मूर्तिको सुन्दरता मूर्तिकारको शिल्पकौशलताले निर्धारण गर्छ। उसका शिल्पिहातहरूले कहाँ कसरी छोएका छन्, कुन कुशलताको प्रयोग गरेर कस्तो सौन्दर्यको खाँच घुमाइएको छ र कति विस्तृत कुँदिएको छ, इत्यादिले उसको वास्तविक कलात्मकतालाई अन्तिममा प्रकट गर्छ।
बालबालिका पनि यसरी नै कुँदिदै गरेका संवेदनशील मूर्ति जस्तै हुन्।
मूर्तिकारहरू अभिभावक, वातावरण र विद्यालय हुन्। बालबालिकाहरू स्वयं बन्दै गरेको मूर्तिलाई स्थायित्व दिन सक्ने क्षमतावान व्यक्तिहरू हुन्।
ती बन्दै गरेका मूर्तिका अन्तिम सुन्दरता हाम्रो कुशलतामा अधिकतम भर पर्छ र केही उनीहरूको प्रकृतिमा।
यो क्रममा कुनै भागमा धेरै जोड पर्यो वा पुगेन, जस्तो बन्छ बनोस् भनेर उपेक्षा गरियो वा कुँदिनुपर्ने भाग पूर्ण भयो कि भएन जस्ता पक्षहरूले उनीहरूको व्यक्तित्व निर्माणमा प्रभाव पार्छ।
साधारण रूपमा लिइने जन्मेदेखि बाह्र वर्षसम्मको बाल्यकालका अवधि मानव जीवनको सबभन्दा संवेदनशील र निर्णायक कालखण्ड हो। हाम्रो परिकल्पनाको मूर्तिको मुख्य ढाँचा निर्माण यही समयमा हुन्छ।
यो अवधिबारे वैज्ञानिक आधारहरूको विवेचना यो लेखमा गर्ने छु।
बाल्यकाल (जन्मेदेखि बाह्र वर्षसम्म) मानव जीवनको प्राथमिक निर्माण अवधि हो। यही निर्माणात्मक (फर्मेटिभ) अवधिमै बालबालिका कस्ता गुण र चरित्रहरूले युक्त वयस्क बन्छन् भन्ने आधारभूत कुराहरूको निर्णय हुन्छ।
बालबालिकाको अवचेतन मन अत्यन्तै संवेदनशील र ग्रहणशील हुन्छ। यस बेला देखेका, सुनेका र भोगेका सकारात्मक र नकारात्मक पक्षले उनीहरूमा शारीरिक र मानसिक प्रभाव पार्छ।
यो उमेरमा बालबालिकाले के सही, के गलत, के राम्रो, के नराम्रो वस्तुगत भएर पर्गेल्दैनन्। जे जस्तो छ त्यसैलाई ग्रहण गर्छन्। आफ्ना अघि जे पाउँछन्, त्यसैलाई स्वीकार गर्छन्।
निर्माणात्मक समयको म दुई विषय क्षेत्रबाट दृष्टिकोण राख्ने छु — मस्तिष्कको आधारभूत क्रियाविज्ञान (फिजियोलोजी) र मनोविज्ञानको तथ्यगत आधार।
पहिले मस्तिष्कको क्रियाविज्ञान हेरौं।
निर्माणात्मक अवधिमा मस्तिष्कको कोषिका (न्युरोन) हरू ज्यादै तीव्र गतिमा विकास भइरहेका हुन्छन्। नयाँ न्युरोनहरू बनिरहेका हुन्छन् र स्नायुमार्ग बन्ने प्रक्रिया तीव्र हुन्छ।
न्युरोनहरूले बनाएको बाटो वा स्नायुमार्गले मस्तिष्कको विभिन्न विभाग अथवा संकायसँग सूचनाको आदानप्रदान गर्छन्।
यस अवधिका अनुभव र भोगाइले बालबालिकामा शारीरिक, मानसिक, बौद्धिक र भावनात्मक स्नायु मार्गहरू विशिष्ट रूपमा विकास गर्छन्, तिनलाई आकृति दिन्छन्। यिनले वास्तविक मानसिक संरचनाहरू निर्माण गर्छन्।
बालबालिका के भोगेका छन्, घरपरिवारमा कस्तो वातावरण छ, सामाजिक परिवेश कस्तो छ; यावत सबै भोगाइहरूको परिणामस्वरूप बनेका स्नायुमार्गले उसलाई भविष्यको वयस्क बनाउँछ।
यो बेला नै भावना, संवेग, संवेदनशीलता र शारीरिक सन्तुलन लगायतका अनगिन्ती स्नायुमार्ग निर्माण भइसक्छन्।
वयस्क अवस्थामा व्यक्तिको देखिने प्रवृत्तिको क्रियाविज्ञानका आधार सामान्यतः बाल्यावस्थामै तयार भइसक्छ। यसैले उसको वयस्कावस्थाको स्वभाव मूलतः बाल्यकालमा बनेका स्नायुमार्गमा जस्तो बनावट छ, त्यही नै कायम हुन्छ।
निर्माणात्मक वर्षहरूपछि स्नायुमार्ग निर्माणको गति सापेक्षिक रूपमा मन्द हुँदै जान्छ। व्यक्तिको रूपान्तरणमा यसको प्रभाव क्रमशः घट्दै जान्छ।
तर मस्तिष्कको विकास पछिल्ला वर्षहरूमा पनि कायम हुन्छ। नयाँ न्युरोनका विकास सँगै प्रयोगमा नआएका न्युरोनहरूलाई पनि स्नायुमार्ग विकासमा मस्तिष्कले प्रयोग गर्छ। मस्तिष्कको यस्तो गुणलाई 'प्लास्टिसिटी' भनिन्छ। यो गुणले वयस्कावस्थामा पनि नयाँ खुबी, जस्तै भाषा, विकास हुन्छ।
अण्ड निषेचनदेखि गर्भावस्थामा विकासको गति अझ तीव्र हुन्छ। तर यो लेखमा जन्मपश्चातका तथ्यहरू मात्र लिइएको छ।
बच्चाले प्राकृतिक वृत्तिहरू पनि लिएर जन्मेको हुन्छ र ती डिएनएमा कोड भएका हुन्छन्। तिनले पनि मस्तिष्कलाई निर्देशित गर्छन्।
निर्माणात्मक चरणका शिक्षाले व्यक्तिका त्यस्ता केही प्राकृतिक तर अवाञ्छित वृत्तिलाई पनि कुनै सीमासम्म नियन्त्रण गर्न सकिने अध्ययनले देखाएका छन्।
दोस्रोमा मनोविज्ञानको आधार छ।
निर्माणात्मक चरणका कार्यक्षेत्र मुख्य रूपमा पाँचवटा छन् — संज्ञानात्मक, भाषिक, शारीरिक, सामाजिक र भावनात्मक।
यी पाँच कार्यक्षेत्रको सन्तुलनबाट वयस्क निर्माण हुन्छन्। यी सबै कार्यक्षेत्र एकआपसमा अन्योन्याश्रित र अन्तरसम्बन्धित हुन्छन्।
धेरैजसो अभिभावकहरू बालबालिकालाई पढ्न-लेख्न केन्द्रित गरेमा अन्य सबै विकास आफैं पूरा हुन्छ भनेर त्यसैमा मात्र जोड दिन्छन्।
तर विद्यार्थीको संज्ञानात्मक (कग्निटिभ) विकासको प्रक्रिया जटिल प्रकृतिको हुन्छ। यसका लागि शारीरिकसहित सामाजिक, भाषिक र भावनात्मक पक्षहरू मिलेर संयुक्त रूपमा प्रभाव पार्छन्। यदि हामीले सामाजिक, भाषिक र भावनात्मक विकासलाई छाडेर बौद्धिक पक्षलाई मात्र जोड दियौं भने संज्ञानात्मक विकास स्वतः घट्छ, पढाइ बिग्रिन्छ।
यो सन्दर्भमा शिक्षा मनोवैज्ञानिक एरिक एरिक्सनको जीवनका आठ अवस्थाका सिद्धान्तबारे उल्लेख गर्नु प्रासंगिक हुन्छ।
यो सिद्धान्तअनुसार व्यक्तिको मनोसामाजिक विकासका जम्मा ८ चरणमध्ये मुख्य चार चरण जन्मेदेखि बाह्र वर्षमा पूरा हुन्छ।
जन्मेदेखि डेढ वर्षसम्मको अवधि मनोसामाजिक विकासको पहिलो चरण हो। यो अवधिमा शिशु आमाको पूर्ण स्याहारसुसारमा हुर्किने हुँदा उसले विश्वास सिक्छ। यतिखेर विश्वास स्थापित नभएका बच्चा सन्देही बनेको अध्ययनले देखाएको छ।
डेढदेखि तीन वर्ष उमेरको 'अटोनोमी भर्सेस शेम' को चरणमा बालबालिकामा शारीरिक कुशलतामा व्यक्तिगत नियन्त्रण गर्ने क्षमता र स्वतन्त्र विवेक विकास हुन्छ।
तीनदेखि पाँच वर्षको 'इनिसिएटिभ भर्सेस गिल्ट' अवधिमा बालबालिकाले आफूलाई खेलकुद र अन्य सामाजिक अन्तरक्रियामा सहभागी भएर दृढता सिक्छन्।
चौथो चरण हो पाँचदेखि बाह्र वर्षको अवधि। यो 'इन्डस्ट्री भर्सेस इन्फेरियरिटी' चरणमा उनीहरूले लेखपढ गर्न सिक्छन्।
मनोसामाजिक विकासका यी प्रत्येक चरणमा बालबालिकामा विशेष किसिमका स्वभावहरू विकास भइरहेका हुन्छन्। विकासका उल्लिखित कोशेढुंगाका कार्यहरूको त्यही उमेरका समयमा मात्र सुधार सम्भव हुन्छ।
कुनै पनि कार्यक्षेत्रको असन्तुलनले अन्यथा पर्न सक्ने प्रबल सम्भावना हुन्छ। जस्तै, कुनै बच्चाको भावनात्मक विकास नभएमा वयस्क हुँदा उसलाई व्यक्तिगत सम्बन्ध स्थापना गर्न कठिन हुनसक्छ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पृष्ठभूमि हेर्दा धेरै जसोको बाल्यकाल निकै कठिन र तनावपूर्ण रहेको तथ्य फेला परेको छ।
मनोविद जाँ पियाजेले बालबालिकाको संज्ञानात्मक विकासका चारमध्ये तीन चरण बाह्र वर्षभित्र भइसक्ने बताएका छन्।
पहिलो चरण सेन्सरी-मोटरमा जन्मदेखि दुई वर्षभित्र यसैका आधारभूत खुबीहरू विकास हुन्छ।
दोस्रो, प्रि-अपरेसनलमा दुईदेखि सात वर्षको समयावधिमा भाषिक ज्ञान विकास हुन्छ।
तेस्रो, कंक्रिट-अपरेसनलमा सातदेखि बाह्र वर्षसम्म तार्किक क्षमता विकास हुन्छ।
चौथो, बाह्र वर्षदेखि माथि फर्मल-अपरेसनल चरणमा वैचारिक क्षमतामा अमूर्तताको विकास हुन्छ।
बाल्यावस्थाको भावनात्मक नियमन अर्को महत्त्वपूर्ण विकासको पक्ष हो। भावनाको अनुभव, संवेगको उत्पत्ति र त्यसलाई व्यवस्थापन र अभिव्यक्त गर्ने तरिका पनि व्यक्तिले यही कालखण्डमा सिकेको हुन्छ।
कोलवर्गको नैतिक विकासको दर्शनअनुसार जन्मेको तेह्र वर्षभित्रै तीन चरणमध्येका प्रमुख दुई चरण पूरा हुन्छ। भाइगोत्स्कीले पनि जन्मपछिको बाह्र वर्षसम्ममा सांस्कृतिक हस्तान्तरण र तिनको आन्तरिकीकरण भइसक्ने प्रमाणित गरेका छन्।
सुरूबाटै उल्लिखित सबै अध्ययनहरूको निर्विवाद निष्कर्ष एउटै छ — बाल्यावस्था मानव जीवनको अति नै गम्भीर र संवेदनशील कालखण्ड हो। यही ज्ञानको आधारमा चरणवद्ध रूपमा आउने विकासात्मक कार्यहरूसँग मेल गराउँदै शिक्षा प्रदान गर्नुपर्छ।
अन्त्यमा, निर्माणात्मक कार्यक्षेत्रहरू एउटा अविच्छिन्नकका रूपमा आउँछन्। समग्र विकास चरणबद्ध रुपमा हुनाले यस्तो भएको हो। निर्माण प्रक्रियालाई अखण्डित राख्नुपर्छ। विकासक्रम खण्डित भयो या प्रक्रिया अवरूद्ध भयो भने सर्वांगीण विकासमा बाधा पुग्न सक्छ।
यो बेला बालबालिकालाई गरिने भावनात्मक उपेक्षा र शारीरिक दुर्व्यवहारले अवाञ्छित परिणाम ल्याउँछ। यस्तै गरी आर्थिक सामाजिक दबाबले बालबालिकामा बौद्धिक विकासमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने अनुसन्धानले पुष्टि गरेको छ।
रचनात्मक निर्माण वर्षहरूमा बाल–प्रौढ अन्तर्क्रियालाई घनीभूत बनाउनुपर्छ। अन्तर्क्रियामा बालबालिकाले सोध्ने प्रश्नमा सकारात्मक र सही जवाफ दिनुपर्छ। वयस्कले इमानदारिता कायम गर्दै बालबालिकालाई उनीहरूको अस्तित्व आफू बराबर नै भएको अनुभूति दिलाउन पर्छ।
न्यानो पारिवारिक सम्बन्धले भावनात्मक विकासमा योगदान गर्छ। बच्चाले गल्ती गरेको खण्डमा सकारात्मक उत्प्रेरणामार्फत गल्ती नदोहोर्याउनेतर्फ प्रभावकारी निर्देशन दिन सकिन्छ। ज्येष्ठ सदस्यले आफ्ना अनुभवहरू बालबालिकासँग आदानप्रदान गर्दा उनीहरूको परिकल्पना, क्षमता, सिर्जनशीलता र आत्मसम्मान बढ्छ।
बालबालिकालाई भावनासहित पुस्तक पढिदिने गर्नुपर्छ। त्यस्ता पुस्तक उनीहरूकै सन्दर्भको, सकारात्मक, सुखान्त, साहस प्रवर्द्धन र आत्मसम्मान बढाउने खालको हुनुपर्छ।
खेल्ने चाहना बालबालिकाको नैसर्गिक उत्प्रेरणा हो। खेल्नुले शारीरिक, भावनात्मक र सामाजिक पक्षको विकास गर्छ जसले पुनः संज्ञानात्मक विकासमा योगदान दिन्छ।
उनीहरूलाई पारिवारिक तनावबाट अलग राख्नुपर्छ। बालबालिकासामु अभिभावकबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण हुनु अपरिहार्य हुन्छ।
सारांशमा यी वर्षहरू मानव जीवनका निर्णायक अवधि हुन्। यसलाई विद्यालय र अभिभावकले तदनुकूलको सकारात्मक वातावरण सिर्जना गरिदिएमा बालबालिकाको सफल भविष्य हासिल गर्न सकिन्छ।
हेक्का राखौं, पछि सिकिहाल्छ नि भन्ने योजनाले विकासको बाटो अवरूद्ध गर्छ। सानोमा धेरै कुरा सिक्नु पर्दैन भन्ने सोच र यो बेला पढाउने विद्यालय र यसका पाठ्यक्रम चयनमा अभिभावकले गर्ने हेलचक्रयाइँ बालबालिकाको सफल भविष्यका लागि जोखिमयुक्त हुन्छ।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)