बेइजिङ डायरी
'विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उत्तरतिरको छिमेकी देश चीनलाई मैले चियाएकी थिएँ धेरै पटक। आर्थिक विकासमा विश्वकै दोस्रो शक्तिका रूपमा उदाएको छिमेकी देश चीन कस्तो होला भन्ने कौतुहल बोकेर फोटो खिचेकी थिएँ। मेरा क्यामरामा कैद भएका थिए क्षितिजौं टाढासम्म सेता हिमालका चुलीहरू। आज त्यही छिमेकी देश चीनको राजधानी बेइजिङमा आएर हिमालभन्दा अग्ला गगनचुम्बी भवनहरू र आश्चर्यलाग्दो भौतिक पूर्वाधार विकास देख्न पाउँदा खुसीले म सगरमाथाजस्तै अग्ली भएकी छु।'
चीनको बेइजिङस्थित नेपाली दूतावासले असार २ गते एक होटलमा सगरमाथा दिवस समारोह आयोजना गरेको थियो।
उक्त समारोहमा सगरमाथा सफल आरोहण गर्ने दर्जनौं चिनियाँहरूलाई सम्मान प्रदान गरियो। सम्मान ग्रहण गर्न नेपालबाट तीन जना आरोही आएका थिए। तीमध्ये एक थिइन् पूर्णिमा श्रेष्ठ।
सम्मान ग्रहण गरेपछि समारोहलाई पूर्णिमा श्रेष्ठले सम्बोधन गरेकी थिइन्। सम्बोधन अगाडि उनले सगरमाथा आरोहण गर्दा खिचेका भिडिओ र फोटाका क्लिप समावेश भिडिओ स्क्रिनमा देखियो।
त्यसपछि उनले सम्बोधन गर्ने क्रममा उल्लिखित भनाइ राखेकी थिइन्।
सम्बोधन क्रममा पूर्णिमाले छोटकरीमा आफ्नो अनुभव सुनाइन्।
पूर्णिमा गोरखाको आरूघाटमा जन्मिएकी हुन्। काठमाडौंमा पढ्दै फोटो पत्रकारिता गरिरहेकी उनी सन् २०१७ मा सगरमाथा म्याराथनको समाचारका लागि फोटो खिच्न सगरमाथा आधार शिविर पुगेकी थिइन्।
त्यसपछि नै हो उनलाई हिमाल र हिउँले मोहनी लगाएको। त्यसअघि हिउँ र हिमालसँग उनको कुनै नाता थिएन।

'अरूले हिमाल चढ्न सक्छन् भने मैले किन सक्दिनँ' भन्ने अठोट बोकेर उनी हिमाल आरोहणमा लागिन्। अहिलेसम्म उनले ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमशिखरमा १३ पटक पाइला राखिसकेकी छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा नै उनले पाँच पटक सफल आरोहण गरिसकिन्।
सन् २०२४ मा १३ दिनभित्र तीन पटक सगरमाथाको सफल आरोहण गरेर गिनिज बुकमा नाम दर्ता गरेकी छन्। एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गर्ने उनी विश्वकै एक मात्र महिला आरोही हुन्।
पूर्णिमाका कुरा चिनियाँहरूले निकै ध्यान दिएर सुने। उनले नेपालीमा सम्बोधन गरेकी थिइन्। नेपाली दूतावासकी दोभाषेले पूर्णिमाका भनाइ चिनियाँ भाषामा अनुवाद गरेकी थिइन्।
उनको भनाइ सुनेपछि एक जना चिनियाँ पत्रकारले मलाई भने, 'अनुवाद गलत भयो, तपाईंले सच्याउन भनिदिनुहोस्।'
के गलत भयो भनेर मैले उनलाई स्पष्ट पार्न भनेँ।
उनले भने, '१३ महिना हुनुपर्नेमा १३ दिन भनियो। १३ महिनामा तीन पटक सगरमाथाको आरोहण गरेकी होलिन्। अनुवादकले १३ दिन भनिदिइन्।'
म केहीबेर हाँसेँ र भनेँ, 'अनुवाद ठीक, तपाईंले सोचेको बेठीक! उनले १३ दिनमै हो तीन पटक सगरमाथा आरोहण गरेको।'
मेरो कुरा सुनेपछि पनि ती चिनियाँ पत्रकारले अविश्वास कायम राखे।
मैले मोबाइलमा गुगल गरेर देखाएपछि बल्ल विश्वास गरे।
त्यसपछि उनले दुइटा इच्छा व्यक्त गरे— पूर्णिमासँग फोटो खिच्ने र अन्तर्वार्ता लिने।
उनले फोटो खिच्न पाए पनि समय अभावका कारण अन्तर्वार्ता लिन पाएनन्।
असार ३ गते चिनियाँ मिडिया ग्रुप 'सिएमजी' को नेपाली सेवामा कार्यरत चिनियाँ पत्रकारहरूले पूर्णिमासँग अन्तर्क्रिया गरे। आधा घण्टाका लागि तोकिएको अन्तर्क्रिया झन्डै २ घन्टा चल्यो। पहिले पूर्णिमाले आफ्नो हिमाल आरोहणको अनुभव राखिन्। त्यसपछि चिनियाँ पत्रकारहरूले केही जिज्ञासा राखे।
सिएमजीको नेपाली सेवामा कार्यरत चिनियाँ पत्रकार च्याङ मिङ (नेपाली नाम रवि) ले सोधे, 'तपाईंको परिभाषामा हिमाल के हो?'
चम्किलो अनुहारमा थप मुस्कुराहट ल्याउँदै पूर्णिमाले भनिन्, 'आरोहण गरिसकेपछि मैले हिमालका बहुआयामिक परिभाषा बुझ्ने मौका पाएँ। हिमालको काखमा बस्ने शेर्पा तथा अन्य स्थानीयहरूका लागि हिमाल आस्था र आध्यात्मिक मान्यताको धरोहर हो। आरोहीका लागि लक्ष्य र सपना हो। नेपालका लागि पर्यटन उद्योगको मुख्य स्रोत हो। जलवायु परिवर्तनका लागि खोज र अनुसन्धानको प्रमुख स्थल हो। पानीका लागि विश्वकै मुख्य स्तम्भ अनि पदयात्रीका लागि एउटा आकर्षण हो।'
अन्तर्क्रियामा केहीबेर सन्नाटा छायो।

बौद्धिकता र दर्शन घोलिएको पूर्णिमाको जबाफले उनमा रहेको ज्ञान र विचारको गहिराइ प्रदर्शन गरिरहेको थियो। अन्तर्क्रियामा उपस्थित सबै चिनियाँ पत्रकारहरू नेपाली भाषामा पोख्त थिए।
उनीहरू सबैले पूर्णिमालाई 'सानी बहिनी' भनेर सुरूमै निकै माया र सदभाव दर्साएका थिए।
उनको जबाफ सुनेपछि उनीहरूले भने, 'तपाईं उमेरमा हामीभन्दा सानी भए पनि ज्ञान, अनुभव, विचार र कामका हिसाबले हाम्री दिदी हुनुहुन्छ। अझ त्यसभन्दा माथि हाम्री प्रेरणा, हौसला र हाम्री गुरूआमा हुनुहुन्छ।'
निकैबेर सभाहलमा हाँसोको फोहोरा छचल्कियो।
सिएमजीकै अर्का पत्रकार चाङचिङ (नेपाली नाम हिमा) ले लैंगिक विभेद र चुनौतीबारे प्रश्न गरिन्।
उनको प्रश्न थियो, 'तपाईं महिला, त्यसमाथि युवा। प्रेम गर्ने र डेटिङ जाने समयमा हिमाल आरोहणमा जानुभयो। महिला आरोहीका लागि हिमाल चढ्न के कस्ता चुनौती छन्? घरपरिवार, समाज, शारीरिक अवस्था, आर्थिक समस्या अनि मानसिक अवस्था तपाईंले अपेक्षा गरेजस्तै थिए कि अनपेक्षित थिए?'
पूर्णिमाले निकै सहज ढंगले आफ्नो भनाइ राखिन्।
उनको भनाइको सार थियो— हिमाल आरोहण गर्न सबभन्दा ठूलो शक्ति भनेको मानसिक अठोट हो। त्यसपछि मात्र शारीरिक, आर्थिक, लैंगिक र अरू कुरा आउँछन्।
'पक्कै पनि हिमाल चढ्न आँट र साहस चाहिन्छ। चुनौती र समस्या त जुनसुकै पेसामा जहाँसुकै हुन्छन्। त्यसलाई कसरी लिने भन्ने कुरा तपाईंको मानसिक अठोटमा भर पर्छ। हिमालमा धैर्य र साहस गुमाउनुभयो भने कुनै विकल्प रहँदैन। अरूले सक्छन् भने म पनि सक्छु, मैले सक्नैपर्छ भन्ने सोच राख्नुपर्छ। मेरा खुट्टा गले, मैले हारेँ, सक्दिनँ भन्न थाल्नुभयो भने तपाईंले जिन्दगीसँग पनि हार्नु हुन्छ। त्यस कारण तपाईंको लक्ष्य पाइला पाइलामा अडिएको हुन्छ। हरेक क्षण पाइला अगाडि सार्नु एक मात्र तपाईंको काम हो।'
टेबलमा राखिएको जुस पिएर उनले थप भनिन्, 'मानसिक रूपमा दरिलो भएपछि अन्य चुनौती सहजै सामना गर्न सकिन्छ।'
उनले हिमाल चढ्न सुरू गर्दा स्कुलमा पढ्ने विद्यार्थीहरूले खाजा खर्च कटाएर पैसा संकलन गर्दै दस–बीस रूपैयाँ सहयोग गरेकोदेखि पछिल्लो समय विभिन्न कम्पनीहरूले प्रायोजन गरेको पनि बताइन्।
हिमाल चढ्दा महिलाहरूमा हुने शारीरिक समस्याको व्याख्या गर्दै सगरमाथा शिखरमा पुगेकै समयमा एक पटक महिनावारी भएको सुनाइन्।

अन्तर्क्रियाको अन्तमा चिनियाँ पत्रकार कु छङसी (नेपाली नाम राधिका) ले सोधिन्— हिमाल आरोहण गर्न जानुभन्दा अगाडिकी पूर्णिमा र आरोहण सकेर गिनिज बुकमा नाम लेखाइसकेपछिकी पूर्णिमामा के फरक छ? तपाईंलाई हेर्ने अरूको नजरमा के फरक पाउनुभयो?
'कति राम्रो प्रश्न' भन्दै पूर्णिमाले भनिन्, 'हिमाल आरोहण गर्नुभन्दा पहिलेकी फोटो पत्रकार पूर्णिमा र अहिलेकी पूर्णिमामा कुनै फरक छैन। म गोरखाकी किसानकी छोरी हुँ। अहिले पनि मेरो मुख्य पहिचान यही हो। तर मलाई हेर्ने अरूको नजर परिवर्तन भएको छ। मेरो कामलाई लिएर मलाई सेलेब्रेटी बनाइएको छ। पहिले मलाई एक हजार रूपैयाँ नपत्याउने मान्छे अहिले मलाई एक लाख रूपैयाँ सापटी दिन तयार छन्। त्यति मात्र हो।'
अन्तर्क्रिया सकिएर उठ्ने बेलामा 'सिएमजी' नेपाली सेवाकी प्रमुख लिउ वन (नेपाली नाम सुमेघा) ले सोधिन्, 'मेरो अन्तिम प्रश्न छ। अबको तपाईंको लक्ष्य के हो? काठमाडौंमा घर, गाडी वा अब फेरि एकै सिजनमा चार पटक सगरमाथा आरोहण?'
पूर्णिमाको जबाफ नआउँदै यु होङ (नेपाली नाम मेघा) ले थपिन्, 'अथवा विवाह?'
प्रश्नकर्ताले बहुवैकल्पिक छनोट गर्न उत्तर पनि छोडिदिएका थिए। त्यहीमध्येबाटै उत्तर आउँछ भन्ने हामीले अपेक्षा राखेका थियौं।
पूर्णिमाले धेरैबेर नलगाई भनिन्, 'अबको मेरो लक्ष्य, इच्छा वा चाहना जे भने पनि एउटै छ – त्यो हो सगरमाथा आधार शिविरसम्म आफ्ना आमाबुबालाई लगेर देखाउने। तपाईंहरूकी छोरीले यहीँबाट यात्रा सुरू गरेको भन्दै हिमाल देखाउने। यसका लागि मसँग लामो समय छैन। किनभने मेरा बुबाआमा ६० वर्षको हाराहारीमा हुनुहुन्छ। मैले उहाँहरू तन्दुरूस्त हुँदै सगरमाथा आधार शिविरमा लगेर देखाउनुपर्ने छ।'
गिनिज बुकमा नाम दर्ता गराइसकेकी एउटी हिमाल आरोहीको जबाफ सुनेर सबै चिनियाँ अवाक भए।
महत्वाकांक्षी र आडम्बरी कुरा गर्न पूर्णिमालाई आउँदैन। हिमाल आरोहण सम्बन्धी कुनै संस्था खडा गरेर त्यस क्षेत्रमा काम गर्ने, देश विदेशमा नेपालको गौरव बढाउने, हिमाल आरोहीलाई सहयोग गर्ने, गरिब र असहायलाई निःशुल्क शिक्षा दिलाउने जस्ता बनिबनाउ कुरा गर्न उनलाई आउँदैन। आफ्नो काममा ध्यान दिने र आमाबुबालाई खुसी बाँड्ने उनको सोचाइ अरूका लागि सानो हुन सक्छ। तर जन्म दिएर हुर्काएका आमाबुबाका लागि त्योभन्दा ठूलो खुसी अर्को हुन सक्दैन।
हरेक पटक हिमाल आरोहण गर्न बिदा माग्दा पूर्णिमाकी आमाले नरोइकन बिदा दिएकी छैनन् रे! अरूका जस्तै पूर्णिमाका आमाबुबाले पनि छोरीले राम्रो केटासँग बिहे गरेर घरबार बसाओस् भन्ने चाहना राखेका छन्। पूर्णिमाले चाहिँ आफ्ना लागि होइन, आमाबुबा लागि घर बनाउने सोच राखेकी छन्। त्योभन्दा पहिले उनी आमाबुबालाई सगरमाथा आधार शिविर देखाउन चाहन्छिन्।

नेपाल फर्किने दिन बिहान पूर्णिमा र म बेइजिङको एउटा बजार गएका थियौं। त्यहाँ पूर्णिमाले आफ्ना तीन जना भदा र आमाबुबाका लागि केही लुगाकपडा किनिन्।
त्यो बजारमा मोलतोल हुन्थ्यो। एउटा पसलमा निकै कसिकसाउ गर्दा पनि पूर्णिमाले भनेको मूल्यमा साउनीले सामान दिन मानिनन्।
पूर्णिमाको मूल्य र साहुनीको मूल्य दोब्बरले फरक थियो।
सामान नकिनी हिँड्न लागेका बेला साहुनीले सोधिन्, 'तिमीहरू कुन देशका हौ?'
'हामी नेपाली हौं, तिब्बतपारिको सानो देश' भनेर बुझाउँदै गर्दा साहुनीले भनिहालिन्, 'अँ अँ थाहा छ, चोमोलोङमा (सगरमाथा) को देश!'
साहुनीले चोमोलोङमाको देश भनेपछि पूर्णिमाले आफ्नो मोबाइलमा भएका फोटा र भिडिओ देखाउँदै आफू सगरमाथा आरोही भएको बुझाइन्।
ती चिनियाँ साहुनीले के कति बुझिन् कुन्नि, हामी हिँड्ने बेलामा फेरि बोलाइन्।
पूर्णिमाले चाहेको मूल्यभन्दा केही कम भाउमै सामान दिइन्।
अनि बिदा गर्दै भनिन्, 'राम्रो देशकी राम्री छोरी। अनि हिमाल चढ्ने साहसी महिला!'
बजारबाट फर्किँदा मैले ठट्टा गर्दै भनेँ, 'पूर्णिमालाई त चिनियाँले पनि मान्न थाले। यही मेसोमा मैले पनि सामान किनेको भए सस्तोमा पाइने रहेछ!'
गालाको परिचित डिम्पलमा पूर्णिमा खुलेर हाँसिन्।
अनि भनिन्, 'म जनै पूर्णिमाका दिनमा जन्मेकाले आमाबुबाले नाम पूर्णिमा राख्नुभएको हो। चिनियाँहरूको एउटा ठूलो चाड पूर्णिमाकै दिन पर्छ रे! त्यही भएर चिनियाँले मलाई मन पराएका होलान् नि!'
सबै तस्बिरः पूर्णिमा श्रेष्ठ
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)