यो लेखको मूल विषयमा प्रवेश गर्नुअघि चार वटा घटना उल्लेख गर्छु।
घटना— १
कक्षा पाँचको कोठा। शिक्षक ढोकाबाट भित्र छिरिन्। दुई विद्यार्थीले थाहै पाएनन्। शिक्षक आएपछि उठ्ने चलन भएको कक्षामा उनीहरू बेन्चमा बसिरहे। अरू सबै उठेर बसेपछि थाहा पाए। आफूले बिराएको ठानेर हतारहतार उठे। कक्षाकोठाको चलन पूरा गरे। तैपनि उनीहरूमाथि अनुशासन पालना नगरेको भन्दै कारबाही भयो।
घटना— २
शिक्षकले गृहकार्य दिएका थिए। ठ्याक्कै भनेअनुसारको, शिक्षकलाई चित्तबुझ्दो गृहकार्य कक्षा सातकी एक विद्यार्थीले ल्याउन सकिनन्। उनलाई शिक्षकले निर्मम तरिकाले पिटे, ग्रेड घटाउने चेतावनी दिए। बालिकाले पढाएको बुझिनँ भनिन्। शिक्षकले उल्टो 'पढाउने बेलामा ध्यान कता गयो' भन्दै हप्काए।
घटना— ३
निम्न माध्यमिक तहका दुई बालकलाई पाठ कण्ठ नगरेको निहुँमा शिक्षकले सबैका अघि कुखुरा बनेर बस्ने आदेश दिए। अर्का बालकलाई सयचोटि उठ-बस गराए। ती बालक तीन दिन थला परे। स्कुलै आउन सकेनन्।
घटना— ४
मध्यम स्तरको पढाइ भएको बालकलाई शिक्षकले सबैका अगाडि हप्काए।
कक्षामा प्रथम हुनेलाई देखाउँदै भने, 'ऊ जस्तै बन्, आज्ञाकारी बन्। अनि मात्र सबैले मन पराउँछन्। तेरो दिमागमा त भुस भरिएको छ। मूर्ख! हरिलठ्ठक! गरिखान नसक्ने!'
कक्षाकोठामा शिक्षक र विद्यार्थीबीच यस्तो संघर्ष हुनु हाम्रा लागि नयाँ कुरा होइन। त्यसैले यी घटना सामान्य लाग्न सक्छन्। तर के शिक्षकले विद्यार्थीमाथि प्रयोग गरिरहेको यो शक्तिको असर हामी सामान्य मान्न सक्छौं?
अरू होइन, मात्र अभिभावक वा आफैं विद्यार्थी भएर सोच्नुहोस् त, के माथि भनिएजस्तै व्यवहार तपाईंका छोराछोरी, भाइबहिनी वा आफन्तमाथि गर्नु न्यायोचित हो? भविष्यका सबै खाले मार्गहरूको निर्देशन गर्ने शिक्षकले विद्यार्थीमाथि यस्तो शक्ति प्रदर्शन गर्दा विद्यार्थीले के सिक्छ? कस्तो बाटो पहिल्याउँछ?
कुनै पनि शिक्षकको कठोर भूमिका र शक्ति प्रयोगले विद्यार्थीको जीवनमा कम्पन ल्याउँछ। उनीहरूले ती अनुभवहरूलाई कसरी लिन्छन्, त्यसबाट उक्सिन सक्छन् कि सक्दैनन्, आफैं वयस्क भएपछि अरूसँग कस्तो व्यवहार गर्छन्, कस्तो आचरण देखाउँछन् भन्ने जस्ता कुराहरू निर्धारण गर्छ।
हामीकहाँ शिक्षक सम्माननीय मात्र होइन, पुजनीय गुरू मानिनुपर्छ भन्ने धारणा छ। शिक्षकको यो अहम सर्वमान्य ठानिन्छ। विद्यार्थीको आत्मसम्मानमा ठेस पुगे पनि शिक्षकले आफ्नो मर्यादा कायम गराउन चाहन्छ। शिक्षकले जस्तोसुकै दुर्व्यवहार गरे पनि विद्यार्थी विनम्र बने आदर्श मानिन्छ। विद्यार्थीलाई आफूलाई किन सजाय दिइयो भन्ने प्रश्न गर्ने त के, बोध गर्ने समेत छुट छैन। एक हिसाबले शिक्षक मात्र सर्वेसर्वा हो।
शिक्षक र विद्यार्थीबीच शक्ति सन्तुलन नहुनु शिक्षा प्रणालीकै अँध्यारो पक्ष हो।
यो लेखको मूल विषय पनि यही हो— शिक्षक र विद्यार्थीबीचको शक्ति सन्तुलन।
अमेरिकी प्रख्यात धावक लुई जाम्पेरिनी भन्छन्— सिक्ने क्रममा गल्ती हुन्छ, अपराध होइन। सिकाइमा हुने गल्तीहरू नै पाइला राख्ने ढुंगाहरू हुन्। लड्दालड्दै दौडिन आउँछ। विद्यार्थी भनेकै यही हो।
तर हाम्रो शिक्षा प्रणालीमा शक्ति अभ्यास हुन्छ। यस्तो अभ्यासका मुख्यगरी तीन आधार देखिन्छन्।
विद्यार्थीको गल्तीलाई अपराधैसरह सजाय दिनु, मन परेका विद्यार्थीलाई कक्षामा विशेष र उदाहरणीय रूपमा प्रस्तुत गर्नु र शिक्षक सधैं सही हुनु; शक्ति अभ्यासका यी तीन आधारले शिक्षकलाई विद्यार्थीभन्दा सधैं माथि राखेको छ।
यसमा दण्डको चेतावनी दिएर विद्यार्थीलाई काम गराउनु र भनेबमोजिम नभएमा सजायको भागीदार हुनुपर्छ भन्ने शिक्षकको मनोविज्ञान प्रबल हुन्छ। दण्डको सन्दर्भ स्वीकार गरिन्छ। पुरस्कार पनि प्रेरणा जगाउनेभन्दा शक्ति प्रवर्तनको माध्यम बन्छ। सिकाइका कदमलाई सजाय वा पुरस्कारको प्रतिस्पर्धामा उतार्दा विद्यार्थीमा अनावश्यक दबाब सिर्जना हुन्छ।
चिकित्सक तथा मन्टेसरी शिक्षा विस्तार गर्ने मरिया मन्टेसरी भन्छिन्— दण्ड र पुरस्कारको कुरामा एउटालाई ठीक मान्ने हो भने दुवै ठीक हुन्। एउटा बेठीक भए दुवै बेठीक। तसर्थ यो वर्जित हो।
त्यस्तै आफूलाई मन नपरेको वा कमजोर विद्यार्थीलाई मन परेकोसँग तुलना गरेर सन्दर्भ शक्तिको अभ्यास गरिन्छ। मन पराइएको विद्यार्थीले अनुग्रहबाट पहिचान स्थापित गर्छ। यो मेरो प्रिय र यो अप्रिय, यो ठीक यो बेठीक भनेर विद्यार्थीबीच विभेद गरिन्छ।
अर्को हो विज्ञ शक्ति अर्थात् विज्ञ वा शिक्षकबाट गल्ती हुँदैन, गर्दैन भन्ने अवधारणा। यो मान्यतामा शिक्षकहरूले जे भने वा गरे पनि कसैले प्रश्न गर्दैन। सिकाउने मान्छे भएकाले उनीहरूका सबै कुरा स्वीकार्य हुन्छन्। अनि उनीहरूले विज्ञता र त्यही स्वीकार्यताका आधारमा शक्ति कायम गर्छन्।
यी विषय हाम्रा कक्षाकोठामा सामान्यजस्तै हुन्। त्यसैले व्यावहारिक रूपमा सामान्य नै लाग्न सक्छ। तर यो एकदमै गम्भीर विषय हो जसलाई सुधार्न आवश्यक छ। किनभने शिक्षकले यस्तो शक्ति कार्यान्वयन गर्दा विद्यार्थीको सिकाइको वातावरण क्षिण हुन्छ। सिकाइ भनेको विद्यार्थीको स्वनियमन र स्वनिर्देशनमा हुनुपर्छ। यो प्रक्रियाबाट विद्यार्थीमा आत्मसम्मान र विश्वास निर्माण हुन्छ।
शक्तिको गलत प्रयोगले कक्षाकोठाको गतिशीलता खलबलिन्छ। विद्यार्थीमाथि हँसिमजाक गरिँदा उनीहरूको मनोबल गिर्छ। दीर्घकालमा व्यक्तित्व नै दबिन्छ। तर्क राखेर बोल्न नसक्ने भइदिन्छन्। यी सबै कुरा अनुसन्धानहरूले पुष्टि गरिसकेका छन्।
स्कुले विद्यार्थीकाल भनेको कुनै पनि व्यक्तिको स्वभाव निर्देशन गर्ने स्नायुमार्ग निर्माण हुने समय हो। यी वर्षमा यस्ता शक्तिको प्रयोग भएमा स्नायुमार्ग विक्षिप्त बन्न सक्छ। अनि जीवनभर उसका प्रगति कठिनाइ बनिदिन्छ। यसको विपरीत यसरी सोच्ने, गर्ने भनेर उत्साहपूर्ण वातावरणमा सिकाउने, बुझाउने गर्ने हो भने उनीहरूको सोचाइको सीप पनि विकास हुन्छ।
शब्दहरू भनेका शक्तिका स्रोत हुन्। कक्षाकोठामा बोलिएका शब्दले स्रोताको मानसिकता निर्धारण गर्छन्। सही र सकारात्मक शब्दले सोचाइलाई बलियो र प्रभावकारी बनाउँछ। बारम्बार 'तिमी कमजोर छौ' भन्ने हो भने विद्यार्थीले आफू वास्तवमै कमजोर रहेछु भन्ने विश्वास गर्छ। उसले भएको आत्मविश्वास पनि गुमाउँछ।
शक्ति प्रयोग उच्च हुँदा शिक्षकले विद्यार्थीको हरेक कुरा नियमन गर्छन्। उनीहरूको बोली निर्देशनात्मक हुन्छ। केटाकेटीहरू आफ्नो सिर्जनशीलता र कल्पनाशक्ति प्रयोग गर्दैनन्। निष्क्रिय बन्छन्। आदेश कुर्छन्।
शिक्षक सधैं सही र जसरी पनि उसले जित्नुपर्ने अस्वाभाविक प्रवृत्ति मौलाउँदा विद्यार्थी स्वतन्त्र विचारका अभिव्यक्तिबाट वञ्चित हुन्छन्। आफ्नो अभिव्यक्ति शिक्षकसँग मिल्छ कि मिल्दैन, मिलेन भने शिक्षकले मेरो कुरालाई चुनौती दिएको बुझेर आफूप्रति नकारात्मक धारणा राख्ने डर पनि हुन्छ।
शिक्षकले आफ्नो अधिकार कार्यान्वयन गर्ने क्रममा विद्यार्थीको संवेदनशील र कमजोर मानसिकतामा आघात पुगेको स्वीकार गर्नुपर्ने हो। तर यस्तो हुँदैन। यही कारण दीर्घकालमाा अवाञ्छनीय प्रवृत्ति विकास हुने अनुसन्धानले देखाएको छ। विद्यार्थीको प्राज्ञिक स्तर राम्रै भए पनि जिम्मेवारी कम हुन सक्छ। यसले आफ्नो कमजोरीको दोष अरूमाथि थोपर्ने प्रवृत्ति बढ्छ। उनीहरू वयस्क बनिसक्दा पनि आफूलाई केटाकेटी नै ठान्छन्।
शक्तिको जथाभावी प्रयोग गर्दा विद्यार्थीले आफूलाई स्वनियमनमा राख्न पनि सक्दैनन्। अभ्यासबाट वञ्चित हुन्छन्। यसले गर्दा उनीहरूमा जवाफदेहिता कम हुन्छ। सबै कुरालाई स्वीकार गर्नुपर्ने अवस्था सिर्जना गर्दा पछि उनीहरू या त मातहतमै बसिरहने 'कन्फर्मिस्ट' (अर्काको कुरा पत्याउने, प्रश्न नगर्ने) बन्छन् या स्वाभावमा विद्रोही परिवर्तन आउँछ।
कक्षाकोठा समाजको सानो रूप हो र यो शान्तिको नमूना हुनुपर्छ।
'शक्ति सन्तुलन शान्तिको मापक हो। यो कक्षाकोठाबाट सुरू हुन्छ,' दार्शनिक थोमस पाइन भन्छन्।
अनुसन्धानहरूले देखाएअनुसार शिक्षकहरूमा मान्यता हुन्छ— म शिक्षक र उनीहरू विद्यार्थी हुन्, सम्पूर्ण कक्षाकोठा मेरो नियन्त्रणमा हुनुपर्छ। सोहीअनुसार कक्षा सञ्चालन हुनुपर्छ। सबै निर्देशन आफैंले दिनुपर्छ। पाठयोजना मेरै निर्णयमा बन्नुपर्छ।
कुनै शिक्षक शक्ति सन्तुलनबारे साक्षर छैन भने उसले 'म शिक्षक हो, मैले पढाउने हो, मैले भनेअनुसार विद्यार्थीले गर्यो भने ऊ अगाडि बढ्छ नत्र फेल हुन्छ' भन्ने जस्ता गलत धारणा राख्छ। तर सिकाइको आवश्यकता, सान्दर्भिकता, दिशा र बाटो तय गर्ने स्वयं विद्यार्थी हुन्।
त्यस्तै परीक्षा नतिजा सन्तोषजनक नआए आफूले पढाउन नसकेर यस्तो भएको भन्ने पनि शिक्षकलाई लाग्न सक्छ। तर यही नै आधारभूत गल्ती हो। यहाँ पढाउन नजानेर भन्दा पनि विद्यार्थीले सीप नजान्दा अपेक्षित नतिजा नआएको हो। विद्यार्थीले गर्नुपर्ने परिश्रमको जिम्मा शिक्षकले आफ्नै काँधमा मात्र लिँदा यस्तो हुन्छ।
'मैले पढाउन सकिनँ' भन्ने निष्कर्षले शिक्षकमै दिक्दारी आउँछ। दिक्दारीले रिस उठ्छ र उसलाई शक्ति प्रयोग गर्न झनै प्रेरित गर्छ। निर्देशन कम भएर वा विद्यार्थी जिम्मेवार नभएर वा जति गरे पनि नहुने संस्कृति विकास भएर यस्तो भएको भन्ने मानसिकता विकास हुन्छ।
अझै पनि शिक्षा प्रणालीमा शक्ति प्रयोगबाट मात्र राम्रो परिणाम आउँछ भन्ने सोच छ। यसको पक्षमा गरिने बहसमा पनि 'हामीले यसै गरेको हो, अब पनि यसै गर्नुपर्छ' भन्ने तर्क हुन्छ। यो मान्यताले शिक्षक र प्रशासन दुवैमा समस्या भएको देखाउँछ। यो बदलिन जरूरी छ।
स्कुलमा मात्र होइन, बालबालिकामाथि प्रयोग हुने शक्तिको सन्तुलन घरमा पनि हुन जरूरी छ। आफूमाथि आश्रित भएकाले आमाबुवाले सन्तानमाथि स्वामित्व थोपर्छन्। यो गलत अभ्यास हो। उनीहरूलाई सन्तुलित र सही निर्देशन दिँदै छुट्टै व्यक्तिका रूपमा उनीहरूको व्यैक्तिक स्वतन्त्रता दिइनुपर्छ।
केटाकेटीमाथि हुने शक्तिको प्रयोगलाई प्रगतिशील रूपरेखामा ढाल्नुपर्छ। शक्ति बाँडफाँटको सिद्धान्त अपनाउन सकिन्छ। कक्षाहरू विद्यार्थी केन्द्रित हुने, शिक्षकले विद्यार्थीलाई नै आफ्नो काम गर्ने अधिकार र स्वअनुशासनबाट सशक्तीकरण गर्दा शक्ति सन्तुलन हुन्छ। यसो गर्दा दुवै पक्षको जित हुन्छ।
शक्ति सन्तुलनमा दुवै पक्ष तनावमुक्त हुन्छ। विद्यार्थीले स्वतन्त्रता पाउँछन्, त्यसको सही ढंगले प्रयोग गर्ने प्रजातान्त्रिक परिपाटी विकास गर्छन्। शक्ति बाँडफाँटको सिद्धान्तलाई व्यवहारमा परिणत गर्दा समयसापेक्ष र सकारात्मक परिणाम आएको अध्ययनले देखाएको छ।
पढ्ने जिम्मेवारी विद्यार्थीकै हो, शिक्षकले ज्ञानआर्जन प्रक्रियामा सहजीकरण गर्ने हो, हौसला र मनोबल दिने हो भन्नेजस्ता सोच विकास भएमा शिक्षक र विद्यार्थीबीच गहिरो अन्तर्क्रिया हुने पनि अध्ययनले पुष्टि गरेका छन्।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)