किताब चर्चा
प्राइमो लेभी अहिलेसम्म बाँचेका भए चार दिनअघि सय वर्ष पुग्थे। उनको जन्म सन् १९१९ जुलाई ३१ मा भएको थियो।
आज हामी यी इटालियन लेखकका दुइटा कृतिको चर्चा गर्दैछौं — ‘इफ दिस इज अ म्यान’ र ‘ट्रुस’।
लेभी त्यस्ता ‘भाग्यमानी’ यहुदी हुन्, जो दोस्रो विश्वयुद्ध बेला हिटलरको यातना शिविरबाट बाँचेर फर्के। उनले फर्केर लेखेका यी किताबले हामीलाई हिंसा र प्रतिहिंसाको अर्थ सम्झाउँछ।
हामी एक दशक लामो माओवादी हिंसाबाट गुज्रेर आएका छौं। घाउ आलै छन्। रगतका छिटा सुकेका छैनन्। आँखाहरू ओभाएकै छैनन्। पीडकहरू सत्तामा पुगिसके, पीडितहरू न्यायको मह्लम नपाएर भौंतारिरहेका छन्। यो पृष्ठभूमिमा लेभीका किताब हाम्रा निम्ति समय–सान्दर्भिक छन्।
सन् १९४१ देखि १९४५ बीचमा नाजी जर्मनीले लाखौं यहुदीलाई पक्रेर यातना शिविरमा राखेका थिए। जर्मन–शाषित युरोपभरि १ सय १२ वटा शिविर सञ्चालित थिए, जहाँ करिब ६० लाख यहुदीको हत्या गरिएको मानिन्छ। तीमध्ये पोल्यान्डको ‘अस्विच’ शिविर सबभन्दा ठूलो थियो, जहाँ लेभीलाई राखियो। त्यहाँ उनीसहित १३ लाख यहुदी बन्दी थिए, जसमध्ये ११ लाखको हत्या भयो।
लेभी भाग्यवादी छन्, उनी आफू पक्राउ पर्नु र छुट्नुलाई ‘संयोग‘ मान्छन्।
१९४३ डिसेम्बरमा जर्मनीका हिटलर र इटालीका मुसोलिनीको फासीवादी शासन व्यवस्थाविरुद्ध युवाहरूलाई संगठित गर्ने क्रममा उनी पक्राउ परेका थिए। एकै ठाउँबाट समातिएका ६ सय ५० मध्ये १ सय २० जनालाई बन्दी बनाइयो, बाँकीलाई तुरुन्तै ग्यास भट्टीमा हालेर हत्या गरियो।
लेभीलाई १९४४ फेब्रुअरीमा ‘अस्विच’ शिविर लगियो, जहाँ उनी १९४५ जनवरीसम्म रहे।
उनी बाँच्नुको एउटा कारण रसायनशास्त्री भएकाले हो। यातना शिविरका बन्दीले विभिन्न जर्मनी कम्पनीमा दासका रूपमा काम गर्नुपर्थ्यो। लेभीलाई ‘आइजी फोर्बेन’ भन्ने रासायनिक कम्पनीमा काम लगाइयो। उनको धेरैजसो समय प्रयोगशालाभित्रै बित्थ्यो। अन्य बन्दीहरूजस्तो उनले हिउँदको ठिहिरो सहनुपरेन। कोठाभित्रै गुम्सिएर बस्नुपर्दा एकदिन ज्वरोले थला परे।
संयोगले उनलाई हनहन्ती ज्वरो आएकै बेला यातना शिविरका बन्दीलाई मृत्युदण्ड निम्ति ग्यास भट्टीमा लैजान लाम लगाइयो। सुरक्षाकर्मीले बन्दीको अनुहार हेर्दै कसलाई मृत्युदण्ड र कसलाई जीवनदान दिने निर्क्यौल गर्थे। जसमाथि नाजी सुरक्षाकर्मीको निगाहा बक्स हुन्थ्यो, उसको प्राण बच्थ्यो। जसमाथि नराम्रो नजर पर्थ्यो, उसको प्राणपखेरु उड्थ्यो।
सुरक्षाकर्मीका आँखा जसै बिरामी लेभीमाथि पर्यो, उनले ‘यो रोगीलाई किन यहाँ राखेको’ भन्दै फर्काइदिए।
‘म सँगसँगै समातिएका धेरैलाई यातना शिविर ल्याउनेबित्तिकै ग्यास भट्टीमा हुलेर मारियो। कतिलाई गोली ठोकेर मारियो। कति बन्दी त चिन्ता, तनाव, भोक, रोग र शोकले नै बिते,’ लेभीले किताबमा भनेका छन्, ‘त्यो विदारक घटनाबाट गुज्रेर पनि जो–जो बाँचे ती भाग्यमानी हुन्। हामी सबै संयोगले बाँचेका हौं।’
उनी आफूलाई युद्धभूमिको त्यो सिपाहीसँग तुलना गर्छन्, जसको दायाँबायाँ लाशको खात छ। दुश्मनको गोली लागेर सँगसँगै बसेका साथी खुत्रुक्कै हुँदा पनि उसलाई घाउसम्म भएन। जो मारियो, दुश्मनले उसैलाई निशाना बनाएर गोली दागेको थिएन। गोली त टाढाबाट अन्धाधुन्ध छुटेको थियो, जसलाई पनि लाग्न सक्थ्यो। सँगैका साथीलाई लाग्यो, उसैलाई किन लागेन?
‘यो सबै भाग्यको नियति हो। युद्धभूमिमा जसरी सिपाही भाग्यले बाँच्छ, हामी पनि यातना शिविरबाट भाग्यले बाँच्यौं,’ लेभी भन्छन्।
दोस्रो विश्वयुद्ध अन्त्यपछि जब उनी यातना शिविरबाट मुक्त भएर घर फर्के, उनले आफ्नो अनुभव अक्षरमा उतार्न थाले। करिब दस महिनाको धम्मरधुस लेखनपछि उनको पहिलो संस्मरणात्मक कृति ‘इफ दिस इज अ म्यान’ को पाण्डुलिपि तयार भयो। पाण्डुलिपिका केही अध्याय स्थानीय अखबारमा प्रकाशित भए, तर किताब छाप्न निकै गाह्रो भयो।
विश्वयुद्ध भर्खरै सकिएको त्यो समय युद्धको रक्तपात र हिंसा सम्झाउने किताब प्रकाशित गर्न कुनै प्रकाशक तयार थिएन। उनी पाण्डुलिपि लिएर जुन–जुन प्रकाशककहाँ पुगे, ती सबैको एउटै टिप्पणी थियो, ‘युद्धको घाउ नभरिँदै हिंसाको विवरण छाप्नु हतार हुनेछ।’
बल्लतल्ल स्थानीय स्तरको एउटा सानो प्रकाशन संस्थाले उदारता देखाउँदै थोरै प्रति छापिदियो।
१९४७ मा पहिलोपटक प्रकाशित हुँदा यो किताब जम्माजम्मी एक हजार चार सय प्रति छापिएका थिए। समीक्षकहरूले किताबको सराहना गरे, तर बजारले स्वीकार गरेन। पहिलो संस्करण छ सय प्रति मात्र बिक्री भयो।
एघार वर्षपछि १९५८ मा पुनः मुद्रण भएर आउँदा किताबले धूम मच्चायो। त्यसको तीन वर्षपछि जर्मन भाषामा समेत प्रकाशित भयो। लामो समय समाजले नपचाएको किताब नाजी जर्मनीको हिंसा र अत्याचार झल्काउने महत्वपूर्ण दस्तावेज बन्यो, जुन आज पनि उत्तिकै चर्चित छ।
यसबाट हामी बुझ्न सक्छौं, हिंसाको आरोह–अवरोहबाट गुज्रिएको समाजले त्यसबाट मुक्त भएपछि फेरि त्यही हिंसाबारे तुरुन्तै कुराकानी वा छलफल गर्न नचाहने रहेछ।
हामीकहाँ पनि माओवादीहरू शान्ति प्रक्रियामा आएलगत्तै द्वन्द्वलाई केन्द्रमा राखेर थुप्रै किताब लेखिए। केहीले चर्चा पाए, थुप्रै यसै थन्किए। कतै हाम्रो सन्दर्भमा पनि हिंसाको घाउ कोट्टयाउने बेला भएकै थिएन कि!
‘इफ दिस इज अ म्यान’ लाई मानक मान्ने हो भने माओवादी द्वन्द्व सकिएको चौध वर्ष लाग्यो, अब चाहिँ यसबारे गम्भीर छलफल गर्ने बेला भयो कि!
बेला भयो कि, हिंसाले छाडेका घाउ सुम्सुम्याउने र त्यसमा मह्लम लगाउने!
यो किताबमा लेभीले आफू हिंसाको गर्तमा फसेको पललाई पल–पल केलाएका छन्। त्यहाँका दृश्य, घटनाक्रम र वस्तुस्थितिलाई समाजशास्त्रीय आँखाले हेरेका छन्। उनी मान्छेको व्यवहार, लुगाफाटो र आनीबानी सूक्ष्म रूपमा लेख्छन्। बिनाटिपोट उतारिएको यातना शिविरको मिहिन चित्र लेखनका दृष्टिले लोभलाग्दो र कलात्मक छ, भावनाका दृष्टिले विदारक।
‘हामीसँग आफ्नो भन्नु केही छैन। उनीहरूले हाम्रो लुगा फुकाल्न लगाएर हामीलाई नांगो पारे। जुत्ता खोसेर खाली खुट्टा हिँडाए। हाम्रो कपालधरि काटेर मुडुलो बनाइदिए। हामीलाई बोल्ने अधिकार छैन। बोले पनि उनीहरू सुन्दैनन्। उनीहरूले सुने पनि हाम्रा कुरा बुझ्ने होइनन्,’ लेभीले किताबमा लेखेका छन्।
‘हामीसँग अब आफ्नो परिचय छैन। उनीहरूले हाम्रो नाउँ पनि बाँकी राखेनन्। यहाँ मलाई प्राइमो लेभी भनेर कसैले चिन्दैनन्। यहाँको निम्ति म ‘ह्याफ्लिङ’ मात्र हुँ। जर्मन भाषामा यसको अर्थ बन्दी हुन्छ। अनि मेरो नाउँ– १७४५१७।’
यातना शिविरबाट मुक्त भएपछि पनि लेभीलाई यो अंकले छाडेन। नाजी जर्मनीहरूले उनको शरीरमै ‘ट्याटु’ गरेर अंक खोपिदिएका थिए। त्यसैले उनी लेख्छन्, ‘हामीले अब आफ्नो देब्रे हातमा सधैंभरि यो ट्याटु बोकेर हिँड्नुपर्नेछ, यो हामी नमरेसम्म सँगै रहन्छ।’
मान्छेको परिचय खोस्नु उसको व्यक्तिगत पहिचान अवमूल्यन गर्नु। कसैको नाउँ हुँदाहुँदै शरीरमा ट्याटु खोपेर त्यसैलाई परिचय करार दिइन्छ भने, उसको व्यक्तिगत पहिचान कहाँ रह्यो?
नाउँसँग आत्मीयता जोडिएको हुन्छ, आत्मीयतासँग माया। अंक त अमूर्त हुन्छ। अंकसँग के को माया! कसलाई पक्राउ गरियो, कसलाई मारियो, कसलाई छाडियो– अंक हेरेर कसरी अड्कल गर्ने?
दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाले भनेका थिए, ‘हामीमाथि जे भयो, त्यो बिर्सिन सकिँदैन, तर हामी क्षमा गर्न सक्छौं।’
लेभी पनि कताकता नेल्सन मन्डेलाजस्तै क्षमाको पक्षमा देखिन्छन्। यातना शिविरमा एघार महिना भोगेको र देखेको हिंसा सम्झँदा र सम्झाउँदा उनले त्यहाँको प्रताडना वर्णन गरेका छैनन्। कसैप्रति द्वेष वा रिसको भावना छैन। कसैप्रति आक्रामक छैनन्। यस्तो लाग्छ, मानौं यी सबै घटना उनले बाहिर बसेर हेरेका हुन्। उनी उदार हृदयका साथ भन्छन्, ‘नाजीको कानुन र सोच नै त्यस्तो, जुन मेरो सोचभन्दा फरक छ।’
आफ्नो भोगाइलाई यति वस्तुपरक भएर हेर्न सक्नु नै लेभीको खुबी हो। यो खुबी कहाँबाट आयो भन्ने थाहा पाउन उनको जीवन दर्शन बुझ्नुपर्छ।
सुखको उत्कर्ष हुन्छ कि हुँदैन? अनि दुःखको? लेभी हुँदैन भन्छन्।
मान्छेले आफूलाई जतिसुकै सुखी ठाने पनि ऊ त्योभन्दा बढ्ता सुखी हुनसक्छ। दुःखको कहर जति बर्सियोस्, त्योभन्दा अझ बढी दुःखमा ऊ फस्न सक्छ। हरेक व्यक्तिका लागि सुख र दुःखको उत्कर्ष फरक हुन्छ, यही लेभीको विश्वास हो र दर्शन पनि।
त्यसैले त, यातना शिविरको चरम भोगाइपछि उनी भन्छन्, ‘दुःख अनन्त छैन। हुन पनि सक्दैन, किनकि अगाडि आशाको किरण छ। जतिसुकै अँध्यारोमा पनि म त्यही किरण पर्खिरहन्छु। त्यसले मलाई उज्यालोको भरोसा दिन्छ। म हरपल यो सम्झेर खुसी हुन्छु, यहाँ मान्छे मरिरहेका छन्, कम्तिमा मेरो सास त चल्दैछ! दुःखको रसातल अझ कति हो कति गहिरो होला, म जहाँ छु, त्यो सतहभन्दा केही इन्च मात्र तल हो। म योभन्दा गर्तमा भासिन सक्थेँ, भाग्यमानी रहेछु, भासिइनँ।’
पीडाको सागरमा गोता लगाउँदा पनि वस्तुपरक भएर छेउको किनार देख्न सक्नु लेभीको खुबी नभए के त?
यसको अर्को कारण पनि छ, उनी आफू वा आफूजस्तै पीडितलाई हिंसाको साक्षी नै मान्दैनन्।
‘म कथावाचाक हुँ, पीडित हुँ, तर घटनाको साक्षी होइन। मेरा यी भोगाइको वृत्तान्त पढेर कोही पनि कुनै निर्णयमा नपुगोस्। म त यातना शिविरबाट बाँचेर आएँ, त्यहाँ लाखौं मारिएका छन्। ती मारिनेहरूको सोचाइ के थियो, म भन्न सक्दिनँ। उनीहरू रोइरहेका थिए, डराएका थिए, कामेका थिए। मैले उनीहरूको भयभीत आँखा, थर्थर कामेको शरीर र प्याकप्याक्ती सुकेका ओठमुख देखेको छु। मृत्युको मुखमा पुग्दा उनीहरू कस्ता देखिएका थिए भनेर म वर्णन गर्न सक्छु, तर मृत्युको मुखमा पुग्दा उनीहरू के सोचिरहेका थिए भनेर कल्पना गर्न सक्दिनँ। उनीहरूको अन्तस्करणको सोचाइ थाहा नपाई बाहिरी हाउभाउ मात्र वर्णनले घटनाको यथार्थ चित्रण गर्न सक्दैन। म ती लाखौं यहुदीहरूलाई गोली हान्ने र उनीहरूलाई जिउँदै ग्यास भट्टीमा हुल्ने नाजी सुरक्षाकर्मीहरूको दिमागमा के चल्दै थियो भन्ने पनि कल्पना गर्न सक्दिनँ। मेरो आँखाले जे देख्यो, त्यसैलाई हेरेर समग्र घटनाको निचोड नखिचियोस्,’ लेभी लेख्छन्।
उनका अनुसार, जो घटनाको भुक्तमान हुन्छ, उसको अभिव्यक्ति वा वृत्तान्त आत्मपरक हुन्छ। उसले हिंसालाई वस्तुगत रूपमा हेर्न सक्दैन।
त्यसो भए साक्षी को त? जसले हिंसाकै कारण ज्यान गुमायो, उसको साक्षी बस्न को आउला?
लेभीको भनाइमा, साक्षी मृत्युपछिको खरानी हो। हिंसापछि छुटेका वस्तुहरू साक्षी हुन्।
कुनै महिला बलात्कृत भएकी छन् भने उसले कपालमा अड्काएको क्लिप, उसको रिबन, उध्रिएको फ्रक, टाँक चुँडिएको सर्ट, फित्ता फाटेको जुत्ता, हिलोमा लतपतिएको झोला र चेन खुस्केको साइकल हिंसाको साक्षी हो। जतिखेर उसको बलात्कार हुँदै थियो, आकाशमा गुञ्जिएको कोलाहल साक्षी हो। उसलाई घिसार्दा माटोमा छुटेका रगतका छिटाहरू साक्षी हुन्। ती उखेलिएका घाँसहरू साक्षी हुन्। उसको चित्कारले हल्लेका पातहरू साक्षी हुन्। बलात्कार हुँदा उड्दै गरेको चराले रूखको हाँगामा बसेर टुलुटुलु हेरेको थियो भने, त्यो चराको हेराइ साक्षी हो। हामीले यी साक्षीहरूका आँखाबाट हिंसा देख्न र बुझ्न सक्नुपर्छ।
लेभीका कुरा दार्शनिक सुनिन्छन्, तर अर्थपूर्ण छन्। यसको मजबुन के भने, घटनास्थलमा भेटिने भौतिक वस्तुहरू हिंसाका वास्तविक साक्षी हुन्। पीडितको लत्ताकपडा, बरामद भएका चिजबिज र घटनास्थल वरपर छुटेका डोब र डामहरू साक्षी हुन्।
लेभीले यस्ता भौतिक वस्तुमा जोड दिनुको अर्थ, हिंसाको दुश्चक्रबाट समाज मुक्त भएपछि घटनाको गहना अनुसन्धान हुनुपर्छ र पीडितको घाउमा न्यायको मह्लम लगाउनुपर्छ भन्ने हो।
जसरी मह्लमको लेप लगाएन भने घाउ फेरि फेरि बल्झिरहने खतरा हुन्छ, त्यस्तै पीडितलाई न्याय पाएँ भन्ने बोध नभएसम्म उसको मन भट्किरहन्छ। उसलाई घरिघरि हिंसाको परिवेशले बिथोलिरहन्छ।
हिंसाले आहत समाज भनेको पोखरीमा ढुंगा उछिट्याउँदा उठ्ने तरंग होइन, जुन लहराउँदै आउँछ, आफैं हराउँदै जान्छ। यो त दुई ढुंगाबीचको भुमरी हो, जहाँ पानीको धार हमेशा तरंगित भइरहन्छ। यो तरंग तबसम्म स्थिर हुँदैन, जबसम्म पीडाले निकास पाउँदैन।
हिंसाले उत्पन्न परिस्थिति बुझ्ने हो भने धेरैभन्दा धेरै मान्छेलाई आफ्नो कथा सुनाउने मौका दिनुपर्छ। जब सबैका भोगाइ सार्वजनिक हुन्छन्, पीडित र पीडक एउटै टेबलमा बसेर जब आ–आफ्ना कुरा साट्न थाल्छन्, हिंसाको भारले थिचेको छाती बल्ल हल्का हुन्छ। किलकिलेमा अड्किएको व्यथा शब्द बनेर अभिव्यक्त हुन पाउँछ। आँखामा कतै रोकिएका आँशुका ढिक्काहरू बर्बती झर्छन्।
समाज जति यो विषयमा कुरा गर्न डराउँछ, उति मनोरोगी हुँदै जान्छ। मनोरोगी समाज अघि बढ्दैन, भुसजस्तो भित्रभित्रै सल्किरहन्छ।
सम्झना साटासाटपछि नै हो, हिंसाले आहत समाज छ्यांग हुने — जसरी लामो झरीपछि आकाश छ्यांग खुल्छ।
त्यसपछि क्षमा दिने कि सजाय, व्यक्ति–व्यक्तिमा भर पर्छ।
लेभी पनि पीडितहरूलाई आ–आफ्नो भोगाइ बाँड्ने ठाउँ दिनुपर्छ भन्छन्। सबैका भोगाइ एकठाउँ एकत्रित हुन पायो भने बल्ल हिंसाको स्वरुप झल्काउने सग्लो चित्र बन्छ भन्ने उनको मान्यता छ।
यही मान्यताले उनलाई पटक–पटक हिंसाको दौर सम्झन घच्घच्यायो। पहिलो किताबपछि उनले त्यसैको ‘सिक्वेल’ का रूपमा ‘ट्रुस’ लेखे।
उनको यो दोस्रो किताब यातना शिविरबाट मुक्त भएपछिको अनुभवमा आधारित छ। उनी ३५ दिन लगाएर जर्मनीबाट इटाली फर्किन्छन्। कृषकाय देखिन्छन्। जीउमा पानी कम भएर कोशिकाहरू हावा भरिएको बेलुनझैं फुलेका छन्। रक्तपातपूर्ण इतिहासको भुक्तमान भएर फर्किंदा पनि समाज आफ्नै गतिमा यथावत् चलिरहेको देखेर उनी अनौठो मान्छन्।
उनले यहाँ उज्यालो भविष्यको संकेत गरेका छन्। यातना शिविरमा दुःखको कहर बर्सिंदा जुन उज्यालोको आशा मनभरि सजाएका थिए, उनी त्यही उज्यालोले पुलकित हुन्छन्। ‘अस्विच’ को शिविरमा ध्वस्त भएको उनको मानवता फेरि जागृत हुन्छ। उनी जिन्दगीको प्रकाशतिर बढ्न थाल्छन्।
हिंसापछिको उथलपुथल परिवेश साम्य पार्न प्राइमो लेभीले जुन बाटो देखाएका छन्, त्यो हाम्रा लागि मार्गदर्शन साबित हुन सक्छ।
हामीकहाँ पनि माओवादी द्वन्द्वमा सोह्र हजारभन्दा बढीले ज्यान गुमाए। हजारौं अंगभंग भए। हजारौं आफ्नो थातथलो, पेसा र पहिचानबाटै विस्थापित भए। त्यो विस्थापनको भरण कसरी होला?
द्वन्द्वमा एउटा पक्षको नेतृत्व गर्नेहरू आज सत्तामा पुगेका छन्। त्यसैको एउटा समूह चोइटिएर फेरि हिंसाको बाटो समात्न पुगेको छ। पीडितहरू न्याय पाइएन भन्दै आलो घाउ बोकेर हिँडिरहेका छन्। सत्तापक्ष वा विद्रोही पक्षबाट भएका हिंसाको कुरा उठाउन खोज्दा ‘देश पुनर्निर्माणमा गएका बेला पछाडि फर्केर हेर्न हुँदैन’ भन्दै चुप लगाउन खोजिन्छ।
हामीले हिंसा सम्झनै नपाउने हो वा सम्झने बेला नभएको हो?
प्राइमो लेभीलाई पढेपछि हामी बुझ्छौं, जुन समाज हिंसाको परिस्थितिबाट गुज्रेर आएको छ, त्यस्तो समाजलाई विगतको घाउ भुलाएर अगाडि लैजाने हो भने सबभन्दा पहिला हिंसाको ऐँठनबाट मुक्त गराउनुपर्छ।
हिंसाको भारी बोकेर हिँडेको समाजले जबसम्म बहस र छलफलका माध्यमबाट त्यो भारी बिसाउँदैन, तबसम्म हिंसाको ऐँठनले उसको सपना गिजोल्न छाड्दैन।
जबसम्म ऐँठनले सपना गिजोलिरहन्छ, समाजले तरक्की कसरी गरोस्!
कार्ल मार्क्स र माओ–त्से तुङले राजनीतिक परिवर्तनका लागि हिंसा साधन हो भनेका छन्। तत्कालीन माओवादी नेताहरूले पनि यसलाई राजनीतिक उपकरणका रूपमा प्रयोग गरे। उनीहरू यो सार्वजनिक रूपले स्वीकार्छन् पनि। जब–जब हिंसाको कुरा उठ्छ, उनीहरू गणतन्त्र, संघीयता लगायतका राजनीतिक परिवर्तन त्यही हिंसाबाट प्राप्त भएको सगौरव बताउँछन्।
हिंसाबाट प्राप्त यी राजनीतिक उपलब्धिको जिम्मेवारी लिने हो भने त्यसको विधि वा ‘प्याथोलोजी’ को जिम्मा किन नलिने?
हिंसालाई साधन बनाएको स्वीकार्ने, तर ज्यादती र अत्याचारमा क्षमा माग्न किन सरम मान्ने?
हामीकहाँ हिंसाबारे जति छलफल हुनुपर्थ्यो, त्यसलाई त्याज्य मान्न जति बहस चल्नुपर्थ्यो, त्यति भएकै छैन। पीडितहरू घाउ बोकेर विक्षिप्त भौंतारिरहेका छन्, तत्कालीन विद्रोही र हाल सत्तामा रहेका नेताहरू भने चुइँक्क बोल्दैनन्।
आज युरोपमा नाजीको झन्डा बोकेर हिँड्ने साहस कसलाई होला? आफूले गरेको हिंसा र अत्याचारकै कारण उनीहरू समाजबाट बहिस्कृत भए। झन्डाधरि दुत्कारियो। यो बृहत बहस, छलफल र पीडितहरूको समस्या सुनुवाइकै परिणाम हो।
हामी भने शान्ति प्रक्रियाको यो महत्वपूर्ण चरणमा प्रवेशै गरेनौं। शान्ति प्रक्रिया भनेको सत्तारोहण र सेना समायोजनमै सीमित रह्यो। सत्तापक्ष र विद्रोही पक्ष दुवैबाट भएका ज्यादतीको निष्पक्ष अनुसन्धान, बेपत्ताहरूको छानबिन, सत्य निरुपण र मेलमिलापजस्ता अहम् सरोकार यसै अलपत्र परे, अलपत्रै छन्।
ठूलो हिंसापछि जबसम्म समाजमा सत्य निरुपण र मेलमिलाप हुन्न, पीडित पक्षले न्यायको अनुभूति गर्दैन, तबसम्म शान्ति सन्त्रासपूर्ण रहन्छ।
के हामीले यस्तै सन्त्रासपूर्ण शान्ति खोजेका हौं?
सत्तासीन माओवादीबाट रुष्ट भएर विप्लवको बाटोमा लागेको विप्लव पक्षले सन्त्रासको बीउ रोपिसकेको छ। विगतमा सँगसँगै हतियार बोकेर हिँडेका विप्लव आज फेरि त्यही बाटोमा फर्केको देख्दा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कस्तो लाग्दो हो? उनले यसलाई कत्तिको गम्भीरतापूर्वक लिएका होलान्? विप्लवको उदयमा उनी आफ्नो गल्ती महशुस गर्छन् कि गर्दैनन् होला?
अलिकति पनि गल्ती महशुस गरेका भए ‘विप्लवले मलाई मार्ने षड्यन्त्र गरेका छन्’ भनेर हाँसी हाँसी भन्ने थिएनन्। संक्रमणकालीन न्यायको निम्ति नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने कुरा उठ्दा ‘हेग लगे म हिरो हुन्छु’ भनेर हलुका टिप्पणी गर्ने थिएनन्।
बिपी कोइरालाले ज्यान मुद्दा चल्दा अदालतमा बयान दिँदै भनेका थिए, ‘बम बोकेर हिँड्ने केटाहरूलाई म चिन्दिनँ, कतै भेटेको हुँला। तर, मेरो आह्वानमा उनीहरूले बम बोकेर हिँडेका हुन् भने म त्यसको नैतिक जिम्मेवारी लिन्छु।’
माओवादी नेताहरूले खोइ त हिंसाको नैतिक जिम्मेवारी लिएको?
यही कुरा सेनाको हकमा पनि लागू हुन्छ। निर्दोष जनता मार्न सेना प्रयोग हुने छैन भनियो, तर मैना सुनारको हत्या गर्ने सेना नै थियो। यस्ता अरू पनि गैरन्यायिक हत्या सेनाबाट भएका छन्। सेनाले ती घटनामा नैतिक जिम्मेवारी लिँदै आत्मालोचना खोइ गरेको?
विगतको हिंसा स्वीकार गरेर दुवै पक्षबाट आत्मालोचना नहुनु भनेको आगामी दिनमा फेरि त्यस्तै घटना दोहोरिन सक्ने संशय जन्माउनु हो। जबसम्म संशयको बादल हट्दैन, तबसम्म आमजनता ढुक्क हुन सक्दैनन्। हामीले पाएको शान्ति सन्त्रासपूर्ण नै रहन्छ।
नेल्सन मन्डेलाले ‘हामी बिर्सिन सक्दैनौं, क्षमा गर्न सक्छौं’ भनेजस्तै द्वन्द्व निरुपण र मेलमिलापको उपाय दण्डसजाय नै हो भन्ने छैन, क्षमा पनि हुनसक्छ। त्यो व्यक्तिगत छनौटको कुरा हो। पूर्वसर्त भने नेतृत्वको नैतिक जिम्मेवारी, आत्मालोचना, पीडित पक्षलाई आफ्नो भोगाइ सुनाउने मौका र द्वन्द्वमा के भएको थियो भन्ने सत्यतथ्य अन्वेषण नै हो। पीडित र पीडकहरूलाई एउटै टेबलमा राखेर बातचित गराएपछि जब शब्द र आँशुले निकास पाउँछ, तब बल्ल मनभित्र उम्लिरहेको द्वन्द्वको बादल हट्छ।
दक्षिण अफ्रिकामा यस्तै सार्वजनिक बहस हुँदा म पनि करिब एक दर्जन ठाउँमा सरिक भएको थिएँ। त्यहाँ देखेको एउटा घटना म सधैं सम्झन्छु। मलाई त्यो घटना हाम्रो द्वन्द्व निरुपणको सन्दर्भमा पनि मेल खान्छ कि भन्ने लाग्छ।
एक जना आमा द्वन्द्वमा बलात्कार र हत्या गरिएकी आफ्नी छोरीका पीडकसामु थिइन्। दुवैलाई एउटै कोठामा राखेर बातचित गर्न दिइएको थियो। लामो समय दुवै मौन रहे। पीडक त केही बोल्नै सकेन, मृत छोरीलाई न्याय दिलाउन वर्षौंदेखि भौंतारिरहेकी आमाको पनि बोली फुटेन।
निकै बेरको मौनपछि ती आमा एक्कासि धर्धर्ती रुन थालिन्। रोइरहिन्। रुँदारुँदै भनिन्, ‘मेरी छोरी त मरेर गई, अब यसलाई मारेर म के पाउँछु? बरु यो बाँचोस्, र आफूले गरेको पाप सम्झेर जिन्दगीभरि छट्पटाइरहोस्। यही हो यसको सजाय।’
पीडक मुक्त भए, पीडित आमाले पनि न्यायको अनुभूति गरिन्।
त्यही छलफल क्रममा कतिले ‘म एक झापड हान्छु, अनि बल्ल मेरो रिस मर्छ’ भनेर गालामा चड्काएका पनि थिए।
जसको मनमा जे थियो, उसले त्यही गर्यो। रिस मर्यो, हिंसाको घाउ भरियो।
हामीलाई पनि यस्तै खाले द्वन्द्व निरुपण र मेलमिलापको खाँचो छ। के हाम्रा पीडकहरू– चाहे माओवादीका हुन् वा राज्य तर्फका– पीडितसँग सामना गर्न तयार छन्? उनीहरूको आक्रोश सुनिदिन र आँशु पुछिदिन तयार छन्?
आखिर घाउ भरिने त उनीहरूको पनि हो!
घाँटी रेट्ने, गोली दाग्ने वा बलात्कार गर्ने लडाकु र उनीहरूलाई त्यसो गर्न आदेश दिने कमान्डर– यी सबैको छाती भतभती पोल्दैन होला र? दिनभरि अनुहारमा कृत्रिम हाँसो पोतेर हिंसाको कालो दाग छोप्न खोजे पनि के राति सपनामा ऐँठन हुँदैन होला र? छातीमा हात राखेर भन्नुस् त!
हुन्छ भने छोड्दिनुस् अहम्। पीडितहरूको आँशु पुछ्न र घाउमा मह्लम लगाउन हात बढाउनुस्।
हातमा लागेको रगतको छिटा पखाल्नुस्।
प्राइमो लेभीले हामीलाई हिंसाको यही दुश्चक्र र त्यसबाट उन्मुक्तिको बाटो देखाएका छन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: