किताब चर्चा
महलको माथिल्लो हिस्सा नै विमलाको संसार हो।
एउटा ढोका बैठककक्षमा खुल्छ, जुन विमला र अरू महिला सदस्यका लागि बन्द छ।
उनीहरू बैठकमा पस्नु भनेको महलको लक्ष्मणरेखा नाघेर बाहिरी संसारमा लम्किनु, जसको इजाजत समाजले दिँदैन।
विमलालाई यसमा दुःखमनाउ छैन। उनले समाजको नियम मानेर चुपचाप स्विकारेकी छन्।
उनका दुई विधवा जेठानीले पनि डोली चढेर यो घर आएदेखि बैठकको दहलीज नाघेनन्। अब उनीहरूको पार्थिव शरीर नै बाहिर निस्कनेछ।
यस मानेमा विमला भाग्यमानी हुन्। उनले बाहिरी संसार चियाउन पाएकी छन्, आफ्नो श्रीमान निखिलेशको उदार हृदय र उदार सोचका कारण।
निखिलेशको रवैया सामन्त जमिन्दारको जस्तो कहिल्यै भएन। उनका बाबु र दाजुहरूको अल्पायुमै ऐयासीले ज्यान लियो। निखिलेश भने यसबाट टाढै रहे।
उनले अंग्रेजी पढे, संसार बुझे र अब आफ्नी अर्धाङ्गिनीलाई संसार बुझाउने प्रयास गर्दैछन्।
उनी विमलालाई अंग्रेजी किताब पढेर सुनाउँछन्। अंग्रेजी कविता बाचन गर्न लगाउँछन्। पियानो सिकाउन घरैमा एक अंग्रेज ‘मेमसाहब’ राखिदिएका छन्, जोसँग विमला अंग्रेजी तौरतरिका पनि सिक्दै छिन्।
उनी ती मेमले जस्तै अंग्रेजी गीत गुनगुनाउँछिन्। झल्झलाकार ब्लाउज लगाउँछिन्। अत्तर छर्छिन्। र, पूर्ण शृंगारिक कलेवरमा सन्ध्याकालीन सहवास निम्ति पतिको प्रतीक्षा गर्छिन्।
त्यो समय महिला र पुरुषको भेट रातको पर्दा खसेपछि सन्ध्याकालीन मधुमास निम्ति मात्र हुन्थ्यो। निखिलेशको सोच भने फरक छ।
उनलाई श्रीमतीका रूपमा सहवासी मात्र होइन, अन्तरंग साथीको खोजी छ।
उनी विमलालाई यस्ती सहयात्री बनाउन चाहन्छन्, जोसँग साहित्य, संगीत, समाज र संसारको संवाद गर्न सकियोस्।
यस्तै एक सन्ध्याकालीन संवादमा उनी विमलालाई भन्छन्, ‘तिमी यति राम्री छौ, तर तिम्रो सुन्दरता निहार्ने पुरुष म एक्लै छु।’
विमला मुख बिगार्छिन्, ‘अनि के म अरू पुरुषका निम्ति पनि यस्तरी सजिएर बसुँला त?’
‘अरू पुरुषको कुरा होइन, म तिमीलाई यो संसार देखाउन चाहन्छु।’
विमला चुप्पै रहन्छिन्। उनलाई बोल्नुपर्ने नै केही लाग्दैन।
‘महिलालाई चार पर्खालको सीमामा बाँधेर राख्नु हिन्दु संस्कार होइन,’ निखिलेश भन्छन्, ‘सीता, सावित्री, द्रौपदी– यी यस्ता महान महिला हुन्, जो महलभित्र खुम्चिएर बसेनन्।’
‘मलाई के मतलब?’ विमला बेपरवाह भन्छिन्, ‘म त यहीँ खुसी छु।’
‘पहिले महिलाहरू आफ्नो श्रीमान आफैं रोज्थे, स्वयंवरका बारेमा सुनेकी छौ नि?’
विमला मुर्छै पर्ने गरी हाँस्छिन्।
‘किन हाँस्यौ?’
‘मैले स्वयंवरको मौका पाएको भए तपाईंलाई रोज्थेँ होला र!’
निखिलेशको ओँठ फिस्स चलमलाउँछ।
‘तिमीले जीवनसाथी छान्ने अधिकार पाएनौ, मलाई दुःख लाग्छ।’
‘इस्,’ विमला लजाउँछिन्, ‘मलाई त द्रौपदीको इर्ष्या लाग्छ, जसका पाँच–पाँच पति छन्।’
‘तिमीले भने जिन्दगीमा एउटा पुरुष देख्यौ र उसैलाई सर्वस्व ठान्यौ। तिमी जबसम्म मलाई दाँजेर हेर्दिनौ, म उत्तम छु भन्ने कसरी थाहा पाउँछौ?’
‘म आफ्नो स्वामीलाई किन कसैसँग दाँजु?’ विमला झोँक्किन्छिन्, ‘के तपाईं युग बदल्न चाहनुहुन्छ?’
‘त्यो मेरो वशमा छैन, तर म तिमीलाई यो महलभित्र बाँधेर राख्न चाहन्नँ,’ निखिलेश भन्छन्, ‘म चाहन्छु तिमी महलबाट बाहिर निस्क। बैठककक्षमा पसेर हेर, यो संसार कसरी बदलिँदैछ?’
‘तपाईंले चाहँदैमा संसारले स्विकार्लान्?’ विमला प्रश्न गर्छिन्।
‘मलाई संसारको मतबल छैन, मलाई त मेरी विमलाको मतलब छ।’
एकछिन दुवै मौन रहन्छन्।
कोठामा बेलायती भित्तेघडीको पेन्डुलम खत्रकखत्रक हल्लेको एकोहोरो आवाजबाहेक केही सुनिन्न।
निखिलेशसँग बिहे गरेर यो शयनकक्षमा छिरेदेखि विमलाले पेन्डुलम हल्लेको रोजै देखिरहेकी छन्। आज किन हो, त्यही पुरानो घडीले पनि नयाँ समय दिइरहेछझैं उनलाई लाग्छ!
झ्याल खुल्लै छ। पर्दा फिर्लिकफिर्लिक हल्लिरहेको छ। बाहिर सिरसिर बतास चलिरहेको छ। आकाश धुम्म छ।
के यो नयाँ मौसमको आगाज हो?
‘तिमी बैठककक्षमा मेरा साथीहरूलाई भेट्न आयौ भने म साँच्चै गर्व गर्नेछु।’
विमला टोलाउँछिन्।
‘कसको कुरा गर्दै हुनुहुन्छ?’ उनी सोध्छिन्, ‘सन्दीप बाबुको?’
निखिलेश टाउको हल्लाउँछन्।
सन्दीप राष्ट्रवादी स्वदेशी आन्दोलनका नेता हुन्। उनी ‘वन्दे मातरम्’ नारा लगाउँदै विदेशी वस्तु बहिष्कार अभियानमा हिँडेका छन्।
निखिलेश उनलाई आवश्यक पर्दा आर्थिक सहायता पनि गर्छन्, तर दुवैको सिद्धान्त फरक छ।
उनी विदेशी वस्तु बहिष्कारलाई समर्थन गर्दैनन्। महँगो स्वदेशी सामानले गरिब जनतालाई बाँच्न मर्का पर्छ भन्ने उनको राय छ।
यति हुँदाहुँदै निखिलेश आफ्ना पुराना मित्रलाई आश्रय दिन्छन्। विमलालाई उनीसँग भेटाउन बैठककक्षको संघार नाघ्न लगाउँछन्।
नोबेल विजेता भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको उपन्यास ‘घरे बाहिरे’ (घरभित्र र बाहिर) ले यहाँबाट नयाँ मोड लिन्छ।
सेतो वा कालो खुला वस्त्रमा लामो दारीजुंगा पालेका रवीन्द्रनाथ बाहिरबाट जति सरल सन्त देखिन्छन्, उनका कृति उति जटिल हुन्छन्।
उनी भारतीय वाङ्मयमा महिला संवेदनशीलता, सौन्दर्य र कामुकतालाई समयक्रमसँग जोडेर प्रस्तुत गर्ने लेखकमध्ये पर्छन्। उनले महिला मनलाई कति मिहिन मथेका छन् भने, आज सय वर्षपछि पनि उनका सिर्जनामा केही न केही नयाँपन भेटिन्छ।
भारतका विभिन्न क्षेत्रीय साहित्यबारे चर्चा गर्ने क्रममा यसपालि म रवीन्द्रनाथका दुई कालजयी कृति ‘घरे बाहिरे’ र ‘चोखेर बाली’ को समय सान्दर्भिकता केलाउँदैछु।
रवीन्द्रनाथले साहित्यमा यस्तो परम्परा थालनी गरे, जहाँ व्यक्तिको संवेदनशीलता, कुण्ठा, मनोकांक्षा र द्वन्द्वलाई प्रधान विषयवस्तु बनाइन्छ।
उनका रचनामा पात्रहरूको संवेदना, संवाद, द्वन्द्व र दशाले समय परिवेश झल्काउँछ।
‘घरे बाहिरे’ सन् १९१५ मा छापिएको थियो। ‘सबुज पत्र’ (हरियो पात) पत्रिकामा एघार महिना शृंखलाबद्ध प्रकाशित यो राजनीतिक उपन्यासले बंगालको महत्वपूर्ण कालखण्ड चित्रण गर्छ।
त्यो चित्रण चिन्न सय वर्षअगाडिको बंगाललाई राजनीतिक र सामाजिक रूपमा बुझ्नुपर्छ।
बंगाल दुईचोटि विभाजित भयो।
सन् १९४७ को विभाजन हामी सबैलाई थाहा छ, जब बंगाललाई दुई टुक्रा पारेर भारत र पाकिस्तानमा बाँडियो। पश्चिम बंगाल भारतमा पर्यो, पूर्वी बंगाल पूर्वी पाकिस्तान बन्यो।
सन् १९७१ मा यो पाकिस्तानबाट स्वतन्त्र भयो र विश्व मानचित्रमा नयाँ मुलुक बंगलादेश जन्मियो।
त्योभन्दा अगाडि १९०५ मा पनि बंगाल विभाजन भएको थियो।
ब्रिटिस इन्डियाका तत्कालीन भाइसरोय लर्ड कर्जनले हिन्दु बहुल पश्चिमी भाग र मुस्लिम बहुल पूर्वी भागबीच विभाजन रेखा कोर्दै बंगाललाई दुई चिरा पारेका थिए।
भारतीय इतिहासमा यो घटना ‘बंग भंग’ का नामले परिचित छ।
‘बंग भंग’ ले बंगालमा राष्ट्रिय चेतनाको लहर दौडियो। पश्चिमका धेरै सम्भ्रान्त जमिन्दारका मौजा पूर्वी भागमा थिए, जसलाई अलग राज्य बनाउँदा उनीहरूले सम्पत्ति र स्वामित्व खोसिएको महशुस गरे।
बहुसंख्यक मुस्लिम बसोबास गर्ने पूर्वी क्षेत्रलाई धर्मकै आधारमा विभाजन गरेर अंग्रेजले हिन्दु–मुस्लिमबीच पहिलोपटक साम्प्रदायिक रेखा खिचेका थिए। सन् १९४७ को भारत–पाकिस्तान विभाजन त्यसैको निरन्तरता हो।
महात्मा गान्धीले चलाएको स्वदेशी वस्त्रधारण र विदेशी बहिष्कारको अभियान पनि खासमा बंगाल विभाजनपछि सुरू स्वदेशी आन्दोलनको हिस्सा हो।
‘वन्दे मातरम्’ भन्ने नारा बंगाल विभाजनपछि नै पहिलोपटक घन्केको थियो। बंगाली लेखक बंकिमचन्द्र चटर्जीको ‘आनन्द मठ’ भन्ने उपन्यासमा उल्लिखित यो भजन अंशलाई स्वदेशी आन्दोलनका अभियन्ताले आफ्नो मन्त्र बनाए।
यही नारा भारतीय राष्ट्रवादीहरूको पहिचान बनेको छ। भारतीय जनता पार्टीका सांसदले लोकसभामा ‘वन्दे मातरम्’ भन्न थालेका छन्। पालना नगर्नेले आलोचित हुनुपर्छ।
रवीन्द्रनाथले यो उपन्यास लेख्दा अंग्रेज सरकारले बंगाल विभाजनको निर्णय फिर्ता लिइसकेको थियो। स्वदेशी आन्दोलन सुरू भएको छ वर्षपछि सन् १९११ मा बंगाल एकीकरण भयो।
त्यसै वर्ष ब्रिटिस इन्डियाले राजधानी कलकत्ताबाट दिल्ली सार्यो। यसलाई बंगालविरुद्ध ब्रिटिस इन्डियाको प्रतिशोधका रूपमा लिइन्छ। राजधानी सरेपछि कलकत्ताको राजनीतिक तथा आर्थिक महत्व घटेको थियो।
‘घरे बाहिरे’ मा रवीन्द्रले बंगालको तत्कालीन राजनीतिक उकुसमुकुस फर्केर हेरेका छन्।
पोखरीमा ढुंगा हुत्याउँदा तरंगका लहर उठेझैं समाजका हरेक परिवर्तनको वेग, आवेग, हावा र बाछिटाले आफ्ना चिह्न छाडेर जान्छन्। समाज पहिलेजस्तो स्थिर रहँदैन।
सन्दीपको प्रवेशपछि निखिलेश र विमलाको गृहस्थीमा आँधीबेहरी आउँछ।
यसको पूर्वसंकेत दिन लेखकले विमलाको बैठककक्ष प्रवेशलाई बडो नाटकीय चित्रण गरेका छन्। महिलाहरूको स्थान सन्ध्याकालीन सहवासमा सीमित रहेका बेला विमलाले बैठकसम्मको दुरी तय गर्नु क्रान्तिकारी छलाङ हो।
यसमा प्रेरणास्रोत बनेका निखिलेशमा रवीन्द्रनाथको आत्मपरक झलक पाइन्छ।
बंगालको प्रतिष्ठित जमिन्दार खानदानका रवीन्द्र सुरूमा स्वदेशी राष्ट्रवादी आन्दोलनका समर्थक थिए। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै थुप्रै राष्ट्रवादी गीत लेखे, संगीत भरे। उनका गीतले धेरैलाई प्रेरणा पनि दियो।
विस्तारै उनी स्वदेशी आन्दोलनबाट विकर्षित हुँदै गए।
विदेशी वस्तु जबर्जस्ती बहिष्कार गर्ने नीतिमा उनको असन्तुष्टि थियो। आन्दोलनकारीहरू पसल–पसल गएर विदेशी वस्तु खोस्दै जलाउँथे। निमुखा मुस्लिमहरूको पसलमा आगजनीसमेत गर्थे।
रवीन्द्रलाई यस्तो हिंसात्मक र दबाबमूलक अभियान चित्त बुझेन।
उनी भन्थे, ‘राष्ट्रवादी आन्दोलनले विदेशी वस्तु नकिन्न शान्तिपूर्ण आह्वान गर्न सक्छ, तर किनबेचमै रोक लगाउन सक्दैन।’
गरिब जनतालाई छनौट अधिकार नदिए बाँच्नै नसक्ने गरी महँगीको मार पर्ने रवीन्द्रको तर्क थियो।
उनी विदेशी कपडा जलाउने अभियानका पनि विरोधी थिए। लाखौं लाख जनताले आङ ढाक्न एकसरो कपडा नपाउने गरिब देशमा यस्तो अभियानलाई उनी अपराध ठान्थे।
स्वदेशी आन्दोलनकै क्रममा जब सशस्त्र विद्रोह सुरू भयो र अंग्रेजहरूमाथि हमला हुन थाल्यो, रवीन्द्रले ‘आतंककारी गतिविधि’ भन्दै त्यसको विरोध गरे। यस्ता गतिविधिमा लागेर ज्यान गुमाएका युवाप्रति उनको शोक र सहानुभूति थियो।
महिलालाई राष्ट्र, माता वा देवीको दर्जा दिने ‘वन्दे मातरम्’ नारामा पनि उनी असहमति जनाउँथे। उनले महिलालाई कहिल्यै राष्ट्र वा देवीका रूपमा चित्रण गरेनन्। सधैं ‘स्वतन्त्र व्यक्ति’ को दर्जा दिए।
महिलालाई ‘देवी’ मान्ने कि ‘स्वतन्त्र व्यक्ति’ भन्ने बहस जारी छ। भारत मात्र होइन, नेपालमा समेत हामी राष्ट्रलाई आमाको दर्जा दिन्छौं, अर्थात् मातृभूमिलाई महिलाको प्रतिरूप मान्छौं।
महिलाहरूले आफ्नो अधिकार, फरकपन र संवेदनशीलताको सम्मान खोजेका हुन् कि सिंगो राष्ट्रकै दर्जामा उभ्याएर सबैले पूजा गरून् भन्ठानेका हुन्?
स्वअस्तित्व खोजेका महिलालाई उच्च दर्जा दिने नाममा देवीको हैसियतमा चढाउनु व्यक्तिगत स्वतन्त्रता हनन् हो। यसले उनीहरूको संवेदनशीलताको प्रश्न गौण हुन्छ। स्वअस्तित्वको अपेक्षालाई उपेक्षा गर्छ।
एकातिर महिलालाई मातृभूमिको दर्जा दिने, अर्कातिर दिनादिनुदिन बलात्कार, बालविवाहको शिकार र विधवाका रूपमा जिन्दगी काट्नुपर्ने नियति आफैंमा विरोधाभाषपूर्ण छन्। यस्तो कृत्रिम तुलनाले अधिकारको बहसलाई अगाडि लैजाँदैन, बरु संकुचित तुल्याउँछ।
सायद त्यही भएर रवीन्द्र महिलाको मानवीय चित्रणमा जोड दिन्थे।
रवीन्द्रका यिनै चरित्र हामी निखिलेशमा पाउँछौं।
विमलालाई पियानो सिकाउने अंग्रेज शिक्षकमाथि हमला हुँदा उनी क्षुब्ध हुन्छन्।
सन्दीपलाई बेलाबखत आर्थिक सहायता गर्छन् र आफ्नै घरमा आश्रय दिएर स्वदेशी आन्दोलनप्रति सहानुभूति देखाउँछन्। सँगसँगै, आफ्नो जमिन्दारीभित्र कुनै किसिमका गतिविधि नगर्न सचेत पनि गराउँछन्।
‘वन्दे मातरम्’ को सन्दर्भ उठ्दा उनी आगोको लप्कासँग दाँज्छन्, जसले पूरै समाजलाई लपेटमा लिएर कहर मच्चाउँदैछ।
विदेशी सामान बहिष्कार नीति गलत छ भनी सम्झाउँदै उनी विमलालाई भन्छन्, ‘तिमीले लगाइरहेको साडीको धागो म्यानचेस्टरबाट आउँछ। कोठाको फर्निचर, ऐना, काइँयो र यहाँसम्म कि तिमीले कपाल बाट्ने क्लिप र तिमीले लगाउने अत्तरधरि विदेशी हो।’
विमला भने निखिलेशको भनाइसँग सहमत हुँदिनन्।
सन्दीपको राष्ट्रवादी नारा, वजनदार भाषण र तर्कशक्तिले उनलाई आकर्षित गर्छ।
उनी निखिलेशबाहेक अन्य पुरुषको सम्पर्कमा आएकी थिइनन्। सन्दीपसँगको भेटले एकाएक बाहिरी संसारको चकाचौंधसँग उनको चिनापर्ची हुन्छ।
सायद, उनी निखिलेश र सन्दीपको व्यक्तित्व दाँज्न थाल्छिन्।
शान्त, सौम्य र शालीन निखिलेशको दाँजोमा क्रान्तिकारी, जुझारू र लडाकू सन्दीपमा उनी बढी पुरुषार्थ देख्छिन्। सन्दीपको व्यक्तित्वले उनलाई पगाल्छ।
यी दुईको नजिकिँदो सम्बन्धलाई मिहिन हेर्ने हो भने उनीहरूबीच शारीरिक आकर्षण बढ्दै गएको आभाष हुन्छ।
सन्दीप विमलालाई केही पश्चिमी उपन्यास पढ्न दिन्छन्, जसमा महिला र पुरुषको उदार सम्बन्धबारे चर्चा छ। आफ्नै साथीकी पत्नीलाई यस्तो उपन्यास दिनुले सन्दीपको आसय बुझाउँछ।
उनी विमलालाई वैवाहिक सीमाबाट निस्केर आफूसँग सम्बन्ध राख्न उक्साउँदै छन्।
प्रेम र विवाहलाई आधुनिक रूपले परिभाषित गरिएका ती उपन्यास पढेर विमला पनि सन्दीपसँगको नयाँ सम्बन्धलाई स्वाभाविक मान्न थाल्छिन्।
एकचोटि विमला सन्दीपले दिएको उपन्यास पढिरहेकी हुन्छिन्। कोठामा निखिलेशको प्रवेश हुन्छ। उनी हत्तपत्त त्यो उपन्यास एक अमेरिकी कविको किताबभित्र लुकाउँछिन्।
यहाँ विमला आफ्नो नयाँ सम्बन्धलाई पुरानो सम्बन्धबाट गुपचुप राख्न खोज्दै छिन्।
निखिलेशलाई यसको सुइँको नभएको होइन।
सन्दीपसँगको भेटघाटपछि जसरी विमला झ्यालबाट बाहिर हेर्दै टोलाउन थालेकी छन्, जसरी उनीहरूको सन्ध्याकालीन वार्तालाप पातलिँदै गएको छ, त्यसले उनलाई सन्देह छ। तै उनी कतिसम्म खुला विचार र उदार हृदयी छन् भने, यसलाई विमलाको छनौट अधिकारका रूपमा सहज ग्रहण गर्छन्।
उनी विमलामाथि हुकुम चलाएर सन्दीपसँगको भेटघाट बन्द गराउन सक्छन्। उनले एकचोटि मुख खोल्ने हो भने विमला कसैगरी बैठकको दहलीज नाघ्न सक्दिनन्।
यसो गर्नबाट निखिलेशलाई उनको आदर्शले रोक्छ। उनी महिला स्वतन्त्रताका पक्षधर हुन्। आफूसहित हरेक व्यक्ति, वस्तु वा घटनालाई तुलना गरेर हेर्न सकून् भनेरै उनले विमलालाई बाहिर संसारमा ल्याएका हुन्। बैठकको संघार नघाएका हुन्।
अब विमलाले तुलना गर्ने मौका पाएका बेला निखिलेश उनलाई त्यो अधिकारबाट वञ्चित गराउन चाहन्नन्। चाहे त्यसको एक पल्लामा उनी स्वयं किन नहुन्!
सम्बन्ध जति गहिरिँदै जान्छ, त्यसका नकारात्मक पहलू उति फुक्दै जान्छन्।
राष्ट्रवादी भेषमा लुकेको सन्दीपको आडम्बर पनि विस्तारै विमलाको अगाडि उजागर हुन थाल्छ।
विदेशी सामान बहिष्कारका नाममा अल्पसंख्यक मुस्लिममाथिको हिंसा, आगजनी र ज्यादतीले विमलाका आँखा खुल्छन्। उनले राष्ट्रवादका लागि आफ्नै घरमा चोरी गरेर सन्दीपलाई सहयोग गरेकी थिइन्। जसै त्यो पैसा सन्दीपको ‘फस्ट–क्लास’ रेल यात्रा, विदेशी ब्रान्डको चुरोट र महँगो लवाइखवाइमा फुरमास भइरहेको चाल पाउँछिन्, उनी सम्हालिन्छिन्।
सायद, उनी फेरि निखिलेश र सन्दीपको व्यक्तित्व दाँजेर हेर्छिन्।
सन्दीपको राष्ट्रवादभन्दा निखिलेशको उदारता उनलाई कता हो कता पुरुषार्थी लाग्छ।
सन्दीपको राष्ट्रवाद बर्खे भेल हो, जो उर्लिएर आउँछ, तहसनहस पार्छ। जहाँ द्वैष छ, आडम्बर छ र बन्धुहरूबीचको विभाजन छ।
निखिलेशको उदारता भने शान्त नदी, जो अविरल बगिरहन्छ, हराभरा पार्छ। जहाँ अपनत्व छ, वन्धुत्व छ र सहयोगी भाव छ।
सही र गलत दाँजेर हेर्ने आँखाले जब तराजुको पल्लामा निखिलेशको भार बढी देख्छ, विमलाको कदम बैठकबाट महलको उही माथिल्लो हिस्सातिर मोडिन्छ, जहाँ निखिलेश उनको बाटो हेरिरहेका छन्।
निखिलेशले चाहेको पनि त यही हो — विमलाले कसैप्रति पनि आँखा चिम्लेर विश्वास नगरून्। हेरून्, परखून्, अनि मात्र निर्णय गरून्।
सन्दीप आफैंले सल्काएको राष्ट्रवादी आगोको भुमरीमा पर्छन्। हिन्दु र मुस्लिमबीच बढ्दो जातीय द्वन्द्वले उनलाई गाउँ छाड्नुपर्ने अवस्था आउँछ। उनी अन्तिमपटक विमलालाई भेटेर विदा माग्छन् र उनीसँग लिएको पैसा सबै फिर्ता गर्छन्।
यहाँ उनी आफ्नो नयाँ सम्बन्धप्रति इमानदार त हुन सक्दैनन्, तर बेइमानी पनि गर्दैनन्। वशमा लिन नसकेपछि सरक्क बाटो लाग्छन्।
उता, द्वन्द्वको लप्काले गाउँलाई लपेटिसकेको छ। हिन्दु र मुस्लिमहरू एकअर्काको प्राण लिन उत्ताउला भएका छन्। वन्दे मातरम् र अल्लाह हु अकबरको प्रतिध्वनी घरिघरि महलको झ्यालमा ठोक्किन आइरहन्छन्। पर गाउँको कुनै कुनाबाट आकाश गर्जेझैं गोली पड्केको आवाज पनि बेलाबखत आउन थाल्छ।
शान्ति भंग गर्ने यस्तो आसुरी आवाज नयाँ मौसमको आगाज नै हो।
गाउँमा मौसम ठिक छैन। आकाश धुम्म छ। बादल गड्याङगुडुङ गर्छ।
मौसम बिग्रँदा आफ्नै मात्र चिन्ता हुनेहरू घरमा सुरक्षित बस्छन्। राष्ट्रवादी सन्दीप त पाखा नै लागे। निखिलेशलाई भने द्वन्द्वमा हताहत भएकाहरूको सुर्ताले बिथोल्छ।
उनी घाइतेका घाउमा मह्लम लगाउन बस्तीमा निस्कन्छन्, उनैमाथि हमला हुन्छ।
निखिलेश जीवन र मरणको दोसाँधमा पुग्छन्।
उपन्यास प्रश्नचिह्नमा टुंगिन्छ।
यो अन्त्यले अलमलिएका धेरै पाठकले रवीन्द्रलाई सोधे पनि, ‘के निखिलेश घर फर्के?’
रवीन्द्र जवाफ दिन्छन्, ‘निखिलेशको अवस्था साह्रै गम्भीर छ। बाँच्न गाह्रो छ। तर, डाक्टरको राम्रो उपचार पाए ज्यान जोगिन पनि सक्छ।’
विश्वप्रसिद्ध भारतीय निर्देशक सत्यजीत रेले यही उपन्यासको फिल्मी रूपान्तरणमा निखिलेश मारिएको देखाएका छन्। कपाल काटेर सेतो साडी लगाएकी विमलामा सिनेमा सकिन्छ।
‘घरे बाहिरे’ का तीन पात्रको उकुसमुकुसले सामन्तवादबाट आधुनिकतातर्फ बढ्दै गरेको तत्कालीन बंगाली समाज र त्यसले मान्छेको मनोभावमा पारेको प्रभाव उजागर गर्छ।
नेपाल र भारत दुवै देशमा राष्ट्रवादको नारा उर्लिएको हामी सुन्छौं। यस्तो बेला रवीन्द्रनाथ टैगोरको उपन्यास अझ बढी सान्दर्भिक छ। उनले यहाँ राष्ट्रवादको तुलनामा अन्तर्राष्ट्रिय मानवतावादको वकालत गरेका छन्।
राष्ट्रवाद सन्दीपजस्तै आडम्बरी हुन्छ। खोक्रोपन र क्षणभंगूरताले भरिएको। पानीको फोकाजस्तै। यसले राष्ट्रलाई समेट्दैन, बरु द्वैष, विभाजन र कलह जन्माउँछ।
मानवतावाद भने निखिलेशजस्तै शान्त र स्थायी हुन्छ। यसले समाजलाई फूलको मालामा उनेर राख्छ। छरिन दिँदैन।
हामी सबै विमलाजस्तै मझदारमा छौं।
सन्दीप र निखिलेशबीच को सही र को गलत भन्ने दोधारमा अलमलिएका। ज्ञानको पर्दा उघार्नु, अलमल हटाउनु।
रवीन्द्रका कथा वा उपन्यासमा बालवधू र बालविधवालाई पनि महत्वपूर्ण पात्रका रूपमा उभ्याइएको हुन्छ, जसले बंगालको तत्कालीन सामाजिक आयाम चित्रण गर्छ।
बंगालमा सामन्तदेखि सर्वसाधारणमा समेत बाल विवाहको चलन थियो। रवीन्द्र आफैंले बाइस वर्ष उमेरमा नौ वर्षकी मृणालिनी देवीसँग विवाह गरेका थिए। आफूभन्दा निकै सानो उमेरकी बालिकालाई विवाह गरेर ल्याइने हुँदा ‘बालिका वधू’ भन्ने चलन थियो।
नयाँ घरकी ‘बालिका वधू’ उमेरको अन्तर र सम्बन्धको संकोचले आफ्ना श्रीमानसँग खासै कुराकानी गर्थेनन्। सासू–ससुरासँग त त्यसै पनि संकोच हुने भइहाल्यो।
लोग्ने–स्वास्नीको खुलेआम बोलचाल सामाजिक रूपले पनि स्वीकार्य थिएन। यो नेपालकै लागि पनि अनौठो होइन। हामीमध्ये धेरैले आफ्ना आमाबुबा वा हजुरआमा–हजुरबाबीच खासै संवाद नभएको देखेका छौं।
यस्तोमा बालिका वधूका निम्ति बोलचाल गर्ने, खेल्ने, हाँस्ने र भावना पोख्ने साथी भनेको आफ्नै उमेरका देवर हुन्थे।
लोग्ने र स्वास्नीबीच पन्ध्र–बीस वर्षको उमेर अन्तर हुने जमानामा स्वाभाविक रूपले धेरै महिला कम उमेरमै विधवा हुन्थे। त्यसपछि त उनीहरूको घरसंसार भन्नु नै आफ्नो सन्तान र देवरकै वरिपरि घुम्थ्यो।
जसको सन्तान हुँदैन, उसको निम्ति टेक्ने–समाउने हाँगो भनेकै देवर।
देवर–भाउजूको भावनात्मक सम्बन्धका अनेकौं आयाम हुन्छन्, जसमा प्रेम र निर्भरता सँगसँगै बेलाबखत इर्ष्या, कुण्ठा र द्वैष पनि जागृत भएको हामी पाउँछौं।
रवीन्द्रका कृतिमा यी आयामको सुन्दर वर्णन पाइन्छ, जसको सशक्त उदाहरण ‘चोखेर बाली’ हो।
‘चोखेर बाली’ को शाब्दिक अर्थ हो, आँखाको कसिंगर। उपन्यासमा यसले अनिच्छुक व्यक्तिलाई संकेत गर्छ।
बंगालमा सखीहरू एकअर्कालाई पुकार्दा वास्तविक नाउँ लिँदैनन्। उनीहरू आफ्नो सम्बन्धलाई ‘पासवर्ड’ भित्र लुकाएर राख्छन्, ताकि कसैको नजर नलागोस्।
विनोदिनी र आशालता पनि झ्यांगिएको मित्रतालाई 'पासवर्ड' दिन चाहन्छन्।
सुधी आशालता अनेक फूलपुष्पको नाम सुझाउँछिन्। विनोदिनी ती सबैलाई नकार्दै न्वारन गर्छिन्, ‘चोखेर बाली’।
कसैले पनि सखीसँगको सम्बन्धलाई ‘आँखाको कसिंगर’ भन्नु सामान्य होइन। उपन्यासमा यसको गहिरो अर्थ छ।
यहाँ विनोदिनीका लागि आशालता कसिंगर हुन् भने आशालताका लागि विनोदिनी।
उनीहरू दुवैलाई जोड्ने सेतु हुन्, महेन्द्र उर्फ मोहिनदा।
महेन्द्रको चरित्रमा निखिलेशको झलक छ। उनी निखिलेशजस्तै सम्पन्न जमिन्दारका छोरा हुन्। डाक्टरी पढ्दै छन्। अंग्रेजी साहित्यमा गहिरो अभिरूचि राख्छन्।
उनलाई बिहेबारीमा खासै लगाव छैन। निखिलेशजस्तै उनलाई पनि श्रीमतीका रूपमा सहवासी होइन, साथीको खोजी देखिन्छ। जोसँग उनी कविताका हरफ गुन्गुनाउन सकून्। घन्टौं साहित्य सत्संग गर्न सकून्।
उनको यो खोज पहिलो झमटमै पूरा भइसकेको थियो, जब उनकी विधवा आमा राजलक्ष्मीले गरिब टुहुरी विनोदिनीको प्रस्ताव ल्याएकी थिइन्।
महेन्द्र राम्ररी हेर्दै नहेरी विनोदिनीको तस्बिर फू गरेर हावामा उडाइदिन्छन्। नियतिलाई यी दुई पात्रको जिन्दगीमा धेरै उथलपुथल जो ल्याउनु थियो!
महेन्द्रका भाइसमान मित्र छन्, बिहारी बाबु जो राजलक्ष्मीलाई आफ्नी आमाजत्तिकै मान्छन्।
छोराले पन्छाएको प्रस्ताव बिहारीले स्विकार्लान् कि भन्ने राजलक्ष्मीलाई ठूलो आस हुन्छ।
जिन्दगीमा हरेक पल महेन्द्रले बिगारेका काम सपार्दै हिँडेका र उनकै जडौरीबाट गुजारा चलाएका बिहारी यहाँ भने अडिन्छन्।
उनलाई पनि जीवनसंगिनीका रूपमा सहयात्रीको खोजी छ। महेन्द्रको अस्वीकृति स्याहारेर सम्झौता गर्न उनी चाहँदैनन्।
सधैं आमाको बचन राख्दै आएका बिहारीले त्यस दिन पनि उनको मान राखिदिएका भए उनको सहयात्रीको खोज त्यसै पल टुंगिने थियो।
नियतिलाई यी दुई पात्रको जिन्दगीमा पनि धेरै उथलपुथल जो ल्याउनु थियो!
महेन्द्र र बिहारी दुवैको इन्कारपछि राजलक्ष्मी विह्वल हुन्छिन्। उनको मनमा विनोदिनीको भार थपिन्छ। त्यसलाई पन्छाउन टाढाको नातेदारसँग विनोदिनीको विवाह गराइदिन्छिन्।
यहाँ विनोदिनीको हैसियत कुनै वस्तुभन्दा कम छैन। न महेन्द्रको प्रस्ताव राख्दा उनको इच्छा सोधिन्छ, न बिहारीसँग लगन जुराउन खोज्दा।
जोसँग बन्धन जोडियो, त्यसैमा पनि उनी राजी थिइन् कि थिइनन् कसैलाई मतलब छैन।
दुर्भाग्यको खेला यहीँबाट सुरू हुन्छ।
एकदमै कम समयमा विनोदिनी विधवा हुन्छिन्।
यता, आमाको प्रस्ताव नकारेका महेन्द्र आफ्नी विधवा काकीका नातेदार आशालतासँग विवाह गर्छन्। जो सौन्दर्यले भरिपूर्ण त छिन्, तर महेन्द्रले खोजेजस्तो सहयात्री हुन उनको पढाइलेखाइ छैन।
महेन्द्रले मनको आग्रहभन्दा वासनाको आतूरताले आशालतालाई स्विकारेका हुन्।
यहाँ ‘घरे बाहिरे’ र ‘चोखेर बाली’ मा दुइटा समानता छ।
जसरी निखिलेश विमलालाई बाहिरी संसार चिनाउन खोज्छन्, साहित्य र संगीतमा अभिरुचि जगाउन खोज्छन्, महेन्द्र पनि आशालतालाई पढ्न–लेख्न प्रेरित गर्छन्। कालोपाटीमा अक्षर चिनाउँछन्। अंग्रेजी कविता पढ्दै अर्थ खुलाउँछन्। पियानो पनि सिकाउँछन्।
यी दुवै पात्र रवीन्द्रको उदार सोचका प्रतिरूप हुन्।
अर्को समानता, जसरी निखिलेश र विमलाको गृहस्थीमा सन्दीपको प्रवेश हुन्छ, यहाँ विनोदिनी त्यसरी नै बाहिरी संसार बनेर आउँछिन्।
बाहिरी वस्तुको प्रवेशपछि तलाउ पहिलेजस्तो शान्त कहाँ रहन्छ र!
जब राजलक्ष्मी विधवा विनोदिनीलाई घरमा आश्रय दिन ल्याउँछिन्, महेन्द्र र आशाको गृहस्थीमा उथलपुथल सुरू हुन्छ।
विनोदिनीको प्रवेशमा दुइटा कुरा लुकेको छ — राजलक्ष्मीको इर्ष्या र स्वयं विनोदिनीको दुरासय।
महेन्द्र श्रीमतीको यौवनमा लिप्त भएर आफ्नो घरव्यवहार, पढाइलेखाइ र कामकाजसमेत बिर्सन थाल्छन्। यहाँसम्म कि, जुन आमाको वरिपरि उनी दिनरात घुमी हिँड्थे, उनैसँग कयौं दिन उनको बोलचाल हुन छाड्छ।
एउटी विधवा आमा, जसको सर्वस्व नै एक्लो छोरा हो, त्यही छोरा श्रीमतीतिर बढ्ता लहसिँदा उनको मनमा इर्ष्याले जन्म लिन्छ। उनी सायद आशालताको सेखी झार्न रूप र गुण दुवैमा निपूर्ण विनोदिनीलाई अघि सार्छिन्।
महेन्द्रले विनोदिनीजस्ती गुणवानलाई लत्याएर रूपले राम्री भइकन पनि कामधन्दामा पैदल आशालतासँग बिहे गरेको यसै पनि राजलक्ष्मीलाई चित्त बुझेको छैन।
विनोदिनी त झन् आशालताको मुहारमा आफ्नै छवि देख्छिन्।
उनको सिउँदोको चहकिलो सिन्दूर, गलामा लहराएको मंगलसूत्र, पाउजूको छनछन, चम्किलो कमरबन्द र अत्तरको सुवासमा समेत आफ्नै अधिकार छ भन्ने सोच्छिन्।
विधिले आफ्नो जिन्दगीमा खन्याइदिएको इन्द्रेणीका रङहरू कसैगरी आशालताको भागमा पोखिएको अनुभूतिले उनलाई भित्रभित्रै कटकटी खान्छ।
त्यसमाथि दिनरात महेन्द्रको समीप रहँदाबस्दा जब उनको शरीरको हरक नाकलाई छोएर जान्छ, आफूले पल्टाउने किताबहरूमा समेत जब महेन्द्रको स्पर्श अनुभूत गर्न थाल्छिन्, उनी व्याकुल हुन्छिन्।
रातको पर्दा झरेपछि जब महेन्द्र शयनकक्षको ढोका बन्द गर्छन् र भित्रबाट आशालताको काउकुती लगाउने खितखित सुनिन थाल्छ, उनी व्याधाको निशानामा परेको पन्छीझैं फड्फडाउँछिन्।
महेन्द्रले आशालतालाई गुणको जुन साँचोमा ढाल्न खोज्दै छन्, आफूलाई पहिल्यैदेखि त्यही साँचोको आकारमा पाउँदा विनोदिनीको दाँत किटकिटाउँछ।
महेन्द्र आशालतालाई अंग्रेजी ‘मेम’ जस्तो झल्झलाकार ब्लाउजमा सजिएको हेर्न चाहन्छन्। आशालतालाई भने ब्लाउजको तुना कस्ने शुद्धि पनि छैन। उनी विनोदिनीसँग सहयोग माग्छिन्।
आशालतालाई ब्लाउज लगाउन सिकाउँदा जब उनको छातीमा राता डाम देख्छिन्, विनोदिनी बेकाबू हुन्छिन्।
‘यस्तो जंगली पारा पनि हुन्छ?’ उनी इर्ष्यावश भन्छिन्, ‘गहिरो चोट लाग्यो भने?’
‘के गर्ने त बाली,’ सोझी आशालता शयनकक्षको रहस्यबाट पर्दा उघार्छिन्, ‘उहाँको चित्तै बुझ्दैन।’
‘नाइँ भन्ने,’ विनोदिनी सुझाउँछिन्।
एकातिर विनोदिनीको यस्तो इर्ष्या छ, अर्कातिर स्वयं महेन्द्र उनको विलक्षण खुबीले कायल छन्।
उनी फूलको सुवासमा माहुरी झुम्मिएझैं विनोदिनीतिर तानिन थाल्छन्।
यी दुईको सम्बन्धमा तेस्रो पक्ष पनि छ — बिहारी बाबु।
विनोदिनीले महेन्द्रलाई आफूतिर आकृष्ट गर्नुमा उनको इर्ष्या वा दुरासय हुन सक्ला, तर बिहारीसँगको उनको प्रेम साँचो हो।
जब महेन्द्र र विनोदिनीको सम्बन्धबारे आशालताले सुइँको पाउँछिन्, सम्बन्धमा कडवाहट सुरू हुन्छ।
विनोदिनी सबै छाडेर काशीवासमा जान्छिन्।
बिहारी उनलाई स्वीकार्न तयार छन्, तर विनोदिनी आफ्नो प्रेमलाई सम्बन्धको साँचोमा ढाल्न चाहँदिनन्। उनलाई लाग्छ, आत्मिक प्रेमलाई सम्बन्धको दरकार पर्दैन।
प्रेमलाई सम्बन्धको नाम दिनु, त्यसमा सीमाहरू कोर्नु।
सीमा कोर्नु, प्रेम अन्त्य गर्नु।
विनोदिनी आफ्नो प्रेमको अन्त्य चाहँदिनन्, अनन्त बनाउन चाहन्छिन्।
यहाँ विनोदिनी–महेन्द्र र विनोदिनी–बिहारीको प्रेम राधा–कृष्णको जस्तै सहज र भावनात्मक छ।
राधा कृष्णकी धर्मपत्नी होइनन्, तर उनीहरू एकअर्कासँग अटुट रूपले बाँधिएका छन्। कृष्णका अनेक प्रेमिका भए, तर उनीसँगै पुजिने र पुकारिने राधा मात्र हुन्।
महिला र पुरुषको सम्बन्धलाई कानुनी वा सामाजिक बन्धनभन्दा माथि राखे मात्र त्यसले पाउनुपर्ने स्वीकार्य र सम्बन्धको सौन्दर्य कायम रहन्छ भन्ने राधा–कृष्णले अर्थ्याउँछन्।
राधा र कृष्णको सम्बन्धलाई कसैले अनैतिक भन्न सकेको छैन। उनीहरू आपसमा यसरी समर्पित छन्, त्यसले उनीहरूको सम्बन्धलाई लौकिकबाट अलौकिक बनाएको छ।
‘चोखेर बाली’ मा विनोदिनी र बिहारीको प्रेम त्यस्तै छ।
विनोदिनी र महेन्द्रको प्रेम पनि।
सन् १९०३ मा प्रकाशित यो उपन्यासको अन्त्यलाई लिएर पछि रवीन्द्र आफैं सन्तुष्ट भएनन्। उनले यसमा आत्मालोचना गरेका छन्।
विनोदिनी र बिहारीलाई सम्बन्धमा बाँधेर उपन्यास संयोगान्त बनाउन सकिन्थ्यो भन्ने उनले महशुस गरेका थिए। त्यत्रो प्रेमिल जोडीलाई किन मिलन गराइनँ भन्ने उनलाई थकथकी थियो।
महिलाको संवेदनशीलता, सौन्दर्य र कामुकता पस्कने आफ्नो समयका यी क्रान्तिकारी लेखक पनि कताकता सामाजिक बन्धनको सीमामा परेको अनुभूति हुन्छ। विधवा महिलाको भावना र भोकलाई साहित्यमा चित्रण गरेर छलाङ मारेका रवीन्द्र विधवा विवाह गराउनमा भने हच्के।
उपन्यासको यस्तो अन्त्यले सामाजिक बहिष्कार निम्त्याउन सक्ने उनलाई भय थियो कि!
यसको सिने रूपान्तरण गरेका बंगाली निर्देशक रितुपर्णो घोषले यो अन्त्य बदलेका छैनन्। यसमा एेश्वर्या रायले विनोदिनीको भूमिका गरेकी छन्।
महिलाको व्यक्तिगत स्वतन्त्रताका पक्षमा उभिने रवीन्द्रले ‘चोखेर बाली’ मा पनि यसको वकालत गर्न चुकेका छैनन्।
उपन्यासको प्रारम्भमा जसरी विनोदिनीको विवाह गराउन उनको मर्जी सोधिँदैन, त्यसरी नै उपन्यासको अन्त्यमा उनी आफ्नो जिन्दगी कसरी बिताउने भनी अरूको मर्जी सोध्दिनन्।
उनले चाहेकी भए महेन्द्रसँग विवाह गरेर आशालतालाई सधैंका लागि पन्छाउन सक्थिन्। आशालताको शयनकक्षमा सधैंका लागि आफ्नो अधिकार स्थापित गर्न सक्थिन्। उनका मंगलसूत्र, पाउजू, कमरबन्द र अत्तरले आफ्नो शरीर सिँगार्न सक्थिन्।
उनले आशालताको गृहस्थी उजाड्न चाहिनन्।
उनले चाहेकी भए बिहारीसँग विवाह गरेर पनि आफ्नो रंगविहीन जिन्दगीमा इन्द्रेणी भर्न सक्थिन्। आफ्ना लागि नयाँ शयनकक्ष सजाउन सक्थिन्। नयाँ गहना र अत्तरले सिँगारिन सक्थिन्।
यहाँ पनि उनले आफ्नी प्रेमीलाई विधवा विवाहको बात् लगाउन चाहिनन्।
उनी दुवैको जिन्दगीबाट सरक्क अलग्गिनुमा उनको स्वअस्तित्व र आत्मनिर्णय झल्किन्छ।
आज पनि हामी महिला अधिकारको कुरा गर्दा यही स्वअस्तित्व र आत्मनिर्णयको खोजीमा छौं। चाहे त्यो पहिचानको कुरा होस्, वा शरीर र प्रजनन् अधिकारको।
यसलाई स्विकार्नु नै साँचो अर्थमा महिला अधिकार स्थापित गर्नु हो।
के हाम्रो समाज यो स्विकार्न तयार छ?
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: