किताब चर्चा
इनारमा आफ्नो छाया देखेर हाम्फाल्ने बाघ र पोखरीमा आफ्नै छायासँग मोहित हुने नार्सिससमा एउटा समानता छ- यी दुवै भ्रमित छन्।
नेपाली कथाका बाघलाई जंगलमा आफूजस्तै अर्को बाघ कहाँबाट आएछ भन्ने भ्रम छ। ऊ आफ्नै छायालाई झम्टन इनारमा फाल हान्छ र ज्यान गुमाउँछ।
ग्रिक कथाको पात्र नार्सिसस पनि जंगलको सुन्दर तलाउमा पानी पिउन झुक्दा आफ्नै छायासँग झुक्किन्छ। ऊ छायालाई प्रेम गर्न थाल्छ। पानीको सतहमा सल्बलाइरहेको छायालाई अंगाल्ने कोशिश गर्छ। जसै ऊ झुक्छ र हात चोबल्छ, पानीमा लहराउँदै छाया अलप हुन्छ। ऊ बारम्बार छोप्न खोज्छ, छाया बारम्बार हातबाट छुट्छ।
तिर्खाले प्याकप्याक्ती हुँदा पनि ऊ छायालाई अलक्क निहार्दै बस्छ, पानी पिउँदैन। आखिरमा तिर्खाएरै मर्छ।
हामी हरकोही यी बाघ वा नार्सिससजस्तै पानीमा आफ्नै छाया देखेर भ्रमित छौं।
जिन जेनेट भने पानीको प्रतिछायामा पनि संसार देख्छन्, संसारमा सबैतिर आफैंलाई पाउँछन्।
उनी यस्ता लेखक हुन्, जो नार्सिससजस्तै पोखरीमा आफ्नो छाया हेरेर सुन्दरताको कल्पना त गर्छन्, तर त्यही सुन्दरताको भ्रममा रुमलिएर जिन्दगी खेर फाल्दैनन्। उनी न आफ्नो सुन्दरतामा हर्ष मनाउँछन्, न कुरुपता वा कमजोरीमा दुःखमनाउ गर्छन्।
आफू जे हो, त्यसैमा रमाउने मान्छे कम हुन्छन्। अधिकांश मान्छे जे होइन वा जे हुन सकेन त्यसको कल्पनाले बढ्ता पिरोलिन्छ। जेनेटले सधैं प्राप्तिमा हर्ष माने, यही इमानदारी उनको लेखनमा झल्किन्छ।
मैले यी फ्रेन्च लेखकलाई पहिलोचोटि पढेको सन् १९८१ तिर हो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले मलाई उनको किताब 'द थिफ्स जर्नल' पढ्न दिनुभएको थियो। उहाँ किताबको भाव मनपर्यो भने पन्नाका छेउमा मिल्दोजुल्दो स्केच भर्नुहुन्छ। त्यो किताबमा पनि उहाँले प्रशस्त स्केच कोर्नुभएको थियो।
किताब पढेपछि मलाई जिन जेनेट कस्ता लेखक रहेछन् भनेर जान्न मन लाग्यो। अहिलेजस्तो इन्टरनेट सुविधा थिएन, मैले अमेरिकी पुस्तकालय गएर 'इन्साइक्लोपेडिया' पल्टाएँ।
जति बुझ्दै गएँ, जति उनलाई पढ्दै गएँ, उनको जीवन र लेखनमा मसिनो धागो मात्रको अन्तर देखेँ।
उनको जीवन नै यति घटनाप्रधान रहेछ, त्यसलाई सर्रर शब्दमा उतारेर खर्रर मुद्रणमा पढाइदिए पनि सुन्दर आख्यान बन्छ। वा, गैरआख्यान भन्नुस्।
उनका सबै किताब जिन्दगीका अंशलाई टपक्क टिपेर कागजमा 'फ्रेम' गरेजस्ता लाग्छन्। पढ्दै जाँदा कहिलेकाहीँ आत्मकथा पढेजस्तो अनुभूति हुन्छ। झट्ट फेरि दिमागमा तरंग उठ्छ, यो आत्मकथा कसरी हुन सक्छ, आख्यान होला!
जेनेटको विशेषता नै यही, उनका कृतिमा आख्यान र गैरआख्यानका परम्परागत भिन्नता लुप्त हुन्छन् र दुवै विधा एकाकार भएर आउँछन्। सिर्जनशील गैरआख्यान भनेको यही होला!
साहित्य सिर्जनामा परम्परागत मान्यता र दायरा भत्काएर असीमित संसारमा उडान भर्न सक्ने यो खुबी जेनेटले आफ्नो जिन्दगीको अनुभवबाटै लिएर आएका हुन्।
हाम्रो परम्परागत स्थापित मान्यताले जे–जे हुनु हुँदैन भन्छ, जेनेटको जीवन ती–ती घटनाहरूबाट गुज्रिएको छ। सन् १९१० मा जन्मिएका जेनेट जम्मा सात महिनाका थिए, जब उनलाई अनाथालयमा छाडियो। उनी पन्ध्र वर्षका थिए, जब चोरी गरेर पहिलोचोटि जेल परे। उन्नाइस वर्षको उमेरमा उनलाई फ्रेन्च सेनाबाट बेइज्जतीका साथ निकालियो। उनीमाथि सहकर्मी सैनिकहरूसित शारीरिक सम्बन्ध राखेको आरोप थियो।
सेनाबाट निकालिएपछि उनले केही समय किताब पसलमा काम गरे। उनको साहित्यप्रति अभिरूचि त्यही जागिरको देन हुनसक्छ, जसले उनको अध्ययनको दायरा र लेखनको गहिराइ निखार्यो। तर, यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। किताब चोरेको आरोपमा पक्राउ परे, जेल गए।
त्यसपछि त जेल जाने क्रम अटुट नै रह्यो।
बीस वर्षको उमेरदेखि फिरन्ते जिन्दगी बाँचेका जेनेटले पेट पाल्न लगातार चोरी गरे। भिख मागे, वेश्यावृत्तिमा समेत लागे। बस्ने ठाउँ नपाएर युरोपको ठन्डीमा 'नङछुरी' हुञ्जेल एक देशबाट अर्को देश भौंतारिरहे।
युरोपको सायदै कुनै देश होला, जहाँ उनी पुगेनन्। युरोपको सायदै कुनै जेल होला, जहाँ उनी कैद भएनन्।
'द थिफ्स जर्नल' उनी यायावर भएर भौंतारिँदाको कथा हो, जसमा उनले १९३० पछिका झन्डै डेढ दशक युरोपका विभिन्न जेलमा बिताउँदाको अनुभव उतारेका छन्।
'बन्दीको पोसाक गुलाबी र सेतो धर्के कमिज,' किताबको सुरूआती वाक्यदेखि नै उनी जेल जीवनमा प्रवेश गर्छन्, 'बन्दीहरूले लगाउने गुलाबी र सेतो धर्के कमिजमा मैले जीवनको रङ देखेँ। मलाई यस्तै रंगीन लुगाले आकर्षित गर्छ। जिन्दगी पनि यस्तै रंगीन होस् भन्ने म चाहन्छु।'
किताबका हरेक पन्नामा उनी यस्तरी खुलेका छन्, मानौं लुकाउनुपर्ने केही छैन। उनको सत्यले बरू हामी पढ्नेहरूको जीउमा काँडा उम्रिएला, तर उनी संकोच मान्दैनन्।
युरोपका विभिन्न देश चहार्ने क्रममा उनी एकचोटि स्पेन पुग्छन्। त्यति बेला स्पेन लडाइँमा थियो। युद्धबाट फर्केका सिपाहीलाई आकृष्ट गरेर उनी अँध्यारा गल्लीहरूमा लैजान्छन् र समलिंगी यौन सम्बन्ध राख्छन्। यस्तो समलिंगी सम्बन्धबाट पैसा कमाएर गुजारा गरेको उनी निर्धक्क भन्छन्।
कति जना पुरुषसँग कहाँ-कहाँ संसर्ग गरेँ भनेर खुलस्त पनि पार्छन्। यहाँ उनले आफू समलिंगी वेश्यावृत्तिमा लागेको स्वीकारेका छन्।
'म आफैंप्रति आकृष्ट छु,' जेनेट घन्टौं ऐनाअगाडि आफूलाई निहारेर बस्न सक्थे, यसरी आफैंलाई हेरेर प्रेम गर्नु पनि एक किसिमको समलैंगिकता हो।
उनको यस्तो स्वीकारोक्ति त्यो बेलाको समाजका लागि सहज पक्कै थिएन। त्यही भएर फ्रेन्च दार्शनिक जिन पल सात्र जेनेटलाई 'विद्रोहको भर्भराउँदो ज्वाला' मान्छन्। चोरी, समलैंगिक सम्बन्ध लगायत झन्डै दुई दर्जन मुद्दा खेपिरहेका जेनेटलाई आममाफी दिन उनीसहित फ्रेन्च दार्शनिक तथा लेखकहरूको समूहले राष्ट्रपतिलाई दरखास्तसमेत दिएका थिए।
जेनेट र उनका कृतिमाथि छ सय पृष्ठको सिंगै किताब लेखेका सात्र भन्छन्, 'उनी आफ्नो एकपछि अर्को घटनामा हामीलाई तर्साउँछन्। उनको आत्मकथा, आत्मकथा मात्र होइन। उनका कथाहरू, कथा मात्र होइनन्। ती कथाले हामीलाई उत्तेजित पार्छन्, उत्साहित तुल्याउँछन् र रोमाञ्चित गराउँछन्।'
'हामीलाई जेनेटले कुनै तथ्य भनिरहेजस्तो लाग्छ, तर खासमा उनी सामाजिक वा धार्मिक परम्परामाथि प्रश्न उठाइरहेका हुन्छन्। जब उनी कुनै भिखारीको अवस्था चित्रण गर्छन्, त्यहाँ हाम्रो सामन्ती संस्कारको अँध्यारो पक्ष झल्काउन खोजिरहेका हुन्छन्,' सात्र लेख्छन्।
फ्रान्समा पहिलोचोटि सन् १९४९ मा प्रकाशित 'द थिफ्स जर्नल' साहित्यका माध्यमबाट सामाजिक मर्यादा र व्यवहारलाई कति परसम्म धकेल्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो।
यो किताबको सुन्दर पक्ष के भने, यसमा जेनेटले आफ्नो गरिबी, अभाव र परित्यक्त अवस्थामा पनि सौन्दर्य भरेका छन्।
जन्म दिने आमाले अनाथालयमा छाडेर हिँडेको सत्यलाई उनले कमजोरी बन्न दिएनन्, शक्तिमा बदले। उनका बाल्यकाल र युवावस्था असामान्य रहे, तर उनले ती असामान्य अवस्थालाई दिक्दार वा पीडादायक चित्रण गरेनन्। आफ्नो दुःख पढेर कसैले आँशु बगाओस् भन्ने उनले कहिल्यै चाहेनन्। अभाव र गरिबीसँग जुध्न जे–जस्ता संघर्ष गरे, त्यसलाई रोमाञ्चक ढंगले शब्दमा उतारे, ताकि पढ्नेहरू पनि रोमाञ्चित होऊन्।
त्यसैले त, उनको वर्णनमा विलाप छैन, सात्रले भनेझैं 'विद्रोहको ज्वाला' छ।
'यो समाजले मलाई फ्याँक्यो, म यो समाजलाई किन अपनाऊँ?' जेनेट लेख्छन्, 'जुन समाजले मलाई स्वीकार गरेन, म आँशु बगाउँदै त्यो समाजसँग भिख माग्दिनँ। म त्यो समाजले कोरेको परिधिभित्र फर्किएर जान्नँ, जुन परिधिभित्र म अटाउन सकिनँ। जहाँ मेरो जन्म, मेरो बाल्यकाल र मेरो युवावस्था अटाउन सकेनन्।'
युरोपमा यायावर भएर हिँड्दा उनी धेरैचोटि भोकले रन्थनिए। रछ्यानमा फालिएको पाउरोटीको टुक्रा टपक्क टिपेर खाए। त्यसमा जुन सुखानुभूति भयो, त्यो महँगा–महँगा रेस्टुरेन्टमा खाँदा पनि कहिल्यै नभएको उनी वर्णन गर्छन्, 'जीवन भनेको अनुभूति नै त रहेछ।'
सामाजिक मान्यताको दायरा भत्काउँदा रोमाञ्चित अनुभूति गर्ने जेनेट अपराध र कानुनको सम्बन्धलाई जसरी अर्थ्याउँछन्, त्यो आफैंमा अर्थपूर्ण छ, 'सबै भन्छन्, कानुनले अपराधलाई बाँधेको छ। खासमा अपराधले कानुनलाई बाँधेको छ। समाजमा कानुन पहिला जन्मेको होइन, अपराध पहिला जन्मेको हो। अपराध छ, त्यही भएर कानुन छ। अपराधी छन्, त्यही भएर प्रहरी छन्, न्यायालय छ, न्यायाधीश छन्, जेल छ। हामी विभिन्न अपराधमा जेलसजाय भोगिरहेका बन्दीहरू नै हौं, जसले समाजको न्याय व्यवस्था र कानुन प्रणाली जीवित राख्छौं। हामी नै भएनौं भने कानुनको के अर्थ? न्यायाधीश र न्यायालय हुनुको के अर्थ? उनीहरू त भूमिकाविहीन हुनेछन्। रोजीरोटी नै खोसिनेछ।'
उनको यस्तो अभिव्यक्ति स्थापित मान्यताभन्दा फरक सुनिन्छ, यसमा विद्रोहको चेत पनि छ।
उनी विषय र सन्दर्भ हेरेर राजनीतिक व्यंग्य पनि कस्छन्।
जतिबेला उनी जर्मनी पुगेका थिए, हिटलरको दबदबा सुरू भइसकेको थियो। नाजी जर्मनीप्रति व्यंग्य गर्दै उनी लेख्छन्, 'म यो कस्तो ठाउँ आइपुगेँ। मैले बाँच्नलाई चोरी गर्नुछ, तर म यो ठाउँमा कसरी चोरी गरूँ, जहाँ मभन्दा धेरै ठूला चोरहरू पहिलेदेखि डकैती गरेर बसेका छन्। एउटा जातले अर्को जातमाथि अत्याचार गरिरहेका छन्। अधिकार खोसिरहेका छन्। डकैतहरूबाट आक्रान्त यस्तो ठाउँमा मैले चोर्नुको कुनै अर्थ छैन।'
नाजी जर्मनीविरुद्धको यो अभिव्यक्ति अहिले सुन्दा सामान्य लाग्न सक्छ, तर जति बेला जेनेटले लेखे, अरू धेरै लेखक र राजनीतिक विश्लेषकहरूले पनि हिटलरविरुद्ध यस्तरी बोल्ने हिम्मत गरेका थिएनन्।
यो किताबका दुइटा पक्ष महत्वपूर्ण छन्ः
पहिलो, यसले हामीलाई जेलबाट बाहिरको संसार देखाउँछ। जेलमा बस्नु भनेको सजाय भोग्नु मात्र होइन, यो एउटा मौका पनि हो, आफूले आफैंलाई चिन्ने, महशुस गर्ने।
जेलमा बस्ने मान्छेले स्वाभाविक रूपमा बाहिरी संसारसँग सम्पर्कको कमी महशुस गर्छ। जब बाहिरी संसारसँग सम्पर्क टुट्छ, मान्छे आफैंलाई खोज्न थाल्छ। आफ्नै बारेमा चिन्ता गर्छ। परिवारको चिन्ता गर्छ। आफ्नो सानो–सानो दैनिकीमा ध्यान दिन्छ।
जेलबाट लेखिएका धेरै कृति आत्मकेन्द्रित छन्। बिपी कोइरालाको 'जेल जर्नल' यस्तै छ, जहाँ उनी लुगा धोएको, खाना पकाएको, नुहाएको, घाम तापेकोजस्ता दैनन्दिनका कुरा गर्छन्। दिनभरि चरा हेरेर बसेँ भन्छन्। पत्नीको स्वास्थ्य र छोरा प्रकाशले जागिर पायो कि पाएन भनेर सुर्ता मान्छन्।
रंगीन जीवन बिताएका जेनेट पनि जेलमा आत्मकेन्द्रित हुनबाट मुक्त रहन सक्दैनन्। उनको परिवार भन्ने त कोही छैन, तर उनी आफ्ना यौनसाथीहरूको सुर्ता गर्छन्। उनीहरू कहाँ के गर्दै होलान् भनेर चासो राख्छन्।
दोस्रो महत्वपूर्ण पक्ष, यो किताबले नैतिकताको परिधि के हो भन्ने देखाउँछ।
हामी साहित्यले समाज परिवर्तनमा योगदान गर्नुपर्छ भन्छौं। जेनेटको किताबले समाजमा के योगदान गर्छ त? नैतिकताको दृष्टिले हेर्ने हो भने केही गर्दैन। उच्चतम आदर्शको दृष्टिले हेर्ने हो भने यसले नैतिकताको परिधिलाई नै फराकिलो दायरामा घचेट्ने काम गरेको देखिन्छ।
अब प्रश्न उठ्छ, नैतिकताको परिधि भनेको के हो? साहित्य वा वाङ्मयले यो परिधि कसरी तन्काउन सक्छ?
नैतिकता भनेको समाजको स्थापित मान्यता हो, जुन समयक्रममा समाजसँगै परिवर्तन भइरहन्छ। हिजोको समाजमा नैतिक वा अनैतिकको जे परिभाषा थियो, आजको समयसम्म आइपुग्दा त्यो बिल्कुलै बदलिसक्यो। हिजो जुन काम समाजलाई अपाच्य हुन्थ्यो, आज सामान्य छ।
सामाजिक नैतिकताको सन्दर्भमा साहित्यको भूमिका भनेको त्यो परिधि तन्काउँदै लैजाने हो। त्यसलाई कति परसम्म धकेल्न सकिन्छ भनेर जाँच्ने हो। जेनेटले आफ्नो अनुभव वर्णन गर्ने क्रममा चोरी, अपराध, समलिंगी सम्बन्ध र वेश्यावृत्तिलाई यथार्थपरक चित्रण गरेर तत्कालीन समाजको नैतिक परिधि तन्काउन खोजेका छन्। उनी जेलभित्र हस्तमैथुन गर्दाको कल्पनामा हराउँछन्, 'मैले कल्पना पनि गर्न नपाउने? बाँच्नु भनेको कल्पना गर्नु हो, मैले बाँच्न पनि नपाउने?'
यी कुनै पनि सामाजिक रूपले स्वीकार्य कर्म होइनन्, तर उनले बिनाहिच्किचाहट सबैको सविस्तार लगाएर सामाजिक दायरालाई चुनौती दिएका छन्। भाषाको प्रयोगमा पनि साहित्यको स्थापित मान्यतालाई कति पर धकेल्न सकिन्छ भनेर जाँचेका छन्। यथार्थ चित्रणका सम्बन्धमा, कल्पनाका सम्बन्धमा, राजनीतिक स्वतन्त्रता र भाषिक अराजकताका सम्बन्धमा उनले साहित्यमै नयाँ परिधि खिचेका छन्।
साहित्य वा वाङ्मयको यस्तै योगदानले नै हो, समाजमा नयाँ मान्यता स्थापित गर्ने।
जस्तो, १९४० दशकमा समलिंगी सम्बन्ध राख्नु त परको कुरा, त्यसबारे कानेखुसी गर्न पनि 'पाप' मानिन्थ्यो। त्यो नैतिक दायरा फैलिँदै फैलिँदै हामी आजको समयमा आइपुगेका छौं, जहाँ मान्छे खुलेआम समलिंगी सम्बन्ध राख्छन् र आफूलाई खुलेआम समलिंगी जोडी घोषणा गर्छन्।
नैतिकताको रङ कालो वा सेतो हुँदैन, यो बहुरंगी हुन्छ, जेनेट भन्छन्, 'कालो र सेतो दुवै मिसिएको पनि रङ हुन्छ। नैतिकता भनेको त्यस्तै रङ हो, जो सही वा गलत हुँदैन।'
साहित्य वा वाङ्मयको विशेषता के भने, यसले असामान्य र अवास्तविक अवस्थालाई पनि कथाका रूपमा सामान्य र वास्तविक बनाउँछ। विज्ञानले जहाजको परिकल्पना पनि गरेको थिएन, जब साहित्यले 'पुष्पक विमान' रचेर मान्छेलाई चराजस्तै उडायो। पुष्पक विमानलाई हामीले आजको आँखाबाट हेर्यौं भने सामान्य देखिएला, तर सोच्नुस् त, जति बेला यो मान्छेको क्षमताभन्दा बाहिर थियो, त्यति बेलाको समाजले पुष्पक विमानलाई कसरी ग्रहण गर्यो होला?
के त्यो समाजले यस्तो 'हावादारी' सन्दर्भ कहाँबाट आयो भनेर हंगामा मच्चायो?
मच्चाएन, किनकि समाज पनि परिवर्तन निम्ति प्रेरणाको खोजीमा हुन्छ। साहित्यलाई त्यही प्रेरणाका रूपमा ग्रहण गर्छ।
कतिपय कट्टरपन्थीहरूले साहित्यको अभिव्यक्तिमा बन्देज लगाएका घटना यदाकदा नभएका होइनन्। नेपालमै पनि हामी यस्ता उदाहरण भेट्छौं।
तर, अपवाद भनेको समाज पर्गेल्ने आधार होइन। समाजलाई नयाँ दिशा दिन साहित्य वा वाङ्मयले स्थापित मान्यताको परिधि तन्काएर नयाँ सीमा निर्धारण गर्छ र गर्नुपर्छ। ताकि, आज अवास्तविक र असामान्य ठानिने घटना समयक्रममा वास्तविक र सामान्य बन्दै जाओस्।
हामीलाई नेपाली साहित्य वा वाङ्मयमा यस्तै खालका कथावाचनको खाँचो छ। यसमा हाम्रो साहित्य कहाँ उभिएको छ त?
साहित्य दुई किसिमका हुन्छन्।
एउटा, जसले नैतिक कथाहरू भनेर स्थापित मान्यतालाई जोड दिन्छ।
अर्को, जसले स्थापित मान्यता भत्काएर समाजलाई अघि बढ्न प्रेरित गर्छ।
गुरुप्रसाद मैनालीका कथाले हामीलाई सामाजिक यथार्थ र मान्यताको बोध गराउँछ। बिपी कोइरालाका कथा भने अपरम्परागत छन्, जसले स्थापित मान्यता भत्काउँछ।
भारतको सन्दर्भमा, हामीले यही स्तम्भमा केहीअघि चर्चा गरेको सआदत हसन मन्टोका कथा अपरम्परागत हुन्। समाजले कार्पेटमुनि लुकाएर राखेको यौनका विविध आयामलाई उनले सतहमा ल्याइदिएका छन्। जबकि, भारतकै 'महान' कथाकार प्रेमचन्द कथावाचनका दृष्टिले परम्परागत छन्। उनी हामीलाई समाजको स्थापित मान्यताको बोध गराउँछन् र समाजलाई नैतिकवान बन्न घच्घच्याउँछन्।
समग्र साहित्यलाई यी दुई वर्गमा राखेर हेर्दा हामीकहाँ परम्परागत कथावाचनको भरमार देखिन्छ, अपरम्परागत शैली भने यदाकदा मात्र आउँछन्। राजनीतिक, सामाजिक र आर्थिक संक्रमणको दौरमा हाम्रो समाजलाई अपरम्परागत कथावाचनको बढ्ता खाँचो छ। यसको अर्थ अर्को शैली चाहिँदै नचाहिने होइन। स्थापित मान्यताहरू सम्झाउनु पनि जरुरी छ, तर त्योभन्दा बढ्ता त्यसलाई भत्काएर समाजलाई अघि बढ्न प्रेरित गर्नुछ।
हाम्रो साहित्यले समाजलाई असहज वा अस्वीकार्य विषय जति सहज ढंगले भन्न थाल्छ, त्यति नै समाजको दायरा फुक्दै जान्छ, असहज विषयहरू ग्रहण गर्ने क्षमता बढ्दै जान्छ। एउटा–एउटा इँट्टा थपेर नै हो, समाजको नैतिक मान्यता उकासिने र धरातल फराकिलो हुने।
हाम्रा कथामा पात्र गरिब छ, ऋणमा डुबेको छ, छुवाछुतले पिल्सिएको छ, संरचनात्मक विभेद छ, ऊ हेपिएको छ, बहिष्कृत छ, उसमा क्रोध छ, विद्रोहको भावना छ, तर सिर्जनात्मक फड्को खोइ त?
सदियौंदेखि बहिष्कृत पात्रले क्रोधमा मुड्की मात्र बजार्ने कि उसले अहिलेको धरातलीय यथार्थबाट उठ्दै, उच्च मुकाममा पुगेर आफूजस्तै सबैलाई सपना देख्न सिकाउने?
साहित्यजस्तो बृहत आधार भएको क्षेत्र धरातलीय यथार्थमै अल्झिएर बस्यो भने समाजको यो यथार्थ बदल्ने कोशिस कसरी होला? समाजले परिवर्तनको कामना कसरी गर्ला?
समाजको परिकल्पना वा सपनालाई अभिव्यक्ति दिने भनेकै साहित्य र वाङ्मयले हो, के हाम्रो साहित्यले यो दायित्व निर्वाह गरेको छ?
नैतिक परिधिको कुरा गर्दा म पुरानो लोकगीतको एउटा पंक्ति सम्झन्छु- भाउजूले सोध्लिन् नि खोइ देवर भन्लिन्, अंशै बढ्यो भन्दिए।
कुनै पनि भाउजूले आफ्ना देवर लडाइँमा मारिएको खबर सुनेर अंश बढेको कामना गर्नु सामाजिक मान्यता र मानवताविरुद्ध हो। तर, मानवीय व्यवहार वा इर्ष्याले यस्तो अमानवीय कामना पनि गर्न सक्छ, जसको अभिव्यक्ति साहित्य वा वाङ्मयमा मात्र सम्भव छ।
जिन जेनेटले पनि 'द थिफ्स जर्नल' मा आफ्नो धरातलीय यथार्थ चित्रण गर्दा नैतिक बोझ बोकेका छैनन्। नैतिक बोझ जति कम भयो, मान्यता भत्काउन उति सजिलो।
पोखरीको पानीमा आफ्नो सुन्दरता मात्र देख्यो भने नार्सिससमा जस्तै व्यक्तिगत अहम् हाबी हुन्छ, उसको दृष्टि नै साँघुरिन्छ। जेनेटले जस्तो संसार चिहाउन सके मात्र जीवनको इन्द्रेणी आत्मसात् हुन्छ।
केदारभक्त माथेमाले मलाई त्यो समय यस्तो किताब किन पढ्न दिनुभयो होला भनेर म कहिलेकाहीँ सोच्छु। मलाई लाग्छ, असीको दशकमा हामी पनि राजनीतिक र सामाजिक परिधि भत्काउने अभियानमा थियौं। नयाँ समाजको कल्पना गर्दै थियौं। त्यही सन्दर्भमा मेरो मनभित्र विद्रोहको भर्भराउँदो आगो भर्न यो किताब पढाउनुभएको हो कि!
हामी आज फेरि त्यस्तै समयमा छौं। राजनीतिक र सामाजिक परिधि तन्काउँदै छौं। नयाँ समाजको कल्पना गर्दैछौं। विद्रोहको चेत खोल्न यो किताब आज पनि उत्तिकै सान्दर्भिक छ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: