतिपय अवस्थामा स्वविकेकीय पनि होला तर दायराभन्दा बाहिर जानु अमर्यादित हुन्छ। प्रचलित सामाजिक मूल्यमान्यता यही हो।
विद्यालयले विद्यार्थीलाई निर्धारित पाठ्यक्रम पढाउने मात्र होइन, भविष्यमा अनुशासित र जिम्मेवार नागरिक बनाउनमा पनि विशेष ध्यान दिएको हुन्छ। यसो गर्नु विद्यालयको स्वाभाविक धर्म हो, जिम्मेवारी हो।
प्रत्येक विद्यार्थीले पढोस्, मेहनत गरोस् र सिकोस्; मुख्य कुरा यो हो; कपालको ढाँचा वा पहिरन जस्ता पक्ष महत्त्वका होइनन् भन्ने तर्क गर्न पनि सकिन्छ। अनुशासनको मापदण्ड र नियम विद्यार्थीले पढाइ-सिकाइमा ध्यान केन्द्रित गर्न सकोस्, मेहनत गरोस् र बढीभन्दा बढी सिकोस् भन्ने उद्देश्यमा आधारित छ।
अनुशासन विकासले विद्यार्थीमा जिम्मेवारी, स्वनियन्त्रण र समय व्यवस्थापनको चेतना जागृत गराउँछ। भविष्यमा सचेत नागरिक हुने आधार पनि यही हो।
उद्देश्यको यो पाटोमा विश्वास गर्ने हो भने कपालको ढाँचा, पहिरन, शृंगार वा यस्तै अव्य व्यक्तिगत रूचिका पक्षहरू गौण बन्छन्। अनुशासनको नियम कति कठोर वा खुकुलो हुने, कुन नियम उल्लंघनमा कस्तो कारबाही गर्ने जस्तो कुरा छलफलको विषय बन्न सक्छ। शिक्षक-अभिभावक छलफलबाट विद्यार्थीको पढाइ-सिकाइमा मद्दत पुग्ने गरी निष्कर्षमा पुग्न सकिन्छ।
विद्यालय शिक्षाको प्रभावकारिता अभिवृद्धिमा शिक्षक-अभिभावक सहकार्य निकै महत्त्वपूर्ण हुन्छ। अभिभावकले विद्यालयलाई आफ्ना छोराछोरीको भविष्य निर्माणको जिम्मेवारी सुम्पेका हुन्छन्। विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य परिपूर्तिका लागि काम गर्नु स्कुलको अर्को जिम्मेवारी हो।
कहिलेकाहीँ कतिपय अभिभावकले ‘मैले भनेको त पटक्कै मान्दैन, तपाईं तह लगाइदिनुहोस्’ भनेर शिक्षकलाई आफ्ना छोराछोरीको थप जिम्मेवारी सुम्पिन खोजेको पनि देखिन्छ।
यी जिम्मेवारी पूरा गर्न आधुनिक मानवसमाजको चेतना र मूल्यमान्यता तथा राज्यको कानुनसमेत ध्यानमा राखेर विद्यालय प्रशासनले अनुशासनको मापदण्ड निर्धारण गरेको हुन्छ।
खास सन्दर्भमा विद्यार्थी, अभिभावक र शिक्षक जसको पनि कुनै गुनासो हुन सक्छ। यी तीनै पक्षको सहकार्यमा अनुशासन बलियो बनाउँदै विद्यार्थीको पढाइ-सिकाइ सुधार गर्ने उपाय अवलम्बन गर्नुपर्छ।
एउटा उदाहरण – मोबाइल फोनको उपयोगी प्रयोगको शिक्षा दिने काम स्कुलको हो तर यसको दैनिक अनुगमन गर्ने जिम्मा त अभिभावकै हो नि!
अभिभावकको सहयोग नभई स्कुलले मात्र विद्यार्थीलाई अनुशासनमा राख्न सक्दैन। विद्यार्थीको मनोवृत्तिमा घरायसी वातावरणको प्रभाव सबभन्दा बढी हुन्छ। स्कुलमा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गराउन शिक्षकले अनावश्यक बाह्य गतिविधिमा नियन्त्रणको प्रयास गरेको हुन्छ। यस्तो प्रयासलाई अनुचित ठहर गर्ने हो भने पढाइ-सिकाइमा नकारात्मक प्रभाव पर्छ।
अनुशासनका नाममा विद्यार्थीलाई निराश बनाउने काम नहोस्। पढ्ने चाहना हुँदाहुँदै विद्यालय जान मन नलाग्ने वातावरण नहोस्। यसको अर्थ पढाइ-सिकाइका सन्दर्भमा कुनै विद्यार्थी शिक्षकको स्वाभाविक नियन्त्रणबाहिर होओस् भन्ने हुनु हुँदैन।
विद्यालय तहमा पढ्ने आजको विद्यार्थी अनुशासित हुनु भनेको भविष्यमा अनुशासित र जिम्मेवार नागरिक हुनु हो, जीवन व्यवहार सिक्नु हो।
आजको युग आपसी सदभाव, समन्वय र सम्मानको हो। युगका यी आयामहरू बेवास्ता गरेर स्कुलले अनुशासनको मापदण्ड र नियम बनाउनु उचित हुँदैन। अभिभावकको सहयोग र अनुकूल पारिवारिक वातावरणमा मात्र विद्यार्थीको पढाइ-सिकाइ सुदृढ हुन्छ।
विद्यालय र शिक्षकका लागि विद्यार्थीको कपालको ढाँचा वा पहिरन तब गौण बन्छ जब विद्यार्थी सम्पूर्ण रूपमा पढाइ-सिकाइमा केन्द्रित हुन्छ।