प्राज्ञिक र बौद्धिक क्षमतालाई मात्र महत्त्व दिने व्यक्तिहरू किन सफल हुँदैनन्? किन उनीहरूलाई समाजमा सहजै स्थापित हुन चुनौती हुन्छ? वा, ती किन सीमित र आत्मकेन्द्रित सफलतामा सन्तुष्ट हुन्छन्?
अर्कातिर, किन एक अति नै साधारण देखिने व्यक्तिले सहजै जीवनमा परिवर्तन ल्याउन र योगदान दिन सक्छ?
कुनै एक क्षेत्रको पोख्त विशेषज्ञको पेसा सुस्त होला, तर एक कुशल सञ्चालकको त्यही व्यवसाय सफल हुन्छ। शैक्षिक क्षमता मात्र हासिल गरेकाहरू यस्तै एक पक्षीय विशेषज्ञ जस्तै हुन्, जोसँग जीवनका बहुआयामिक सन्तुलनका निम्ति आवश्यक सीप हुँदैनन्। उनीहरूमा बौद्धिक विश्लेषणका प्रखर क्षमता होलान्, तर वास्तविक संसारमा संघर्षरत हुन्छन्।
तसर्थ विद्यार्थीको शैक्षिक वा बौद्धिक विकासमा मात्र केन्द्रित हुने स्कुल वा अभिभावकलाई एउटा गम्भीर प्रश्न छ — हाम्रा बालबालिकाको शिक्षामा के कस्ता तत्त्वहरू स्थापित गरेमा उनीहरूको जीवन उच्च शैक्षिक उपलब्धिसहित सुव्यवस्थित र सफल बन्न सक्छ?
यही प्रश्नलाई आधार मानेर यो लेखमा सामाजिक-भावनात्मक शिक्षा (सोसियल-इमोसनल लर्निङ वा 'सेल' ) को सन्दर्भमा विश्लेषण गर्नेछु।
आशा छ, यसका आधारभूत तथ्यहरूले स्कुल, शिक्षक र अभिभावकहरूलाई अन्तरदृष्टि दिनेछ।
येल विश्वविद्यालयका प्राध्यापक जेम्स कमरले सन् १९६० को अन्त्यतिर स्कुल विकास कार्यक्रमअन्तर्गत सामाजिक-भावनात्मक शिक्षाको अवधारणा दिएका थिए। र, यो विद्यार्थीको शैक्षिक सफलताका लागि आवश्यक हुने बताएका थिए।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हवार्ड गार्डनरले सन् १९८३ मा बहुबौद्धिक सिद्घान्त प्रतिपादन गरेका थिए। र, सन् १९९५ मा डेनियल गोलम्यानको किताब 'इमोसनल इन्टेलिजेन्स' प्रकाशन भएको थियो।
उनीहरूका यी खोज र बहसले मानवबुद्घि सम्बन्धी पारम्परिक बौद्धिक स्तरको मापनकार 'बौद्धिक क्षमता' का किसिमका अवधारणालाई र वास्तविक संसारका चुनौतीको समाधानलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाए। साथै जीवनको सफलताका लागि केवल संज्ञान (कग्निटिभ) को विकास मात्रले पुग्दैन, यसका अन्य पूरक बहुआयामिक पक्षलाई पनि शिक्षामा समेट्न पर्ने आधारहरू औंल्याए।
यसै समय सन्दर्भमा, सन् १९८७ पछि टिमोटी श्रिभर र रोजर पी. विसर्गले स्कुलमा कक्षा एकदेखि बाह्रसम्म सामाजिक-भावनात्मक शिक्षाका कार्यक्रमको सुरूआत गरेका थिए। प्रगतिशील शिक्षा दर्शनका आधारमा सामाजिक-भावनात्मक शिक्षाको स्तम्भ खडा गरिएको छ। शिक्षालाई व्यावहारिक बनाउन सक्ने र जीवनोपयोगी सीप स्थापना गर्ने माध्यमका रूपमा यसको शिक्षा क्षेत्रमा लोकप्रियता बढ्दो छ।
सामाजिक-भावनात्मक सिकाइ वास्तवमा एक शैक्षिक प्रक्रिया हो। यसले विद्यार्थीका विविध र आधारभूत कौशलतालाई व्यावहारिक जीवनका लागि एकीकृत गर्छ।
प्राज्ञिक, सामाजिक र भावनात्मक शिक्षाका लागि काम गर्ने संस्था 'क्यासेल' को अध्ययनले यस्तो सिकाइको पाँच आयाम पहिचान गरेको छ।
पहिलो आयाम हो — स्वचेतना वा आफैले आफ्नो परीक्षण गरेर आफूप्रतिको सकारात्मक प्रतिबिम्ब निर्माण गर्ने सीप।
यो भनेको ऐनाका अगाडि उभिएर आफ्नो नापनक्सा हेरेजस्तै वा अन्धकार कोठामा बत्ती बालेर आफ्नो स्थानको यथार्थ जानकारी लिने क्षमता हो। यो आफ्ना अन्तरनिहित भावना, कुण्ठा, आत्मविश्वास, साहस आदि आफ्नै परिचित्रसँग परिचय हुने र तिनको प्रयोग गर्ने सामर्थ्य हो।
दोस्रो आयाम हो — स्वव्यवस्थापनभित्र आवेश नियन्त्रण, स्वअनुशासन, लक्ष्य निर्धारणजस्ता पक्ष।
यसलाई एक चालकले गाडी चलाएको उदाहरणसँग दाँज्न सकिन्छ। यात्रा क्रममा कहाँ गति नियन्त्रण गर्ने, दायाँ वा बायाँ मोड्ने, आवश्यक ठाउँमा ब्रेक लगाउँदै सावधानीका साथ गन्तव्यमा पुग्ने जस्तै यो विद्यार्थीले स्वयं आफूलाई हाँक्ने सीप हो।
तेस्रो हो — सामाजिक सचेतना।
उड्दै गरेको जहाजले बाह्य वातावरणको एक-एक जानकारी लिँदै अवतरण गर्दाको वस्तुस्थितिलाई सामाजिक सचेतनासँग दाँज्न सकिन्छ। यसका औजारहरू समानुभूति, सामाजिक मान्यता, विविधता, दृष्टिकोण र आदर हुन्। ती प्रयोग गर्ने सीपले विद्यार्थीलाई परिपक्व बन्ने सामाजिक आधार दिन्छ।
चौथो हो — सम्बन्ध स्थापना गर्ने कला।
नृत्य एक समन्वयात्मक कला हो जसमा आफ्ना सहकर्मीसँग हरेक चरण र हाउभाउ मिलाउनुपर्छ। ठीक यही क्षमता असल सम्बन्ध कायम गर्ने कुरासँग मेल खान्छ। चरणमा चरण मिलाउँदै सही अभिव्यक्तिका साथ नृत्य सुन्दर बनाएजस्तै, सम्बन्धलाई समरूप तरिकाले स्थापित गर्ने हो। यो कौशलले अन्तरसम्बन्धको पूर्णतातर्फ निर्देशित गर्छ।
र, पाँचौं हो — जिम्मेवार निर्णय र यसभित्रको समस्या पहिचान, विश्लेषण, समाधान र त्यसको परिणति स्वीकार गर्ने जस्ता खुबी।
चेसको खेलमा कस्तो रणनीति लिँदा त्यो परिप्रेक्ष्यमा के नतिजा आउन सक्छ भनी सोच विचारका साथ गरिने गणना र त्यसअनुसारको उपयुक्त कदम लिने उपमा यसमा लागू हुन्छ। समस्याका विभिन्न चुनौती आकलन गरी सही र रचनात्मक निर्णय लिनु र त्यसका परिणाम स्वीकार गर्नु जिम्मेवार निर्णयका आधार हुन्।
यसका साथै व्यावहारिक समस्या समाधान गर्न, लचिलो बन्न, अरू र आफैप्रतिको दृष्टिकोणलाई सही किसिमले स्थापित गर्ने जस्ता पक्षहरू 'सेल' मा निहित हुन्छन्। यस्ता तत्त्वहरूलाई शिक्षामा समावेश गर्न सके, जीवन सफल बन्ने धेरै अनुसन्धानहरूले प्रमाणित गरेका छन्।
सेल बालबालिकाको सर्वांगीण विकासको अभिन्न भाग हो। शैक्षिक, सामाजिक र भावनात्मक विकासलाई सेलले शिक्षा प्रक्रियाद्वारा एकीकृत गर्छ।
प्रगतिशील स्कुलहरूले यसलाई समन्वय गरी स्कुलको परामर्श कार्यक्रम र पाठ्यक्रममा समायोजन गराउँछन्।
एक सामान्यीकरण गरिएको सेलको परामर्श सत्र हेरौं —
कक्षा तीनकी एक बालिका रून्चे अनुहार लिएर स्कुल आउँछिन्। शिक्षकले बालिकाको मनोविज्ञानमा आएको गडबडी थाहा पाएर उनीसँग सेलको परामर्श समय राख्छिन्।
पहिलो चरणमा ती बालिकालाई आफ्नो भावना उल्लेख गर्न प्रेरित गर्छिन्। उनको भावनासँग मेल खाने चित्र भएको कार्ड देखाउँछिन्। बालिकामा आएको भावनात्मक समस्यालाई परिभाषित गर्छिन् र त्यस्ता भावना आउँदा कस्तो कस्तो अनुभव भएको छ भनेर शिक्षकले उल्लेख गर्न लगाउँछिन्। यो स्वचेतनाको अभ्यास हो, जसले परासंज्ञानको पनि विकास गर्छ।
क्रमशः शिक्षकले बालिकाको गाँठो फुकाउन मद्दत गर्छिन्। बालिकाले बुझ्ने सरल भाषामा परामर्श दिन्छिन्। समस्या समाधान गर्न सहयोग गर्छिन्, त्यस्तो अवस्था भविष्यमा परेमा उचित निर्णय गर्ने र स्वव्यवस्थापनका सीप सिकाउँछिन्। उद्वेगका सामाजिक परिणति र यसलाई व्यवस्थापन गर्ने तरिका बताउँछिन्। बालिकालाई सामाजिक चुनौती आँक्ने साहस दिन्छिन्।
शिक्षकले बालिकाको भावनात्मक, सामाजिक र निर्णय गर्ने क्षमता सबलीकरण गर्छिन् र ती बालिकालाई अप्ठ्यारो परिस्थितिमा पनि लचिलोपनको सीप दिन्छिन्। सामाजिक सचेतनाको विकास गरिदिन्छिन्।
ती बालिकाले सही प्रेरणा पाउँदा उनी सन्तुलित हुँदै वयस्क बन्छिन्। शैक्षिक उपलब्धिमा पनि प्रगति हुन्छ। भावनात्मक नियमनको क्षमता विकास हुन्छ। सामाजिक सीप तिखारिन्छ। र, भविष्यमा असल मानव बन्ने आधारभूत गुण उनमा स्थापना हुन्छ।
उल्लिखित सबै प्रभावलाई सेलका बृहत् अनुसन्धानले पुष्टि गरेका छन्।
सामाजिक-भावनात्मक विकासलाई शिक्षामा नसमेटी, प्राज्ञिक र संज्ञानात्मक क्षेत्रलाई मात्र स्कुलले प्राथमिकतामा राख्दा विद्यार्थीको वास्तविक वयस्क जीवन कठिन बन्ने अध्ययनहरूले देखाएका छन्। पारिवारिक सन्तुलन बिग्रिने, सम्बन्ध स्थापनामा समस्या आउने र शैक्षिक रूपमा सफल भए पनि जीवनोपयोगी सीप अभावले जीवनमा घर्षण पैदा हुने र त्यसको चुनौती व्यवस्थापन गर्न नसक्ने अवस्था सिर्जना हुन्छ।
लेखक डेनियल गोलम्यान भन्छन्, 'भावनात्मक रूपमा विचार गर्ने मस्तिष्कले बौद्धिक मस्तिष्कभन्दा छिटो र सही प्रतिक्रिया दिन सक्छ। यदि संवेदना नियन्त्रण गर्ने क्षमताको कमी छ, समानुभूतिको अभाव छ, सामाजिक र अन्तरसम्बन्ध कायम गर्न सक्ने खुबी छैन भने त्यस्ता व्यक्ति जीवनमा अघि बढ्न सक्दैनन्।'
त्यस्तै प्राध्यापक गार्डनरको मत छ, 'मानिस जति बुद्घियुक्त भए पनि फरक पर्दैन, उसले त्यो क्षमता कसरी प्रयोग गर्छ भन्नेले फरक पार्छ।
डा. विसर्गको राय छ, 'भावनात्मक-सामाजिक विकासले विद्यार्थीको वयस्क जीवनमा एकदमै फरक पार्छ। साहस र सफलताका लागि भावनात्मक सुझबुझको शिक्षा अपरिहार्य छ।'
दलाई लामाले आध्यात्मिक सन्दर्भमा सल्लाह दिएका छन्, 'हामीले बालबालिकाको मस्तिष्कलाई शिक्षित गर्दा उनीहरूको हृदयलाई पनि शिक्षित गर्न बिर्सिन हुँदैन।'
विशेषतः विद्वता र तर्कमा मात्र सत्य देख्ने व्यक्तिहरूमा भावनात्मक बोधको कमी, सामाजिक सीपको अभाव, ज्ञानको अहमता, बौद्धिक जडताले गाँजिएको मनस्थिति र असफलताको डर हुने अध्ययनहरूले देखाएका छन्। तिनले तार्किक क्षमताको अत्यधिक प्रयोग गर्दा जोखिम मोल्ने क्षमता कम हुने र सफलतामा अवरोध उत्पन्न हुने पनि अध्ययनहरूले देखाएका छन्। उनीहरूले जीवनलाई सरल ढंगले स्वीकार गर्नुको सट्टा थप जटिल बनाउँछन्। अनि कम व्यावहारिक हुन्छन्। परिणामतः जीवन एक सीमित घेराभित्र पुग्छ।
यस्तै कारणले गर्दा स्कुल वा विश्वविद्यालयमा उत्कृष्ट शैक्षिक स्थान पाएकाहरू बौद्धिक र क्षमतावान भए पनि जीवनमा धेरै फरक पार्न सक्दैनन्।
उत्कृष्ट श्रेणीमा स्नातक उत्तीर्ण गर्दा उनीहरूमा विश्व हल्लाउने ऊर्जा भए पनि जीवन उपयोगी सीपको अभावले त्यसअनुरूप उपलब्धि हात लाग्दैन र उनीहरू खिन्न हुन सक्छन्।
सफलता अति विषयगत वस्तु हो। यसका परिभाषा त्यसै अनुरूप हुन्छन्। यसका कुनै ठोस मापदण्ड छैनन्। र, यो अमूर्त छ। तर जीवनमा तोकिएका फरकहरूको मूल्यांकन र तिनका योगदानका आधारमा सफलताको हद आकलन गर्नसम्म सकिन्छ।
सामाजिक-भावनात्मक शिक्षामा यस्तै पक्षलाई अध्ययनको घेरामा ल्याएर अनुसन्धान गरिएको छ। यसअनुरूप स्कुलमा यो शिक्षा प्रक्रिया समेट्नुपर्ने कुरा शिक्षाविदहरूले प्रखर रूपमा बहस गरेका छन्। स्कुलमा व्यावहारिक ढंगले सामाजिक-भावनात्मक शिक्षा समायोजन गरे, हाम्रा बालबालिकाले जीवनका अति उपयोगी बहुआयामिक सीप विकास गर्न सक्छन्। एक संवेदनशील मानव बनेर जीवन सफल पार्न सक्छन्।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)