किताब चर्चा
‘ए बी सी डी ई एफ जी,
जी से निक्ला पण्डितजी,
पण्डितजी ने खोदा गड्डा,
गड्डेसे निक्ला गान्धी बूढ्ढा,
गान्धी बूढ्ढा ने गुमाया होस,
उसमे से निक्ला सुभाषचन्द्र बोस।’
भैरहवाको पक्लिहवा क्याम्पमा बस्दा हामी केटाकेटी यही गीत गाउँदै खेल्थ्यौं।
यो त्यति बेलाको राजनीतिक प्यारोडी हुनुपर्छ। गीतको सार मेरो सानो समझले समात्ने कुरै भएन। यत्ति चाहिँ थाहा थियो, ‘पण्डितजी’ भनेका भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू हुन्।
मैले भारतीय अखबारहरूमा उनको फोटो देखेको थिएँ। घरमा यदाकदा भारतीय राजनीतिको चर्चा हुँदा उनको प्रसंग उठेकै हुन्थ्यो। मेरी आमा र हजुरबुबाहरू उनलाई जवाहरलाल नभनेर ‘ज्वारीलाल’ भनेको सुन्थेँ। मलाई धेरै समयसम्म उनको असली नाम ‘ज्वारीलाल’ नै हो कि भन्ने लाग्थ्यो।
हुँदाहुँदा बुबाले लगाउने कोटधरि ‘जवाहरी कोट’ रे!
यसरी आमाको बोलाइदेखि बुबाको लवाइमा समेत पसेका जवाहरलाल उर्फ ज्वारीलालको व्यक्तित्वबाट म सानैदेखि प्रभावित थिएँ।
कस्ता होलान् यिनी? को होलान् यिनी? किन यति चर्चित होलान्?
यस्तायस्तै कौतूहलले मेरो मन क्याउँक्याउँ पार्थ्यो।
मनको कौतूहल नमेटिँदै बुबाको हङकङ पोस्टिङ भयो। म पछि लागेर उतै गएँ। त्यहीँको गोर्खा हाइस्कुलमा पढ्न थालेँ।
त्यहाँ गिल्बर्ट कालू सिंह भन्ने अंग्रेजी शिक्षक हुनुहुन्थ्यो। उहाँ ‘जिके सिंह’ भनेर बढी चिनिनु हुन्थ्यो। खासमा दार्जिलिङको मान्छे, तर यहाँ पाटनमा पनि उहाँको घर छ। एकता बुक्स बसेको घर उहाँकै हो। ८४ वर्ष उमेरमा दुर्घटना परेर उहाँको निधन भयो।
जिके सरमा चित्रकलाको राम्रो खुबी थियो। अंग्रेजी किताबका पाठ पनि चित्र र नक्सा बनाएर पढाउनु हुन्थ्यो।
सभ्यताको इतिहास हेर्ने हो भने मान्छेले अक्षरभन्दा पहिला चित्र बनाउन सिके। त्यही भएर त, पढेको अक्षरभन्दा देखेको चित्र हाम्रो मस्तिष्कमा लामो समय रहन्छ।
जिके सरले चित्र र नक्साका माध्यमबाट पढाएका अंग्रेजी पाठ आज पनि मेरो सम्झनामा काँचझैं छर्लंग छन्।
हामीले हङकङमा नेपालको एसएलसी पाठ्यक्रमअनुसारै पढ्नुपर्थ्यो। एउटा मसिनो अंग्रेजी किताब पनि पाठ्यक्रममा थियो, जसको नाउँ थियो– नेहरुज् लेटर।
जिके सरले पढाउनुअघि कालोपाटीमा सेतो चकले जवाहरलाल नेहरूको चित्र बनाउनुभयो।
आधा तालुसम्म तन्किएको लाम्चो निधार। ज्यानमा मेरो बुबाले लगाउनेजस्तै जवाहरी कोट। र, कोटको माथिल्लो बटनमा रातो गुलाब।
कालोपाटीका ती जवाहर हातमा कलम लिएर केही लेख्दै थिए।
‘उनी छोरीलाई चिठी लेख्दै छन्,’ जिके सरले भन्नुभयो, ‘नेहरू इलाहाबादको नैनी जेलमा थिए। उनकी १० वर्षकी छोरी इन्दिरा गान्धी मसूरी बस्थिन्। त्यही बेला छोरीलाई लेखेको चिठीको संगालो नै यो किताब हो।’
मलाई आजसम्म देखेका नेहरूका आकृतिमा सबभन्दा सुन्दर त्यही लाग्छ।
नेहरूले जेलमा छँदा छोरीको बढ्दो उमेर र उमेरसँगै बढ्दो जिज्ञासा शान्त पार्न लेखेका यी चिठीमा पृथ्वी, प्रकृति र मानव सभ्यताका विभिन्न विषयमा चर्चा गरेका छन्।
छोरीलाई चिठीमार्फत् ज्ञान बाँड्ने उपक्रमबाट रचिएको यो किताब सन् १९२८ मा प्रकाशित भएको हो।
यसका विभिन्न संस्करण पढ्न पाइन्छ — केटाकेटीका लागि सम्पादन गरेर तयार पारिएको सरल संक्षिप्त संस्करणदेखि सम्पूर्ण चिठीको संगालो रहेको विस्तृत संस्करणसम्म।
हामीले त्यति बेला पढेको संक्षिप्त संस्करण थियो, जसमा नेहरूले इन्दिरालाई ‘माई डियर इन्दू’ भनेर सम्बोधन गरेका छन्। पछि विस्तृत संस्करण पनि पढेँ, जसमा ‘माई डियर इन्दिरा’ लेखिएको थियो।
तपाईंहरू आफ्ना नानीबाबुलाई पृथ्वी, प्रकृति र सभ्यताबारे बुझाउन चाहनुहुन्छ भने यो किताब राम्रो सुरुआत हुनसक्छ।
सानैबाट पढ्ने लत बसाल्न चाहनुहुन्छ भने पनि सुरुआत यसैबाट गराउन सक्नुहुन्छ।
‘नेहरुज् लेटर’ हामीले लेख्ने घरेलु वा पारिवारिक चिठीभन्दा अलग छ। यसमा नेहरू आफ्नी सानी छोरीलाई गुरूले झैं ज्ञान दिन्छन्। साथीझैं संवाद पनि गर्छन्। उनी तार्किक र वैज्ञानिक तथ्यहरूमा विश्वास गर्ने व्यक्तिका रूपमा देखिन्छन्।
हुन त इन्टरनेटको जमानामा चिठीबाट गरिने यस्तो संवाद हामीलाई असान्दर्भिक लाग्न सक्छ। लामा लामा चिठी लेखेर भावना अभिव्यक्त गर्ने फुर्सद कसलाई?
हामी भाइबर वा ह्वाट्स–एप वा म्यासेन्जरमा एकाध शब्द वा वाक्यका सन्देश लेखेर ‘सेन्ड’ बटन प्याट्ट थिच्न अभ्यस्त हुँदैछौं। लाइभ फुटबल हेरेजस्तै लाइभ भिडियो च्याट गर्छौं।
कागजमा चिठी लेख्ने, खामबन्द गर्ने, टिकट टाँस्ने र हुलाक कार्यालयको पत्र मञ्जुषामा खसाल्ने युग पनि थियो भन्ने सुन्दा आजको पुस्तालाई एकादेशको कथा लाग्न सक्छ।
हिजो अक्षरमा भावना व्यक्त हुन्थ्यो, आज मनको कुरा बुझाउन संसारभरि प्रयोग हुने भावनाका साझा विम्ब छन्। कम्प्युटरकृत ती विम्बलाई ‘इमोजी’ भनिन्छ।
विस्तारै हाम्रो अक्षरलाई इमोजीले प्रतिस्थापन गर्न के बेर!
धन्न, हाम्रा नानीबाबुहरू अझै स्कुलमा चिठी लेख्ने अभ्यास गर्दैछन्! चिठी लेख्ने चाँजो नपरे पनि इमेल लेख्न काम लाग्ला! वा, म्यासेन्जरमा म्यासेज पठाउन!
नेहरू भने चिठीपत्रकै युगमा त्यस्ता विचित्र मान्छे थिए, जो सन्चो–बिसन्चो साट्न मात्र चिठी लेख्थेनन्। छोरीसँग ज्ञान बाँड्न मात्र चिठी लेख्थेनन्। न विदेशी समकक्षीहरूलाई सन्देश पठाउन मात्र चिठी लेख्थे।
नेहरूका लागि चिठी भनेको लेखनकै अर्को रूप थियो। यानिकी, उनी यस्तरी लेख्थे, मानौं किताब लेखिरहेका छन्।
उनले लेखेका अनगिन्ती चिठीमध्ये ‘लेटर्स टु चिफ मिनिस्टर्स’ एक हो, जसका बारेमा हामी यहाँ चर्चा गर्दैछौं।
स्वतन्त्रता संग्रामपछि भारत संघीय राज्य बन्ने तर्खरमा थियो। त्यस क्रममा जे जति प्रदेश संघमा गाभिए वा गाभिने क्रममा थिए, त्यहाँका मुख्यमन्त्रीलाई उनी प्रत्येक पन्ध्र दिनको एउटा चिठी लेख्ने गर्थे।
नेहरूले प्रधानमन्त्रीको हैसियतमा सन् १९४७ अक्टोबरदेखि १९६३ डिसेम्बरसम्म लेखेका चिठीपत्रको संगालो नै ‘लेटर्स टु चिफ मिनिस्टर्स’ हो।
यति लामो अवधिमा उनले चिठी लेख्न कहिल्यै बिराएनन्। कुनै साता ढिलो भए लगत्तै अर्को साता लेखिहाल्थे। सबै मुख्यमन्त्रीलाई पठाउने चिठीको बेहोरा एकै खालको हुन्थ्यो।
अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट पाँच खण्डमा प्रकाशित करिब चार सय चिठीपत्रको संगालो पुस्तकले भारतको तत्कालीन राजनीतिक परिवेश बुझ्न मद्दत गर्छ।
भारतको निम्ति त्यो कठिन र दुरुह समय थियो। बेलायती उपनिवेशबाट स्वतन्त्र देश विभाजनको भुमरीमा पर्यो। त्यसमाथि साम्प्रदायिक दंगा र इतिहासकै सबभन्दा ठूलो बसाइसराइ। एक करोडभन्दा बढी मान्छे भारतबाट पाकिस्तान सरे, पाकिस्तानबाट भारत आए।
यो अन्यौल र अनिश्चयबीच नयाँ भारतको परिकल्पना साकार पार्ने अभिभारा थियो। संविधान लेख्ने र स्वतन्त्रता मजबुत पार्ने चुनौती पनि।
त्यस्तो उफान बेला सबै राज्यका मुख्यमन्त्रीलाई साम्प्रदायिक दंगाको रापिलो आगोले ल्याएको चुनौती र ‘आजाद भारत’ को स्वर्णिम कल्पना देखाउँदै नेहरूले चिठी लेख्ने उपक्रम थालनी गरे।
‘हामी अनौठो तनावको समयमा छौं। यो बेला हामीले एकअर्कालाई कसरी बुझ्न सक्छौं भन्ने प्रश्न महत्वपूर्ण छ,’ नेहरू लेख्छन्, ‘यो तनावको घडीमा एकअर्कालाई सम्हाल्न सकेनौं भने हामी योभन्दा कठिन समयमा प्रवेश गर्ने छौं। त्यसैले, म तपाईंहरूलाई प्रत्येक पन्ध्र दिनमा आफूलाई लागेका र आफूले देखेका कुरा चिठीमार्फत् भन्नेछु।’
त्यति बेला कतिपय राज्य भारतको संघभित्र आबद्ध भइसकेकै थिएनन्। त्यस्ता राज्य प्रमुखलाई नेहरूले ‘प्रधानमन्त्रीजी’ भनेर सम्बोधन गरेको पाइन्छ।
नेहरूले आफ्ना मुख्यमन्त्रीहरूलाई चिठी लेख्नुको आसय बुझ्न उनका अन्य लेखनले पृष्ठभूमिको काम गर्छ।
उनले यसअघि तीनवटा किताब लेखेका थिए — ग्लिम्सेस अफ वर्ल्ड हिस्ट्री (१९३४), एन अटोबायोग्राफी (१९३६) र द डिस्कभरी अफ इन्डिया (१९४६)।
जेल बस्दा लेखेका यी तीन किताबले भारत स्वतन्त्र हुनुअघि नेहरूको राजनीतिक दृष्टिकोण बुझ्न मद्दत गर्छन्। उनी कस्ता व्यक्ति थिए र कस्ता–कस्ता विषयमा चिन्तन गर्थे भन्ने यसले थाहा दिन्छ।
‘ग्लिम्सेस अफ वर्ल्ड हिस्ट्री’ मा नेहरूले विश्व इतिहास लेखनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
पश्चिमी दर्शनअनुसार जो आधुनिक छ, जसको आधुनिक कामना छ, जो विकसित र सभ्य छ, उसको मात्र इतिहास हुन्छ। अर्थात्, असभ्य र अविकसित राष्ट्रहरूको इतिहासलाई पश्चिमी दर्शनले इतिहास मान्दैन।
यस मानेमा पश्चिमी मुलुकहरूको इतिहास छ, हामी पूर्वीयहरूको छैन।
यही दृष्टिकोण पश्चिमी दर्शन, साहित्य र ऐतिहासिक लेखनहरूमा अहिले पनि हामी पाउँछौं।
नेहरूले यसको प्रतिवाद गरे।
‘ग्लिम्सेस अफ वर्ल्ड हिस्ट्री’ मा उनले आफ्नो देश वा समाजलाई विश्व इतिहाससँग जोड्ने प्रयत्न गरेका छन्।
‘पश्चिमी दर्शन र भोगाइले मात्र विश्व इतिहास पूर्ण हुँदैन। त्यसमा हाम्रो पूर्वीय दर्शन र भोगाइ पनि समेटिनुपर्छ,’ उनी भन्छन्, ‘पश्चिमी दर्शन हाबी हुँदा अहिलेसम्म विश्व इतिहास भन्नेबित्तिकै केही युरोपेली तथा ल्याटिन अमेरिकी मुलुकहरूको मात्र इतिहास भन्ने बुझियो। तर, इतिहास छैन भनिएको हाम्रोजस्तो देशको पनि आफ्नै इतिहास छ।’
उनी अगाडि भन्छन्, ‘विश्व इतिहास भनेको हामी सबैको हो। हामी पनि अन्तर्राष्ट्रियवादका हिस्सा हौं। तिमीहरूको जस्तै हाम्रा पनि राष्ट्रिय आकांक्षा छन्। त्यो आकांक्षा प्राप्तिमा हाम्रो योगदान छ। त्यो योगदानले हाम्रो छुट्टै इतिहास निर्माण गर्छ। तिमीहरूको इतिहास बन्नमा हाम्रो इतिहासको पनि भूमिका छ।’
पश्चिमी देशमै शिक्षादिक्षा आर्जन गरेका नेहरूले यो किताबमा पश्चिमी दर्शनकै प्रतिरोधी वृत्तान्त लेखेका छन्।
त्यसपछि सन् १९३६ मा उनको आत्मकथा आउँछ– एन अटोबायोग्राफी। जसमा उनी आफ्नो व्यक्तिगत आशा, कामना, वृद्धि, विकास र संकल्प वर्णन गर्छन्।
जसमा उनी कुनै सैद्धान्तिक खोजमा छन् भन्ने भावना अभिव्यक्त हुन्छ।
त्यो खोज नै भारतीय स्वतन्त्रताको अवधारणा र आधार हो।
मान्छे आर्थिक रूपले स्वतन्त्र भयो भने बल्ल व्यक्तिगत वा सामूहिक स्वतन्त्रता अनुभूति गर्छ भन्ने समाजवादी धार नेहरूले व्यक्त गरेका छन्।
त्यो समय रूसी क्रान्तिले पनि आर्थिक स्वतन्त्रता नै माग गरेको थियो। नेहरू भने रूसी क्रान्तिको हिंसात्मक पद्धतिप्रति आश्वस्त देखिँदैनन्।
उनको भनाइमा, आर्थिक क्रान्ति जरुरी छ, तर त्यसको निम्ति रूसमा जस्तो हिंसा होइन, राजनीतिक स्वतन्त्रताको बाटो अपनाउनुपर्छ।
रुसी क्रान्तिमा प्रयोग भएको हिंसा उनी सामान्य समयमा सम्भव देख्दैनन्।
‘क्रान्ति सधैं सम्भव हुँदैन। सामान्य समयमा पनि मान्छेले स्वतन्त्रता र आर्थिक विकास हासिल गर्ने बाटो भनेको शान्तिपूर्ण राजनीतिक परिवर्तन नै हो,’ उनी भन्छन्, ‘हामीले त्यही बाटो अपनाउनुपर्छ।’
नेहरू कार्ल मार्क्सको विचारधारा मान्छन्। तर, मार्क्सवादलाई लिएर बढेको रुढी चिन्तन र उनको दर्शनलाई धर्मशास्त्र वा वैज्ञानिक सूत्रझैं अकाट्य मान्ने प्रवृत्तिसँग सहमत छैनन्।
यस्तो रुढी चिन्तनले मार्क्सको दर्शन र साम्यवादको भविष्यलाई नै अन्धकारतिर धकेल्ने उनको मान्यता छ।
मार्क्सवाद मात्र होइन, कुनै पनि राजनीतिक दर्शन वा विचारको आलोचना गर्न नपाइने संकुचित र अनुदार प्रवृत्तिको उनी खिलाफ छन्।
यसरी ‘ग्लिम्सेस अफ वर्ल्ड हिस्ट्री’ बाट आत्मकथासम्म आइपुग्दा नेहरू राजनीतिक विचारका दृष्टिले बढी स्पष्ट देखिन्छन्। स्वतन्त्र भारतको राजनीतिक अवधारणा र उद्देश्य कस्तो हुनेछ भन्ने यसमा खाका भेटिन्छ।
यही खाका खारिएर आएको छ, सन् १९४६ मा प्रकाशित ‘द डिस्कभरी अफ इन्डिया’ मा।
यो किताबमा नेहरूको अध्ययन, भारत भ्रमण र जेल जीवनको चिन्तन झल्किन्छ।
आत्मकथामा उनी जुन व्यक्तिगत, वैचारिक र सामूहिक स्वतन्त्रताको खोजीमा थिए, त्यो खोजीलाई ‘द डिस्कभरी अफ इन्डिया’ मा पहिल्याउने र पछ्याउने प्रयास गरेका छन्।
ब्रिटिस साम्राज्यबाट मुक्त हुने आन्दोलन नै भारतीय स्वतन्त्रताको पहिलो खुड्किलो हो भन्ने उनको भनाइ छ।
उनी यहाँ भारतको आधारभूत एकताको पक्षमा वकालत पनि गर्छन्।
‘विविधतापूर्ण समाज भए पनि भारत एउटै सभ्यता र एउटै विचार हो,’ उनी भन्छन्, ‘बेलायती उपनिवेशको लामो दासत्वले भारतको बहुलवादी समाजलाई मुक्तिको एकसूत्रीय भावनामा बाँधेको छ।’
नेहरूको यो किताबले भारतीय राष्ट्रवादको नयाँ वृत्तान्त स्थापित गरेको छ।
उन्नाइसौं र बीसौं शताब्दीमा संसारभरि स्वतन्त्र राष्ट्रको परिकल्पना सुरू भइसकेको थियो। तेस्रो विश्वका धेरै मुलुकमा यही बेला राष्ट्रिय स्वाधीनता आन्दोलन जुर्मुराउन थालेको थियो।
आधुनिक भारतको परिकल्पना त्यसैको उपज हो।
स्वतन्त्रता आन्दोलनबाट सिर्जित भारतको नयाँ राष्ट्रवादले यहाँको बहुल सभ्यता र विचारधारालाई कसरी एक ठाउँमा ल्याउन सक्छ भनी नेहरूले यो किताबमा व्याख्या गरेका छन्। भारतको आधुनिकता क्रम बुझ्न यो किताब महत्वपूर्ण छ।
नेहरूले सोचेको नयाँ राष्ट्रवाद आधुनिकतातर्फको पहिलो कदम हो। शताब्दीयौं पुरानो प्रचलनबाट आधुनिकतातर्फको यात्रा।
यी तीन किताबबाट नेहरूको राजनीतिक र आर्थिक चिन्तन निखारिएर आएको हामी पाउँछौं। यही विचार मुख्यमन्त्रीहरूसँगको चिठी संवादमा झल्किन्छ।
वैचारिक रूपले राजनीतिक तथा आर्थिक स्वतन्त्रताप्रति उनको प्रतिबद्धता थियो। तर, उनका दुई अलग मान्यता थिए।
पहिलो, उनी समाजवादका पक्षपाती भए पनि हिंसात्मक तरिकाबाट समाजवाद प्राप्त गर्न सकिन्न भन्नेमा दृढ थिए।
दोस्रो, उनी जनताको आर्थिक स्वतन्त्रताका पक्षमा थिए, जनताले राज्यबाट सेवा, सुविधा र न्याय पाउनुपर्छ भन्ने विश्वास गर्थे, तर आर्थिक स्वतन्त्रताका लागि राजनीतिक स्वतन्त्रतासँग कुनै हालतमा सम्झौता गर्न हुन्न भन्नेमा प्रतिबद्ध थिए।
मुख्यमन्त्रीहरूलाई लेखेका सबै चिठी मिहीन पढ्ने हो भने, उनी कुनै पनि चिठीमा यी दुई मान्यताबाट विचलित छैनन्।
‘आर्थिक विकास निश्चय पनि हामीजस्तो गरिब मुलुकको लक्ष्य हो, तर आर्थिक विकासका नाममा राजनीतिक स्वतन्त्रता सम्झौता गर्नुहुन्न। हामीले सुरुआती दिनमै लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउन सकेनौं भने पछि ती झन् लूला र काम नलाग्ने हुन्छन्,’ नेहरूले मुख्यमन्त्रीहरूलाई लेखेका चिठीमा यस्तै विचार व्यक्त छन्।
यति मात्र होइन, जस्तोसुकै परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुनुहुन्न भनेर आफ्ना साथी र सहकर्मीहरूलाई सम्झाएका पनि छन्।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७० वर्षसम्म भारतलाई संसारकै ठूलो लोकतन्त्रका रूपमा जीवित राखेको गान्धी, नेहरू, बल्लभभाइ पटेल लगायत त्यति बेलाका शीर्षनेताहरूको यस्तै विचारले हो।
त्यसमा पनि संक्रमणकालीन अवधिमा सत्र वर्ष प्रधानमन्त्री रहेका नेहरूको भूमिका महत्वपूर्ण छ। राजनीतिक स्वतन्त्रतामाथि कुनै हालतमा सम्झौता गर्न हुन्न भन्ने उनको सिद्धान्तले नै भारतीय लोकतन्त्रलाई अकन्टक राख्यो।
राष्ट्रिय स्वतन्त्रतापछि तेस्रो विश्वका धेरै मुलुकले आर्थिक विकासका नाममा राजनीतिक स्वतन्त्रतालाई तिलाञ्जली दिएर तानाशाह बनेको हामीले देखेका छौं। भारतबाट छुट्टिएर बनेको पाकिस्तानले नै कहिल्यै स्थायी लोकतन्त्र अनुभव गर्न पाएन। सैनिक तानाशाहले त्यहाँको लोकतन्त्र सधैं कुल्चिरह्यो।
नेपालमा पनि आर्थिक विकास नभईकन राजनीतिक स्वतन्त्रता सम्भव छैन भनेर राजा महेन्द्रले सत्र सालमा पञ्चायती व्यवस्था लागू गरे।
राष्ट्रिय स्वतन्त्रता आन्दोलन भनेकै लोकतान्त्रिक आन्दोलन हो भन्ने धेरैलाई लाग्न सक्छ। तर, यी फरक हुन्।
राष्ट्रिय स्वतन्त्रता आन्दोलनले मुलुकलाई स्वाधीन त बनाउँछ, लोकतन्त्र सुनिश्चित भने गर्दैन। स्वाधीन मुलुक लोकतान्त्रिक हुन्छ कि हुँदैन भन्ने त्यसपछि सत्तामा आएका नेताको राजनीतिक निष्ठामा भर पर्छ।
स्वतन्त्रता आन्दोलन नेतृत्व गरेको वर्ग नै तानाशाह बनेका धेरै उदाहरण छन्। नेहरू भने राष्ट्रिय स्वतन्त्रतापछिको संक्रमणकालीन अवधिमा आर्थिक चुनौतीसँग लड्नुपर्दा पनि राजनीतिक स्वतन्त्रताको सवालमा कहिल्यै डगमगाएनन्।
त्यही भएर बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले एकपटक मात्र राजनीतिक स्वतन्त्रता गुमायो। त्यो पनि नेहरूकै छोरी इन्दिराले सन् १९७५ मा ‘इमरजेन्सी’ लगाउँदा।
तै उनले निर्वाचन सार्न सकिनन्।
लोकतन्त्र कुल्चँदाको परिणाम इन्दिरा र उनको कंग्रेस पार्टीले सन् १९७७ को निर्वाचनमा बेहोरे। ‘इमरजेन्सी’ खुलेपछिको उक्त लोकसभा चुनावमा इन्दिरा र उनका छोरा सञ्जय गान्धी दुवै पराजित भए। कंग्रेस सत्ताबाट बाहिरियो।
पाँच वर्षअघि प्रचण्ड बहुमत ल्याएका नरेन्द्र मोदी पनि निर्वाचन टार्न सक्दैनन्। प्रतिपक्ष जतिसुकै कमजोर होस्, उनले आफ्नो लोकप्रियता सावित गर्न निर्वाचनमा जानैपर्छ।
यही प्रणालीको निरन्तरताले भारतको लोकतन्त्रलाई ७० वर्षदेखि अविच्छिन्न राखेको छ, जसको आधार नेहरूले मुख्यमन्त्रीहरूलाई लेखेको चिठीमा पाइन्छ।
यी चिठी निर्देशनात्मक छैनन्। प्रधानमन्त्रीको हैसियतमा लेखेका भए पनि नेहरूले आफ्ना मुख्यमन्त्रीहरूलाई यसो गर, उसो गर भनेका छैनन्। बरु विषयगत रूपले आफ्ना विचार दिन खोजेका छन्। संक्रमणकालीन परिस्थितिमा भारतले के गर्दा राम्रो हुन्छ भनेर अभिभावकका रूपमा सुझाएका छन्।
राष्ट्र निर्माणमा निर्वाचन प्रणाली, राजनीतिक तथा लोकतान्त्रिक संस्थाहरू बलियो बनाउनु आफ्ना ठाउँमा महत्वपूर्ण हुन्छन्। तर, यतिले मात्र राष्ट्र निर्माण हुँदैन, न लोकतन्त्र बलियो हुन्छ।
माथिल्लो तह वा नेतृत्वबाट मातहतका व्यक्तिलाई लोकतान्त्रिक विचार प्रवाह गर्नु, उनीहरूसँग विमर्श जारी राख्नु र उनीहरूलाई लोकतान्त्रिक विधिमा बाँध्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
नेहरूका यी चिठी त्यसैका दस्तावेज हुन्।
‘राजनीतिक संस्थाको निर्माण, परिचालन र अभ्यास तल्लो तहमा हुनुपर्छ, तर नेतृत्वले माथि बसेर त्यसलाई मिहीन अवलोकन गर्नुपर्छ र डोर्याएर लैजानुपर्छ,’ नेहरू भन्छन्।
उनी हरेकजसो चिठीमा आफ्ना मुख्यमन्त्रीहरूलाई ‘विधिको व्यवस्था नै लोकतन्त्रको आधारभूत तत्व हो’ भनेर बुझाउँछन्। केही मतान्तर हुँदा कसरी सल्टाउने भनेर चर्चा गर्छन्।
चिठीहरू ध्यानपूर्वक पढ्दा लोकतन्त्रको सैद्धान्तिक बुझाइमा नेहरू महात्मा गान्धीको विचारसँग नजिकिँदै गएका देखिन्छन्।
गान्धी ‘आफूले आफैंमाथि शासन गर्ने पद्धति नै लोकतन्त्र हो’ भन्थे। नेहरूको भनाइ यही छ।
वैचारिक रूपले समाजवादी भए पनि उनले ‘छोटो राजनीतिक लाभका लागि आर्थिक कार्यक्रमहरू धेरै क्रान्तिकारी नबनाउनू’ भनेर मुख्यमन्त्रीहरूलाई सम्झाएका छन्।
‘लोकतन्त्रको विकासक्रम सुस्त हुन्छ,’ उनी भन्छन्, ‘हतारिएर विधि मिच्नु हुँदैन। लोकतान्त्रिक संस्थाहरूको मर्ममा प्रहार गर्नु हुँदैन। न्यायको शासन र संस्थाहरूमाथि हस्तक्षेप गर्नु हुँदैन। लोकतान्त्रिक संस्थाहरूलाई विधिपूर्वक काम गर्न दियौं भने मात्र लोकतन्त्र सुदृढ हुँदै जान्छ।’
‘हामीले बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेका हौं, लोकतन्त्र प्राप्त गरेका होइनौं। हाम्रो अबको चुनौती लोकतन्त्रको लडाइँ जित्नु हो,’ उनी भन्छन्।
उनका शब्दमा, लोकतन्त्र भनेको संस्कार हो, विधि हो, र संस्था हो। जुन राष्ट्रिय स्वतन्त्रतासँगै हासिल हुँदैन, निर्माण गर्दै जानुपर्छ।
लोकतान्त्रिक संस्थाको मर्म बुझ्ने र आत्मसात् गर्ने प्रक्रियामा जोड दिँदै नेहरू लेख्छन्, ‘लोकतन्त्र सधैं सफल हुन्छ भनेर हामी दाबी गर्न सक्दैनौं। अरू राजनीतिक संस्थाजस्तो यो पनि असफल हुन सक्छ। त्यसैले, लोकतन्त्र प्राप्त भयो भन्दैमा सजिलो ठान्नु हुँदैन।’
‘लोकतन्त्र भनेको बिरुवाजस्तै हो, मलजल गर्नुपर्छ। स्याहार्नुपर्छ, गोड्नुपर्छ,’ उनी भन्छन्, ‘फल्नफुल्न लामो समय लाग्छ। त्यतिञ्जेल लोकतन्त्रप्रति हाम्रो आस्था र प्रतिबद्धता डगमगाउनु हुन्न।’
भारतमा लोकतन्त्रको भविष्यलाई लिएर नेहरूमा कताकता संशय पनि देखिन्छ।
उनी बारम्बार मुख्यमन्त्रीहरूलाई भन्छन्, ‘यसलाई सजिलोसँग नलिऊँ है। हाम्रो व्यवहार, पद्धति र हामीले गर्ने क्रियाकलापले लोकतन्त्रलाई असर गर्छ।’
‘भारतको स्वतन्त्रता जसरी हिजो पराधीन भएको थियो, लोकतन्त्र पनि कसैको पराधीन हुन सक्छ। कसैले लोकतान्त्रिक संस्थाहरूलाई कुल्चेर यसका मूल्य–मान्यता हरण गर्न सक्छ,’ नेहरू सम्झाउँछन्, ‘त्यस्तो अवस्था आउन नदिन सबभन्दा पहिला हामी आफू लोकतान्त्रिक आचरणमा बस्नुपर्छ। लोकतान्त्रिक विधि र संस्थाहरूको सम्मान गर्नुपर्छ।’
झट्ट हेर्दा लोकतन्त्रका प्रक्रिया, विधि र मानक कहिलेकाहीँ हामीलाई कर्मकाण्डजस्तो लाग्न सक्छ। यो कर्मकाण्डले नै मुलुकको लोकतान्त्रिक भविष्य निर्धारण गर्छ भन्ने नेहरूको मान्यता छ।
उनले साम्प्रदायिक भावनाले जेलिएको भारतको बहुल समाजलाई एकसूत्रमा बाँध्न तीनवटा चुनौती देखेका छन्।
पहिलो, राज्यका विभिन्न गतिविधि, नियम, कानुन र संस्थाहरूलाई धार्मिक झुकाव र लगावबाट अलग गर्नुपर्छ।
दोस्रो, सेना र सार्वजनिक सेवालाई साम्प्रदायिकताबाट अलग राख्नुपर्छ।
तेस्रो, कानुन व्यवस्था चुस्त र दुरुस्त पार्नुपर्छ, सरकारप्रति जनतामा विश्वास जगाउनुपर्छ।
‘हामीले यस्तो राज्य कल्पना गरेका छौं, जो धर्म, साम्प्रदायिकता र रुढीबाट अलग हुन्छ। जहाँ हरेक समुदायका मान्छेले शिर ठाडो गरेर अधिकार प्राप्त गर्न सक्छन्,’ नेहरू लेख्छन्।
‘त्यस्तो राज्यले मात्र समुदाय र व्यक्तिबीच यदाकदा उत्पन्न हुने तनाव र महत्वाकांक्षालाई सन्तुलनमा राख्न सक्छ। कुनै तनाव उत्पन्न भए सौहार्द रूपले हल पनि गर्न सक्छ।’
उनी राज्य सञ्चालनमा अंकभन्दा जनताको मनोवैज्ञानिक अवस्था जरुरी ठान्छन्।
यस्तो धारणा विभाजनबाट आएको हुन सक्छ। जब उनले देश टुक्रिएको देखे र त्यसलाई व्यवस्थित गर्नतिर लागे, तब उनले बुझे– अल्पसंख्यक भनेको संख्या मात्र होइन, मनोवैज्ञानिक त्रास पनि हो।
नेहरूले त्यही भएर उत्तरपूर्वी भारतमा कुनै किसिमको शासकीय हस्तक्षेप गर्न खोजेनन्। त्यहाँका विभिन्न जातजाति र भाषाभाषीलाई उनीहरूकै धर्म, संस्कृति, भेषभूषा र रहनसहनमा रहन दिए।
सन् १९५३ को एउटा चिठीमा उनी लेख्छन्, ‘बलियो र एकीकृत भारत बनाउन सबभन्दा पहिला मनोवैज्ञानिक एकता जरुरी छ।’
नेहरूको बुझाइ अहिलेको सन्दर्भमा पनि भारतको निम्ति महत्वपूर्ण छ। हाम्रो निम्ति पनि।
एक राजनीतिज्ञले यसरी मुलुकको परिस्थितिमा चिन्तन गर्ने र त्यसलाई लिपिबद्ध गरेर सहकर्मी साथीहरूलाई पठाउने परम्परा सायद संसारकै दुर्लभ हो।
यसलाई अहिलेको समयमा हामीले कसरी बुझ्ने त?
पछिल्लो समय भारत र नेपालमा जुन किसिमको एकल नेतृत्वको संस्कार विकास भइरहेको छ, त्यस सन्दर्भमा नेहरूबाट ठूलो पाठ सिक्नुपर्ने देखिन्छ।
भारतमा नेहरू विचारधारा असान्दर्भिक बन्दै गएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीमा लोकतान्त्रिक संस्थाहरूप्रति कुनै सम्मान देखिन्न। मुख्यमन्त्रीहरूसँग राजनीतिक विमर्श त टाढाको कुरा, उनी संसदलाई समेत जवाफ दिन जरुरी ठान्दैनन्।
चुनाव बेला पनि पत्रकारको प्रश्न सामना गर्न हच्किन्छन्। बरु बलिउड अभिनेता अक्षय कुमारसँग ‘गैरराजनीतिक वार्ता’ मा आँप खाने तरिकाबारे चर्चा गर्छन्।
उनमा छलफल गर्ने लोकतान्त्रिक आचरण देखिन्न। आफ्नो निर्णय सर्वेसर्वा ठान्ने अधिनायक प्रवृत्ति हाबी देखिन्छ।
यस्तै अवस्था नेपालको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दा उनको चिन्तन बुझिँदैन। तर्क कम गर्छन्, तुकबन्दी ज्यादा। गम्भीर विषय पनि हावामा उडाउँछन्। प्रतिपक्षी दल मात्र होइन, आफ्नै दलभित्रका विपरीत विचारहरूको खिसी गर्छन्।
प्रतिनिधिसभाको मंगलबार बैठकमा नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा उनले प्रतिपक्षीले उठाएका सवाललाई ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्ति’ को संज्ञा दिए।
नेतृत्व तहबाटै यस्तो अलोकतान्त्रिक आचरण देखाएपछि मुनिका कार्यकर्ताले त्यही बाटो अपनाउनु अस्वाभाविक होइन। जुन पछिल्लो समय नेपाल र भारत दुवैतिर देखिँदैछ।
कसैले सामाजिक सञ्जालमा सरकारी नीति तथा निर्णयको आलोचना गरे, चारैतिरबाट ‘अरिंगाल’ को गोलाझैं झम्टिने प्रवृत्ति छ। यसले लोकतन्त्रका लागि अपरिहार्य छलफल र बहस निरुत्साहित गर्छ।
यहाँनिर दुवै देशका लागि नेहरूको यो भनाइ सान्दर्भिक हुन्छ– नेतृत्वको भूमिका संस्था निर्माण गर्ने मात्र होइन, त्यो संस्थामा आत्मा भर्ने पनि हो।
नेहरूले लेखेका यी चिठीलाई हामी संस्थामा आत्मा भर्ने कोशिस मान्न सक्छौं।
त्यही भएर त, उनी राज्य निर्माण र शासन व्यवस्थाका सानोभन्दो सानो विषयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्छन्।
स्वतन्त्र भारतको जुन परिकल्पना उनले गरेका थिए, त्यसको राजनीतिक र सामाजिक इञ्जिनियरिङबारे मुख्यमन्त्रीहरूलाई सविस्तार बताउँछन्।
मन्त्रिपरिषदका निर्णय औपचारिक रूपले प्रकाशित हुन्छन्, सम्बन्धित मन्त्रीहरूबाट ब्रिफिङ पनि गरिन्छ। यति हुँदाहुँदै नेहरू आफ्ना महत्वपूर्ण राजकीय निर्णयबारे मुख्यमन्त्रीहरूलाई जानकारी गराउँछन्, त्यसको सान्दर्भिकता र महत्व बुझाउँछन्।
आफू विदेश भ्रमणमा जाँदा वा विदेशी नेता भारत आउँदा त्यसबारे चर्चा गर्छन्। त्यो देशसँगको कूटनीतिक सम्बन्धका अर्थ छयांग पार्छन्।
नेहरूले आफ्नो सत्ता टिकाउने मनसायले यी चिठी लेखेका होइनन्।
संसदमा उनको बहुमत थियो। उनलाई आफ्नो कामबारे कसैलाई बुझाउने वा सम्झाउने दरकार थिएन। मतादेशका नाममा सबैलाई आफ्नो पछि लाग्न बाध्य पार्न सक्थे। तर, उनले लोकतन्त्र निर्माणमा मनोवैज्ञानिक एकता जरुरी ठाने। आफ्ना नीति र निर्णयमा सबैलाई समेटेर लैजाने प्रयास गरे।
नेपाल र भारतमा पछिल्लो समय यही राजनीतिक संस्कारको खडेरी देखिँदैछ।
नेहरूले आफ्नी दसवर्षे छोरी इन्दिरालाई पृथ्वी, प्रकृति र मानव सभ्यताको विकासक्रमबारे जसरी वर्णन गरेका थिए, त्यही लगन, लगाव र लयका साथ भारतको नीति निर्माण, संस्कृति, समाज, इतिहास र लोकतान्त्रिक संस्थाहरूको महत्वबारे मुख्यमन्त्रीहरूसँग चर्चा गरेका छन्।
जम्मू–कश्मिरमा पर्ने पठानकोट घुम्न जाँदाको एउटा प्रसंग छ।
नेहरू त्यहाँ पुग्दा रात परिसकेको हुन्छ। बास बसेको ठाउँमा स्थानीय आदिवासीहरूले स्वागतमा नाचगान गर्छन्, बाजा बजाउँछन्।
दिल्ली फर्केर आएपछि उनी यही भ्रमणको वर्णन गर्दै मुख्यमन्त्रीहरूलाई लेख्छन्, ‘भारतको हरेक ठाउँमा विविधतायुक्त संस्कृति छ। नाचगान छ। बाजागाजा छ। भेषभूषा छ। हरेक प्रान्तले आफ्नो संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन पाए कस्तो हुन्थ्यो?’
उनी अगाडि भन्छन्, ‘केन्द्रमा हामी पनि सांस्कृतिक संग्रहालय बनाउनेबारे छलफल गर्छौं, तपाईंहरू पनि बनाउनुस्।’
चिनियाँ राष्ट्रपति चाउ–एन लाईसँगका कुराकानीको प्रसंग पनि चिठीमा छ। राज्यका सूचना सार्वजनिक रूपले छताछुल्ल नपार्ने गरी उनले चाउ–एन लाईसँगको कुराकानी मुख्यमन्त्रीहरूलाई बताएका छन्।
नेपालबारे पनि थुप्रै प्रसंग पढ्न पाइन्छ।
२०१९ सालमा नेपालमा नयाँ संविधान आएपछि यहाँको सशस्त्र संघर्षबारे उनले एउटा चिठीमा चर्चा गरेका छन्।
उनी लेख्छन्, ‘मलाई नेपालका राजाले चिठी पठाएका थिए। उनले नेपालका आन्दोलनकारीलाई सहयोग गर्न भारतले हातहतियार उपलब्ध गराएको आरोप लगाएका छन्। मैले तुरुन्तै जवाफ पठाएर त्यो आरोप खण्डन गरेको छु। सम्बन्धित निकायलाई भारतबाट कुनै पनि हातहतियार अवैध रूपले नेपाल छिर्न नपाओस् भनेर सतर्क गराएको छु।’
‘नेपालमा आन्दोलनकारीहरूले प्रयोग गरेका हातहतियार भारतबाट गएका होइनन्, उनीहरूले आफ्नै प्रहरी र सेनाका पोस्टबाट कब्जा गरेका हुन्। मैले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने छैन भनी राजालाई मैत्रीपूर्ण चिठी पठाएको छु,’ नेहरू भन्छन्।
यही क्रममा राजा महेन्द्रले तत्कालीन विदेशमन्त्रीलाई बर्खास्त गरेकोबारे आफ्ना मुख्यमन्त्रीहरूलाई जानकारी दिँदै नेहरू लेख्छन्, ‘उनी भारतप्रति मैत्रीपूर्ण थिए।’
यति मात्र होइन, रक्सौलमा केही नेपाली आएर गोली चलाएको प्रसंग पनि चिठीमा छ। यसबारे नेपाली अधिकारीहरूलाई जानकारी गराउँदै द्विदेशीय छानबिन माग गर्दा नेपाली पक्षले उक्त घटना अस्वीकार गरेको र उल्टै भारतमाथि आरोप लगाउँदै जवाफ पठाएको उनले लेखेका छन्।
उनका यी चिठीपत्रबाट के बुझिन्छ भने, विदेश मामिला संघीय सरकारको कार्यक्षेत्र भए पनि यस्ता महत्वपूर्ण विषयमा नेहरू सबै मुख्यमन्त्रीलाई जानकारी गराउँथे।
एउटा अर्को चिठीमा नेहरूले राजा महेन्द्रलाई ‘भारतप्रति पूर्वाग्रह राख्ने व्यक्ति’ भनेका छन्।
‘नेपालका सरकारी अखबारले भारतबारे नकारात्मक समाचार लेखिरहेका छन्,’ उनी भन्छन्, ‘यसबीच चिनियाँ विदेशमन्त्रीले कुनै देशबाट नेपालमाथि आक्रमण भए चीन सहयोग गर्न आउने प्रतिक्रिया जनाए। यहाँ कुनै देश भनेर भारतलाई नै संकेत गर्न खोजिएको हो। यो एकदमै दुःखदायक कुरा हो।’
‘हामी यसमा शान्त रहँदै आएका छौं। उत्तेजनाले कसैलाई लाभ गर्दैन। नेपालको आर्थिक तथा राजनीतिक अवस्था खस्कँदै गएका बेला राजा र उनका सहयोगी समस्या समाधान गर्न नसकेपछि भारतलाई बलिको बोको बनाउन खोजिरहेका छन्। हामी नेपालसँग मित्रवत सम्बन्ध राख्न चाहन्छौं, तर भारतप्रति पूर्वाग्रह राख्ने व्यक्तिसँग काम गर्न अप्ठ्यारो भइरहेको छ,’ उनी लेख्छन्।
चिठी भनेको समयको दर्पण हो।
जवाहरलाल नेहरू उर्फ ज्वारीलालले सोह्र वर्षसम्म मुख्यमन्त्रीहरूलाई लेखेका चिठी पढ्दा तत्कालीन समय र परिस्थिति ऐनाजत्तिकै छर्लंग हुन्छ।
उनको राजनीतिक चिन्तन, राजनीतिक आचरण र मजबुत लोकतन्त्रका आधार हामी यी चिठीपत्रमा पर्गेल्न सक्छौं। जुन आज पनि हाम्रा लागि उत्तिकै सान्दर्भिक छन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: