कर्म कल्चर
हात हालाहाल भएको होइन। कपाल कुँयलाकुँयल भएको पनि होइन। नभएको कुरा लेख्नु हुँदैन।
तर नभएको त्यति मात्र हो।
झट्टै आवेशमा आउने र हुलमुलमा जीउ जोगाउन गाह्रो पर्ने काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारी साधनका सधैंका सिलसिला हुन्। म चढेको सफा टेम्पोले कार्यालय समय के, विद्यालय समय के, बजार समयका हतारका यात्रु एकै घान पार्न आतुरी गर्दै थियो। पाँच-पाँच जना दुईतिर मुखामुख बस्ने सिट एउटा खाली छ कि भनेर पछाडि फर्केर हेर्दै चालक शंखमूल-बौद्ध मार्गको व्यस्तता थप्ने गरी गुड्न थालेका थिए।
उसै त उकुसमुकुस उपत्यका, उसमाथि ठेलमठेल साधनभित्र सास फेर्न सकसै होलाझैं हुन्छ। पेट्रोल, डिजेल मिसिएको हावा फेर्दै हरियो देख्ने भनेकै इनामेल हो भन्ने लागेपछि उफ् चिटचिट आफै स्वतः बढ्दै जान्छ।
सहरमा साँझको रौनक थपेर फर्केका वा थप्न निस्केका तीन जना किशोरी टेम्पोपछाडि अचानक देखापरे।
अगाडि परेका दुई जना किशोरी चालकछेउको सिट भर्न हतारिए। तेस्री चाहिँलाई उपनाम काढ्दै पछाडि बस्न अह्राए।
पछाडि, हामी भएतिर एक जना अट्ने ठाउँ त थियो, तर त्यो ठाउँ कुन चाहिँ हो यकिन हुन्थेन। एकले अर्कालाई कम्मरले ठेल्ने र धकेल्ने, 'एक्सक्युज मी' भन्दै अलिकति अडिन पुग्ने चेप खोज्ने! जो पछि आयो, उसले रोजेको ठाउँ रोजाना कहाँ पाउँथ्यो र!
'उता सर्नू न,' किशोरीले त आदेश दिएझैं पो गरिन्।
त्यतापट्टि छेउमा बसेकी महिला असमञ्जस्यमा परिन्।
उनले केही बेर अघि मात्र अर्कोसँग भनसुन गरेर छेउमा अडिन पाएकी थिइन्। म छिटो झर्ने हो भन्ने भान पार्दै उनले आफ्ना लागि हासिल गरेको ठाउँमा एकाएक अर्को कोही आएर हक जताएजस्तो गर्दै थियो।
'तिमी जाऊ,' महिलाले किशोरीलाई भित्र पस्न मिल्ने गरी घुँडा अझै दोबार्दै भनिन्, 'म चाँडै झर्ने हो।'
'म पनि चाँडै झर्ने हो,' किशोरीले महिलालाई नै पर सर्न ढिपी गर्दै टेम्पोभित्र पसेर त्यहीँको त्यहीँ नसर्दै निहुरी परेर उभिइरहिन्।
उनले 'चाँडै झर्ने' भनेको कसैले पत्याउन गाह्रो थियो, किनभने उनका दुई साथीले अघि भर्खर चाबहिल नै पुग्ने खुस्काइसकेका थिए। उसमाथि सके स्कुले उमेरकी केटी त खुरूक्क आफ्नो थान्कोमा बसिहाल्छे भन्ने पनि परेको थियो! ती किशोरीहरूको उमेर प्लस–टू गर्दै गरेका वा भर्खर सकेका अनुमान हुन्थ्यो।
लाम्बाहुले गन्जी र पाइन्ट 'कलर म्याच' गर्ने हृष्टपुष्ट उज्याली किशोरीले हातको कफी मगजस्तो लाम्चो बिर्कोवाला भाँडो हल्लाउँदै 'सर्नू, सर्नू' भनेर बल थपिन्।
'कति चर्को बोलेकी?' मेरो आडकी महिलालाई खपिनसक्नु भएको रहेछ, आफ्नो अगाडि भएको ढिपी प्रदर्शनविरूद्ध प्वाक्क बोलिन्।
किशोरीले आफ्ना आँखा सिधा अगाडि पारेर, टक्क आँखा जुधाएर हकारिन्, 'तपाईंको समस्या के हो?'
'तिमी भित्र जान नहुने, किन?'
'मैले तपाईंलाई सर्नू भनेकी छु?'
'उहाँ चाँडै झर्ने भन्दै हुनुहुन्छ,' महिलाले भनिन्, 'सुनिनौ?'
'म पनि त चाँडै झर्ने हो, किशोरीले स्वर दोब्बर गर्दै मेरो आडकी महिलालाई दाब्न खोजिन्, 'सुन्नुभएन?'
भैगो त भन्ने भावमा, अघि नै देखि दोबारेर राखेका खुट्टा झट्कार्दै महिलाले आफै ठाउँ सरिदिएर किशोरीलाई छेउकै सिटबाट डाँको बढाउन सक्ने सुविधा दिइन्।
यता मेरो आडकी महिलाको पारो चढिसकेको थियो।
किशोरी र महिला, जो दुईतिरका छेउका 'भाग्यमानी' सिटधारी थिए; उनीहरू 'फेस टु फेस' हुनु टेम्पोको तापक्रम बढ्ने कारण बन्यो। एकले अर्कालाई आँखा जुधाउँदै झाँको झार्न रोकिएनन्। हान्ने गाईझैं सिँगौरी खेल्लान् जस्तो भयो। कति कोरली बाच्छी त माउका परिपक्व सिङमा आफ्ना हुर्कौला सिङ जुधाएर निहुँ खोज्छन्!
'सोमत छैन?' महिलाले झन् स्वर दह्रो गरिन्।
'आफ्नै छोराछोरीलाई सिकाउनुस्!'
'तिमी जत्री त मेरी छोरी नै छ।'
'उसैलाई सिकाउनुस्।'
'कस्ती चोथाले!'
'आफू नि?'
त्यो भनाभन जारी राख्दै व्यस्त काठमाडौंमाझको अस्ताउन लागेको दिन म ती दुईलाई नियाल्दै थिएँ, तर सोझै हेर्दा क्वारक्वार्ती हेरेको बात् लाग्ला भनेर चोर आँखा पार्दै घरि आफूतिरकी महिला, घरि अगाडिकी किशोरीलाई चियाउँथेँ।
महिलाले पसिना पुछिन्।
उनको अनुहार र मुद्रा प्रत्यक्ष देख्न सम्भव भएन। आडको मानिस जति नजिक भए पनि ठम्याउन गाह्रो हुने रहेछ। किशोरीलाई भने पूरा सकल अनुहार ठम्याउन सक्थेँ। उनको रङ बदलिएको थिएन। हुन्छ नि, झगडा परेपछि नशा तन्किने, गाला रातो हुने!
किशोरीले धकेलेकी महिला मेरो सम्मुख थिइन्, जसले आफूलाई त्यो बिनासित्तिको गलफत्तीको कारक महसुस गरेकी हुनुपर्छ।
मेरो दुवैतिरका महिला र अगाडिकी 'कारक' महिलाको उमेर समूह एउटै देखिन्थ्यो, जो एकार्कासँग अपरिचयबीच किशोरीको हस्तक्षेपले एउटै समूह बन्न पुगेका थिए। बाचाल महिलाले कस्सिएर केही भन्दा बाँकी दुईले सानो स्वरमा सही थाप्थे, 'हो भन्या! त्यही त भन्या!'
'भयो छाडिदिनोस्,' एउटीले क्रूद्ध महिलालाई विनीत स्वर बनाएर सम्झाउन खोजिन्, 'आजकलकासँग सकिँदैन।'
'आजकलका' र 'उहिलेका' दुई समूह मिलेजस्तो लाग्ने यात्रुहरूबीच हामी मूकदर्शक पक्ष 'उहिलेका' नै थियौं। हामी कुनै पक्षतिर प्रकट हुन सकेका थिएनौं। त्यसरी पक्षधरता नदेखाई निस्पृह बस्नु कमजोरी हो कि विशेषता थाहा भएन। तर मलाई घरिघरि आफू निरीह भएजस्तो लाग्यो। उपायहीन!
आफ्नै रोहवरमा जे भइरहेको छ, त्यसबारे आफ्नो धारणा प्रकट गर्न सकिएको छैन। ती महिलाले 'आजकलकासँग सकिँदैन' भनेर आक्रोशित महिलासँग साख्य बन्न खोजेर पुस्ताको भिन्नता कोट्याएपछि बढी जिज्ञासु बनेँ।
उमेर समूहका हिसाबले तीन महिला, जसलाई आमा समूह भन्न सकिन्थ्यो र तीन किशोरी, जो एकसाथ आएका साथी नै थिए, अझ सहपाठी हुन सक्थे। महिलाहरू भने आपसमा अपरिचित थिए, तर सरोकार हेरी एउटा स्वार्थ समूह बन्न पुगेका थिए। उनीहरू आपसमा कति अपरिचित थिए भने सुरूमा एउटीले अर्कालाई पर सर्न आग्रह गर्दा व्यंग्य गर्दै 'शरीर जत्रो भए पनि भाडा उही लाग्ने हो' भन्दै थिइन्। त्यो झगडाको बीउ बन्न पाएन, किनभने त्यो अंकुराउन नपाउँदै स्थिति फेरियो।
कुर्ता-सुरूवालवाला आमा समूह र गन्जी-पाइन्टवाला छोरी पुस्ता समूहबीच भित्रभित्रै भुसको आगो बढिरहेको थियो।
काठमाडौं रहँदा पाएसम्म लम्किने, कहिलेकाहीँ यसैगरी गुड्ने मैले त्यस दिन त्यसअघि बसमा चक्रपथको चौथाइ सडकजति रिंगेको थिएँ। चालकको ठिक पछाडि यात्रुहरूतिर फर्काएर कागज टाँसिएको पढेको पनि थिएँ — बिहान चाँडै उठ्ने मान्छे प्रायः निद्रा पुगेर होइन; जिम्मेवारी, कर्तव्य सम्झेर ब्युँझेको हुन्छ।
यातायात साधनमा सबैका लागि रूचिकर छोटकरी सूत्र वाक्यहरू, सूक्तिहरू, उक्तिहरू टाँसेर यात्रुलाई शान्त रहन र सोच्न प्रेरित गर्नुको एउटा तात्पर्य टेम्पोभित्रको घटनाले खुलायो।
अंग्रेजीमा मिस्टर जिआरसी लेखेर त्यो प्रेरणाप्रद नेपाली उद्धरणसहित गुड्ने महासागर यातायात आफैमा महानगर यातायातसँग हानथाप गर्दै को चाँडो अर्काको यात्रु आफूले बटुल्ने, के सोहोर्ने के खोस्ने होडमग्न हुने गर्छन्।
बसको जस्तै प्रेरणा दिने केही कुरा कतै लेखिएको छ कि भन्ने लागेर मैले यात्रुहरूका डन्डीमा समातिने हातहरूभित्र आँखा घुसाउँदै चाल मारेँ। निहुरी पर्दै गुड्नुपर्ने त्यति सानो सवारीभित्र पनि सम्मानसाथ ज्येष्ठ नागरिक/अशक्त नागरिकसहित तीन सिट महिला आरक्षण लेखिएको थियो, जुन ठूला बसका सिटको तुलनामा ठूलै छाती हो।
समावेशी नेपालको एउटा देखिने परिवर्तन यातायातमा एकाध भए पनि सिट लेखिनु हो, कम्तिमा हामीमा एउटा सभ्यताको सुरूआत भयो। नलेखिने परिवर्तन नदेखिएका हुन्छन्, जुन बानीबेहोरामा बदलिएका हुन्छन्। यही हुन्छ भन्ने ठम्याउन सकिँदैन, मानिसका मनमा भने परेको हुन्छ। जमाना फेरियो भन्ने धारणा भौतिक प्रगति हेरेर मात्र भनिने होइन, मनस्थिति कति बेग्लियो महसुस गर्ने हो।
मैले आँखाका तीर घुमाउँदै थिएँ, चालकको छेउ ठूलै अक्षर रहेछ — सेवा स्यामुन्ना!
उनको ध्यान भंग होला र 'तपाईंहरू हल्ला नगर्नूस्, नत्र झरेर जानूस्' भन्लान् कि ठानेर उनलाई हेर्दै थिएँ — उनले यात्रुहरूबीचको खैलाबैलाबाट फिटिक्कै अप्रभावित रहेर आफ्ना सम्पूर्ण इन्द्रियहरूलाई आफू अगाडिको अस्तव्यस्त सडकमा केन्द्रित गरिरहे। यात्रुहरू आपसमा जेसुकै गरून् — स्यामुन्ना!
'छाडिदिनोस्, हा ... नबोल्नोस्' भन्ने आफूजस्तै महिलाको सुझावको विनम्रताले ती महिला बदलिइनन्।
'हद हुन्छ नि!' उनले बोलिन्, 'आँखै अगाडि त्यस्तो हेपेको हेर्न सुहाउँछ?'
'हो भन्या,' अर्की महिलाको स्वर यसपटक अलि सुनिने गरी बढ्यो।
'तपाईं किन बीचमा?' किशोरीले ती अर्की महिलालाई पनि हप्काउने गरी बोलिन्।
'हामी सँगै चढेका हौं,' उनले आफ्नो बचाउमा भनिन्।
'त्यही त भन्या,' किशोरीहरूका लागि ठाउँ सरिदिने महिलाले सही थापिन्।
तीन जनाको सूरताल मिलेको प्रकट भएपछि किशोरीले अझ स्वर गरिन्, 'मैले त्यस्तो के भनेकी थिएँ र?'
'बढ्ता बोल्छ्यौ?' अघि नै देखिन् राँको हुँदै आएकी महिलाले भनिन्।
त्यसपछि किशोरीले अगाडि चालकछेउ एउटा सिटमा खापिएर बसेका आफ्ना दुई साथीलाई सुनाउने गरी के बोलेकी हुन् मैले त मरिकाटे बुझिनँ। मकै भुटेको बरू हाँडीभित्र सिन्का चलाउनेको मनोभाव हेरी बुझ्न सकिएला!
'के बोलेकी त्यस्तो?' महिला जंगिइन्।
'के भनेँ र?'
'झापड हान्ने भन्या होइन?' उनले भनिन्, 'तिम्रो पाल्सी भाषा मैले नबुझ्या हो?'
उनी त्यसरी उफ्रिँदा किशोरीले हो पनि भनिनन्, होइन पनि भनिनन्।
मध्य-बानेश्वर कटिसकेको थियो र ती महिलाको झर्ने ठाउँ गइसकेको थियो। हातले ऐया हुने गरी टेम्पोमा हानेर रोक्न लगाइन् र बीसको नोट हामी-हामीबीच एउटाको हातबाट अर्कोमा सर्दै चालकको खल्तीसम्म पुग्ने भएपछि झरिन्। झर्दाझर्दै भनिन्, 'बेकारमा तनाव मात्र बढ्यो, ठाउँ पनि छुट्यो।'
'तनाव मात्र बढ्यो' भन्ने उनका शब्दहरू हामीसँगै यात्रा गरिरहे। उनको तनावको भारी हामीसँगै थियो, किनभने निचोड निस्किसकेको थिएन। छिनोफानो भएकै थिएन। र, सके हुनसक्ने पनि थिएन।
मैले किशोरीलाई हेरेँ, उनको अनुहारमा कुनै मनोभाव नै थिएन। छु मतलब खालको! हाउ कूल! अझ सालिकजस्तै लाग्यो। आफूसँग बाझ्ने महिला झरेको खुसी पनि छैन, उनलाई तनाव बढाइदिएकामा दुःख पनि छैन। केही नभएजस्तो!
अरू दुई महिलाले पनि आफ्नो समूहकी प्रवक्ता निस्केपछिको जिम्मेवारी सके चुप लाग्नुमै देखे। त्यसपछि उनीहरूले एक शब्द चूँ पनि गरेनन्, न किशोरीले।
महिलाले तनाव बढ्यो भनिन्, उनी मुखर थिइन्। तनाव हामी सबैको बढेको थियो। रोहवर बस्दा मौन रहनु पनि तनावै हो। आफू भित्रभित्रै भुट्भुटिरहेको हुन्छ। आफ्नो जिम्मेवारी केही छ कि भन्ने चिन्ता बढ्छ। जिम्मेवारी ख्याल गर्न सकिएन कि भन्ने सुर्ता सुरू हुन्छ। ती महिलाले ठिकै बोलेकी हुन् भने उनलाई कम्तिमा सराहना गर्नुपर्थ्यो। उनको तनाव त कम हुन्थ्यो! आफूले सही कुरा गरेको छु भन्ने लाग्छ, तर अरू निरपेक्ष बसिदिए भने जस्तै मै हुँ भन्नेको पनि आत्मबल त्यसै कम हुन्छ। आत्मग्लानि हुन सक्छ।
आत्मग्लानि हुन पुग्नु भनेको व्यक्तिको कमजोरी जति हो, अरूको दोष कम होइन, अझ बढी हुनसक्छ।
कोही आफ्नै अगाडि आफू चुप बसिदिँदा आत्मग्लानीमा पर्यो भन्ने सोच्नेको पनि सजाय सुरू हुन्छ। जस्तो मलाई नै भयो, ग्लानि भइरह्यो।
मैले 'तनाव नलिनुहोला, तपाईंले केही अर्घेलो गर्नुभएको थिएन' भन्ने सक्थेँ। भन्नुपर्थ्यो भन्ने ज्ञान तत्काल, तत्क्षण आएन। आएको भए पनि त्यसो भन्ने आँट हुन्थ्यो कि हुन्थेन म भन्न सक्दिनँ। त्यसो भन्नु किशोरीसँग बहस ब्युँताउनु होइन, त्यसका लागि खुला आमन्त्रण त के, 'च्यालेन्ज' गरे सरह हुन सक्थ्यो।
महिलालाई जति तनाव बढेको सुनियो, किशोरीलाई केही देखिएन। तनाव कति देखिन्छ, कति देखिन्न। कति लुकाउन सक्छन्, कति सक्दैनन्। सहर बजारमा तनाव त्यसै पनि बढी हुन्छ। सहर बजारमा तापक्रम बढी भएको हामी महसुस गर्छौं। सहरबाहिर खुला ठाउँ केही बेर पुग्दैमा हामी राहत ठान्छौं। बाहिरी तापक्रमले मानसिक तापक्रम पनि बढाउने त वैज्ञानिक अनुसन्धानै छन्, त्यसरी त सहरी जनसंख्या बाहिरीसँगै भित्री तापमानको पनि बढी जोखिममै छ।
कोलाहल र कलह, लुछाचुँडी र भागदौड, हानथाप र होडबाजीले मात्र होइन; असफलता, अक्षमताको ग्लानिसँगै साथ, सहयोग र सम्बन्धहरूको अभावमा एक्लोपनले पनि मानसिक तापक्रम बढाइरहेको हुन्छ। मानसिक तापक्रम आज नसर्ने महामारीका रूपमा व्याप्त भइसकेको विश्वव्यापी अध्ययनहरूले औंल्याएका छन्।
सहर बजारले स्वास्थ्य उपचार, शैक्षिक डिग्री र आर्थिक उपार्जनका अवसरहरू प्रशस्त उपलब्ध गराउँछन्। भौतिक विकासका यी सूचकहरूका खातिर हामी देशभरि सहर बजारको विकास र विस्तारतर्फ उद्यत छौं। तर कस्ता सहर बजार, कस्ता बस्ती, कस्ता बसोबास भन्नेमा हाम्रा बहसहरू छैनन्। हामी रन्किरहेका मानिस देख्छौं, तिनको रनाहा के हो देख्दैनौं। जलवायु परिवर्तन ठूलो मुद्दा छ, मनवायु परिवर्तन ठूलो मुद्दा हुन बाँकी छ।
म चाँडै झर्नु छ भन्ने हानथाप गर्ने महिला र किशोरी अझै यात्रा गरिरहेका थिए, त्यसको निहुँमा न्याय–अन्याय के हो खरोसाथ खुट्टयाउन खोज्ने महिला झरिसकेकी थिइन्।
झगडाका दुई मूल पात्र एकसाथ टाँस्सिएर चुपचाप बसिरहेका थिए भन्नुको अर्थ उनीहरूबीच आपसी सहमति भइसकेको थियो भन्ने होइन। झगडा विराम गरेको वा थाती राखेको, जुन कुनै पनि बेला पुनः सुरू हुन सक्थ्यो, सक्नेछ। मूल कारण ती व्यक्तिहरूभन्दा तापक्रम बढाउने विषयहरू न हुन्!
म पनि झरेँ। 'सेवा स्यामुन्ना' मुनि चालक खल्तीमा पुग्ने गरी नोट पठाएँ। एकले अर्कालाई सहयोग गर्ने प्रक्रिया जारी रह्यो।
टेम्पोबाट ओर्लेर झगडाका बीउहरू दुवैलाई पुलुक्क हेरेँ र चुपचाप पर पुगेका दुवैलाई मनमनै भनेँ —
सेवा स्यामुन्ना!
***
यी पनि पढ्नुहोस्: