लगातार अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पनि अफगानिस्तानसँग ९६ रनले हारेपछि नेपालको छनोट यात्रा टुंगिएको हो।
यसअघि पनि नेपाल अफगानिस्तानसँग फराकिलो अन्तरमा पराजित भएको थियो।
यता छनोट चरणको सबै खेल जितेको अफगानिस्तान अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकप खेल्ने भएको छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थियो। अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।
ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।
कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले ४०.६ ओभर खेल्दै ९९ रनमा समेटियो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए। दिपेन्द्रले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दैं अर्धसतकबाट २ रनले चुके।
नेपालको सुरुवात राम्रो हुन सकेन । ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई ६ रनमा गुमायो। त्यस लगत्तै आशिफ शेखलाई २ रनमा गुमाएको नेपालले प्रनित थापामगरलाई शून्यमा गुमाएको थियो।
अनिल साह पनि सस्तैमा (६) आउट हुँदा नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। रोहित कुमार पौडेल पनि ३ रनमा आउट भएपछि नेपाल धर्मराएको थियो।
पाँचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए। पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनमा आउट हुँदा नेपालको स्कोर ८५ थियो।
त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमा आउट भए। नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाएका थिए।
बलिङतर्फ अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिव रहमानले ३ विकेट लिएका थिए।