विषयबिनाको पनि पढाइ हुन्छ र?
यो आलेख सुरू गर्नुअघि नै यसको उत्तर दिन चाहन्छु।
पढाइको गहनता वा गहिराइ विषयरहित शिक्षामा हुन्छ।
ज्ञान आफैं वस्तुतः कुनै विषय होइन। जस्तै ज्ञानशास्त्र (इपिस्टेमोलोजी) आफैंमा पनि एक विषयक्षेत्र हो तर त्यसबाट संप्राप्त हुने ज्ञान चाहिँ विषय होइन, त्यो एउटै अविछिन्न ज्ञानको भाग मात्र हो।
विषयले ज्ञानमा विग्रह ल्याउँछ। ज्ञानलाई सतहमा ल्याउँछ। ज्ञानको मूल वा श्रोतलाई खण्डित गरिदिन्छ।
एउटा उपमान उल्लेख गर्छु समुद्रको। खोलानाला, पोखरी, ताल इत्यादि यसैबाट उत्पन्न हुन्छन् तर यी सबै यथार्थमा समुद्रकै विभिन्न स्वरूपहरू हुन्। तिनको लक्ष्य समुद्रतिरै समाहित हुने छ र ती त्यतै बगिरहेका छन्। समुद्र आफैंमा विशाल र स्थिर छ। नदी वा तालसँग आश्रित छैन। त्यस्तै सम्बन्ध समग्र ज्ञान र यसबाट विघटित विषयहरूको छ।
परम्परागत विद्यालयशिक्षा अवधारणामा हरेक विषयहरू छुट्टाछुट्टै हुन् भन्ने आधारमा तिनका अन्तरसम्बन्धलाई केन्द्रमा राखिँदैन। सोहीअनुसार हरेक विषयलाई छुट्टाछुट्टै पढाइन्छ।
उदाहरणका लागि लिऔं नेपाली विषय। यसको व्याकरण, वर्णविन्यास, साहित्य र अन्य क्षेत्र पनि एकल अध्यापन गराइन्छ। यसबाट ज्ञान गहिरो हुने अपेक्षा गरिन्छ तर अनुसन्धानले समग्रता घट्नेतर्फ इंगित गर्छ।
शिक्षाका विशद् अध्ययनले यसरी विषयलाई एकल शिक्षण गरिँदा विद्यार्थीमा ज्ञानको श्रोतसँग सम्बन्ध टुट्ने देखाउँछ। विषय आधारित पढाइले विद्यार्थीलाई ज्ञानको उद्गमबाट पृथक बनाउने र यसैले गर्दा शिक्षा कोरा सैद्धान्तिक मात्र र अव्यावहारिक भएको पुष्टि भएको छ।
अब एक प्रश्न — हामी विद्यार्थीलाई कता लगौं? समुद्रतिर वा यसका छिन्न भिन्न भागतिर? कुन पढाइ ठीक होला छुट्टिएका विषयतर्फ वा जोडिएको मूल जडतिर?
प्रगतिशील शिक्षा अवधारणामा विषयका क्षेत्रहरू स्वतन्त्र रूपमा स्थापित हुन नसक्ने मान्यता राखिन्छ। ज्ञानका जति पनि विषयहरू छन्, ती पूर्ण रूपमा अन्तरसम्बन्धित हुन्छन् भन्ने प्रमाण दिइन्छ।
यसैलाई आधार मानेर विद्यार्थीलाई पूर्णस्तरको ज्ञान निर्माण गर्न सक्ने तथा व्यावहारिक र अर्थपूर्ण रूपले ज्ञानलाई प्रयोगमा ल्याउन सक्ने किसिमले एकीकृत अध्यापनको शैली अपनाइन्छ।
एकीकृत विधिले विभिन्न विषयलाई एकै ठाउँमा मिसाउँछ। यसको लक्ष्य विभिन्न विषयलाई अर्थपूर्ण ढंगले खोज गर्नु, जोड्नु र अन्तरसम्बन्ध स्थापित गर्नु हो। एकीकृत शिक्षणले विषय क्षेत्रहरू पगालेर ज्ञानलाई एकै ढिक्का बनाइदिन्छ।
उदाहरणका लागि काँस लिऔं। यो टिन र ताँवोलाई गालेर बनाइन्छ। यी दुवै तत्वहरूको काँसमा रासायनिक गुण परिवर्तन हुँदैन तर मिश्रणपछि यो भौतिक रूपमा अर्कै पदार्थ बन्छ। मिश्रणभित्र तत्वहरू स्वतन्त्र भए पनि विलय भएका छन्। यही उपमा एकीकृत अध्यापनमा लागू गरिन्छ। विषयहरू विलय हुन्छन् र ज्ञानको ढिक्को निर्माण हुन्छ।
एकीकृत शिक्षण अवधारणाका मुख्यतः तीनवटा वर्ग छन् — बहुविषयक (मल्टिडिसिप्लिनरी), अन्तरविषयक (इन्टरडिसिप्लिनरी) र पराविषयक वा अन्तःविषयक (ट्रान्सडिसिप्लिनरी)।
पहिलो, बहुविषयक अवधारणामा विभिन्न विषयलाई एकल दृष्टिकोणबाट हेरिन्छ।
उल्लेख गरेजस्तै यसमा विषयहरूको आफ्नै अस्तित्व हुन्छ। ज्ञानको समायोजन मूलभूत रूपमा त्यसै विषयका भित्री तहलाई मात्र विविधतापूर्ण आयामबाट संयुक्त गर्नुपर्छ भन्नेमा केन्द्रित हुन्छ। तर अन्य विषयलाई पृथक राखिन्छ। यसमा एउटै विषयलाई पनि टुक्र्याउँदै लगिन्छ। यसका पाठहरू रेखीय (लिनिएर) बनाइन्छन्।
उदाहरणका लागि हामीले घर बनाउँदा आवश्यक सामग्रीहरू सिमेन्ट, बालुवा, इँटा, फलाम इत्यादि संग्रह गर्छौं। त्यहाँ ती प्रत्येक सामग्रीले हरेक विषयको प्रतिनिधित्व गर्छन्। सबैको अस्तित्व एकल हुन्छ।
दोस्रो, अन्तरविषयगत एकीकरणको अवधारणाले फरक विधामा छरिएर रहेका विषयहरू मिलाएर मूल ज्ञान निर्माण गर्छ। विभिन्न क्षेत्रहरू र तिनीहरूबीच अन्तरसम्बन्धको कडीले ती ज्ञानका तत्वहरूलाई जोड्छन्। यसले सामान्यतः दुई वा बढी विषयका अन्तर्य, कार्यपद्धति र दृष्टिकोणलाई मिलाउँछ।
उल्लिखित उदाहरण फेरि हेरौं।
ती सामग्रीको यथोचित प्रयोग गरेर घर निर्माण गरिन्छ। त्यो घर बनाउँदा सिकर्मी, डकर्मी, इञ्जिनियरका खुबीसहित सामग्रीका प्रयोग हुन्छन्। यहाँ विभिन्न क्षेत्रका ज्ञानको समायोजन गरिन्छ। घर बनिसक्दा विषय रहेनन्, घर मात्र रह्यो।
यसमा पाठलाई विषयहरूमा आधारित गरेर ती विषयका बीचमा अन्तरसम्बन्ध (क्रस-करिकुलर संयोजन) कायम गरिन्छ।
यो लेखको शीर्षकको मर्म तेश्रो वा पराविषयक अवधारणामा केन्द्रित छ।
पराविषयक अवधारणामा समाजका वास्तविक र व्यावहारिक समस्या, कार्य पद्धति र विश्व परिप्रेक्ष्यलाई अन्तरविषयका एकीकृत ज्ञानसँग पुनः मेल गराइन्छ र विषयहरूलाई विलय गराइन्छ। यहाँ विषय क्षेत्रका मौलिक पृथकता र विशेषता केन्द्रमा रहँदैनन्।
विषयका सबै क्षेत्रलाई विस्तृत वा खुला वाक्यमा समेटिन्छ जसले यसका सबै धारहरूलाई त्यही वाक्यमा समाहित गरिदिन्छ। ती वाक्यहरूले सबै विषय क्षेत्रका दायराहरूलाई समेट्छन्।
कुनै पनि सारवाक्यले कुनै पनि विषयलाई समाउन सक्छ। ती वाक्यहरूलाई पराविषयक सार (ट्रान्सडिसिप्लिनरी थिम) भनिन्छ। यस्तो शैक्षिक रणनीतिले ज्ञानलाई सम्पूर्ण रूपमा व्यवहारमा र वास्तविक जीवनका उपयोगितासँग समेट्छ। यसमा कोरा सिद्धान्तका साथसाथै त्यसको प्रयोगात्मक पक्षलाई पनि सँगै समायोजन गरिन्छ।
यसका पाठहरूलाई सम्बन्धित विषयहरूबाट उद्धृत गरेर पराविषयक सारमा एकीकृत गरिन्छ र पाठ्यक्रम ढाँचा तयार गरी अध्यापन गरिन्छ।
अब अन्तरविषयबाट बनेको घरको उपयोगिता, त्यसले पार्ने सामाजिक, वातावरणीय इत्यादिका प्रभाव र त्यसका अन्य विश्वव्यापी परिप्रेक्ष्यलाई एकीकृत गरी शिक्षालाई कार्य उन्मुख र व्यावहारिक बनाइन्छ।
स्क्यानडिनेभियन देशहरूसहित विकसित राष्ट्रका गुणस्तरयुक्त विद्यालयहरूले यो पद्धति प्रयोगमा ल्याएका छन् जहाँ विषयलाई प्रमुख आधार नबनाइनै स्तरीय पढाइ सम्भव हुन्छ। त्यसरी शिक्षित विद्यार्थीहरूले स्तरिकृत परीक्षामा उच्चतम प्रतिशतमा आफ्नो बौद्धिक क्षमता देखाएका प्रमाणहरू यथेस्ट छन्।
अन्तर्राष्ट्रिय ब्याकालरियट (आइबी) ले अघि सारेको कार्यक्रम यसको एक उदाहरण हो। यसमा प्राथमिक तहमा छ वटा पराविषयक सार दिइएको छ। त्यो मध्येको एउटा 'हामीको हौं?' छ। त्यस सारभित्र सबै ज्ञानलाई विभिन्न दृष्टिकोणबाट वा विषयका चश्माबाट विलय गर्न सकिन्छ। यो पद्धतिले विषय आधारित शिक्षण पनि समावेश गर्छ।
प्रगतिशील शिक्षाको उत्कर्ष अभ्यास पराविषयक सारको अवधारणामा भेटिन्छ। छुट्टाछुट्टै पढाउनुभन्दा पराविषयक सारले विश्वका सबै पक्षहरूलाई समेटी एकीकृत शिक्षाले कार्यउन्मुख, व्यावहारिक र प्रयोगात्मक बनाइदिन्छ।
अहिले नेपालमा कक्षा १, २ र ३ को एकीकृत पाठ्यक्रम अन्तरविषयक थिममा आधारित गर्ने प्रयत्न गरिएको छ। तर कार्यक्रम अति नै अपरिपक्व छ। थुप्रै सुधार गर्नुपर्ने छ। पाठका शीर्षक एउटै बनाएर मात्र अन्तरसम्बन्ध कायम हुँदैन। तर पनि सरकारको यो प्रारम्भिक शैक्षिक कदम प्रशंसनीय छ।
पराविषयक सार लिएर विषयबिनै पढाउन हाम्रो सन्दर्भमा हाल कठिन जस्तो भए पनि अन्तरविषयगत सार (थिमेटिक एप्रोच) स्थापित गरेर पढायौं मात्र भने पनि हाम्रा विद्यार्थीले स्तरीय एकीकृत शिक्षाको चाख पाउनेछन्। पाठ्यक्रम एकीकृत गरेर पढाउने काम सुरूमा चुनौतीपूर्ण हुन सक्छ। यसमा सबै विषयका शिक्षकबीच गहिरो र अथक सहकार्य हुर्नुपर्छ।
पराविषयक र अन्तरविषयगत सम्बन्धको एउटा रणनीतिक उदाहरण स्टिम एजुकेसन (एकीकृत विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित) हो। अरू तरिका पनि विधिशास्त्रमा पाइन्छन्, जस्तै योजना आधारित शिक्षण, समस्या केन्द्रित अध्यापन, अनुसन्धान केन्द्रित पढाइ इत्यादि।
स्टिममा विद्यार्थीले एककार्य योजना गर्छन्। जस्तै, प्रकाश पातलो माध्यमबाट बाक्लोमा प्रवेश गर्दा मोडिन्छ भन्ने अपवर्तनको सिद्धान्तको कुरा प्रयोगबाट सिद्ध गर्दा उनीहरूले प्रकाशको विज्ञान थाहा पाउँछन्। पानीमा लौरो डुबाउँदा किन छोटो र बांगो देखिन्छ, तर्क गर्छन्, तार्किक बन्छन्, कारण र प्रभाव खुलाउँछन्, विश्लेषक हुन्छन्।
प्रकाशको अपवर्तनको सिद्धान्तलाई इञ्जिनियरिङ गरेर दूरबिनको वा सुक्ष्मदर्शक यन्त्रको प्रोटोटाइप बनाउँछन्। डिजाइन सोच पनि विकास हुन्छ। भाषाबाट शब्दहरू पनि सिक्छन्। प्रकाशका विभिन्न उपकरणका बनौटको नमूना ज्ञान हासिल गर्छन्। कलाको विषयमा प्रकाशका वर्णक्रमहरूको संयोजन लगायत कुरा जान्दछन्। कोणका नापजाँचबाट गणितको ज्ञान लिन्छन्।
अन्तिममा ती उपकरणहरूले मानवजीवनलाई सरल र उपयोगी बनाएको थाहा पाउँछन्। विषयहरू एकीकृत गर्ने एउटा प्रभावकारी तरिका यहाँ देखिन्छ।
एकीकृत पाठ्यक्रमले समय बचत गर्छ। एउटै कुरालाई दोहोर्याइ तेहेर्याइ पढाइ रहन पर्दैन।
यसले ज्ञान हस्तान्तरणलाई पूर्णतः व्यवहारमा उतार्छ। विद्यार्थीले एउटा कुरा सिकिसकेपछि त्यसैका नमूनाहरूलाई अन्य क्षेत्रसँग जोडेर बोध फराकिलो बनाउँछन्। सिकाइ रूचिकर बन्छ।
एकीकृत तवरबाट अध्यापन गराउने शैली विद्यार्थी केन्द्रित हुन्छ। धेरै अन्तरक्रिया हुनाले सञ्चार कौशलता र सहकार्यको भावना बलियो बन्छ। विषय र वस्तुलाई छुट्टाछुट्टै नहेरेर व्यापकतामा बुझ्ने संरचनात्मक दृष्टिको विकास हुन्छ।
यसरी शिक्षित विद्यार्थीमा सिक्ने उत्प्रेरणा पनि धेरै देखिएको छ। विद्यार्थीहरू आफ्नो सिकाइको निर्देशन आफैंले गर्न सक्ने बनेका छन्। धेरै थरी विषय क्षेत्रहरू एकीकृत गरिँदा विद्यार्थीहरूका विभिन्न प्रतिभाले तद्अनुरूप विकास हुन पाउँछन्। यसको योगदान सर्वांगीण विकासमा पनि उत्तिकै रहन्छ।
पराविषयक र अन्तरविषयक सारबाट संरचना गरिएको एकीकृत अध्यापनले शिक्षाको खाडल पुरिदिन्छ। विषयका सीमारेखा मेटाइदिन्छ। विद्यार्थीलाई पाठ्यपुस्तकमा निर्भर हुनु पर्दैन र अन्वेषणका अनगिन्ती बाटाहरू खुल्छन्। ज्ञानको ढोका उघ्रिन्छ।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)