किताब चर्चा
भीष्म साहनीले आफ्नो आत्मकथा ‘आजके अतीत’ मा ‘तमस’ को रचनागर्भ लेखेका छन्ः
‘मलाई ठिकसँग याद छैन, कहिले बम्बई निकट भिवंडी नगरमा हिन्दु–मुस्लिम दंगा सुरू भयो। यति याद छ, त्यही दंगापछि मैले ‘तमस’ लेख्न थालेँ।
भिवंडी नगर बुनकरहरूको नगर थियो। सहरभित्र ठाउँ–ठाउँमा कारखाना थिए, जहाँ बिजुलीतानहरू राखिएका हुन्थे। त्यहाँका घरलाई आगोको लप्काले छोपेपछि तानमा रहेका धातु धेरैजसो पग्लिसकेका थिए। काठहरू जलेर खरानी भएका थिए। आगोको धुवाँ पुत्पुताइरहेको सहरका गल्लीमा घुम्दा यस्तो लाग्थ्यो, मानौं हामी कुनै प्राचीन नगरको खण्डहरमा घुम्दै छौं।
ती गल्ली नाघ्दै जाँदा, आफ्नै पदचाप सुन्दै हिँड्दा मलाई यस्तो लाग्यो, मैले यस्तै सुनसान गल्ली पहिले पनि नाघिसकेको छु। यस्तै पदचाप पहिले पनि सुनिसकेको छु। भिवंडी नगरलाई जुन भयले छोपेको छ, त्यस्तै भय मैले अनुभूति गरिसकेको छु। यस्तै सन्त्रासपूर्ण शान्तिबाट गुज्रिसकेको छु। यस्तै अतेसलाग्दो नीरव अनुभव पनि लिइसकेको छु।
मैले कहालीलाग्दो शून्यता मात्र अनुभव गरेको थिइनँ, रूखका हाँगामा बसेका गिद्ध र चिलहरू पनि देखेको थिएँ। आधा आकाश ढाकेर फैलिएको आगोको लप्का पनि देखेको थिएँ। सहरका गल्ली र सडकमा हाँपदाँप गर्दै दौडिरहेका पाइला र डरले जीउमा काँडा उमार्ने कोलाहल र चिच्याहट सुनेको थिएँ। धर्मान्ध जमातको नारा र चित्कारले मेरो कान छेडेको पनि थियो।
केही दिन बम्बईमा बसेपछि म दिल्ली फर्कें।
सामान्यतया म साँझको समय लेख्न बस्छु। मेरो मन साँझमा लेख्न तल्लीन हुन्छ। तर, त्यस दिन नास्ता खाएपछि म बिहान–बिहानै मेचमा बसेको थिएँ।
यो सबै अचानक भयो। जब मैले कलम उठाएँ र कागज अगाडि राखेँ, यस्तो लाग्यो म रावलपिन्डी फर्किएको छु। मेरो आँखासामु रावलपिन्डीको दंगा, कोलाहल, चित्कार र आगोका लप्का नाच्न थाले। मानौं, आँखाआगाडि मृत्यु नाच्दैछ।
मैले कंग्रेसको अफिस देखेँ। कंग्रेसका मेरा साथीहरू रामनाथ, बख्शीजी, बालीजी, हकिमजी, अब्दुल अजीज, जरनैल, मास्टर अर्जुनदास मेरो कोठाभित्रै थिए। उनीहरूका आँखा टुलुटुलु मैलाई हेर्दै थिए।
मेरा हात चल्न थाले। कागजमा कलम सर्सती सर्न थाल्यो। म सम्झनाका तरेलीमा डुब्दै गएँ।’
यो छोटो रचनागर्भमा बम्बई र रावलपिन्डीका दुई ठूला साम्प्रदायिक दंगाको वर्णन हामी पाउँछौं।
कतिपय घटना यस्ता हुन्छन्, जसले मान्छेलाई पुनरावृत्तिको आभाष दिन्छ। मनोविश्लेषकहरू यसलाई ‘डेजा भू’ भन्छन्।
भारतीय लेखक भीष्म साहनीलाई पनि भिवंडी नगरको दंगाले ‘डेजा भू’ भयो, जुन उनको मानसिक आभाष मात्र थिएन, तीतो यथार्थ थियो।
सन् १९१५ मा रावलपिन्डीमा जन्मेका भीष्म १९४७ को भारत–पाकिस्तान विभाजन बेला यस्तै दंगा दौरबाट गुज्रेका थिए। चित्कार, कोलाहल, अनिश्चय र भय भोगेका थिए।
उनले आफ्नो ‘डेजा भू’ लाई कागजमा उतारे र उपन्यासको रूप दिए।
त्यही उपन्यास हिन्दी साहित्यमा विभाजन र साम्प्रदायिक दंगालाई मिहिन केलाउने लोकप्रिय कृति बन्यो।
भारतका थुप्रै लेखकले त्यो बेलाको त्रासदीपूर्ण दंगा र आधुनिक मानव इतिहासकै सबभन्दा ठूलो बसाइँसराइलाई आ–आफ्नै ढंगमा चित्रण गरेका छन्। यही स्तम्भका अघिल्ला अंकमा हामीले उर्दु लेखक सआदत हसन मन्टो र नोबेल विजेता बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोरबारे चर्चा गरिसक्यौं, जसले विभाजनको घाउमा संवेदनाको लेप लगाए।
टैगोर बंगाल विभाजनको खास परिस्थिति र त्यसको घरेलु प्रभाव चित्रण गर्छन्। मन्टोका कथा हिंसालाई चियाउने आँखीझ्याल हुन्। उनी व्यक्तिगत मनोभावको काँटी कोरेर आगोको झिल्का निकाल्छन्।
‘तमस’ भने संवेदनशीलता र विषयवस्तुको गहिराइमा अझ बृहत छ।
सन् १९७२ मा प्रकाशित यो उपन्यासले विभाजन, हिंसा, घृणा, विद्वेष र विच्छेदलाई यति फराकिलो क्यानभासमा चित्रण गर्छ, कृति आख्यान हो कि गैरआख्यान– हामी अलमलिन्छौं।
भिवंडी नगरको दंगा देखेर विह्वल हुँदै कलम समातेका लेखकले सायद लेख्दै जाँदा आफ्नो रावलपिन्डी अनुभवलाई पूराका पूरा शब्दमा ओकले कि!
त्यसै पनि जब अनुभवको आगोमा खारिएर आख्यान रचिन्छ, गैरआख्यानसँग त्यसको अन्तर नाम मात्रको रहन्छ। ‘तमस’ त्यसैको ज्वलन्त उदाहरण हो।
‘तमस’ को अर्थ हो, अन्धकार। उपन्यासको सुरुआत यस्तै अन्धकारबाट हुन्छ।
अँध्यारो, फोहोरी कोठामा दियोले मधुरो रोशनी छरेको छ। भित्ताको माथिल्लो हिस्सामा दुइटा इँटा उक्केका छन्। जब हावाको तेज झोंका त्यही प्वालबाट कोठाभित्र छिर्छ, दियोको रोशनी डगमगाउन थाल्छ। हावाको सर्सराहटले कोठा भरिन्छ। दियोबाट निस्केको धुवाँ रिंगिँदै कोठाभरि फनफनी नाच्छ। केही बेरमा जब हावा छिर्न बन्द हुन्छ, रोशनी सिधा माथि दलिनतिर फर्किन्छ। धुवाँ पुत्पुताउँदै उकालो चढ्न थाल्छ।
यही मधुरो प्रकाश र हावाको सर्सराहटबीच नत्थूको सास उकालो चढ्दै गरेको मालगाडीको थोत्रो इञ्जिनजस्तो स्वाँस्वाँ गर्दैछ। उनी पसिनाले निथाचूर्ण छन्। असारेझरीमा बलेँसीको पानी झरेजस्तो उनको निधारबाट पसिनाको धारा तर्कंदैछ। थकाइले जीउ यति लखतरान छ, मानौं भर्खर सुमेरू पर्वतको वजन ओसारेर आएका हुन्।
उनी गलित हुँदै भित्तामा अडेस लाग्छन्। आँखा चिम्लन्छन्। उनका आँखाका गेडाहरू फनफनी नाच्दैछन्। मुठ्ठी कसेका छन्। पाखुराका नसा हावा भरिएको बेलुनझैं फुलेका छन्।
उनी पिर्लिक्क आँखा उघार्छन्। मधुरो दियोमा फोहोरी कोठाभित्र चारैतिर आँखा डुलाउँछन्।
पर कुनामा उनको ध्यान अडिन्छ। आँखाबाट क्रोध, उत्तेजना, अतेस, हरेस र विरक्ति एकैचोटि उम्लिएझैं हुन्छ।
रात बित्न लागिसक्यो, उनको काम सिंगै बाँकी छ। साँझ मुराद अली बजारमा भेटिएका थिए। मुराद सहरका नामी ठेकेदार हुन्, मुस्लिम नेता पनि। जनावरको छाला काढेर बिक्री गर्ने नत्थूलाई बेलाबखत काम दिइरहन्छन्। यस मानेमा मुराद अलीले जे भने पनि उनी काट्न सक्दैनन्।
त्यही भएर जब हातमा पाँच रुपैयाँको नोट थमाउँदै मुराद अलीले उनलाई यो काम अह्राए, उनले नाइँ भन्नै सकेनन्। सुरूमा अनकनाएका त थिए, तर मुरादले दोहोर्याएर भनेपछि र कड्कडाउँदो नोट हातमै राखिदिएपछि उनको स्वर रुद्रघन्टीमै दबियो।
त्यतिखेर बोल्न नसक्नुको परिणाम अहिले यो अँध्यारो, फोहोरी कोठामा उनी भोग्दैछन्।
बीचमा एकचोटि त उनी हरेस खाएर कोठाबाहिर निस्केका पनि थिए।
बाहिर निस्केर ढोका थुने। पिँढीमा थुपुक्क बसे। आफ्नो गोडातिर हेरे। पिँडुलामा नङ्ग्राले खोस्रिएको घाउ थियो। अलिअलि रगत बग्दै थियो। पाखुरामा अर्को त्यस्तै नङ्ग्राले कोतरेको निशान थियो।
उनले बिँडी सल्काए। लामो लामो कस ताने। जसै पूर्वतिरको आकाश हल्का उज्यालो हुँदै आएको आभाष भयो, उनले मुराद अलीलाई सम्झे।
मुरादले भनेका थिए, ‘बिहान कुखुराको पहिलो डाँकमै मान्छे आउँछ, काम फत्ते गरेर राख्नू।’
उनी जर्याकजुरुक उठे। बिँडीलाई बडो निर्दयी पाराले भित्तामा कच्याककुचुक पारे। ढोका खोले र उही अँध्यारो, फोहोरी कोठाभित्र छिरे।
उनी भित्तामा ढेपिएर आफ्ना गलेका आँखा पिर्लिकपिर्लिक खोल्दै, बन्द गर्दै छन्। जतिचोटि आँखा खुल्छ, उति रिसले तम्तमाएझैं देखिन्छ। पाखुराका नसा उति फुल्दै जान्छ। छेउमा एउटा ढुंगा छ। उनी विस्तारै ढुंगातिर हात बढाउँछन्। ढुंगा च्याप्प समातेर चितुवाझैं फुर्तिका साथै जुरुक्क उठ्छन्। र, त्योभन्दा फुर्तिका साथ ढुंगा अगाडि हुत्याउँछन्।
कोठामा एउटा चित्कार सुनिन्छ। पीडाले ढल्पलिँदै भित्तामा ज्यान ठोक्किएको र लतारिएको आवाज आउँछ। अनि, छिनभरमै भुइँमा धडाम्म ढलेको सुनिन्छ।
त्यो अँध्यारो, फोहोरी कोठा एकछिनसम्मै रारन्न हुन्छ।
मुराद अलीले भनेको काम बल्लतल्ल फत्ते गर्न सकेकोमा नत्थूका आँखा चम्केका छन्। सास उसैगरी मालगाडीको थोत्रो इञ्जिनझैं स्वास्वाँ गर्दैछ।
अघि साँझ बजारमा भेट्दा मुरादले भनेका थिए, ‘हाम्रो भेटनरी डाक्टर साहबलाई डाक्टरी काम गर्न एउटा मरेको सुंगुर चाहियो रे। तँ यहाँ गल्लीमा हिँड्ने कुनै सुंगुर समातेर मारेर राख, बिहान पहिलो डाँकमै कसैलाई लिन पठाइदिन्छु।’
जनावरको छाला काढ्नू एउटा कुरा, जनावरै काट्नु अर्को!
नत्थू लामो सास फर्छन्। पाखुराले पसिना पुछ्छन्। अलि अगाडि बढेर भुइँतिर घोत्लिन्छन्। सास चलेको छ कि छैन भनेर कान थापेर सुन्छन्।
सुंगुर मरिसकेको छ।
उपन्यासको यस्तो सुरुआतले नै हामीलाई सन् १९४७ को त्यो भयानक समयमा लैजान्छ, जब बेलायती उपनिवेशबाट स्वतन्त्र भारत धर्मका आधारमा विभाजन हुँदै थियो। विश्व मानचित्रमा नयाँ मुस्लिम राष्ट्र पाकिस्तानको सीमा कोरिँदै थियो।
दुवैतर्फका सहर, गाउँ र बस्तीमा धर्मान्धहरूको कोकोहोलोले हिन्दु, शिख र मुस्लिमबीच घृणाको आगो भड्किँदै थियो। टोलमा कतै सुंगुर मारिए वा गाईवध गरिए मान्छे–मान्छेबीच काटमार सुरू हुन्थ्यो। सहरका नालीमा हिलोभन्दा बढी रगत बग्न थाल्थ्यो।
यही वस्तुस्थितिलाई विभिन्न समूह, वर्ग र तहका बीस जनाभन्दा बढी पात्रमार्फत् चित्रण गरेका छन्, भीष्म साहनीले।
उनका ती पात्रले भारतको तत्कालीन राजनीतिक, सामाजिक र वर्गीय स्वरूप झल्काउँछन्।
नत्थू उपन्यासका नायक हुन्, जसलाई एक साधारण नागरिकको प्रतिनिधि मान्न सकिन्छ। रोजीरोटी गरेर पेट पाल्ने नत्थूलाई न देश विभाजनको चासो छ, न उनको मनमा साम्प्रदायिक विष भरिएको छ। उनी आफ्नी गर्भवती पत्नी र बूढीआमैका साथ दुईकोठे साँघुरो झुपडीमा खुसी छन्।
जब राजनीतिको चलखेल सुरू हुन्छ, सोझासाझा जनता थाहै नपाई त्यसको भुमरीमा फस्दै जान्छन्। नत्थू पनि राजनीतिक धुर्त्याइँको शिकार भएर दंगा भड्काउने कडीमा जोडिन पुग्छन्।
उनले पाँच रुपैयाँका लागि जुन सुंगुर मारे, भोलिपल्ट बिहान झिसमिसेमा त्यही सुंगुर बोरामा लपेटिएर सहरको मस्जिदबाहिर फालिएको भेटिन्छ।
मस्जिदबाहिर एक्कासि सामसुम्म हुन्छ। वरिपरिका दोकान एकपछि अर्को बन्द हुन थाल्छन्। गल्लीमा खेलिरहेका केटाकेटी टपक्क टिपेर तिनका आमाहरू आ–आफ्ना झुपडीमा छिर्छन्। बिहानको नमाज पढ्न मस्जिदतिर बढिरहेका पाइला ठाउँको ठाउँ घरतिर मोडिन्छन्।
मान्छे डरले झ्यालका पर्दा आधा उघारेर सडकतिर चियाउन थाल्छन्। कानेखुसी गर्छन्। कसको हरकत होला यो?
त्यही बेला एक आक्रोशित युवा एउटा गाईलाई लघार्दै पर लग्छ। एकछिनमा सहरको अर्को गल्लीबाट गाई मारिएको हल्ला फैलिन्छ।
हेर्दाहेर्दै सहर दिउँसै चकमन्न हुन्छ।
यहाँनिर बख्शीजी भन्ने एक कंग्रेस नेता भन्छन्, ‘सहरमा अब चिलहरू उड्नेछन्। संकेत गतिलो छैन।’
नभन्दै सुंगुरबाट सल्किएको आगोले डढेलोको रूप लिन्छ। मान्छे काटमार गर्न थाल्छन्। हिंसाले प्रतिहिंसा जन्माउँछ, प्रतिहिंसाले विद्वेष ल्याउँछ।
सदियौंदेखि सँगै बस्दै आएका समुदाय अनायासै एकअर्काका दुश्मन बन्छन्।
लेखकले उपन्यासको सुरुआतमै सुंगुर मारेको दृश्यलाई विम्बका रूपमा प्रयोग गरेका छन्।
नत्थूले धार्मिक हिंसा भड्काउँ भनेर सुंगुर मारेका थिएनन्। उनी त पाँच रुपैयाँको नोट देखेर लोभिएका थिए। मुराद अलीप्रति कृतज्ञ पनि थिए। आफूले मारेको सुंगुर मस्जिदको सिँढीमा लगेर फालिन्छ भन्ने अलिकति पनि भेउ पाइदिएको भए उनी यो ‘पाप’ गर्ने नै थिएनन्।
आफ्नो हातबाट यस्तो ‘जघन्य अपराध’ भएकोमा उनी घरिघरि मनखत मान्छन्। रातभरि निदाउन सक्दैनन्। मध्यरात मस्त निदाइरहेकी गर्भवती पत्नीलाई ब्युँझाएर ‘मलाई चिया पकाइदेन’ भन्छन्। घरि पत्नीलाई ‘तँ छोड्, मै पकाउँछु’ भन्दै आफैं अघि सर्छन्।
नत्थूको भतभती पोलिरहेको छाती शान्त पार्न उनकी पत्नी धेरैचोटि सम्झाउँछिन्। नत्थू घरि सम्झेजस्तो गरी शुकूनको सास फेर्छन्, फेरि एकैछिनमा ब्याधाको निशाना बनेको पन्छीजस्तो फड्फडाउन थाल्छन्।
उता, मुराद अलीमा अवसरवादी राजनीतिक नेताको चरित्र देखिन्छ।
उनले नत्थूको गरिबी र विश्वासको नाजायज फाइदा उठाए। एउटा प्रयोजन भनेर सुंगुर मार्न लगाए, र त्यसबाट साम्प्रदायिक दंगा भड्काएर राजनीतिक लाभ लिए।
उनी कतिसम्म धुर्त छन् भने, बजारमा नत्थूलाई देखेर पनि नदेखेजस्तो गर्छन्। सुंगुरकाण्डले छट्पटिएका नत्थू उनलाई देख्नासाथ फटाफट पछ्याउन थाल्छन्। मुराद भने नत्थूको पिछा छुटाउन उति नै फटाफट अघि बढ्छन्। र, बजारको भिडमा अलप हुन्छन्।
उनको खास चरित्र त्यति बेला उदांगो हुन्छ, जब दंगा भड्किएपछि सहरमा अमनचैन कायम गर्न सर्वदलीय समिति गठन गरिन्छ।
समिति बैठकले हिन्दु, शिख र मुस्लिम समुदायलाई मेलजोलका साथ बस्नू भनी ‘माइकिङ’ गर्दै हिँड्न गाडी झिकाउने निर्णय गर्छ। गाडी आउँदा चालकसँगै अघिल्लो सिटमा बसेका एक जना व्यक्ति ‘हिन्दु–मुस्लिम भाइभाइ’ भन्दै पहिल्यै नारा लगाइरहेका हुन्छन्।
ती व्यक्ति अरू कोही होइन, मुराद अली हुन्।
के आज पनि हाम्रा राजनीतिक नेताहरूमा मुराद अली प्रवृत्ति ज्यूँदै छैन र?
हामीकहाँ प्रजातन्त्रदेखि लोकतन्त्र र गणतन्त्रका लागि पटक–पटक आन्दोलन भए। माओवादका नाममा बन्दुक उठाउँदा सोह्र हजारभन्दा बढीको ज्यान गयो। अरू मुद्दामा पनि थुप्रैचोटि जनतालाई लडाइएको छ। देश बन्द गरिएको छ। स्कुल, कलेज ठप्प पारिएका छन्। सडकका रेलिङ भाँचिएका छन्। भौतिक संरचना ध्वस्त पारिएका छन्।
यी सबै आन्दोलनबाट आमनेपाली जनताले के पाए र जनतालाई सडकमा उरालेर राजनीति गर्ने नेताहरूले कति लाभ लिए?
जनताको लाभ र नेताहरूको प्राप्ति लेखाजोखा गर्ने हो भने नाफाघाटा हामी सबैसामु छर्लंग छ।
यो उपन्यासले राजनीतिक नेताहरूको आमप्रवृत्ति पर्दाफास गर्छ। जो हामी नत्थूजस्ता सोझासाझा जनतालाई बहकाएर सडकमा उराल्छन् र आफ्नै स्वार्थसिद्ध गर्छन्। जो सानो–सानो कुरामा उल्झिएर एकअर्काको खुट्टा तान्छन्। पद र शक्तिको निम्ति दौडधूप गर्छन्। जो संकट बेला समय रहुञ्जेल आफैं बाझेर बस्छन्, जब समय घर्किन्छ, बल्ल उनीहरूको चेत खुल्छ।
नेताहरूका यस्ता चरित्र झल्काउने थुप्रै घटनाक्रम उपन्यासमा छन्।
स्वतन्त्रता संग्राम बेला हरेक बिहान कंग्रेसको नेतृत्वमा प्रभातफेरी कार्यक्रम हुन्छ। कंग्रेस नेता बख्शीजी सबैलाई चार बजे नै कार्यालयमा भेला हुन निर्देश गर्दै भन्छन्, ‘चार बजे भनेको चार बजे, न एक मिनेट यता, न एक मिनेट उता।’
भोलिपल्ट उनी स्वयं ढिला पुग्छन्। कति त गाईको दूध दुहुने बहानामा उज्यालो भइसकेपछि बल्ल झुल्किन्छन्।
कुराकानी क्रममा कोही नेता आफू जवाहरलाल नेहरूजस्तो देखिएको छु भनेर गमक्क पर्छन्। कोही एकअर्काको पोल खोल्न थाल्छन्। आफूमध्ये को बढी गान्धीवादी भनेर प्रमाणित गर्न कसले कति धेरै खादीको लुगा लगाएको छ भन्नेमा प्रतिस्पर्धा चल्छ। एकले त सुरुवालको इँजार खोल्नुपर्ने अवस्थाधरि आउँछ। अर्कोले इँजार समात्दै भन्छ, ‘हेर्नुस् हेर्नुस्, उहाँको इँजार रेशमी छ। हातले बुनेको सुती होइन, मेसिनबाट बनेको। नपत्याए तपाईंहरू आफैं छोएर हेर्नुस् त!’
प्रभातफेरीकै क्रममा कंग्रेस नेताहरू मुस्लिम टोलको नाली सफा गर्न पुग्छन्। वर्षौंदेखि कसैले नचलाएको नालीमा हात फोहोर पार्न सुकिलामुकिला नेताहरू घिन मान्छन्। आफ्नो लवाइमा खास ध्यान दिने मेहताजी त ढाड दुखेको बहाना गर्दै नालीबाट अलि परै तर्किएर बस्छन्।
दंगा साम्य पार्न अमनचैन समिति गठन गर्ने बेला नेताहरूको पदलोभ पनि रोचक छ।
समितिमा उपाध्यक्षको संख्यालाई लिएर सहमति हुन गाह्रो हुन्छ। कोही तीन जना भन्छन्, कोही पाँच जना। सदस्य हुन नपाएको झोँकमा कोही कोही त बैठकै छाडेर हिँड्छन्। तिनलाई बल्लतल्ल सम्झाइबुझाइ फर्काएर ल्याउनुपर्छ।
संकटको घडीमा पनि नेताहरूको सुर्ता पद र शक्तिमै रहन्छ भन्ने यसले देखाउँछ।
यहाँ जरनैल मात्र यस्ता व्यक्ति छन्, जसको राजनीतिमा व्यक्तिगत स्वार्थभन्दा देशको चिन्ता बढी छ।
घरबार, परिवार र राजनीतिबाहेक अरू कुनै कामकाज नभएका उनी सधैं सैनिक पोसाकमा हिँड्छन्। उनको हृदय देशभक्तिको ज्वालाले भरिएको छ। सहरमा आन्दोलन होस् कि नहोस्, अंग्रेजविरुद्ध नारा लगाउँदै गल्ली–गल्ली घुम्छन्। जहाँ पायो त्यहाँ भारतीय तिरंगा (झन्डा) लहराउँछन्। त्यही भएर उनी धेरैचोटि जेल पनि परिसके।
जरनैल एकदमै मुफट छन्। उनलाई कसैलाई रिझाउनुछैन, खुसाउनुछैन। मनमा जे छ, मुखबाट त्यही ओकल्छन्। आफ्नै नेताका हरकत सार्वजनिक गरिदिन्छन्। यस्तै स्वभावले पार्टीभित्र उनलाई कमैले मन पराउँछन्। बख्शीजी पुरानो मान्छे भनेर जसोतसो सहन्छन्, तर मेहताजी सकभर उनलाई कतै लग्न नपरे हुन्थ्यो जस्तो गर्छन्।
लेखकले जरनैल पात्रमा महात्मा गान्धीको छवि चित्रण गर्न खोजेका हुन् कि भन्ने कताकता लाग्छ। स्वतन्त्रताको पूर्वसन्ध्यामा गान्धी स्वयं असान्दर्भिक हुँदै गएका थिए। पार्टीभित्रै उनको कुरा सुनिन छाडेको थियो। यहाँ जरनैल त्यस्तै छन्। उनी बोलेको बोल्यै गर्छन्। बोल्दा गतिलै कुरा गर्छन्, तर उनको कुरामा कसैको ध्यान छैन।
जरनैल भन्ने पात्रमा वर्तमान राजनीतिका त्यस्ता नेताहरूको छवि पनि देखिन्छ, जो सत्ता र शक्तिको हानथापभन्दा बाहिर रहन्छ। पद र पैसाभन्दा समाजको भलाइका लागि राजनीति गर्छ। आफ्ना नेताहरूले गरेका खराब कामको आलोचना गर्न हिच्किचाउँदैन, भलै उसको कुरा पार्टीभित्र वा बाहिर कसैले नसुनोस्।
हाम्रो अहिलेको राजनीतिमा पनि यस्ता पात्र छन् नि! सम्झनुस् त। तिनै हुन्, ‘तमस’ का जरनैलहरू।
उपन्यासमा रिचर्ड र लीजा नामका अंग्रेज दम्पती पनि महत्वपूर्ण छन्।
रिचर्ड सहरका ब्रिटिस डेपुटी कमिसनर हुन्, जसलाई भारतीय सभ्यता र संस्कृतिमा रुचि छ। उनी पुराना खण्डहर उत्खनन् गर्दै हिँड्छन्। पुराना अभिलेखहरू खोज्छन् र अध्ययन गर्छन्।
इतिहासप्रति रुचि र वर्तमानमा प्रशासनिक जिम्मेवारीको बोझले उनी यति व्यस्त रहन्छन्, पत्नी लीजालाई पर्याप्त समय दिन भ्याउँदैनन्।
लीजालाई भने यस्ता कुरामा रुचि छैन। विभाजनको राजनीति र साम्प्रदायिक दंगाको चुरो उनले बुझेकी छैनन्। आफ्नै महलभित्र धुम्धुम्ती एक्लै बसिरहन्छिन्। बियर र वाइनको नसामा एकाकी भुल्ने कोशिस गर्छिन्।
लेखकले यो दम्पतीको संवादबाट तत्कालीन विभेदको राजनीति र भारतीय समाजको बहुलता झल्काउन खोजेका छन्।
लीजाले महलभित्र बसी बसी सहरमा भड्किएको हिन्दु–मुस्लिम दंगाको राप भाँपेकी छन्।
‘म त हिन्दु र मुसलमानलाई अलग–अलग चिन्न पनि सक्दिनँ। तिमी चिन्छौ रिचर्ड, को हिन्दु, को मुसलमान?’ लीजा सोध्छिन्।
‘म चिन्छु,’ रिचर्ड जवाफ दिन्छन्।
‘हाम्रो घरको भान्छे हिन्दु हो कि मुसलमान?’
‘मुसलमान।’
‘तिमीले कसरी थाहा पायौ?’
‘उसको नामले। उसको दारी पनि छोटो छ। उसको लवाइ हेरेर पनि थाहा हुन्छ। फेरि ऊ नमाज पढ्छ। उसको खानेपिउने तरिका अलग छ।’
‘तिम्रो त्यो सेक्रेटरी, जो दिनहुँ स्टेसनमा आउँछ, जसको सेतो–सेतो चम्किलो दाँत छ, ऊ हिन्दु हो कि मुसलमान?’
‘ऊ हिन्दु हो।’
‘तिमीले कसरी थाहा पायौ?’
‘उसको नामले?’
‘तिमी नामले नै छुट्टयाउँछौ, को हिन्दु हो, को मुसलमान?’
‘एकदमै सजिलो छ लीजा। मुसलमानको नामको अन्तमा अली, दीन, अहमद, यस्तायस्तै शब्द जोडिएका हुन्छन्। जबकि, हिन्दुहरूको नामको पछाडि लाल, चन्द, रामजस्ता शब्द हुन्छन्। रोशनलाल हो भने ऊ हिन्दु हो, रोशनदीन हो भने मुसलमान। इकबालचन्द हो भने हिन्दु, इकबाल अहमद हो भने मुसलमान।’
‘त्यो पगडी लगाउने मान्छे को हो, जो तिम्रो गाडी चलाउँछ, जसको लामो–लामो दारी छ?’
‘ऊ शिख हो।’
‘उसो भए शिखलाई चिन्नु गाह्रो काम होइन,’ लीजा यति भनेर हाँस्छिन्।
‘सबै शिखहरूको नामको पछाडि सिंह जोडिएको हुन्छ,’ रिचर्ड पनि हाँस्दै भन्छन्।
यहाँ लीजाको सरल जिज्ञासा र रिचर्डको सरल जवाफले झट्ट हेर्दा उस्ताउस्तै देखिने हिन्दु र मुस्लिमलाई नाम, लवाइ, खवाइ र आस्थाका मसिना अन्तरले कति फराकिलो दुरीमा बाँडेको छ भन्ने देखाउँछ।
अर्को एक प्रसंगमा लीजा रिचर्डसँग हिन्दुस्तानबारे सोध्छिन्।
रिचर्ड मुस्कुराउँदै जवाफ दिन्छन्, ‘सबै हिन्दुस्तानी चिडचिडा स्वभावका हुन्छन्। सानो कुरामा उक्सायो भने पनि छिट्टै भड्किहाल्छन्। धर्मको नाममा रगत बगाउन पछि पर्दैनन्। उनीहरू सबै व्यक्तिवादी हुन्छन्, र ...’
उनी एकछिन अकमकाउँछन् र भन्छन्, ‘सबै हिन्दुस्तानी गोरो छाला भएका केटी मन पराउँछन्।’
हिन्दु–मुस्लिम साम्प्रदायिक दंगाप्रति जिज्ञासा राख्दै लीजा सोध्छिन्, ‘यिनीहरू अहिले किन आपसमै लड्दैछन्? लन्डनमा त तिमी भन्थ्यौं, हिन्दुस्तानीहरू एकजुट भएर अंग्रेजविरुद्ध लड्दैछन्।’
‘यिनीहरू हामीविरुद्ध पनि लड्दैछन् र आपसमा पनि लड्दैछन्।’
‘कस्तो कुरा गर्छौ तिमी? के तिमी फेरि मसँग मजाक गर्दैछौ?’
‘होइन होइन, मजाक होइन,’ रिचर्ड उनलाई सम्झाउँछन्, ‘यिनीहरू धर्मको नाममा आपसमा लड्दैछन् र देशको नाममा हामीविरुद्ध लड्दैछन्।’
‘तिमी धेरै चलाख नबन, रिचर्ड। मैले सब बुझेकी छु। देशको नाममा यिनीहरू अंग्रेजविरुद्ध लड्दैछन्, र धर्मको नाममा अंग्रेजहरू यिनलाई आपसमै लडाउँदैछन्। किन, ठिक भनिनँ मैले?’
यहाँ लीजाको भनाइ अबोध सुनिन्छ, तर अर्थपूर्ण छ।
हिन्दुस्तानको यथार्थ यही हो। हिन्दुस्तानमा सदियौंदेखि हिन्दु र मुस्लिम मिलिजुली बसे। उनीहरूलाई धार्मिक रूपले अलग–अलग सम्प्रदायमा बाँड्ने काम अंग्रेजहरूबाटै भयो। सन् १९०५ मा जब अंग्रेजले धर्मका नाममा पूर्व र पश्चिम बंगाल विभाजन गरे, धार्मिक विभाजनको रेखा विधिवत् कोरियो। यही विभाजन गाढा हुँदै १९४७ सम्म आइपुग्दा देशै टुक्रिने नौबत आयो।
देश विभाजनको प्रस्ताव अघि सार्ने र त्यसलाई बढावा दिने काममा पनि अंग्रेजहरूकै हात रहेको भारतीय इतिहासले देखाएको छ। उनीहरूले हिन्दु र मुस्लिमको भाइचारा तोडे र त्यही फुटमा आफ्नो राजनीतिको व्यूह रचे।
लीजा रिचर्डलाई भन्छिन्, ‘तिमी यिनीहरूलाई लड्नबाट रोक्न पनि त सक्छौ। आखिर यिनीहरू एकै सभ्यतामा हुर्केका, एकै जातिका मान्छे हुन्। तिमी किन यिनीहरूलाई धर्मका नाममा लड्नबाट रोक्दैनौ?’
प्रश्न सुनेर रिचर्डलाई आफ्नी पत्नीको अबोधपनमा प्रेम जाग्छ। उनी झुकेर लीजाको निधारमा चुम्बन गर्छन्। र, भन्छन्, ‘डार्लिङ, शासन गर्नेहरू आफ्नो प्रजामा के–कस्ता समानता छन् भनेर हेर्दैनन्। शासकको चासो त उनीहरू के–के कुरामा एकअर्कासँग अलग छन् भनेर हेर्ने हो?’
रिचर्ड यस्तै आसयको जवाफ कंग्रेस नेताहरूसँगको छलफलमा पनि दिन्छन्।
सहरको अमनचैनका लागि डाकिएको बैठकमा बख्शीजी भन्छन्, ‘सरकारको तर्फबाट तुरुन्त कारबाही गरिनुपर्छ, ताकि स्थिति काबूमा आओस्। नत्र ... नत्र यो सहरमा चिलहरू उड्न थाल्नेछन्।’
रिचर्ड उनको कुरा सुनेर टाउको हल्लाउँछन् र आफ्नो हातमा रहेको पेन्सिलले विस्तारै टेबल ठोक्न थाल्छन्।
‘सरकार त बद्नाम छ। म अंग्रेज अफिसर हुँ। ब्रिटिस सरकारप्रति तपाईंहरूको विश्वास छैन। त्यही भएर त हामी हिन्दुस्तान छाडेर जाँदैछौं। तपाईंहरू त्यसै पनि हाम्रो कुरा कहाँ सुन्नुहुन्छ?’ रिचर्ड भन्छन्।
‘अहिलेसम्म तागत ब्रिटिस सरकारकै हातमा छ। तपाईं ब्रिटिस सरकारको कर्मचारी हो। सहरको रक्षा गर्नु तपाईंको जिम्मेदारी हो,’ बख्शीजी उत्तेजित हुन्छन्।
‘तागत त अब पण्डित नेहरूको हातमा छ,’ रिचर्ड मुस्काराउँदै विस्तारै भन्छन्, ‘तपाईंहरूले एकजुट भएर ब्रिटिस सरकारको विरोध गर्दा पनि दोष हाम्रै र अहिले आपसमा लड्दा पनि दोष हाम्रै!’
राजनीति बुझ्न चाहनेहरूका लागि रिचर्डको जवाफले धेरै कुरा भन्छ।
सत्तामा ब्रिटिस सरकार होस् वा हामीले भोट हालेर चुनाव जिताएका राजनीतिक दलहरू, शासन गर्न थालेपछि उनीहरूको ध्याउन्न हाम्रो एकताभन्दा फुटमै केन्द्रित हुन्छ।
जनताको समानता प्रवर्द्धन गरेर शासनको रोटी सेक्न सकिँदैन। जनता जति विभाजित हुन्छन्, शासन गर्न त्यति सजिलो। त्यो विभाजन धर्म वा जातकै नाममा हुनुपर्छ भन्ने छैन। विभिन्न सिद्धान्त, तर्क, अवधारणा, योजना, नीति, कार्यनीति, कार्यक्रम वा आर्थिक हैसियतका नाममा पनि विभाजनलाई बढावा दिन सकिन्छ। जनतालाई आपसमा भिडाउन सकिन्छ।
हाम्रो अहिलेको राजनीतिमा पनि यस्तो प्रवृत्ति देखिन्न र! सम्झनुस् त!
‘तमस’ मा एकातिर अंग्रेज शासकको कूटनीति छ, कंग्रेसको अहिंसात्मक प्रभातफेरी छ, मुस्लिम लिगको पाकिस्तान निर्माणको राजनीति छ भने अर्कातिर हिन्दुसभा स्थापनाको झलक पनि पाइन्छ।
धर्मका नाममा युवाहरूलाई हिंसाको ‘यज्ञ’ मा होम्न ‘दीक्षित’ गरिएको घटनाले अहिलेका हिन्दुवादी संगठनहरूको उदयको झलक दिन्छ।
हिन्दु व्यापारी लाला लक्ष्मीनारायणका छोरा रणवीरलाई हिन्दुसभामा आबद्ध गराउन एउटा परीक्षा लिइन्छ। उनले कुखुरा भुइँमा लडाएर, पखेटा एकअर्कामाथि खप्ट्याएर छुरीले गर्दन रेट्दै मार्नुपर्ने हुन्छ।
सुरूमा उनी हच्किन्छन्। रगत देखेर बान्तै गर्छन्। जब दीक्षाको कुरा उठ्छ, उनी आँट बटुल्छन्।
घाँटी रेटिएको कुखुराको धड वरिपरि रगतका छिटा छर्दै फ्याटफ्याट उफ्रिन थाल्छ।
मृत्युको मुखमा पुगेको कुखुरा जसरी घरको आँगनभरि फडफाडाउँदै नाच्छ, त्यसरी नै यो उपन्यासको हरेक पृष्ठमा मृत्यु नाचेको छ। साम्प्रदायिक घृणा, विद्वेष र विभाजनले गाउँका गाउँका उजाडिन्छन्। मृत्युको भयले थातथलो छाडेर अनिश्चित भविष्यतिर डोरिएका हिन्दु र मुस्लिमहरूको लश्करले कहाली लाग्छ।
यसरी नै डोरिन्छन्, हरनाम सिंह र उनकी पत्नी बन्तो।
हरनाम सिंह ढोक इलाही बख्श गाउँका सामान्य चिया पसले हुन्। यो गाउँमा शिख परिवार भन्नु उनी एक्लै छन्, बाँकी सबै मुस्लिम। तर, हरनामलाई आफ्नो छिमेकी र बालसखा करिमको ठूलो भर छ। करिमले सान्त्वना दिँदै भनेका पनि छन्, ‘तँ यो गाउँ छाडेर कतै जानुपर्दैन, हरनाम। यहाँ तँलाई कसैले केही गर्दैन।’
उनको सान्त्वना पाएर हरनाम ढुक्क छन्।
उनको विश्वास त्यतिखेर टुट्छ, जब उनै करिम एकदिन आएर भन्छन्, ‘हरनाम, तँ गाउँ छाडेर गइहाल्। बाहिरबाट मान्छे आउँदैछन्, म उनीहरूबाट तँलाई जोगाउन सक्दिनँ।’
त्यस दिन बिहानैदेखि हरनामलाई केही अनौठो त लाग्दै थियो। सहरबाट दिनहुँ आउने बस त्यो बिहान आएन। उनको पसलमा चिया खान एक जना पनि ग्राहक छिरेनन्। यसले हरनामको मनमा चिसो पसेकै थियो, करिमले आएर फ्याट्टै त्यसो भनिदिँदा उनलाई यस्तो लाग्यो, मानौं गाउँमा बाढी पसेको छ, जुन हाँगाको सहाराले उनी अडिएका थिए, त्यो पनि अब हातबाट छुटेको छ र उनी पानीको धारसँगै डुब्दै, तैरिँदै बग्न थालेका छन्।
हरनाम हतारहतार काँधमा बन्दुक भिर्छन्। गोजीमा कारतुसको थैली राख्छन्। कन्तुरबाट चानचुन पैसा झिकेर खल्तीमा घुसार्छन्। र, बन्तोलाई साथ लिएर अन्तिमचोटि घरलाई हेर्दै तल खेततिर ओर्लिन्छन्।
जसै उनको जन्मघर आँखाबाट ओझेल हुन्छ, पर गाउँबाट ढोल बजाउँदै, ‘अल्लाह हु अक्बर’ को नारा घन्काउँदै मुस्लिमहरूको समूह नजिक आएको सुनिन्छ। पलभरमै उनको पसलको ताला फोडिन्छ। लुटपाट मच्चिन्छ। र, उनको घरबाट आकाश छेडुँलाझैं धुवाँको मुश्लो उठ्न थाल्छ।
त्यही धुवाँले पोलेको आँखा मिच्दै हरनाम र बन्तो आफ्नो गाउँबाट पर, झन् झन् पर हुँदै जान्छन्।
थाहा छैन, जिन्दगीमा फेरि उनी आफू जन्मेको, खेलेको, हुर्केको गाउँ फर्कन पाउने हुन् कि होइनन्?
थाहा छैन, जिन्दगीमा कहिले फेरि बालसखा करिमसँग उनको भेट हुने हो कि होइन?
नियतिको डोर समातेर अनिश्चयतर्फ बढ्दा बढ्दै भोलिपल्ट बिहान उनीहरू नजिकको अर्को गाउँ ढोक मुरिदपुर पुग्छन्। दिउँसोको उज्यालोमा खुलेआम हिँड्नु असुरक्षित ठानेर एउटा अन्जान घरको ढोका ढक्ढक्याउन पुग्छन्।
ढोका खोल्न आउने राजो दयालु हुन्छिन्। उनले आफ्नी बुहारीको विरोधका बाबजुद हरनाम र बन्तोलाई घरभित्र आउन दिन्छिन्। खटियामा बसाउँछिन्। लस्सी पिलाउँछिन्। र, घरको माथिल्लो तल्लामा लुकाएर राख्छिन्।
त्यसै रात जब राजोको छोरा रमजानले यसको सुइँको पाउँछ, ऊ रिसले चूर हुँदै हरनाम सिंहलाई मार्न बन्चरो उठाउँछ। दुई–तीनचोटि हरनामको घाँटीमा बन्चरो छप्काउन खोज्छ, तर उसको हात चल्दैन। दिनभरि हिन्दु घरहरूमा लुटपाट मच्चाउँदै, आगो लगाउँदै हिँडेको रमजान आफ्नै घरमा बरफझैं चिसो हुन्छ।
हरनाम परिचित हुनुले पनि उसको हात भारी भएको थियो। हरनामको पसलमा उसले एक–दुईचोटि चिया पनि पिएको थियो। उसको कमजोर ज्यान मृत्युको भयले काम्दै गरेको देखेर रमजान झनै कमजोर भयो।
विद्वेष र घृणाको उत्कर्षमा पनि संवेदनाको रेखा पूरै मेटिएको थिएन भन्ने यहाँ लेखकले देखाउन खोजेका छन्।
संवेदनाको त्यो पातलो रेखा रमजान पनि नाघ्न सक्दैनन्।
त्यसै रात राजो लाल्टिनको उज्यालोमा हरनाम सिंह र बन्तोलाई गाउँभन्दा निकै परसम्म पुर्याउन जान्छिन्।
छुट्टिने बेला राजो भन्छिन्, ‘चारैतिर आगो सल्केको छ। गाउँहरू जलिरहेका छन्। मलाई थाहा छैन, यस्तो माहौलमा अन्त पठाएर म तिमीहरूको ज्यान बचाउँदैछु वा तिमीहरूलाई मृत्युको मुखमा धकेल्दैछु।’
अलि पर पुगेर हरनाम र बन्तो फर्केर हेर्छन्।
राजो त्यही ठाउँ उभिएर उनीहरूको बाटो हेरिरहेकी हुन्छिन्, जहाँ उनले दुवैलाई छाडेकी थिइन्।
ढोक मुरिदपुरबाट निस्केर हरनाम र बन्तो जसोतसो सैयदपुर पुग्छन्। सैयदपुर उनीहरूकी छोरी जस्बीरको गाउँ हो। त्यहाँ उनीहरू एउटा गुरुद्वारामा आश्रय लिन्छन्, जहाँ जस्बीरसहित गाउँभरिका शिख जम्मा भएका छन्।
दंगा बढ्दै जान्छ। अन्यत्र गाउँबाट पसेका हमलावरले धावा बोल्छन्। गोलाबारी सुरू हुन्छ। दुवै समुदायका लाश गाउँभरि यत्रतत्र छरिन्छन्। गल्लीहरूमा रगतको आहाल जम्छ।
त्यही बेला गुरुद्वारामा रहेका महिला जस्बीरको नेतृत्वमा लश्कर लागेर बाहिर निस्कन्छन्। केहीले केटाकेटी डोर्याएका छन्। केहीले काँधमै बोकेर हिँडेका छन्।
उनीहरू गाउँको बाटो जंगलतिर बढ्छन्। त्यहाँ सुनसान ठाउँमा एउटा इनार छ।
सबभन्दा पहिला जस्बीर इनारको डिलमा चढ्छिन्। दुई हात जोडेर गुरुलाई सम्झन्छिन्। र, इनारमा फाल हाल्छिन्।
उनलाई पछ्याउँदै बीसौं महिला आफ्ना केटाकेटीसहित इनारमा हाम्फाल्छन्।
यो उपन्यासको सबभन्दा कारुणिक दृश्य हो, जसले साम्प्रदायिक हिंसाको वीभत्स रूप झल्काउँछ।
हिंसाको यस्तो वीभत्स रूपबाट भारतले केही पाठ सिक्यो त?
सिकेको भए यो घटनाको लगभग पच्चीस वर्षपछि सन् सत्तरी दशकको प्रारम्भमा बम्बई पुगेका भीष्म साहनीले भीवंडी नागरमा त्यस्तै हिंसा दोहोरिएको देख्ने थिएनन्।
त्यसपछि पनि भारतमा थुप्रैचोटि साम्प्रदायिक हिंसा भड्किए। इतिहासबाट पाठ सिकेको भए बारम्बार पुरानो गल्तीको पुनरावृत्ति कसरी हुन्थ्यो?
‘तमस’ मा ब्रिटिस डेपुटी कमिसनर रिचर्ड एकठाउँ भन्छन्, ‘हिन्दुस्तानका मान्छेलाई आफ्नो इतिहास थाहा छैन। उनीहरूले इतिहास बाँच्न मात्र जानेका छन्।’
इतिहासको चेत नहुनु भारतको मात्र समस्या होइन, हामी आफैं पनि त्यसैको दुर्दशा भोग्दैछौं।
हाम्रो अहिलेको राजनीति र सामाजिक जनजीवनमा यस्तो प्रवृत्ति देखिन्न र!
राजनीतिक दल र नेताहरूको भ्रष्टीकरण, कुशासन, विप्लव माओवादीका रूपमा हिंसाको पुनरागमन, भुइँचालो पुनर्निर्माणका बेथितिदेखि आफ्नै सभ्यता र संस्कृतिको चेत हराउँदै जानुले यस्तै प्रवृत्ति झल्काउँदैनन् र! सम्झनुस् त!
हामी सबै इतिहास बाँच्छौं, तर त्यसलाई बुझ्दैनौं। बुझ्ने कोशिस पनि गर्दैनौं। इतिहास बुझ्ने कोशिस गरेका भए विगतमा जुन गल्तीले हामी प्रताडित भयौं, त्यही गल्ती बारम्बार गर्थ्यौं र?
त्यस्तै घटना, त्यस्तै द्वन्द्व, त्यस्तै राजनीतिक कलह, त्यस्तै असमझदारी र त्यस्तै अविकासलाई बारम्बार दोहोरिन दिन्थ्यौं र?
हामी क्षणसत्यवादी छौं। भाग्यवादी छौं। मसान वैराग्यमा रमाउँछौं।
मसान वैराग्यले इतिहास बदलिन्न।
नोट: सबै स्केच 'तमस' उपन्यासबाट लिइएका हुन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: