'तँ नेपाली होस्' भन्दै उहाँलाई भुटानले स्वीकारेन।
'तँ भुटानी होस्' भन्दै उहाँलाई नेपालले स्वीकारेन।
थोरै मस्तिष्क र थोरै मन लगाएर उहाँलाई अमेरिकाले स्वीकार्यो।
अमेरिकालाई आमाको मस्तिष्कले त स्वीकार्यो तर मनले स्वीकारेन। किनकि उहाँको मन भुटानमा थियो जहाँ उहाँ मालिक भएर आफ्नो खेतमा धान काटिरहनुभएको थियो। उहाँको मन नेपालमा थियो जहाँ उहाँ सस्तो मजदुर भएर अर्काको खेतमा धान काटिरहनुभएको थियो।
शरीर एउटा भए पनि मेरी आमाको मन तीन ठाउँमा भाँचिएको थियो— भुटान, नेपाल र अमेरिका।
मेरी आमाले बालापनका खेलहरू भुटानमा खेल्नुभयो। भुटानले उहाँको पहिचानसँग खेल्यो। आन्दोलन चर्कियो।
आन्दोलनका अगुवाहरूले भने, 'हामी नेपाली भाषा जोगाउन लडिरहेका छौं। नेपाली पोषाकका लागि लडिरहेका छौं। नेपाली संस्कृति जोगाउन भुटान सरकारसँग लडिरहेका छौं।'
आमाले यी सबै कुरा बुझ्नुभएन।
खेतमा मारिएका मान्छेका लासहरू भेटिन थाले। मारिनेहरू नेपाली जातिका थिए। अब आमाले बुझ्न थाल्नुभयो। आमाले छोराछोरीको ज्यानको माया बुझ्नुहुन्थ्यो। डर बुझ्नुहुन्थ्यो।
डराउनका लागि डरको विज्ञान पढ्नु पर्दैन।
भुटानमा नेपाली जाति जो जतिखेरै मारिन सकिने डर भयो। दुई बालख छोराछोरी र एक एकवर्षे दूधे छोरो आमाको काखमा थियो। गोठमा गाई भर्खर ब्याएको थियो। बुबाको सल्लाह मान्दै आमा रातविरात बच्चा टिपेर भाग्नुभयो। एकएक गर्दै गाईगोरू र बाख्राहरूको दाम्लो फुकालेर छोडिदिनुभयो।
भाग्दाभाग्दै वस्तुभाउलाई भन्नुभयो, 'हामी नेपाल जाँदा मात्रै बाँच्ने भयौं। तिमीहरू जहाँ जाँदा, जसो गर्दा बाँच्छौ, त्यसै गर ल!'
आमाका हजुरबुबा-हजुरआमा करिब ७० वर्षअघि नेपालबाट स-परिवार भुटान जानुभएको थियो। आफ्ना पुर्खाको थातथलो नेपाल नै त हो भनेर आफ्ना पुर्खाको देशसँग शरण माग्नुभयो। नेपालले शरणार्थी बस्नलाई झापाको कन्काइ नदीको बगर दियो। हजारौं मान्छे एकै ठाउँमा एक्कासि बस्दा कन्काइको बगर फोहोरले भरियो। कन्काइको हावामा हैजा फैलियो। सैयौं मान्छे झाडापखाला लागेर फ्याट्फ्याटी मर्न थाले। आमाको सातो गयो। आमा अत्तालिनुभयो।
मनमनै भन्नुभयो— भुटानमा भएको भए यो के जाति पहिचानसहिचान मर्थ्यो होला। तर मेरा कलिला छोराछोरीको ज्यान त बच्थ्यो होला नि! यो कहाँ खेदायौ भगवान्?
आफ्नो आन्द्रा सुकाएर भए पनि आमाले छोराछोरीको आन्द्रा मर्न दिनुभएन। आमाका आँखामा भुटानको खेत खेलिरह्यो। जब आमा कन्काइ माईको बगरमा निदाउनुहुन्थ्यो तब एउटै सपना बारम्बार देख्नुहुन्थ्यो। सपनामा आमालाई भुटानका आफ्ना गाईवस्तुले लखेट्थे।
देशले त लखेट्यो लखेट्यो, सपनाले पनि लखेट्न थाल्यो।
अलिपछि झापाको गोलधाप शरणार्थी क्याम्पको एउटा झुप्रो आमाको परिवारको नाममा भयो। त्यो झुप्रो मात्रै आमाको थियो। झुप्रोमाथिको आकाश आमाको थिएन। झुप्रोमुनिको जमिन आमाको थिएन। झुप्रोमा छु र जिउँदै छु भन्ने भावना मात्रै आमाको थियो।
छोराछोरी क्याम्पमै हुर्किन थाले। छोराछोरीले खेलेको माटो नेपालको थियो। छोराछोरीले फेरेको सास नेपालको थियो। आमालाई दाताले दिन गनेर चामल दिन्थ्यो। त्यही चामल खाँदै आमा चाहिँ भुटान फर्किने दिन गन्नुहुन्थ्यो।
आन्दोलन गर्नेहरू लडिरहेका थिए। भनिरहेका थिए, 'हामी भुटान फर्केर नै मर्नेछौं।'
आमाको लडाइँ छोराछोरीलाई बचाउनमा थियो।
हातमा फिटिक्क पैसा नभएका बेला छोराछोरी भन्थे— आमा स्याउ खान मन लाग्यो, आमा मासु खान मन लाग्यो!
तब आमाको लडाइँ सुरू हुन्थ्यो– छोराछोरीको रहर बचाउने लडाइँ।
अर्काको खेतमा सस्तो मजदुरको रूपमा काम गरेर भए पनि आमाले त्यो लडाइँ सधैं जित्नुभयो।
छोराछोरी बचाउने जस्तै लडाइँ पनि आमाहरूले जित्छन्।
छोराछोरी क्याम्पमै खेल्न, पढ्न थाले।
आमालाई आश पलायो— छोराछोरीले राम्रो पढे भने यिनीहरूले केही न केही उपाय गरेर हामीलाई भुटान लान्छन्!
भुटानको आफ्नो घरमा लागेको माकुराको जालो आफू गएर कुचो लगाएको सोच्न थाल्नुभयो। यो सोच्दासोच्दा आमाको आँखामा जालो लाग्ने बेला भयो। तर भुटान फर्किन पाउनुभएन।
आन्दोलन गर्नेहरूले भनिरहेका थिए, 'नेपाल सरकार र भारत सरकारले मन लगाएर सहयोग गर्यो भने हामी भुटान जसैगरी पनि फर्किन सक्छौं।'
कसले मनैदेखि मन गरेन, आमालाई थाहा भएन। बेलाबेला क्याम्पमा लाग्ने आगलागीसँगै आमाको भुटान फर्किने सपना पनि खरानी रङको हुन थाल्यो।
क्याम्पमै जन्मिएको कसैको बच्चा बीस वर्षको भयो तर भुटान फर्किने सम्भावना कतै जन्मिएन।
भुटानी शरणार्थीको भुटान फर्किने सपना जन्माउन नेपालको माटोले कोख दिएन।
भुटानी शरणार्थीको कोखबाट नेपालमा जन्मेको बच्चालाई नेपालले माटो दिएन।
बच्चा बेलामा माटोलाई खानेकुरा मानेर उसले जुन देशको माटो खायो, त्यो देशको माटोले उसको नाम आफ्नो धूलोमा लेखाउन मानेन।
आमा गलेर आजित भएको बेला पश्चिमा देशले भुटानी शरणार्थीहरूलाई आफ्नो माटोमा खेल्न दिन्छौं भने। अलिपछि आफ्नो देशको धूलोमा नाम लेख्न दिन्छौं भने।
आमालाई छोराछोरीले भने, 'आमा अब तपाईंले मासु, स्याउ खुवाउनु पर्दैन। नागरिकता नभई केही नहुने रहेछ। जसले नागरिकता दिन्छु भन्दैछ, त्यतै जाऔं। कोही अमेरिका, कोही क्यानडा, कोही युरोप जाँदैछन्। हामी पनि जाऔं। नबसौं यहाँ। जे भए पनि आफ्ना पुर्खाको थातथलो भनेर तपाईंहरू आउनुभयो। तर यहाँ हामीबाहेक हाम्रो कोही रहेनछ। हामी त हामी जहाँ पुग्छौं त्यहाँ पनि भइहाल्छौं नि!'
आमालाई नमान्न मन थियो। भुटान नै फर्किन्छु भन्न मन थियो। तर आमाले भुटानका ती गाईवस्तु सम्झिनुभयो जसको दाम्लो उहाँले खोलेर छोडिदिनुभएको थियो। छोराछोरीलाई दाम्लोले बाँध्न आमाको मनले मानेन।
आमाले एक अन्तिमपटक नेपालको माटोलाई हेर्नुभयो र भन्नुभयो, 'जे भए पनि आफ्ना पुर्खाको थातथलो भनेर यहाँ आयौं। तर यहाँ हामीबाहेक हाम्रो कोही रहेनछ। नबसौं यहाँ।'
यसरी आमा अमेरिका पुग्नुभयो। अब आमासँग अमेरिकी नागरिकता छ।
आमाको नागरिकतामा लेखिएको छ— हरिमाया अधिकारी।
आमाले एकवर्षे जुन छोरोलाई काखमा बोकेर नेपालमा शरणार्थी बन्नुपरेको थियो, त्यो छोरोसँग पनि अब अमेरिकाको नागरिकता छ।
छोराको नागरिकतामा लेखिएको छ— पर्शु अधिकारी।
पर्शु अधिकारीजस्तै नेपालको शरणार्थी क्याम्पमा हुर्किएका लामिन तामाङ, रूपेश ढुंगाना लगायतका साथीहरू आबद्ध भएको संस्था 'समास फाउन्डेसन' ले कविता सुनाउन मलाई पोहोर अमेरिका बोलायो।
एयरपोर्टबाट मलाई लिएर घर पुग्नेबित्तिकै पर्शु भाइले मलाई आमासँग चिनाउँदै भन्यो, 'आमा, उहाँ नवराज दाजु।'
पर्शुले 'आमा, उहाँ नवराज पराजुली, नेपालको कवि' भन्न सक्थ्यो। तर उसले 'नवराज दाजु' भन्यो।
म पुगिसक्दा त्यो घरले मलाई आफ्नै घरको मान्छे भनेर स्वीकार्यो। त्यहाँ पुग्नुअघि म त्यो घरलाई चिन्दिनँ थिएँ। तर म पुगिसक्दा त्यो घरले मलाई चिन्यो।
मलाई त्यो घरको आत्माले भन्यो, 'अलि अघि तिम्रो पुर्खा र मेरो पुर्खाले कतै एउटै चौतारीमा लय हालेर एउटै गीत गाएका हुन सक्छन्। तिमी त्यही गीतको कुनै नातिपनाति हौला। म पनि त्यही गीतको नातिपनाति हुँला। ती गीतहरूको कसम, यो संसारमा हाम्रा गीतहरू एउटै हुन्जेल हाम्रो घर एउटै हो। यो घर तिम्रो पनि हो।'
पर्शुले मलाई उसको घरको सबभन्दा शितल हावा आउने कोठामा लगेर राख्यो। त्यहाँको हावा त्यति नै शितल थियो जति शितल साँझपख कन्काइ नदीको बगरको हावा हुन्छ।
म अमेरिका पुग्दा मेरो घाँटीको बिजोग थियो। आवाज निकालेर लगभग बोल्नै सक्दिनँ थिएँ। मलाई काठमाडौं हुँदै चिसोले घाँटी ठप्पै पारेको थियो। खुब बल गरेर बोल्दा बोली आउँथ्यो। तर बल गर्दा घाँटी हुरूक्कै हुने गरी दुख्थ्यो।
पर्शुले आमालाई घाँटी दुखेर मैले केही दिन बोल्न नसक्ने भएको कुरा सुनायो। सुनाउँदा आमाले पूरा समय पर्शुको ओठमा हेर्नुभयो। पछि थाहा पाएँ कि आमाले कान सुन्नु हुँदो रहेनछ। ओठको चाल पढेर सबै कुरा सजिलै बुझ्नु हुँदो रहेछ।
म पुगेको पाँच दिनसम्म आमाले मलाई बेसारमा के के घरेलु औषधि हालेर तातोपानी खुवाउनुभयो। मैले तीतो मानेर पूरै गिलास पानी खाँदिनँ थिएँ।
आमाले गाली गर्दै भन्नुहुन्थ्यो, 'यो पानी खुरूक्क खानू। अनि यो माझीफल चुसिरहनू। माझीफल घाँटीको जडी हो। मैले नेपालबाटै मगाएको। लु खुरूक्क खानू त! यो पर्शु नेपाल जाँदा बिरामी भयो अनि तपाईंको आमाले बनाइदिएको औषधि खाएन भने यहाँ मेरो कति चित्त दुख्छ? आमालाई फोन गरेर भन्दिम्?'
त्यसपछि त भिडिओ-कलमा उता आमा र मेरी आमाको गफ हुन थाल्यो। यी दुइटी प्यारी बूढी आमैहरू मेरोबारे यसरी बोल्न थाले कि म मीठो बन्धनमा परेँ।
आफूलाई मनपर्ने बन्धन सबैभन्दा सुन्दर स्वतन्त्रता हो।
मेरी आमाले एक दिन मलाई भिडिओ-कलमा भन्नुभयो, 'अम्रिकामा के खालास्, कसरी बस्लास् भन्ने अब मलाई पिर छैन नबु। आमा त्यहीँ हुनुहुँदो रहेछ।'
मेरी आमाले पर्शुकी आमालाई मेरी आमा मानिदिनुभयो।
आमाले आफ्नो सन्तानका लागि आमा मानेको मान्छे महान हुन्छ।
म त्यो घरमा पस्दा मसँग बोली थिएन। आमा बोली सुन्न सक्नु हुन्न थियो।
केही दिनमा मेरो बोली त आयो तर मैले बोल्नुपरेन किनकि म आमासँग थिएँ।
म सुरूको करिब एक महिना पर्शुको घरमा बसेँ। हरेक बिहान बुबाले शंख बजाउनुहुन्थ्यो। हरेक बिहान मैले शंख र घन्टीको आवाजसँगै आँखा खोल्न पाएँ। यो त मैले नेपालमा हुँदा समेत भोग्न पाएको थिइनँ।
अमेरिकाको त्यो घरमा शंखघन्ट भएर नेपाल बजिरहेको थियो।
म तल भान्सामा झर्दा आमा औषधिपानी बनाइरहनुभएको हुन्थ्यो। बुबा टिभीमा युट्युबबाट सरू गुरागाईंको रामायणको वाचन बजाइरहनुभएको हुन्थ्यो। हरेक बिहान म रामायण सुन्न थालेँ। हरेक बिहान रामायण मैले नेपालमा हुँदा कहिल्यै सुनिनँ।
अमेरिकाको त्यो घरमा रामायण भएर नेपाली साहित्य घन्किरहेको थियो।
त्यो कोठाको टिभीको युट्युबबाट नेपाली गीत, नेपाली कविता, नेपाली कार्यक्रम मात्रै खोलिएको थियो।
अमेरिकाको त्यो घरमा युट्युबभित्र नेपाल खोलिएको थियो।
अमेरिकाको त्यो घरमा युट्युबभित्र नेपाल खोजिएको थियो।
मान्छे जे खोजिरहन्छ, ऊ उसैको हो।
बारीमा फर्सीका गट्टा लागेका थिए। भिन्डी फलेका थिए। अमेरिकाको त्यो बारीमा तरकारी भएर नेपाल फलेको थियो।
पर्शुकी सानी छोरी उठेपछि टिभी कोठामा ल्याएर आमाले नेपाली 'राइम्स' लगाइदिनुहुन्थ्यो। त्यो घरको भुइँ अमेरिकाको थियो।
त्यो घर मास्तिरको आकाश अमेरिकाको थियो। तर त्यो घर नेपाली थियो। त्यो घरभित्र हावाले नेपाली भाषा बुझ्थ्यो। त्यो घरको भान्साले नेपाली परिकारमा कुरा गर्थ्यो। त्यो घरका हरेक भित्ताहरू नेपाली चाडपर्वको नाममा रंगिएका थिए।
माटोबाहेक नेपाल हुनुमा जे जे हुन्छ, त्यो घरमा थियो।
त्यहाँ नेपाली माटो थिएन तर नेपाली मुटु थियो।
जब म कविता सुनाउन अमेरिकाका अरू राज्यमा जान्थेँ, तब आमाले भिडिओ-कलमा पहिलो वाक्यमै भन्नुहुन्थ्यो, 'के खानुभयो?'
म नेपालमा आमाले फोन गरेपछि बोलेको पहिलो वाक्य सम्झिन्थेँ, 'के खाइस्?'
एक दिन म लसएन्जलसमा थिएँ।
पर्शु भाइले फोनमा भन्यो, 'दाइ, कन्सर्ट जता भए पनि दसैंमा चाहिँ घर आउनू है। आमाले आश गरिरहनुभएको छ।'
म खुत्रुक्कै भएँ। मलाई दसैंमा आमाले काठमाडौंबाट झापा बोलाएजस्तो लाग्यो।
अमेरिकाको त्यो घरमा दसैं बनेर नेपाल रमायो।
आमाले त्यो नेपाली घरलाई दीर्घायुको आशिष दिनुभयो।
आमाले अमेरिकामा छिमेकी भनेको के हो थाहा पाउनुभएन। छिमेकी वर्षमा एकचोटि पनि बोल्न आउँदैन थियो। बोलीको आवाज नसुन्ने मेरी आमालाई अमेरिकाको ओठले नेपाली बोलीमा माया गर्न सक्दैन थियो।
अमेरिकामा आमाका लागि केही थिएन। तर छोराछोरी त्यहीँ थिए। छोराछोरीले जुन घरलाई 'यो हाम्रो घर हो' भनेर देखाए, आमाले त्यसैलाई घर मानिदिनुभयो। क्याम्पमा आमाले छोराछोरीलाई जुन झुप्रोलाई देखाएर 'यो हाम्रो घर हो' भन्नुभएको थियो, छोराछोरीले त्यसैलाई घर मानेका थिए।
आमाले नेपाल छोड्न तयार हुनुको कारण स्पष्ट थियो— नेपालले छोराछोरीलाई नागरिकता दिएन र नागरिकता नभएको मान्छेलाई समाजले सम्मान दिएन।
दुई दशक अनागरिक शरणार्थी भएर बाँचेका सन्तानलाई अमेरिकाले नागरिकता दियो। नागरिकता पाउँदा स्वतः आउने सम्मान पनि आयो। तर शरणार्थी हुन् भन्ने छाप हटेन। बोलेर कसैले मुखैमा शरणार्थी नभने पनि नबोलेर भनेको कुराले सन्तानलाई कति ठाउँमा दुखाइरहेको थियो।
भुटानले 'तँ भुटानी हैनस्' भन्यो। आमाले शरणार्थी बन्न बाध्य भएर नेपाल भाग्नुपर्यो।
नेपालले 'तँ नेपाली हैनस्' भन्यो। आमाले शरणार्थी बन्न बाध्य भएर अमेरिका जानुपर्यो।
यति सबै हुँदा पनि उहाँ शुद्ध शरणार्थी भएकैमा चाहिँ कसैले प्रश्न गरेको थिएन।
अहिले आमाले हेर्ने टिभीमा एउटा समाचार बजिरहेको छ। समाचारको आवाजले भनिरहेको छ कि केही नेपाली नेताहरूले नेपालकै नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाउन लाखौं पैसा खाए। यो समाचार अहिलेसम्म आमाले देख्नुभएको छैन। आमाले समाचार भन्नेको ओठको बोली पढ्नुभएको छैन।
आमालाई अहिलेसम्म थाहा छैन— नेपाल सरकारले दिएको भुटानी शरणार्थीको कागजात लिएर जो यहाँ आएका छन्, यो कुरा भोलि यहाँका अमेरिकीहरूले थाहा पाएपछि के हुन्छ?
को सक्कली भुटानी शरणार्थी र को नक्कली शरणार्थी भनेर छुट्याउन सक्दैनन्। उनीहरूले सबैलाई शंकाको नजरले हेर्न थाले भने के हुन्छ?
नक्कली भुटानी शरणार्थीको घानमा सबै भुटानी शरणार्थीहरू परे भने के हुन्छ?
जीवनबाट नागरिक हुनुको सबभन्दा आधारभूत हक खोसिएर बल्लबल्ल अर्काको देशमा जो सम्मानपूर्वक बाँचिरहनुभएको छ, उहाँको सम्मानलाई के हुन्छ?
अहिलेसम्म आमाले यो समाचार देखिसक्नुभएको छैन।
तर पर्शु भाइले समाचार सुनिसकेको छ। पढिसकेको छ।
पर्शुले मलाई भन्यो—
'दाजु, नेपाली नेताहरूले एक भुटानी शरणार्थी बने बराबर यति लाख भनेर बेचेछन्। केही लाख तिरेपछि हामीजस्तो बन्न मिल्ने रहेछ नि दाजु? अनि हामीले जे भोग्यौं, त्यो चाहिँ के भयो? हामीलाई जनावरजस्तो गरे दाजु। समाचार पढेदेखि म सुत्न, सोच्न सकेको छैन। भोलिबाट कुरा कहाँ, कसरी पुग्छ थाहा छैन। भोलि म कतै जाँदा कसैले मलाई तपाईं नेपाल कहाँबाट भनेर सोध्ला। मैले भुटानी शरणार्थी क्याम्पबाट भनौंला। उसको आँखाको भावले तपाईं साँच्चिकै शरणार्थी हो भनेर सोध्यो भने मरेको जुनी भएन?
जीवनमा यत्तिका वर्ष शरणार्थी भएकै कारण कहीँको नागरिक हुन सकेनौं। एउटा चोखो परिचय भनेको शरणार्थी थियो। त्यो पनि धमिल्याइदिए। आज यहाँको नागरिक भइसकेपछि अब शरणार्थी नै भएको कुरामा पनि शंकाले हेर्न थाले भने के हुन्छ दाजु? मेरो हजुरबुबा २० वर्षको हुँदा नेपालको पाँचथरबाट भुटान जानुभएको हो। मेरो बुबा २५ वर्षकै उमेरमा शरणार्थी भएर नेपाल फर्किनुपर्यो। म १८ वर्षको हुँदा नेपालबाट अमेरिका आउनुपर्यो। अहिले म तीस वर्षको छु। दाजु, अब मैले अझै कतै जान बाँकी छ?'
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Nawarajpoet