काठमाडौं लगायत सहरी क्षेत्रका युवा पुस्तामा पछिल्लो समय 'ट्याटु' बनाउने चलन खुब फस्टाएको छ। ट्याटु बनाउने कलाकारहरू आफ्नो कलाको सार्वजनिक प्रदर्शनी गर्न महोत्सवसमेत आयोजना गर्न थालेका छन्।
आधुनिक ट्याटुले बजार पिटेका बेला कलाकार लवकान्त चौधरी र उनका साथीहरू भने थारू समुदायको परम्परागत ट्याटु ब्युँताउने अभियानमा छन्।
आफ्नै शरीर खोपेर विभिन्न आकृति बनाउने जुन कलालाई संसारभर 'ट्याटु' भनिन्छ, नेपालका थारू समुदाय यसलाई 'गोदना' भन्छन्। ठाउँअनुसार खोहदा, खोदना, टिका, लिला र छेड्ना भन्ने चलन पनि छ।
आधुनिक ट्याटु बनाउने होडमा लवकान्तलाई भने गोदना प्रवर्द्धन गर्ने सुर कसरी चल्यो त?
यसको सुरूआत ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दा भएको उनी बताउँछन्।
त्यहाँ विभिन्न स्वदेशी तथा विदेशी कलाकृतिमाथि अध्ययन गर्दा उनको दिमागमा एउटा प्रश्न आयो — हाम्रो समुदायको कलाकृतिबारे किन पढाइ हुँदैन? ती कलाकृति किन पाठ्यक्रममा समावेश छैनन्?
यही प्रश्नले उनलाई थारू समुदायको कलाकृतिमाथि अध्ययन—अनुसन्धान गर्न प्रेरित गर्यो।
अहिले उनले थारू ट्याटु प्रवर्द्धन गर्न स्टुडियो नै खोलेका छन् — कर्खाचर्खा। यहाँ 'कर्खा' भनेको गोदना बनाउन प्रयोग गरिने कालो रङ हो भने 'चर्खा' भन्ने शब्द कपडाबाट आएको हो।
-1752600648.jpg)
ललितपुरको कुपण्डोलस्थित अमर शिशु स्कुलनजिक रहेको उनको स्टुडियोमा परम्परागत विधिबाट गोदना खोपिन्छ। कसैले आधुनिक तरिकाबाट खोपाउन चाहे, त्यो सुविधा पनि उपलब्ध छ।
थारूहरूमा गोदना खोप्ने आफ्नै शैली छ। उनीहरू अलि मोटो सुइरो प्रयोग गर्छन्। रङ बनाउन भाँडामुनि दियो बालेर लामो समय त्यत्तिकै छाड्छन्। यसो गर्दा भाँडामा बस्ने कालो दाग नै रङका रूपमा प्रयोग हुन्छ।
गोदना बनाउनुअघि सबभन्दा पहिला शरीरको जुन भागमा बनाउने हो, त्यहाँ गाईको गोबर दलिन्छ। त्यसपछि पानीले सफा गरिन्छ। अनि, तोरीको तेल लगाएर छाला नरम बनाएपछि त्यसमाथि आकृति डिजाइन गरेर सुइरोले खोप्ने चलन छ।
थारू शैलीमा गोदना बनाउँदा कसैलाई अलि बढी पीडा हुने भएकाले नयाँ तरिका पनि अपनाएको लवकान्त बताउँछन्। यसको निम्ति सियो र मसी आधुनिक प्रयोग गरिन्छ भने बुट्टा कुँद्ने तरिका पुरानै हुन्छ।
लवकान्त मान्छेको शरीरमा मात्र होइन, झोला र पर्दामा पनि गोदनाको बुट्टा उतार्छन्।
शरीर र कपडा दुवैमा सँगसँगै कला भर्ने भएकाले स्टुडियोको नाम नै 'कर्खाचर्खा' राखेको उनको भनाइ छ।
'मेरो लागि गोदना सिक्नु भनेको आफ्नो परम्परा बचाउनु मात्र होइन, भविष्यका लागि हाम्रो पहिचान जोगाउनु र जीवित राख्नु पनि हो,' उनले भने।
लवकान्तलाई पहिले गोदना बनाउने काम पुरूषहरूको होइन भन्ने लाग्थ्यो। उनले आफ्नी आमा, हजुरआमा र सानिमाहरूको शरीरमा मात्र गोदना कुँदिएको देखेका थिए। बुबा, हजुरबुबा र काकाहरूको शरीरमा देखेका थिएनन्।
यति मात्र होइन, यस्तो कला महिलाहरूलाई मात्र आउँछ भन्ने पनि उनलाई लाग्थ्यो।
उनी सोच्थे — गोदना भनेको महिलाका लागि महिलाले बनाउने कला हो।
उनलाई यस्तो लाग्नुमा एउटा खास कारण छ — उनले गोदनाको डिजाइनमा भान्साका सरसामग्री मात्र देखेका थिए।
जब आफ्नो अध्ययन क्रममा उनले गोदनासँग जोडिएको कथा र त्यो कथाको अर्थ बुझे, उनलाई यो थारू संस्कृतिको अभिन्न अंग हो भन्ने ज्ञान भयो।
लवकान्तका अनुसार थारू समुदायमा मृत्युपछि 'भगवानको घर' जाँदा केही न केही चिज लैजानुपर्छ भन्ने चलन छ। यसैको निम्ति उनीहरू शरीरमा आकृति खोपेर त्यसलाई भगवानको घर लैजान्छन्।
आकृति के खोप्ने त?
यसको पछाडि थारूहरूको आफ्नै मान्यता रहेको उनले बताए।
जस्तो — भगवानको घर कसरी जाने? यो प्रश्नको जबाफमा उनीहरूले घोडाको आकृति खोपे।
जाँदाजाँदै बाटोमा भोक लागे के गर्ने? उनीहरूले चुह्लो र भाँडाको आकृति खोपे।
तरकारी के खाने? उनीहरूले आलु, भन्टा लगायत विभिन्न तरकारी बनाए।
तरकारी कसरी काट्ने? उनीहरूले हँसिया बनाए।
भगवानको घरमा विभिन्न कामलाई प्रयोग हुन्छ भनेर डोरी बनाए, बस्नलाई स्टुल पनि बनाए।
-1752600657.jpg)
-1752600646.jpg)
गोदनासँग जोडिएको यस्तो कथा र कथाको अर्थ बुझेपछि उनलाई झन् झन् यसमा रूचि बढ्दै गयो।
रूचि त बढ्यो, तर महिलाहरूले मात्र गर्दै आएको काम सिक्न हुन्छ कि हुँदैन भन्नेमा उनी धेरै समय दुबिधामै रहे। उनले काठमाडौंमा महिला–पुरूष दुवैले ट्याटु खोप्ने र खोपाउने गरेको देखेका थिए। त्यसले उनको हौसला त बढाउँथ्यो, तर आफ्नो समुदायले कसरी ग्रहण गर्छ भन्नेमा चिन्ता पनि थियो।
त्यसैबीच दाङकी एक ९० वर्षीया आमासँग उनको भेट भयो। उनी नयाँ पुस्तालाई आफ्नो पालाका गीतहरू सिकाउँथिन्।
ती आमासँग पटक पटक भेट्ने क्रममा एकदिन लवकान्तले सोधे, 'तपाईंले कोही पुरूषले गोदना गरेको देख्नुभएको छ?'
जबाफमा आमाले भनिन्, 'मेरा एक आफन्त दाइले छातीमा दुइटा मयुर बनाएका थिए।'
यति थाहा पाएपछि लवकान्तको दुबिधा दुर भयो।
तिनै आमासँगको कुराकानीबाट लवकान्तले यो पनि थाहा पाए — गोदना बनाउने पुरूषलाई 'टिकह्र्वा' भनिँदो रहेछ। त्यस्ता महिलालाई 'टिकह्र्नी' भनिन्छ भन्ने त उनलाई पहिल्यै थाहा थियो।
'त्यो घटनापछि म औपचारिक रूपमै गोदना सिक्न थालेँ,' उनले भने, 'मेरो टिकह्र्वा बन्ने प्रयत्न त्यहीँबाट सुरू भयो।'
पछिल्लो समय थारू महिलाहरूमा पनि गोदना दुर्लभ हुँदै गएको छ। पहिले गोदना खोपेका धेरैजसो महिला पाका भइसके। उनीहरूले नयाँ पुस्तालाई यो कला हस्तान्तरण गरेनन्। त्यही भएर नयाँ पुस्ताले आधुनिक ट्याटुको नक्कल गरे। कसैले महादेवको आकृति खोपाए, कसैले बुद्धको। कसैले पुतली बनाए, कसैले चरा।
आधुनिक ट्याटुको होडमा प्राचीन गोदना भने हराउँदै गयो।
यसको मुख्य कारण बसाइँसराइ हो भन्ने लवकान्तलाई लाग्छ। आफ्नो थातथलो छाडेर नयाँ ठाउँमा पुग्दा र नयाँ समुदायसँग घुलमिल हुँदै जाँदा यो कला हराउँदै गएको उनको भनाइ छ।
'थारू समुदायमा पहिले गोदनालाई सुन्दरताको मानक मानिन्थ्यो। जसको शरीरमा गोदना छ, उसलाई सुन्दर ठानिन्थ्यो। बिहे गरेर श्रीमानको घर जाँदा पनि गोदना बनाएर मात्र जाने चलन थियो,' उनले भने, 'तर जब उनीहरू अरू समुदायसँग मिसिए, नयाँ समुदायले गोदनालाई सजिलै स्वीकार गरेन। थारूहरूले सुन्दर ठानेको कलालाई नयाँ समुदायको नजरले कुरूप ठहर्यायो।'
उनले अगाडि भने, 'हात र खुट्टाभरि गोदना खोपेको देखेर हामीलाई पनि अरूको अगाडि हिनताबोध हुन थाल्यो। त्यही हिनताबोधले हाम्रा महिलाले पुस्तौंदेखि आफ्नो शरीरमा खोप्दै आएको कला नयाँ पुस्तामा सर्न दिएनन्। फलस्वरूप नयाँ पुस्ताले आफ्नो मौलिक कला बिर्सँदै गयो।'
-1752600654.jpg)
-1752600648.jpg)
गोदनाका कारण थारू समुदायले भोग्नुपरेको हिनताबोधको अनुभव लवकान्त आफैले पनि सामना गरेका छन्।
एकदिन उनी खुट्टामा गोदना बनाउन एक महिलाकहाँ गएका थिए। ती महिलाले अनुहार मलिनो बनाउँदै भनिन्, 'यति राम्रो खुट्टा किन बिगार्न लागेको? गोदना खोपी खोपी किन कालो बनाउन लागेको?'
'बसाइँसराइले ल्याएको आधुनिकताले हाम्रो समुदायमा कस्तो छाप पारिसकेको रहेछ भने, ती थारू महिलाकै दिमागमा पनि गोदना भनेको कुरूप चिज हो भन्ने परिसकेको थियो,' उनले भने।
यति हुँदाहुँदै गोदना सिक्ने र प्रवर्द्धन गर्नेमा लवकान्त दृढ थिए।
त्यही भएर उनी र उनका साथीहरू इन्दु थारू, प्रियंकर चन्द, उर्मिला गम्वा थारू लगायतले यसको अध्ययन तीव्र बनाए।
अध्ययन क्रममै उनीहरू बर्दिया, कैलाली, दाङ लगायत थारू समुदायको बाक्लो बसोबास रहेका विभिन्न ठाउँ गए। यो कलासँग जोडिएका विभिन्न कथा सुने। कलाको डिजाइन बुझे। कलामा ठाउँअनुसार देखिएको समानता र फरक पहिल्याए। त्यसको अभिलेख राखे।
उनले २०८० साल फागुनमा बर्दियामा कार्यक्रम गर्दाको अनुभव सुनाए।
त्यहाँ उनी आबद्ध 'कलाकुलो' र 'आर्ट ट्री' नामक समूहले 'टिका छेड्ना अंगना' भन्ने कार्यक्रम गरेको थियो। विभिन्न ठाउँबाट सहभागी हुन आएका महिलाले आपसमा कुराकानी गर्दै गोदनासँग जोडिएका दुःख–सुख, रमाइलो, पीडा र खुसी सबै साटे। एकअर्कालाई गोदनाको सांस्कृतिक महत्त्व सम्झाए।
'यसबाट थारू समुदायले आफ्नो शरीर खोपेर बनाइएको आकृतिलाई पुन: प्रेम गर्न सिके,' उनले भने, 'हामीलाई पनि यो कलाको महत्त्व सबै थारूलाई बुझाउनुपर्छ भन्ने जिम्मेवारीबोध भयो।'
लवकान्तले गोदनाको आकृतिमा पाइने विविधता पनि वर्णन गरेका छन्।
उनका अनुसार थारू महिलाले हात, खुट्टादेखि छातीसम्मै गोदना बनाएका हुन्छन्। बदामको झार, लसुनको झुप्पो, सूर्यको किरण लगायतका प्राकृतिक आकृति धेरै पाइन्छन्। कतिले मयुर, माछा लगायत पशुपन्छीको आकृति पनि कुँद्छन्। यसबाहेक थोप्ला, धर्का र क्रस चिह्न बनाउने चलन पनि छ।
भूगोलअनुसार गोदनाको आकृति फरक पाइएको छ।
'पूर्वतिरका थारू महिलाको शरीरमा सहलेसको फूल र अशोक वृक्षको गोदना हुन्छ। त्यस्तै, सुनसरीतिरका महिलाको शरीरमा रामायणसँग जोडिएका बुट्टा धेरै भेटिन्छन्,' स्वतन्त्र पत्रकार तथा लेखक सञ्जीव चौधरीले आफ्नो अंग्रेजी लेख 'इंकिङ इन आइडेन्टिटी' मा लेखेका छन्, 'कतिले स्थायी गरगहनाका रूपमा गोदना बनाउने गर्छन्। विवाहित महिलाले त आफ्नो खुट्टामा गोदना बनाउनुपर्ने नियमझैं थियो।'
-1752600651.jpg)
-1752600657.jpg)
आफ्नै शरीर खोपेर ट्याटु वा गोदना बनाउँदा पीडा नहुने होइन। तर त्यही पीडाले कतिपयलाई शारीरिक वा मानसिक तनावबाट मुक्ति दिएको पनि पाइन्छ। यसमा लवकान्तले आफ्नै अनुभव सुनाए —
उनले दायाँ हातको बूढी औंलाको दुखाइ कम गर्न गोदना बनाएका छन्। यसको निम्ति उनी रामकुमारी कठरिया भन्ने महिलाकहाँ गएका थिए।
जति बेला उनी गोदना बनाउन गए, ती महिला आफ्नो श्रीमानको मृत्युको शोकमा थिइन्। तर लवकान्तको औंलामा गोदना बनाउँदै गर्दा उनलाई आफ्नो मनको पीडा घटेको महसुस भयो। लवकान्तको पनि बूढीको औंलाको दुखाइ सन्चो भयो।
'दुखेको भागमा सियोले बारम्बार खोप्दा दुखाइ कम हुँदो रहेछ,' उनले भने।
लवकान्त आफ्नो औंलामा गोदना भर्ने रामकुमारी कठरियाको भनाइ उद्धृत गर्दै भन्छन्, 'पुस्तौंदेखि सहँदै आएको पीडा र प्रतिरोधलाई हामीले गोदनाको कर्खाले भरेका छौं। यसले हामीलाई सन्चो बनाउँछ।'
दुखाइ कम गर्ने उद्देश्यले बनाइने गोदनाको कुनै निश्चित डिजाइन भने हुँदैन। जस्तो दुखाइ छ, त्यस्तै गोदना बनाइन्छ। खसगरी यस्तो अवस्थामा 'क्रस' वा 'प्लस' चिह्न बनाउने चलन छ। लवकान्तले भने 'बोर्डर' का रूपमा प्रयोग हुने कला कुँदेका छन्।
यस्तो गोदना बनाउँदा रङसँग माछाको सिद्रा मिसाएर प्रयोग गर्ने चलन पनि रहेको लवकान्त बताउँछन्।
उनका अनुसार पहिले पहिले थारू महिलाले गोदना बनाउँदा ५० पैसा, एक वा दुई रूपैयाँ दिने चलन थियो। कुनै भाँडा वा पातमा चामल, दाल, नुन, बेसार, खुसार्नी लगायत सामग्रीसँग पैसा हालेर दिने गरिन्थ्यो। कतिपयले आफ्नो गच्छेअनुसार जाँड, रक्सी र कुखुराको मासु पनि दिन्थे।
थारू 'ट्याटु' अर्थात् गोदनासँग जोडिएका यस्ता विविध पक्षको प्रचारप्रसार र प्रवर्द्धनमा लागेका लवकान्त आफ्नो 'कर्खाचर्खा' स्टुडियो गोदना संरक्षणको माध्यम बनोस् भन्ने चाहन्छन्।
'थारू समुदायको यो पहिचानलाई व्यावसायिकीकरण गर्न सकिन्छ कि सकिन्न, त्यो त मलाई थाहा छैन। तर मैले आफ्नो सानो कोसिसबाट यसलाई जोगाउन सकेँ र अर्को पुस्तासम्म लैजान सकेँ भने स्टुडियो खोल्नु सार्थक हुनेछ,' उनले भने।
'केही समययता थारू समुदाय बाहिरका मान्छेले पनि गोदना बनाउन र चासो देखाउन थालेका छन्। यसले मलाई उत्साहित बनाएको छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***
-1752600646.jpg)
-1752600651.jpg)
-1752600646.jpg)