किताब चर्चा
ईशर सिंह जसै कोठाभित्र छिरे, कुलवंत कौर पलङबाट जुरुक्क उठिन्। तीखा आँखाले ईशरलाई घुरेर हेर्दै ढोकाको छेस्किनी लगाइन्।
रातको बाह्र बजे, सहरको दिनभरिको साइँसुइँ रहस्यमयी सन्नाटामा सामसुम्म थियो।
ईशर धेरै दिनपछि फिरेका हुन्। उनी नहुँदाका रातहरूमा प्रचण्ड गर्मीले सुकेर रेगिस्तान भएकी कुलवंत मायाको झमझम झरीले लुछुप्पै भिज्न व्यग्र थिइन्।
उनी मस्किँदै पलङमा बसिन्। ईशरतिर आँखा पसार्दै आफ्नो तातो ज्यानमा उनको तातो आलिंगन पर्खिन थालिन्।
ईशर अस्तव्यस्त विचारको उल्झिएको धागो फुकाउँदै हातमा कृपान समातेर कोठाको एक कुनामा उभिएका थिए। मौन, मूर्तिवत्।
कुलवंतलाई आफ्नो आसन मन परेन, सायद। उनी पलङबाट खुट्टा झारेर घरि दायाँ घरि बायाँ व्यग्र झुलाउन थालिन्।
कुलवंतका हातगोडा स्थूल छन्। नितम्ब चाक्लो छ। छातीको उभार भरिलो छ। माथिल्लो ओठको किनारमा ध्यान दिएर हेर्ने हो भने हल्का रेशमी रौं देखिन्छन्।
उनको बेधडक स्वभावले ईशरलाई सायदै कहिले चिस्सिन दियो।
आज भने यतिका दिनपछि भेट्दा पनि ईशरको आँखामा न तडप थियो, न उनी आफ्नो गर्मी पोख्न आतुर देखिन्थे।
कुलवंत सुरूमा त शान्त रहिन्, तर धेरै बेर उनको धैर्यको बाँध अडिन सकेन। लामो समयदेखि थामेर राखेको प्रेमको बाढीले उनको शरीरमा उफान मच्चाउँदै थियो।
उनले भोकाएकी बघिनीझैं ईशरमाथि धावा बोल्दै, लाढिँदै भनिन्, ‘ईशर प्रिय, कहाँ थियौ तिमी यतिका दिन?’
ईशरले हातको कृपान टेबुलमाथि राखे। शिरको पगडी फुकाले। उनको शिथिल ज्यानमा कुलवंतको स्पर्सले प्राण दौडियो। कुलवंतलाई दुई हातले जुरुक्क उचालेर पलङमा पछारे। आफू पनि सँगसँगै पछारिए।
सरदार र सरदार्नीका लामा कपाल एकअर्कासँग गुजुल्टिन थाले।
चिसो कोठा बाफिलो भएर आयो। कुलवंतले झनै लाढिँदै भनिन्, ‘तास फिटाइ धेरै भयो प्रिय, आज चाँडो पत्ता फ्याँक।’
कुलवंतले यसो भन्नु मात्र के थियो, ईशरको दिमागमा करेन्ट दौडियो। आँखा रापिला भए। कुलवंतको ओठको लाली सरेर भर्खरै रसिलो भएको उनको ओठ एकाएक सुकेर कक्रक्क भयो।
हावा भरिएको बेलुन कसैले छुस्स सुई घोचेर फुस्स पार्देजस्तै ईशरका धमनीहरूमा दौडिन थालेको रगत पनि कसैले च्याप्प निमोठेजस्तै स्थिर भयो।
उनी पसिनामा लुछुप्प हुँदै पलङको अर्को कुनामा मूढाझैं पल्टिए।
उनी बरफझैं चिस्सिसकेका थिए, कुलवंत भने तातै थिइन्।
ईशरको यस्तो व्यवहारले त झनै तात्तिँदै चितुवाझैं फुर्तिका साथ टेबुलमाथिको कृपान उचालेर सिधै ईशरको गला रेटिन्।
हुल्हुल्ती रगतको फोहोरा छुट्यो। ईशर घिटीघिटी भए।
कुलवंतका आँखामा दया र अफशोचको थोपा पनि थिएन। बरू क्रोधले लाल थिए। र, सिंहवाहिनी दुर्गा भवानीझैं घाइते ईशरमाथि सवार भएर उनी चिच्याइन्, ‘को हो त्यो, जसले तिम्रो शरीरको गर्मी निचोर्यो? को हो त्यो चोर पत्ता?’
ईशर दुई हातले रगतको भल थाम्दै सास मात्रले भन्दै थिए, ‘कुलवंत, त्यो रात जुन घरमा हामीले धावा बोल्यौं, त्यहाँ सात जना मान्छे थिए। मैले ती सातै जनालाई यही कृपानले हत्या गरेँ, जुन कृपानले तैंले मेरो घाँटी रेटिस्। त्यहाँ एक जना केटी थिई। खुब राम्री।’
कुलवंत तपतप रगत चुहिरहेको कृपान हातमा बोकेर उनको कुरा सुन्दै थिइन्।
‘तँलाई के ढाँटू कुलवंत, त्यो केटी यति राम्री थिई, मैले आफूलाई थाम्नै सकिनँ। जुरुक्क उचालेर सँगै लगेँ,’ उनले भने, ‘मैले सोचेँ, कुलवंतसँग त दिनहुँ तास फिटेकै छु, आज योसँग पनि फिटेर हेर्छु।’
‘हूँ ...’ रिसले चूर कुलवंतले यति मात्र भनिन्।
‘म उसलाई लिएर सरासर नदी किनार गएँ। त्यहाँ झाडीको बिछ्यौनामा सुताएँ। म केही बेर तास फिट्न चाहन्थेँ, फेरि सोचेँ, सिधै पत्ता फ्याँक्छु ...’
‘अनि के भो?’ कुलवंत फड्फडाइन्।
‘मैले पत्ता निकालेँ,’ ईशरको सास घिटीघिटी गर्न थाल्यो। थामिँदै, अडिँदै भने, ‘जसै पत्ता फ्याँके, मैले देखेँ..., मैले देखेँ...’
ईशरको स्वर ख्याप्प बस्यो। कुलवंतले उनलाई बेस्कन झक्झकाउँदै सोधिन्, ‘तिमीले पत्ता फ्याँक्यौ, अनि के भो...? के भो ईशन...? के भो...?’
झिपझिप गर्दै झ्याप्प निभ्न आँटेको बत्तीजस्तो लोलाउँदै गरेका आँखा पिर्लिक्क उघार्दै ईशरले भने, ‘मैले देखेँ, त्यो केटी त मरिसकिछे। जसलाई झाडीमा सुताएर मैले पत्ता फ्याँकेको थिएँ, त्यो त लाश रहेछ। एकदमै कक्रक्क, बरफझैं चिसो मासुको टुक्रा ... मलाई आफ्नो हात दे कुलवंत।’
कुलवंतले ईशरको हातमा आफ्नो हात राखिन्।
उनको हात बरफझैं चिसो थियो।
...
माथिका यी हरफहरू प्रसिद्ध उर्दु साहित्यकार सआदत हसन मन्टोको कथा ‘ठन्डा गोस्त’ बाट अनुवाद गरिएको हो।
कथाको सार पनि यही हो।
के यी हरफहरू तपाईंलाई अश्लील लाग्यो? के यसले तपाईंको यौन उत्तेजना बढायो? कि, समाजको अँध्यारो पक्ष देखेर तपाईं पनि बरफझैं चिस्सिनुभयो?
मन्टोका अधिकांश कथा यस्तै हुन्छन्। उनी मान्छेको यौन चाहनाबारे लेख्छन्। वेश्याहरूका बारेमा लेख्छन्। त्यस्ता सम्बन्धबारे लेख्छन्, जसलाई समाजले औंला उठाउँछ। समाजको त्यस्तो तहबारे लेख्छन्, जसले समाजमा कुनै तहको हैसियत नै राख्दैन।
त्यसैले त, सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि नै स्थापित लेखकका रूपमा चिनिएका मन्टोका कथालाई त्यो समय ‘अश्लील साहित्य’ भनी आलोचना गरियो।
समाजका दण्डनायकहरूले उनलाई ‘फेहाश निगर’ (पोर्नोग्राफर) को आरोप लगाउँदै चार–चारपटक अदालतको कठघरामा उभ्याए।
अदालतको एक सुनुवाइमा मन्टोले भनेका थिए, ‘मानव भनेको मानवताबाट अलग छैन। उसले कहिलेकाहीँ पशुवत् व्यवहार गर्न सक्छ, तर त्यहाँ पनि मानवीय पक्ष उजागर भएकै हुन्छ।’
उनी अगाडि भन्छन्, ‘म फेहाश निगर (पोर्नोग्राफर) होइन। फोटोग्राफरले आफ्नो अगाडिको दृश्य जस्ताको तस्तै तस्बिरमा उतार्छ, म समाजको ऐना हुँ, जे देख्छु, त्यही लेख्छु। त्यसैलाई शब्दको क्यानभासमा उतार्छु।’
उनले जिन्दगीभर त्यही गरे — जे देखे, त्यही लेखे। समाजको अँध्यारोलाई बेनकाब गर्नबाट कहिल्यै चुकेनन्, कहिल्यै हच्केनन्।
मन्टो र उर्दु साहित्यसँग मेरो साक्षात्कार सन् १९८५ मा भयो, जब म भारतको चण्डीगढस्थित पञ्जाब विश्वविद्यालय पढ्न गएँ।
चण्डीगढ अनौठो सहर छ। त्यसको आफ्नो ऐतिहासिकता छैन, तर इतिहासले निरन्तर पछ्याइरहन्छ।
भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री जवाहरलाल नेहरूले योजनागत रूपमा बसालेको यो सहर उत्तर–दक्षिण फैलिएको ठूलो पार्क र आधुनिक कलाले युक्त छ। सँगसँगै, पाकिस्तानबाट बसाइँ सरेर आएका पञ्जाबीहरूले विभाजनपूर्वको इतिहास संगालेर राखेका छन्।
म हरेक बिहान पार्कमा टहल्न निस्कँदा समवयी सरदारजीहरू झुरुप्प–झुरुप्प जम्मा भएर गफिइरहेको देख्थेँ। उनीहरू ‘मुसायिरा’ (कविता सुन्ने–सुनाउने) गरिरहेका हुन्थे। चुट्किला भनिरहेका हुन्थे। हाँस्थे, हसाउँथे।
म त्यो ‘मेहफिल’ तिर आकर्षित हुन थालेँ। त्यस्तो जमघटमा बोलिने उर्दु शायरी र उर्दु ‘तहजिब’ ले मलाई खिच्दै लग्यो।
भारतीय स्वतन्त्रता संग्राम र त्यसले ल्याएको देश विभाजनप्रति मेरो मनमा ठूलो कौतूहल थियो। पाकिस्तानबाट शरणार्थी भएर हिन्दुस्तान छिरेका ती पञ्जाबीहरूमा म आफ्नो कौतूहलको जवाफ खोज्न थालेँ।
उनीहरूको ‘पिंड’ पाकिस्तानमा थियो। यादहरू पाकिस्तानकै थिए। सम्झनाको डोरी समातेर उनीहरू घरिघरि पाकिस्तान पुग्थे, म त्यसैलाई पछ्याउँदै जान्थेँ।
चण्डीगढले मलाई ‘पञ्जाबी दिल’ खोलेर स्वागत गर्यो। र, विभाजनपूर्वको भारत चिनाउने ऐना देखायो।
ती पञ्जाबीहरूसँगको सानिध्यबाटै मैले थाहा पाएँ, उर्दु भाषा हामीले सोचेजस्तो फारसी वा अरबीबाट आएको होइन। त्यसबाट केही प्रभावित हो, तर यसको उत्पत्ति भारतीय उपमहाद्विपको गंगा–जमुना मैदानमै भएको हो।
विभाजनपछि पाकिस्तानले उर्दुलाई आफ्नो राष्ट्रिय भाषा बनाएर मुसलमानको लवजजस्तो प्रतीत गरायो। तर, यो मुसलमानको मात्र लवज होइन। भारतीय उपमहाद्विपभित्र बोलिने हिन्दी, बंगाली, पञ्जाबी, मैथिली, भोजपुरीजस्तै एउटा भाषा हो, जसमा अरूभन्दा बढी लालित्य छ। यही लालित्यकै कारण, साहित्यमा उर्दुको प्रभाव अरू भाषाभन्दा बढ्ता भेटिन्छ।
हामी पनि भौगोलिक रूपले उर्दु भाषा र साहित्यसँग निकट छौं। नेपालगन्ज नजिकको सहर लखनउको बोलीचाली भाषा नै उर्दु हो। तराईका कतिपय मुस्लिम बहुल क्षेत्रमा उर्दु लवज सुनिन्छ। तै उर्दुसँग हाम्रो निकट सम्बन्ध बनेन।
‘सरजी, मैं तो उर्दु पढ नहीँ सक्ता,’ मैले आफ्नो समस्या सुनाएँ।
‘कि गल नहीँ पुत्तर,’ उनीहरूले बाटो देखाउँदै भने, ‘तु रेल्वे स्टेसनके बुक स्टलमेँ जा, वहाँ हिन्द पाकेट बुक्सकी किताबेँ मिल्ती है, उसीसे पढ लेना।’
मैले त्यसै गरेँ।
चराको सानो चित्र भएको हिन्द पाकेट बुक्सबाट प्रकाशित हुने उर्दु साहित्यको देवनागरी अनुवाद खोजी–खोजी पढेँ।
मन्टो र उर्दु भाषा–साहित्यसँग मेरो ‘रूबरू’ यहीँबाट भयो।
मैले पढेको मन्टोको पहिलो कथा ‘टोबा टेक सिंह’ हो।
चण्डीगढ पार्कमा दिनहुँ भेटिने सरदारजीहरूले मलाई यो कथा पढ्न सुझाउँदै भनेका थिए, ‘यह हमारी कहानी है पुत्तर।’
खासमा यो ती सबैको कहानी हो, जसले भारत–पाकिस्तान विभाजनको पीडा बेहोरे।
आधुनिक इतिहासकै सबभन्दा ठूलो मानव बसाइसराइको हिस्सा बन्दै भारतबाट पाकिस्तान छिरेका वा पाकिस्तानबाट भारत पसेका सबैको कहानी।
मन्टोकै पनि।
उनी बम्बईलाई आफ्नो प्राण ठान्थे। फिल्म लेखन र साहित्यमा उनको उच्च नाम थियो। उनलाई धरि देश विभाजन र रक्तपातपूर्ण धार्मिक द्वन्द्वले पाकिस्तानको लाहौर पुर्यायो।
मान्छेको घर त्यो हो, जहाँ उसको मन बस्छ! मन्टो लाहौर त पुगे, तर उनको ढुकढुकी बम्बईमै छुट्यो।
उनी न यताका भए, न उताका हुन सके। उनको जीवन नै अलमलियो। भौंतारिँदै रक्सीमा आफ्नो अस्तित्व, आफ्नो परिचय र सायद आफ्नो देश खोजी गर्न थाले। हिन्दुस्तान र पाकिस्तानमा आफ्नो स्थान खोज्दाखोज्दै विभाजनको करिब आठ वर्षपछि ४३ वर्ष उमेरमा उनको जीवनयात्रा नै सकियो।
उनको यही स्थान खोजीको झलक ‘टोबा टेक सिंह’ मा पाइन्छ।
...
विभाजनको दुई–तीन वर्षपछि पाकिस्तान र हिन्दुस्तानका सत्ताधारीहरूलाई अचानक विचार आयो, जसरी साधारण कैदीहरूलाई एउटा देशबाट अर्को देश सारियो, त्यसरी नै पागलहरूको पनि देशबदली हुनुपर्छ।
यानिकी, जो मुसलमान पागल हिन्दुस्तानका पागलखानामा छन्, उनीहरूलाई पाकिस्तान लग्नुपर्छ र जो हिन्दु वा शिख पागल पाकिस्तानका पागलखानामा छन्, उनीहरूलाई हिन्दुस्तानको सुपुर्दगी गर्नुपर्छ।
यो सही थियो कि थिएन, थाहा छैन, तर यस्तो विचार आउनेबित्तिकै दुवैतर्फको उच्च तहमा उच्च स्तरको सम्मेलन बस्यो। अन्ततः एकदिन पागलहरूको अदलाबदली गर्ने दिन तय भयो।
राम्ररी छानबिन गरेपछि के नतिजा निस्क्यो भने, जो मुसलमानको घरपरिवार हिन्दुस्तानमा छन्, उनीहरूलाई मात्र यता बस्न दिने। बाँकी सबैलाई पाकिस्तान रवाना गर्ने। पाकिस्तानबाट करिब करिब सबै हिन्दु र शिख आफ्नो थातथलो छाडेर हिन्दुस्तान गइसकेका थिए। त्यसैले, त्यहाँका पागल हिन्दु र शिखहरू भने जसरी पनि हिन्दुस्तान आउनैपर्ने भयो।
पागलखानामा दौडधूप सुरू भयो। रेकर्ड पल्टाएर सबैको घरपरिवार खोजी हुन थाल्यो।
देशबदली गरिन लागेका पागलहरू भने आफ्नै उधेडबूनमा थिए। उनीहरू घरिघरि एउटै प्रश्न गर्थे, ‘यो पाकिस्तान कहाँ छ? हामी अहिले पाकिस्तानमा छौं कि हिन्दुस्तानमा?’
एकले भन्यो, ‘हिन्दुस्तानमा यस्तो ठाउँ छ, जहाँ छुराचक्कू बन्छ, त्यो पाकिस्तान हो।’
जवाफ सुनेर कोही गलल्ल हाँसे, कोही ठूलै रहस्य पत्ता लागेझैं मौन भए।
अर्कोले बडो दार्शनिक पारामा भन्यो, ‘हामी अहिले हिन्दुस्तानमा छौं भने पाकिस्तान कहाँ छ? पाकिस्तानमा छौं भने यो कसरी सम्भव छ? केही समयअघि त हामी हिन्दुस्तानमा थियौं!’
ती पागलले सायद बन्द पर्खालबाहिर जिन्दावाद र मुर्दावाद नारा लागेको सुनेका थिए, त्यसैले कोही ‘हिन्दुस्तान जिन्दावाद’ भन्दै कराउँथे, कोही ‘पाकिस्तान जिन्दावाद’ भन्थे।
हिन्दुस्तान र पाकिस्तानको चक्करमा उनीहरू यस्तरी अलमलिए, केही पागल त झन् झन् बढी पागल हुँदै गए।
एक जना पागल झाडू लगाउँदै रूखको हाँगामा झुन्डिन पुग्यो। सिपाहीहरू जति तल झार्ने कोशिस गर्थे, ऊ झन् माथि, अझ माथि उक्लिन्थ्यो।
टुप्पोमा पुगेर ऊ चिच्यायो, ‘म न हिन्दुस्तानमा बस्न चाहन्छु, न पाकिस्तानमा, म यहीँ रूखको हाँगामा बस्छु। मलाई यहीँ बस्न देऊ।’
पागलखानाको यही झुन्डमा विशन सिंह नामका शिख पागल थिए, जो यहाँ बस्न थालेको पन्ध्र वर्ष भइसकेको थियो। उनी प्रायः शान्त रहन्थे। कसैसँग बोल्थेनन्, न कुनै झैझगडामा पर्थे।
जब बोल्थे, एउटै कुरा भन्थे, ‘उपर दी गुड गुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ दी लालटैन।’
उनी रात–रातभर चुपचाप फलामको रेलिङ समातेर उभिइरहन्थे। सिपाहीहरूका अनुसार उनलाई पन्ध्र वर्षमा एक झिमिक निदाएको वा एक निमेष पनि भुइँमा पल्टेको कसैले देखेनन्।
कहिलेकाहीँ उनी एउटा घुँडा खुम्च्याएर भित्ताको आड लिन्थे, तर त्यो बेला पनि अर्को खुट्टा भुइँमा तिनिक्क तन्किएकै हुन्थ्यो।
वर्षौंदेखि उभिँदा उभिँदा उनका गोडाहरू सुन्निएका थिए।
जब पागलखानाभित्र देश अदलाबदली गर्ने अफरातफरी सुरू भयो, उनले सोधे, ‘टोबा टेक सिंह कहाँ पर्छ, हिन्दुस्तानमा कि पाकिस्तानमा?’
उनले सही जवाफ कहीँ पाएनन्।
तोकिएको दिनमा सिपाहीहरूले सबै हिन्दु र शिख पागललाई ट्रकमा हालेर वाघा बोर्डर लगे। त्यहाँ एक–एक गर्दै सबै पागललाई हिन्दुस्तानका सिपाहीको हातमा सुम्पिनु थियो।
जब विशन सिंहको पालो आयो, उनले रजिस्टरमा आफ्नो नाम लेख्दै गरेका हिन्दुस्तानी अफिसरलाई सोधे, ‘टोबा टेक सिंह कहाँ छ, हिन्दुस्तानमा कि पाकिस्तानमा?’
अफिसरले हाँस्दै भने, ‘पाकिस्तानमा।’
यति सुन्नु के थियो, विशन उफ्रिँदै सिपाहीहरूको पञ्जाबाट फुत्किएर पाकिस्तानी सीमातिर दौडिए, जहाँबाट उनलाई भर्खरै हिँडाउँदै ल्याइएको थियो।
यसरी दौडिँदा उनी एकोहोरो कराउँदै थिए, ‘टोबा टेक सिंह पाकिस्तानमा छ, पाकिस्तानमा।’
उता, पाकिस्तानी सुरक्षाकर्मीले विशन सिंहलाई आफ्नो सीमाभित्र छिर्न दिएनन्। उनलाई पक्रेर फेरि हिन्दुस्तानतिरै घचेट्न थाले।
‘टोबा टेक सिंह यहीँ छ,’ उनी हातखुट्टा फालेर कराए, ‘उपर दी गुड गुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ टोबा टेक सिंह एन्ड पाकिस्तान।’
सिपाहीहरूले उनलाई खुब सम्झाए, तर उनी मानेनन्।
बरू एक ठाउँमा उनी आफ्नो सुन्नेको खुट्टा बलपूर्वक अड्याएर यस्तरी उभिए, जहाँबाट अब उनलाई संसारको कुनै ताकतले हल्लाउन सक्ने छैन।
उनी यस्तरी अडिएको भूमि न हिन्दुस्तानमा पर्थ्यो, न पाकिस्तानमा।
सिपाहीहरूले हार खाए। विशनलाई आफ्नै गतिमा छाडेर उनीहरू देशबदलीको बाँकी लेखापढी निप्ट्याउनतिर लागे।
घाम उदाउनुभन्दा एकछिन अगाडि विशन सिंहको घाँटीबाट चित्कार छुट्यो।
दुवै तर्फका सिपाही दौडिँदै हेर्न आए।
विशन, जो पन्ध्र वर्षसम्म दिनरात आफ्नो खुट्टामा उभिइरहे, जो एक झिमिक निदाएनन्, उनी अहिले भुइँमा घोप्टो परेर लडेका थिए।
आँखा चिम्म थियो, चिरनिद्रामा।
उनी जहाँ लडेका थिए, त्यहाँबाट केही पर तारबारपछाडि हिन्दुस्तान थियो। अर्कातिर, उस्तै तारबारपछाडि पाकिस्तान थियो।
बीचको यो जमिनको टुक्रामा, जसको कुनै नाम थिएन, त्यहाँ टोबा टेक सिंह थिए।
...
कुखुराले चल्ला कोरलेझैं कुर्सीमा टुक्रुक्क बसेर सिसाकलमले अनवरत लेखिरहने मन्टोका बीस कथासंग्रह, रेडियो नाटकका पाँच संकलन, तीनवटा निबन्ध संग्रह, केही व्यक्तिचित्र र एउटा उपन्यास प्रकाशित छन्।
उनका हरेक सिर्जना व्यक्तिप्रधान हुन्छन्, जहाँ उनी व्यक्तिगत अनुभूतिको कुरा गर्छन्। कसैको व्यक्तिगत अनुभूति भनेको समाज चियाउने ऐना हो।
‘टोबा टेक सिंह’ कथामा पनि विशन सिंहको व्यक्तिगत अनुभूतिबाट विभाजन ताकाको विभत्स वेदना र भयभीत क्रन्दन सुनिन्छ।
यो चरित्रमा कता–कता मन्टोकै झलक आउँछ।
हिन्दुस्तान र पाकिस्तानबीच पागलझैं भौंतारिएका उनले अन्तिम समयसम्म विभाजनको घाउमा मह्लम लगाउन सकेनन्। चण्डीगढको बसाइमा मैले त्यस्ता थुप्रै मन्टो भेटेँ, जो विभाजनपूर्वको याद सजाएर बाँचेका थिए।
मन्टोले जति बेला यी कथा लेखे, त्यो स्वतन्त्रता संग्राम उर्लेको याम थियो। साहित्यमा प्रगतिशील लेखनको धार शक्तिशाली थियो।
ज्यादातर लेखक या क्रान्तिको गुणगान गाउँथे। या, गरिब किसानको दुःखभित्र भारतीय समाजको चित्रण गर्थे। या, शोषक–सामन्त जमिन्दारको दोहोलो काढ्दै स्वतन्त्र भविष्यको स्वर्णिम कल्पना बुन्थे।
मन्टोले भने स्वतन्त्रता संग्राम बेला पनि क्रान्तिगीत गाएनन्, बरू अपहेलितहरूको रोदन सुनाए।
स्वतन्त्र भारत वा पाकिस्तानको सुन्दर भविष्य झल्काएनन्, बरु त्रासदिपूर्ण वर्तमान उतारे।
उनी भन्थे, ‘वर्तमान यस्तो भयानक छ, म यो भयानक वर्तमानलाई पर्दाले ढाकेर उज्ज्वल भविष्यको कथा कसरी बुन्न सक्छु?’
मन्टोको यस्तो अलग धार तत्कालीन प्रगतिशील लेखकहरूलाई पाच्य थिएन। उनी स्वयं प्रगतिशील लेखक संघको सदस्य भइकन त्यही समूहभित्र पटक–पटक आलोचित रहे।
कतिपय प्रगतिशील लेखकहरू नै सत्ताको बोली बोल्दै मन्टोका कथालाई ‘फेहाश’ (पोर्नोग्राफी) को बिल्ला भिराउँथे। जो यस्तो बिल्ला भिराइहाल्न हच्किन्थे, उनीहरूले पनि मन्टोका कथा ‘साहित्यको कोटीमा नपर्ने’ भन्दै गिल्ला गरे।
उनीहरू भन्थे, ‘मन्टो हाम्रा सदस्य त हुन्, तर उनले गरिब, असहाय, निमुखाहरूबारे लेख्नुपर्नेमा वेश्या र यौनबारे लेखे। यथार्थ लेख्नुपर्नेमा भाव र भंगिमाबारे लेखे।’
यस्तो आरोप उनले बम्बई बस्दा मात्र खेपेका होइनन्। विभाजनपछि लाहौरमा पनि खेपे।
यस मानेमा, हिन्दुस्तान र पाकिस्तान दुवैले मन्टोलाई उही दृष्टिले हेरेको हामी पाउँछौं।
उनको साहित्यलाई यी दुई नवस्वतन्त्र मुलुकले नैतिकताको उस्तै तराजुमा तौलिए। उनलाई ‘फेहाश निगर’ को उही दफामा उल्झाउँदै कठघरामा उभ्याए।
उनको निधनपछि भने पाकिस्तानले सबभन्दा ठूलो नागरिक सम्मान ‘निशान–ए–इम्तियाज’ बाट विभूषित गरेको छ।
हामीले मन्टोको चर्चा गर्दा छुटाउनै नहुने नाम हो, ईस्मत चुगताई।
यी दुवै आफ्नो समयका विद्रोही लेखक हुन्, जसले सँगसँगै मुद्दा खेपे। ईस्मतमाथि ‘अश्लील साहित्य’ को मुद्दा लागेको कथा हो– लिहाफ।
...
जब म जाडोमा लिहाफ ओढ्छु, छेउको भित्तामा त्यसको छायाँ हात्तीझैं झुल्दै गरेको प्रतीत हुन्छ।
त्यो प्रतिबिम्ब हेर्दै मेरो दिमागको पर्दामा विगतका घटना दौडिन थाल्छन्।
म त्यो समयको कुरा गर्दैछु, जब म सानी थिएँ। खेल्ने–कुद्ने उमेर थियो। दिनभरि म आफ्ना भाइ र उसका साथीहरूसँग कुटाकुट झगडा गर्दै बिताउँथेँ। यही कारण थियो, आमाले आफू आगरा जाँदा मलाई बेगम जानकहाँ छाड्नुभयो।
उहाँलाई राम्ररी थाहा थियो, बेगम जानकहाँ म यस्तरी बाँधिन्छु, जस्तो जालमा मुसा।
ठूलो सजायँ थियो त्यो मेरा लागि। त्योभन्दा ठूलो सजायँ त त्यतिबेला हुन्थ्यो, जब म हरेक रात बेगम जानको ओछ्यानमा खासखुस आवाज सुन्थेँ।
बेगम जान यस्तै चालीस–बयालीस वर्षकी थिइन्। गोरो र चिल्लो छाला थियो। आँखा काला थिए, त्यसमाथि सुलुत्त परेका बाक्ला आँखीभौं। कपाल सधैं सुगन्धित तेलले चिपचिप रहन्थ्यो। सिउँदो यस्तरी काटिएको हुन्थ्यो, मानौं दुई देशको सीमा। यतापट्टिको एक रेशा कपाल पनि अर्कोपट्टि सर्ने होइन।
बेगमको कामधाम केही थिएन। महारानी थिइन् घरको। उनको देखभाल गर्न र घरका सबै काम गरिदिन नोकरचाकरहरू थिए।
तीमध्ये खास थिइन्, रब्बो।
उनको काम घर सम्हाल्नुभन्दा बेगम जानलाई सम्हाल्नु थियो। जुनसुकै बखत बेगम जानको ज्यानमाथि चढेर घरि उनको खुट्टा मिचिरहेकी हुन्थिन्, घरि ढाड मालिस गर्थिन्।
कहिलेकाहीँ मलाई यस्तो लाग्थ्यो, उनी बेगम जानका अरू अंगहरू पनि मुसार्दै छिन्, दबाउँदै छिन्।
नुहाउने बेलाको त झन् के कुरा गर्नु! दुई घन्टाअघिदेखि रब्बोको हातबाट जीउभरि बासनादार तेल घसिरहेकी हुन्थिन्, बेगम जान।
मलाई सम्झनामा पनि भयभीत पार्ने घटना भने रातको हो।
हामी एउटै कोठामा सुत्थ्यौं। बेगम जानको ठूलो पलङसँगै मेरो सानो बिस्तरा थियो। राति जब म मस्त निद्रामा थिएँ, बेगम जानको पलङबाट कोही खासखुस बोलेको आवाजले झल्याँस्स ब्युँझेँ।
कोठाको अँध्यारोमा बेगम जानको लिहाफ यस्तरी हल्लिँदै थियो, मानौं त्यसमा हात्ती थुनिएको छ।
‘बेगम जान,’ मैले आवाज दिएँ।
मेरो आवाजले हात्ती तर्सिएछ क्यार, लिहाफ पलङमा सपक्क भयो।
‘डर लाग्यो, म तपाईंसँगै सुत्न आउँ,’ मैले भनेँ।
‘किन डराउनुपर्यो,’ बेगम जानले भनिन्, ‘चुपचाप सुत।’
म फेरि निदाउने कोशिसमा लागेँ।
एकछिनमा फेरि त्यही खासखुसले मलाई झस्कायो। यसपालि त कसैले अचार चाटेजस्तो चप्प–चप्प आवाज पनि आउन थाल्यो। के बेगम जान भोक्कै छिन्? के उनी रातबिरात अचार चाट्दै छिन्?
म डरले घरि आँखा चिम्म पार्थें, घरि पिर्लिक्क खोल्थेँ।
स्याँस्याँ आवाजले कोठा भरियो। भित्तामा लिहाफको छायाँ उसैगरी अग्लियो, मानौं सानो हात्ती त्यसभित्र बुर्लुकबुर्लुक उफ्रिँदैछ।
म हिम्मत गर्दै आफ्नो बिछ्यौनाबाट उठेँ। भित्तामा हात्ती उसैगरी उफ्रिँदै थियो। चप्प-चप्प आवाज उसैगरी आउँदै थियो। मैले आमाको नाम लिएँ, र बिजुलीको स्विच प्याट्ट थिचेँ।
कोठा झल्झलाकार भयो।
लिहाफभित्र हात्ती सर्याकसुरूक गर्यो र एकैचोटि बिस्तरामा पिचिक्क भयो। मानौं, त्यो हात्ती लिहाफभित्रै गायब भएको होस्।
‘अल्लाह !!!’ म डरले थरथर काम्दै बिछ्यौनामा गम्लंग हाम्फालेँ।
...
यो कथामा ईश्मतले महिला शरीर र उसको यौन चाहनाको विषय उठाएकी छन्।
सन् चालीस दशकको प्रारम्भमा लेखिएको यो कथा दक्षिण एसियामै महिला यौनिकता झल्काउने पुरानो साहित्यमा पर्छ।
सबभन्दा ठूलो कुरा त, मुस्लिम परिवारमा जन्मे–हुर्केकी ईश्मतले महिला यौनिकतामाथि यति गहन कथा लेख्नु त्यो समयको निम्ति आफैंमा क्रान्तिकारी कदम थियो।
‘लिहाफ’ सहित उनका अन्य कथा ‘तील,’ ‘गेन्दा’, ‘घरवाली’ लगायतमा पनि महिला यौनिकताको झलक पाइन्छ।
‘लिहाफ’ यति चर्चित भयो, लामो समय ईश्मतको परिचय नै यसैसँग जोडियो। उनी भन्थिन्, ‘लिहाफप्रति म गर्व गर्न सक्दिनँ, किनकि मलाई मान्छेले त्यसैमा अड्काइदिए। मलाई लिहाफको बोझले थिचेको छ।’
आज हामी महिलावाद, यौनिकता र शरीरमाथि महिलाको अधिकारबारे जुन बहस गरिरहेका छौं, त्यसलाई आयातीत अवधारणाका रूपमा बुझ्छौं। ईश्मतका कथा पढ्दा महिलावाद वा महिला यौनिकताको बहस हाम्रो क्षेत्रमा धेरै पहिलेबाट सुरु भइसकेको थाहा हुन्छ। जसलाई पचाउन त्यो समयको समाज र सरकारको निम्ति निकै गाह्रो भएको थियो।
मन्टोका कथा पचाउन गाह्रो भएझैं।
त्यसैले त, ‘सेन्सरसिप’ को दफा घुमाएर ईश्मत र मन्टो दुवैलाई पटक–पटक अदालतको कठघरामा उभ्याइयो।
जब जब साहित्यमा ‘सेन्सरसिप’ को कुरा उठ्छ, म यी दुई उर्दु साहित्यकारलाई सम्झन्छु।
कुनै पनि सिर्जनात्मक कार्यलाई ठिक वा बेठिक भन्दै डन्डा चलाउने अधिकार सरकारले आफ्नो हातमा लिने हो कि त्यसलाई तौलिने जिम्मा सार्वजनिक चेतनालाई सुम्पने हो?
सिर्जनाको अभिव्यक्ति र लेखकको संवेदनशीलता जाँच्ने काम समालोचना र विवेचनाबाट हुनुपर्छ, न कि राज्यको कानुनबाट।
यो यस्तो दायरा हो, जसलाई कानुनी रूपले भन्दा वैचारिक रूपले निरुपण गरिनुपर्छ।
मन्टो र ईश्मतको जीवनभरको लडाइँ नै यही थियो।
हरेक मान्छेको मनभित्र राक्षस बसेको हुन्छ। उसमा पाशविक चेतना हुन्छ, कामना हुन्छ। लोभ हुन्छ, वासना हुन्छ।
यसको अर्थ, खराबै खराब प्रवृत्तिले भरिएको हुन्छ भन्ने होइन। तर, अवचेतन मनभित्र लुकेको राक्षसी प्रतिबिम्ब चिनाउन ऐना देखाउनुपर्छ, ताकि त्यही अवचेतन मनमा बसेको सच्चरित्रता र मानवीय गुणले उसको राक्षसी प्रवृत्ति चिनोस् र परास्त गरोस्।
मन्टोको साहित्यले त्यही ऐनाको काम गर्छ। ईश्मतका कथाले पनि मान्छेको अवचेतन मनमा गुम्सिएको भावनाको उफान उजागर गर्छ।
उनीहरूका कथाले ती–ती विषय उठाउँछन्, जुन–जुन विषयलाई हाम्रो समाजको नैतिक तराजुले ‘अनैतिक’ पल्लामा राख्छ। उनीहरू त्यस्ता–त्यस्ता शब्द प्रयोग गर्छन्, जस्ता–जस्ता शब्द हामी घरमा आमाबाबु र दिदीबहिनीका अगाडि सुन्न–सुनाउन चाहनौं। तर, के ती विषय र ती शब्द हाम्रो समाजका हिस्सा होइनन्?
के हाम्रो समाजमा वेश्या छैनन्? अतृप्त यौन चाहनाले गराएका अपराधका घटना हामी दिनहुँ समाचारमा पढ्दैनौं? हरेक दिन बजारमा हिँड्दा ‘अपशब्द’ भनिने शब्दहरू हावाको झोंकाझैं हाम्रो कानलाई छोएर जाँदैनन्?
जुन ‘अपशब्द’ हामी सार्वजनिक रूपमा बोल्न हुँदैन भन्छौं, रिसले चूर हुँदा हामी त्यही शब्द बर्बराउँदैनौं?
साहित्य समाजको ऐना हो भने, त्यो ऐनाले झूट कसरी देखाउन सक्छ? समाजकै विषय र समाजकै लवजलाई ऐनामा समेट्दा त्यो ऐना नै ‘अश्लील’ कसरी हुनसक्छ?
ऐनाले समाजको फोहोर र दुर्गति देखाउँछ भने, राज्यको कर्तव्य समाजका ती फोहोर र दुर्गति पखाल्ने हो, न कि ऐनाको सिसा नै चकनाचूर पार्ने।
महिलामाथि गरिने पाशविक व्यवहार, यौनलाई हेर्ने संकुचित दृष्टि र यौन दुर्व्यवहारका घटना हाम्रो समाजका त्यस्तै अँध्यारा पक्ष हुन्, जसलाई हटाउन साहित्यले मानवीय चेतना झक्झकाउनुपर्छ।
अवेचन मनभित्र लुकेको राक्षसी प्रवृत्ति चिनाउन साहित्यले समाजलाई हरपल ऐना देखाउनुपर्छ।
मन्टोले जस्तै, ईश्मतले जस्तै।
मन्टोले जिन्दगीभरि चिच्याई–चिच्याई भने, ‘मेरो साहित्यलाई समाजले झेल्न सक्दैन भने, यो समाज नै झेल्नलायक छैन। जुन समाज आफैं नांगो छ, त्यसको कपडा म के फुकालुँला? म त्यसलाई छोप्ने कोशिस पनि गर्दिनँ, किनकि त्यो मेरो काम होइन, त्यो त दर्जीहरूको काम हो।'
उनको भनाइ सत्तरी वर्षपछि पनि उत्तिकै सान्दर्भिक छ– भारतको सन्दर्भमा पनि, नेपालको सन्दर्भमा पनि।
नरेन्द्र मोदीको उदयपछि भारतीय सरकार र समाज अनुदार बन्दै गएका प्रशस्त उदाहरण छन्। कुनै निश्चित धर्म वा सम्प्रदायलाई चित्त नबुझेको नाममा थुप्रै साहित्यकार र कलाकार प्रतिबन्धको शिकार बनेका छन्।
अतिवादी धार्मिक तथा साम्प्रदायिक गुटहरू साहित्यकार, कलाकार र पत्रकारमाथि हातपातको हदसम्म ओर्लन्छन्।
केही महिनाअघि सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ ले यस्तै आक्रमण झेल्यो। भन्सालीसहित फिल्मकी अभिनेत्री दिपिका पादुकोणविरुद्ध ज्यान मार्ने धम्की दिइयो। अन्ततः क्रूध समूहलाई चुप लगाउन निर्माताहरूले फिल्मको नाउँ नै बदल्नुपर्यो।
नेपालको स्थिति त्यही उत्कर्षमा नपुगे पनि त्यसतर्फ उन्मुख भने देखिन्छ।
सुविधामुखी सरकारी प्रवृत्ति र भ्रष्टाचारप्रति टिप्पणी गर्ने एक व्यंग्य गीतविरुद्ध केही समयअघि सामाजिक सञ्जालमा आलोचनाको बाढी आयो। गायकलाई जबर्जस्ती गीत हटाउन बाध्य पारियो।
सरकारी नीति र योजनाको आलोचना सुन्न न सरकार तयार छ, न सरकारका समर्थक।
प्रधानमन्त्री र मन्त्रीहरू नै विपक्षी तर्क सुन्न चाहँदैनन्, सार्वजनिक रूपले उपेक्षा र खिसी गर्छन्। त्यही सिकाइ समर्थकहरूमा सरेको छ। कसैले सरकारको आलोचना गरे ‘अरिंगाल’ झैं डस्ने क्रम सुरू हुन्छ।
उदार र लोकतान्त्रिक समाजको निम्ति यो हदसम्मको संकीर्णता शुभसंकेत होइन।
निमको पात जतिसुकै तीतो होस्, त्यसले रगत सफा गर्छ। मन्टोको यो भनाइजस्तै साहित्य, कला र पत्रकारिता निमको पातझैं तीतो हुनुपर्छ, जसको स्वादले मुख त बिग्रेला, तर त्यसले समाजको दुर्गन्ध र दुर्गति देखाउँछ।
जब दुर्गन्ध देखिन्छ, तब न सफाइको गुञ्जायस रहन्छ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: